बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आफ्नै लागि समेत नबोल्ने यी महिला

अहिले विश्वकै महिलाका अधिकार निम्ति लड्दैछिन्
सोमबार, २७ असोज २०७६, ११ : २५
सोमबार, २७ असोज २०७६

पारिवारिक संस्कार र विद्यालयस्तरमा प्राप्त शिक्षाका कारण आफ्नै अधिकारसमेत नखोज्ने बन्दना राणा जीवन संघर्षका क्रममा नेपालका मात्र होइन, विश्वभरकै महिलाका अधिकारको लडाइँमा अगुवा बनेकी छन् ।

विगत तीन दशकदेखि महिला अधिकारकै विषयमा बोल्दै आएकी बन्दना अहिले संयुक्त राष्ट्र सङ्घीय समितिको कार्य समितिमा समेत छिन्, जुन पदमा रहेर विश्वभरका महिलाविरुद्ध हुने भेदभाव अन्त्यका लागि योगदान गर्न सक्छिन् ।

महिला अधिकारका विषयमा वकालत गर्ने यिनै बन्दनाको जीवनका पनि कैयौँ सङ्घर्षका पाटा छन्, जसलाई उनले अठोट र आँटले सहजै पार लगाएकी छिन् ।

काठमाडौँको मध्यमवर्गीय परिवारमा जन्मेकी बन्दनाले त्यतिखेरको राम्रो स्कुल सेन्ट मेरिजमा पढ्न पाइन् । तर, छोरी क्रिस्चियन हुन्छे भनेर उनका बुबाले सेन्ट मेरिज पढाउँन मानेका थिएनन् रे ! आमाको जोडबलले उनले सेन्ट मेरिजमा पढ्न पाएकी हुन् रे !

बुबा व्यवसायी थिए र पढेलेखेका पनि । तर अनपढ आमालाई छोरीले अङ्ग्रेजी फरर बोलेको सुन्ने रहर । त्यसैले आमाकै ढिपीले उनले सेन्ट मेरिजमा पढ्न पाइछन् । बन्दनाले आफ्ना बाबुको डरभन्दा फरक शिक्षा पाइछन् स्कुलमा । कसैले एउटा गालामा थप्पड हाने अर्को गाला पनि थापिदेउ भन्ने खालको शिक्षा दिइन्थ्यो रे ! स्कुलले निकै ‘संस्कारी’ बन्नसमेत  सिकाउँथ्यो रे !

घरमा पनि छोरी हुनुकै कारण जो कसैसँग बोल्ने, अरूको कुराको प्रतिवाद गर्ने अनुमति थिएनछ । त्यही पारिवारिक संस्कारकै कारण सबैले भनेको कुरा सही या गलत जे होस् मान्नु पर्थ्यो रे ! त्यसमाथि शान्त र कम बोल्ने उनको स्वभाव थियो रे !

पितृसत्तात्मक सोचले जरा गाडेको समाज । त्यस्तो समाज, जहाँ अन्याय भए पनि महिलाले मुख बन्द गरेर सहनुपर्ने, क्षमता भए पनि महिला निरिह नै बस्नुपर्ने, जसले जे भनेपनि महिलाले चुपचाप मान्नु पर्ने । यस्तो समाजबाट उच्च शिक्षा पढ्नका लागि विदेश गएकी बन्दना सही र गलत छुट्याउन सक्ने भएर आइछिन् । तर, उनको त्यो क्षमता यो पितृसत्तात्मक समाजलाई मन परेनछ । जसका कारण उनले आफूले गरिरहेको कामबाट मोडिनुपर्ने  बाध्यतासमेत सिर्जना भएछ ।

नेपाल टेलिभिजनको त्यो २० वर्ष

कुरा २०४२ सालको हो, सरकारी स्वामित्वको नेपाल टेलिभिजन भर्खर भर्खरै खुलेको थियो । बन्दनाका आँखा त्यसको समाचारतर्फ पुगेछ । उनलाई लागेछ, मैले पनि मौका पाएँ भने टेलिभिजनमा बोल्न सक्छु । त्यहिँ काम गर्ने एक जना नातेदारलाई आफ्ना आकाँक्षा र आँट सुनाइछन् । श्रीमानले पनि साथ दिएपछि त के चाहियो र ?

बन्दनालाई भिजुअल र साउन्ड टेस्टका लागि बोलाइछ । तर, पत्रपत्रिकाहरु समेत सस्वर पढ्ने बानी नभएकी उनलाई अब त्यहाँ के कसो हुने हो, के सोध्ने हो भन्ने डर लागेछ । अन्ततः ती परीक्षणमा उनी उतिर्ण भइछन् र सन् १९८६ मा नेपाल टेलिभिजनमा काम सुरु गरिछन् । जतिबेला उनका दुई सन्तान भइसकेका थिए ।

अहिलेजस्तो कम्प्युटरले होइन, त्यतिबेला नेपाल टेलिभिजनमा हाते लेखन समाचार हुन्थ्यो, ‘प्रम्पटर’ थिएन । कहिलेकाहीँ पढ्दा पढ्दै गलत लेखेको पनि आफैले मिलाएर पढ्नुपर्थ्यो ।  ‘लाइभ’ पढ्दा एक दिन त उनले ‘मार्सल’ भन्ने अङ्ग्रेजी शब्दलाई ‘म्यारिटल’ भनेर पढिछन् !

त्यतिबेला बन्दनाले नेपाल टेलिभिजनमा समाचार सङ्कलन र उत्पादन तथा पाक्षिक कार्यक्रम पनि सन्चालन गर्थिन् रे ! यी सब कामबाट उनको मासिक कमाइ १३ सय रुपैयाँ हुन्थ्यो रे ! 

‘कुरा काट्नेहरुकै रोलमोडेल’

प्राय: रातको १० बजेको अङ्ग्रेजी समाचार पढ्नुपर्थ्यो रे उनले । रातको समयमा अफिसले नै गाडीमा घरसम्म छोडिदिन्थ्यो । तर, कहिलेकाहीँ अरु सहकर्मीलाई छोडेर उनी घर आउँदा रातको १२ पनि बज्ने गर्थ्यो रे !

उबन्दना त्यसरी राति राति घर आएको भन्दै छिमेकीहरुको चियोचर्चो गर्नसमेत भ्याएछन् । साना बच्चा छोडेर टेलिभिजनमा अनुहार देखाउन रातभर हिँड्छे भन्थे रे ! तर, उनीहरुलाई के थाहा टेलिभिजनको पर्दामा समाचार पढ्न जो कोहीले सक्तैन भनेर । यसमा पनि सीप र क्षमता चाहिन्छ भनेर ।

तिनै छिमेकीहरु अचेल आफ्नो छोरी/बहिनीलाई जागिर लगाइदेउ भन्दै उनी कहाँ धाउँछन् रे ! अहिले तिनै आलोचक व्यक्तिहरुको रोल मोडल बनेकी छन् बन्दना । आफूले गरेको मिहिनेत ढिलै भए पनि विरोध गर्नेहरुले बुझ्न थालेकोमा उनलाई गर्व महसुस हुने नै भयो ।

कामका सिलसिलामा उनले समाजका हरेक तहका महिलाहरुसँग नजिक हुने र तिनका समस्या बुझ्ने मौका पाएकी छिन् । नेपाली महिलाको वास्तविकता बुझ्न गाउँगाउँसम्म पुगेकी बन्दनालाई भन्नेले त काठमाडौँमा जन्मे हुर्केकी केटीले गाउँको व्यथा कसरी बुझ्छे होला पनि भन्थे रे ! टेलिभिजनमा अङ्ग्रेजी बोल्ने यिनलाई राम्ररी नेपाली बोल्नसमेत आउँदैन होला, महिला हिंसाका विषयमा बुझ्न आएकी छ पनि भने रे ! भन्नेले भनिरहे, बन्दना आफ्नो पथ र लक्ष्यमा अगाडि बढिरहिन् ।

नेदरल्यान्डमा सन् १९८८ मा न्युज एन्ड करेन्ट एफियर्स प्रोडक्सनको पोस्ट ग्राजुएट डिप्लोमा  गर्ने मौका बन्दनाले नेपाल टेलिभिजनबाटै पाइन् । त्यहीबाट उनले आम मानिससँग  बोल्न सक्ने हिम्मत र आत्मविश्वास लिएर फर्किन् । उनी भन्छिन्, ‘हामीलाई आफ्नो विचार राख्न न हाम्रो शैक्षिक प्रणालीले न त हाम्रो पारिवारिक संस्कारले नै दियो ।विदेसमा त घोकन्ते विद्यामा हैन, सिर्जनात्मक शिक्षामा जोड दिइने रहेछ ।’

नेदरल्यान्डबाट फर्किएपछि बन्दनाले कुनै पनि मिटिङ वा कार्यक्रममा आफ्ना विचार निर्धक्क राख्न थालिछन् । तर, उनको बोल्न सक्ने शैलीलाई रुचाइएनछ । टेलिभिजनमा अनेक बहानामा उनलाई काम गर्ने वातावरण भएनछ । अरुको व्यवहारकै कारण उनले ७ वर्षे पूर्णकालीन काम छोडिछन् । तर, तत्कालीन अध्यक्ष नीर शाहले  करारमा भए पनि काम गर भनेपछि उनले टेलिभिजनमा आंशिक समय काम गरिछन् । करारमा काम गर्दै उनको २० वर्ष बितेको रहेछ ।

युनेस्कोको एउटा प्रोजेक्टले बदलिएको जीवन

बन्दनाले सन् १९९१देखि यूएनडीपीको एफएओ मल्टिमिडियाको नेसनरल कन्सल्टिङको काम पनि गर्न थालेकी रहिछन् । त्यहाँबाट डकुमेन्ट्री बनाउनकै लागि जिल्ला जिल्ला घुम्ने अवसर मिल्यो । यूएनको ह्युमन डेभलपमेन्टको पहिलो रिपोर्ट बनाउन जिल्ला पुगेकी उनले त्यसमा महिलाको आवाज समेट्न चाहिछन् । तर, एउटा महिलालाई बोल्न माइक दियो भने अरू ४ जना पुरुष अघिसरेर निरुत्साहित गर्थे रे, ‘यिनले बोल्दिनन्, यिनले बोल्न जान्दिनन्, यिनलाई केही थाहा छैन ।’ त्यस्तो स्थितिबाट उनले थाहा पाइन्, ग्रामिण महिलाहरु कति पीडित छन् भनेर, उनीहरुको आवाज कसरी दबाइन्छ भनेर पनि ।

गाउँघरमा घरेलु हिंसाबाट पीडित महिलाहरु पनि प्रत्यक्ष देखिन् बन्दनाले । तरकारीमा नुन पुगेन भने पनि पिटाइ खाने, रक्सी नखाउ भन्दा पनि पिटाइ खाने, दाइजो नल्याएको वा कम्ति ल्याएको भनेर पनि पिटाइ नै खाने । यस्ता कुरा महिलाबाट सुन्दा उनको शरीरमा काडा उम्रन्थ्यो । भन्छिन्, ‘त्यतिबेला मैले बल्ल थाहा पाएँ, यस्ता समाचार त  हाम्रा समाचार कक्षसम्म कहिले नआइपुग्दा रहेछन् ।’   

युनिसेफले तपाईंले बनाएको ‘डकुमेन्ट्री’ महिला दिवस पारेर काभ्रेको एउटा गाउँमा देखाइ दिनुप-यो भनेर उनीसँग आग्रह गरेछ । बन्दना स्मरण गर्छिन्, ‘बल्ल बल्ल सातामा एकदिन छुट्टी मिल्छ शनिबार, त्यही छुट्टीमा पनि विना पैसाको काम गर्न को जाओस् भन्ने लाग्यो र मैले सीधै हुँदैन भनिदिएँ । तर, त्यही रात अन्तर्राष्ट्रिय नारी दिवसमा मैले पनि केही योगदान गर्नुपर्छ, किन नाइँ भने होला भनेर पश्चाताप भयो । भोलिपल्ट मैले आफू जाने कुरा युनिसेफलाई जानकारी गराएँ । त्यो नै मेरो जीवनको ठूलो ‘टरनिंग प्वाइन्ट’ बन्यो । नत्र, अहिले म यूएनको कुनै ‘पोजिसन’मा त हुन्थ्यें होला तर गुमनाम भएर ।’

बन्दना सुनाउँछिन्, ‘स्याङ्जामा बनाएको आमा समूहको ‘डकुमेन्ट्री’ थियो । ‘डकुमेन्ट्री’ देखाइ सकेपछि कुरा गर्दा कसैको आँखामा आँशु थिए ! कसैले मलाई त साक्षात देवी नै मानेर छुनै आए ! त्यो शनिबारका गरेको कामले मेरो जिन्दगीमा सबैभन्दा बढी सफलता पायो । त्यसपछि मैले कुनै पनि ठाउँमा स्थायी जागिर खाइन् ।’    

महिला हिंसाविरुद्ध लड्न साथी संस्था

सन् १९९२ मा साथी भन्ने संस्था  बन्दनासहित ८ जना मिलेर स्थापना गरे, घरेलु हिंसाविरुध्दनै लड्ने उद्देश्यसहित । जब संस्था खुल्यो त्यसपछि घरझगडा निजी मामिला हो, तिमीहरुले घर भाड्छौ भन्ने जस्ता प्रतिक्रिया आउन थाले रे !

तर, बन्दना र साथीहरु आफ्नो काममा डटिरहे । सन् १९९५ मा साथी संस्थाले पीडित महिलाका लागि ‘सेल्टर’ खोल्यो । आज ‘साथी’का चारवटा सेल्टर महिलाका लागि छन् भने बालबालिकाका लागि ५ वटा सेल्टर ।

साथीको अध्यक्ष भएर बन्दनाले कानुनी क्षेत्रमा पनि योगदान पु-याएकी छन् । घरेलु हिंसाविरुध्दको कानुनका लागि साथीले १४ वर्षसम्म लड्यो । पहिलो विधेयक ड्राफ्ट गर्दा साथी संलग्न थियो । त्यतिबेला महिला मन्त्रालय पनि गठन भएको थिएन ।

सञ्चारिका समूहको संस्थापक अध्यक्ष

बन्दना सन् १९९५ मा चीनमा भएको चौथो विश्व महिला सम्मेलनमा भाग लिन पुगिन् । महिला र सञ्चारको विशेष मुद्दा सो सम्मेलनमा आयो । सञ्चारमा काम गर्ने महिलाले कति ठूलो परिवर्तन ल्याउन सक्छन् भन्ने कुरा उनले त्यहाँ सिक्न पाइन् ।

त्यही सिकेको कुरा यहाँ कार्यान्वयन गर्न सन् १९९६मा सञ्चारिका समूहको गठन भयो । सो समूहको संस्थापक अध्यक्ष नभए पनि, पहिलो निर्वाचित अध्यक्ष हुन् बन्दना ।

उनले सञ्चारिका समूहको निर्वाचित अध्यक्ष भएर ८ वर्षसम्म काम गरिन् । उनको पालामा सञ्चारिका समूहद्वारा महिला पत्रकारको सङ्ख्या कसरी  वृद्धि गर्ने, मिडियाको अनुगमन गरेर सकारात्मक मिडिया रिपोर्टिङ कसरी गर्ने, पुरुष पत्रकारहरुलाई पनि लैङ्गिक समावेशीमा कसरी पोख्त बनाउने भनेर तालिम दिइन्थ्यो ।

बन्दनाको अनुभव छ, ‘पहिला पहिला महिला पत्रकारलाई विश्वास नै गरिन्नथ्यो । विवाहित महिला भए, घरधन्दामा नै अल्झिन्छे भनि ठान्ने । अविवाहित भए यसको कुन बेला विवाह भइहाल्छ, त्यसपछि समय दिन सक्तिन भनेर भर्ना नै नगर्ने प्रवृत्ति थियो । अलि अलि लेख्न सीप भएका महिलाको लेख चाहिँ लिने तर पारिश्रमिक नदिने चलन थियो । फेरि, महिला पत्रकारलाई हेर्ने दृष्टिकोणसमेत राम्रो थिएन । पुरुषहरुसँग हिँड्नुपर्छ भनेर परिवारले पनि पत्रकारिता पेसामा लाग्न निरुत्साहित गर्थ्यो । एकदमै ‘बोल्ड’ र निडर महिला मात्र यो पेसामा रहन सक्थे । अझै पनि महिलाहरु सम्पादक ‘लेभल’मा न्यून छन् ।’  

यसरी अवसर मिल्यो यूएन कमिटीको कार्यसमितिमा

माओवादीद्वारा संचालित सशस्त्र संघर्षका बेला गाउँका महिलाहरु सर्वाधिक पीडित थिए ।  ले सरकारी र माओवादी पक्षको बीचको द्वन्द्वमा ग्रामिण महिलाहरु सम्झौताको जिन्दगी (नेगोसियट लाइफ) बाँच्न बाध्य भए ।

उता, संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदले सन् २००० मा पारित गरेको १३, २५ जसमा महिला शान्ति र सुरक्षाका विषय थिए । पछि, बन्दनाले शान्ति तथा पुनर्निर्माण मन्त्रालयसँग काम गर्ने मौका पाइन् भने १३,२५ नेपालमा कार्यान्वयन गर्नका लागि राष्ट्रिय कार्ययोजना बनाउने ‘ड्राफ्टिङ’को उनी ‘कि ड्राफ्टर’ भइन् ।

सशस्त्र द्वन्द्वको बेला र द्वन्द्वपश्चात पनि महिलालाई हिंसाबाट रक्षा गर्नुपर्ने कुराहरु आएपछि बन्दनाले त्यसको आधारमा फेरि वकालत गर्न थालिन् । यो नेपालमा उदाहरणीय काम भयो । त्यसपछि उनले द्वन्द्वग्रस्त अरू राष्ट्रलाई पनि आफ्ना अनुभव सिकाउने मौका पाइन् ।

बन्दना भन्छिन्, ‘अफगानिस्तान, पूर्वोत्तर भारत, इराक, सिरिया, कम्बोडियामा यसको बारेमा सिकाउने मौका पाएकी थिएँ । द्वन्द्वपश्चातको समय र द्वन्द्वकै समयमा पनि यहाँ काम गर्दा सिकेका सकारात्मक अनुभवलाई अन्तर्राष्ट्रिय जगतमा मैले सेयर गरेँ । यूएन वुमन विभाग सन् २००१ मा ‘लन्च’ भएको  थियो  । त्यतिबेला मलाई संसारकै नागरिक समाजबाट बोल्ने मौका मिल्यो । र, मलाई त्यसको ‘ग्लोबल एड्भाइजरी कमिटी’मा सदस्यको रुपमा समेत राखिएको थियो । त्यहाँ चार वर्ष  काम गरेँ ।’

संयुक्त राष्ट्रसङ्घको महासचिवले २०१४ मा सत्र जनाको एडभाइजरी समूह बनाउँदा १३,२५ रिपोर्ट बनाउनका लागि बन्दना पनि त्यसमा परेकी थिइन् ।

उनले महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिमा रहने रुचि परराष्ट्र मन्त्रीलाई राखेपछि त्यसलाई मन्त्रिपरिषद्ले पारित गरेको थियो । त्यसबेला पनि केपी ओली नै प्रधानमन्त्री थिए । तीन महिनाको चुनावी माहोलमा १८९ राष्ट्रले भोट गर्न पाउँथे ।

बन्दना भन्छिन्, ‘धेरैलाई नेपाल सानो देश जित्न गाह्रो छ भन्ने लागेको थियो । तर, हामीले सङ्घर्ष गरेर जित्न सक्यौँ, काम गर्ने ठाउँमा पुगेको छु, अब काम गरेर देखाउनु मेरा लागि चुनौती हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप