शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चियापान काँग्रेसको, नेताहरुलाई प्रश्न चाहिँ सी भ्रमणबारेको !

प्रधानमन्त्रीको ‘झुलोचकमक’देखि प्रचण्डको ‘कोल्टे’सम्म
आइतबार, २६ असोज २०७६, १९ : ४०
आइतबार, २६ असोज २०७६

काठमाडौं –  नेपाली काँग्रेसले आइतबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयसहित देशैभर चियानपान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । दशैं–तिहार र छठलगायतका चाड पर्वको अवसरमा सानेपामा आयोजित चियापना कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न राजनीतिक दलका नेता तथा उच्चपदस्थहरुको सहभागिता रहेको थियो ।

काँग्रेस नेता कार्यकताले भरिभराउ पार्टी कार्यालयमा काँग्रेस शुभेच्छुकको पनि उस्तै भीड थियो । राजनीतिक दलको प्रतिनिधित्व हुने गरी विभिन्न दलका नेताले शुभकामना दिने व्यवस्था मिलाइएको थियो । जसका लागि खटेका थिए, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा ।

काँग्रेस चियापानमा पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अन्य नेताभन्दा केही समयअघि पुगे । उनले पोडियममा पुगेर चियापानमा उपस्थितहरुलाई शुभकामना दिए । 


उनी पछि पुगेका राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर । उनले पनि शुभकामना दिए  । पूर्व कांग्रेसी नेता समेत रहेका ठाकुरलाई काँग्रेस कार्यकर्ताले ‘जय नेपाल’ भन्न आग्रह गरिरहेका थिए । तर उनी ‘जय नेपाल’ भन्न असहज महसुस गर्दै केही नभनी निस्किएका थिए । पत्रकारको बाक्लो उपस्थिति रहेपनि नेता ठाकुरलाई कसैले प्रश्न गरेनन् ।

नेता खनाललाई भने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे प्रश्न गरेका थिए । नेता खनालले राष्ट्रपति सीको नेपाल भ्रमण भव्यरुपमा सफल भएकोे प्रतिक्रिया दिएका थिए । नेताहरु आउने क्रम जारी नै थियो ।

त्यो बीचमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको आगमन भयो । उनले पनि कार्यक्रममा उपस्थित सबैलाई  शुभकामना दिए । उनले शुभकामना दिएपछि पत्रकारले राष्ट्रपति सीको भ्रणम, सभामुखको चयनलगायतका विषयमा प्रश्न तेस्र्याए ।

नेकपा प्रवक्ता श्रेष्ठले राष्ट्रति सीको नेपाल भ्रमण पूर्णरुपमा भव्य र सभ्य भएको प्रतिक्रिया दिए । यस्तै उनले सभामुख चयनको विषयमा पार्टीभित्र कुनै छलफल नै नभएको उत्तर दिए । यसै क्रममा पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईको आगमन भयो । केही समय काँग्रेस नेताहरुसँग भलाकुसारी गरेका भटट्राई पनि  शुभकामना दिन पोडियममा पुगे  । र, उनले गत निर्वाचनमा काँग्रेससँग निर्वाचनमा सहकार्य गरेको स्मरण गर्दै आगामी दिनमा पनि लोकतन्त्रको रक्षाका लागि काँग्रेसको साथमा रहने बताएका थिए । 

उनले पनि सी भ्रमणदेखि सभामुख चयनसँग सम्बन्धित प्रश्नको सामना गरे । उनले भने, ‘ एउटा सफल भ्रमणको परिभाषा गर्ने सन्दर्भमा विदेशी पाहुना आउँदा  केटाकेटीमा घरमा मामा आउदा मामाले  कति चक्लेट दिए, कति दक्षिणा दिए भन्ने खालको कुरा राख्नु हुँदैन ।

 मित्रराष्ट्रसँगको सम्बन्ध राजनीतिक र सामरिक ढंगको हुनुपर्छ ।’ उनले सभामुख फरक–फरक दलको हुनुपर्ने धारणा राखे ।  निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरण न्यायिक निरुपणका क्रममा रहेकाले त्यसपछि मात्रै बोल्नु उपयुक्त हुने उनले बताए । 

भट्टराईको सम्बोधनपछि उच्चसुरक्षाका साथ प्रधानमन्त्री ओली पनि काँग्रेस चियापानमा पुगे । उनी आउनुपूर्व तालिमप्राप्त कुकुरले त्यहाँकोे सुरक्षा अवस्थाको चाँच गरेका थिए ।

प्रधानमन्त्रीको ‘झुलोचकमक’देखि प्रचण्डको ‘कोल्टे’सम्म

प्रधानमन्त्री ओलीले पहिले काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेतासँग शुभकामना आदानप्रदान गरे । देउवा र पौडेललको बीचमा बसेका प्रधानमन्त्री ओली त्यसपछि पोडियममा आएर शुभकामना दिन थाले । उनले देउवा र पौडेलसँग आफ्नो ४५ वर्षदेखिको सम्बन्ध रहेको पनि बताए । 

चाड पर्व राजनीतिक दलका नेतामा रहेको तिक्तता मेट्ने अवसर पनि बन्ने गरेको उनको भनाइ थियो । अन्तमा पत्रकारले ‘तपाईंको लोकतन्त्रप्रतिको निष्ठामाथि काँग्रेस नेताहरुे प्रश्न उठाएका छन् नि !’ भनेर प्रश्न गर्दा प्रधानमन्त्री ओलीले भने, ’अहिले शुभकामना आदानप्रदानका बेला झुलोचकमक लगाउने काम नगरौं ।’ यति भन्दै उनी पोडियमबाट झरे कार्यक्रममा उपस्थितलाई हात हल्लाउँदै निस्किएका थिए । 

उनीपछि शुभकामना दिन पोडियममा पुगे पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधव नेपाल । शुभकामना दिएपछि उनले केही व्यंग्य पनि गरे । आफूहरुबाट सिकेर विगतका वर्षभन्दा काँग्रेसले यसपटक चियापान कार्यक्रमम व्यवस्थित बनाएको उनले बताएका थिए ।

नेता नेपाललाई पनि राष्ट्रपति सीको भ्रमणबारे पत्रकारले प्रश्न सोधेका थिए । सी भ्रमणबारे लामो समय खर्चेका नेता नेपालले नेपाल र चीनबीचको सम्बन्ध उचाईमा पुग्नुका साथै विकासका क्षेत्रमा राम्रै सहयोग भएको भन्दै भ्रमण पूर्णरुपमा सफल भएको दावी गरे । 

त्यसपछि चियापानमा पुगे पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रचण्ड कार्यक्रमस्थलमा पुगेपछि पत्रकारले काँग्रेस प्रवक्ता शर्मालाई शुभकामनाका लागि पोडियममा ल्याउन आग्रह गरे । अनि प्रचण्ड पोडियममा आएर शुभकामना दिए थाले । उनले भने, ‘ काँग्रेसको निम्तोमा आउँदा सहयात्रीकोमा आएको जस्तो लाग्छ । काँग्रेसमा उत्साह देख्दा खुशी लागेको छ ।’

काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूले गरेको शान्ति सम्झैताको स्मरण गरेको प्रचण्ड यतिमै रोकिएनन् । र भने, ‘ शान्ति र देश विकासको लागि काँग्रेसँग सहकार्य गरिँदै आएको छ । हेर्दै जाऔँ राजनीतिले कस्तो कोल्टे फेर्छ ?’ उनको ‘हेर्दै जाऔँ राजनीतिले कस्तो कोल्टे फेर्छ’ भनेको कुरालाई पत्रकारले प्रश्न बनाए । 

दुईतिहाइको सरकार हुँदा राजनीतिले कस्तो कोल्टे फेर्छ भन्नुको अर्थ के हो भन्ने आशयको प्रश्नमा प्रचण्डको जवाफ थियो, ‘अहिले दुईतिहाइको कुरा नगरौँ ।’ उनी यति भन्दै पोडियमबाट झरेका थिए । 
प्रचण्डको सम्बोधनपछि काँग्रेस सभापति देउवाले पनि चियापानमा उपस्थितलाई शुभकामना दिएका थिए ।

पार्टीका संस्थापक नेता बीपी कोइरालाले सुरु गरेको चियापान कार्यक्रम राजनीतिक मतभेद अन्त्यको अवसर बनेको देउवाको भनाइ थियो । देउवालाई पनि पत्रकारहरुले राष्ट्रपति सीको भ्रमणबारे प्रश्न सोधे । पहिले जवाफ दिन आनाकानी गरेको देउवा प्रेस युनियनका अध्यक्षको आग्रहपछि भने तयार भए । 

उनले भने, ‘चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको छ । चीन नेपालको पुरानो मित्र शक्ति हो ।’ आफूसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिएको भन्दै  समय मिलाएर जाने बताए । त्यसपछि काँग्रेस नेता कार्यकर्ता फोटाखिच्न व्यस्त भए भने केही नेताहरु पार्टीको १४ औँ महाधिवेशन र सी भ्रमणबारे पत्रकारको आग्रहमा प्रतिक्रिया दिन लागिपरेको थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप