शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलाई रेकर्डको भोक छैन : दीपेन्द्र लामा, निर्देशक

आइतबार, २६ असोज २०७६, १७ : ५०
आइतबार, २६ असोज २०७६

काठमाडौं– राम्रो फिल्म समिक्षक हुन् दीपेन्द्र लामा । एक समय उनको समीक्षा हेरेर दर्शक फिल्म हेर्न जाने वा नजाने निर्णय गर्दथे । सायद, त्यसैले पनि उनी धेरै फिल्मकर्मीको आँखाको कसिंगर थिए । कडा समीक्षा गरेको कारण उनलाई ज्यान मार्नेदेखि जागिर खाइदिनेसम्म धम्की आउँथ्यो ।

तर पनि उनको समीक्षाको कलम रोकिएको थिएन । उनले समिक्षा गरेका कतिपय फिल्म युनिटले भन्थे ‘राम्रो फिल्म बनाउन सजिलो छ र । त्यसले फिल्म बनाएर देखाओस् ।’ यी शब्द उनको कानसम्म पुग्यो ।

अनि उनी फिल्म निर्देशनमा तम्सिए । उनको निर्देशनको पहिलो फिल्म ‘घामपानी’ दर्शक तथा समिक्षक सबैले मन पराए । दोस्रो फिल्म ‘गोपी’ ले समिक्षकको तुलनामा दर्शकको माया पाउन सकेन । उनको निर्देशन रहेको तेस्रो फिल्म ‘छ माया छपक्कै’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्मले शुक्रबार र शनिबार राम्रो व्यवसाय गरेको उनी बताउँछन् । फिल्म निर्देशक लामासँग रातोपाटीले गरेको छाटो कुराकानी ।
  
कस्तो फिल्म छ माय छपक्कै ?

यो सोसियो पोलिटिकल कमेडी फिल्म हो । तर, यसमा लभस्टोरी पनि छ । र, यसमा एउटा जल्दोबल्दो सामाजिक मुद्दा पनि समावेश छ । फिल्म हेर्दा सबै दर्शकले आफ्नै गाउँठाउँको कथा हेरेजस्तो लाग्नेछ ।

फिल्मको व्यवसाय कस्तो भइरहेको छ ?

फिल्मले शुक्रबार र शनिबार हामीले अपेक्षा गरेभन्दा पनि धेरै  आक्रमक व्यवसाय गर्न सफल भएको छ । आज प्रदर्शनको तेस्रो दिन पनि बुकिङ राम्रो छ । फिल्मले राम्रो व्यवसाय गर्नेमा ढुक्क छु ।  

दीपक दीपा टिमको यस अगाडिको फिल्मको रेकर्ड तोड्ला कि न तोड्ला ?

रेकर्ड तोड्न गाह्रो छ । रेकर्ड तोड्नेभन्दा पनि निर्मातालाई केही फाइदा होस् । दर्शकलाई पनि दुई घन्टा सदुपयोग भएको महसुस होस् । म यति नै चाहन्छु । मलाई रेकर्डको भोक छैन ।

फिल्मका तीन बलिया पक्ष के हुन् ?

यसको विषयवस्तु सबैभन्दा बलियो पक्ष हो । विषय समय सान्दर्भिक छ । यसमा आवद्ध कलाकार पनि यसको बलियो पक्ष हो । दीपकराज गिरी, माग्ने बुढा, मुन्द्रेमात्र होइन केकी अधिकारी र सुपुष्पा भट्टको सम्मिश्रण यसमा छ । यसो तेस्रो बलियो पक्ष भनेको छायाँकन हो । छायाँकन कलात्मक र यथार्थपरक छ ।

यस अगाडिका दुबै फिल्मबाट समिक्षकको तारिफ मिलेको छ । यो बाट के होला ?

यसबाट पनि सकारात्मक समीक्षाको आशा लिएको छु । घामपानी र गोपीजस्तो गम्भीर फिल्म छैन यो । तैपनि फिल्म सराहनीय नै बनेको छ भन्ने लाग्छ । तर, ताली र गाली दुवैलाई स्वागत छ ।

प्रचारका क्रममा तपाइ धेरै देखिनु भएन किन ?

प्रचारप्रसारमा म पनि आफ्नो ढंगबाट खटिरहेको छु । तर, आम दर्शकका लागि दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, जितु नेपाल र माग्ने बुढा नै स्टार भएकाले प्रोमोसनमा उहाँहरु बढी सक्रिय हुँदा फिल्मलाई फाइदा हुने हो । त्यसैले धेरै ठाउँमा उहाँहरुलाई बढी र मलाई कम देखिएको हो ।

तेस्रो चलचित्र दर्शकको अपेक्षा धेरै छ । पुरा गर्ला कि नगर्ला ?

मेरो तेस्रो चलचित्र कस्तो बनेको होला भन्ने प्रतिक्षा गर्नेहरु निराश हुने छैनन् । जेहोस्, फिल्मले सकारात्मक प्रतिक्रिया बटुल्नेमा म विश्वस्त छु । मेरो आग्रह के छ भने यसपालिको फिल्म छ माया छपक्कै केही फरक काम हो । यसलाई त्यसरी नै हेरिदिनुहोला ।

घामपानी गोपी हेरेका दर्शकले यसबाट त्यो भन्दा धेरै अपेक्षा गर्ने कि नगर्ने ?

घामपानी र गोपीजस्तै यथार्थपरक कथावस्तु छ माया छपक्कैमा छ । नेपाली माटोकै कथा हेर्न चाहनेहरु यसपालि पनि सन्तुष्ट हुनेछन् । साथै प्राविधिक रुपमा अघिल्ला दुईभन्दा यो अलि परिष्कृत छ ।

दीपक दीपाको फिल्ममा दीपेन्द्र हराएको होला भन्ने पनि छन् नि ?

निर्देशक हराएको होइन । सबैजना पनि सक्रिय भएका चाहि हुन् । फिल्मलाई निर्देशककै माध्यम मानिन्छ । तर, यो फिल्म निर्देशक दीपेन्द्र लामाको मात्र होइन, दीपक दीपाको पनि हो । कोही हराउनेभन्दा पनि सबै छर्लंग देखिने खालको चाहिँ फिल्म हो यो ।

फिल्म सुरु गर्दा दीपेन्द्र टिममा धेरै समय रहँदैन भनेर समेत भन्थे । किन त्यसो भनेका थिए होलान् ?

खोइ, त्यसो किन भनेका होलान्, मलाई थाहा भएन । मैले त यस्तो कुरा सुनेको पनि छैन । सायद दीपकदीपासँग वैचारिक मतभेद भएर निस्किन्छन् भन्ने अनुमान लगाउनुभएको होला । तर, हामी सुरुमै स्पष्ट थियौं कि यो फिल्ममा कोही पनि आप्mनो वैचारिक अडानमा नबस्ने र सबैले लचकता अपनाएर काम गर्ने ।

त्यो टिममा काम गर्न गाह्रो कि सजिलो ?

जति ठूलो टिम भयो, काम गर्न त्यति गाह्रो हुन्छ । यो टिम ठूलो थियो । दीपक दीपामात्र होइन निर्माता रोहित अधिकारी पनि टिममा हुनुहुन्थ्यो । काम गर्न पक्कै पनि गाह्रो भयो । तर, यो अनुभवले मलाई परिपक्व बनाएको छ ।

आफुले सिक्नुभयो कि उनीहरुलाई सिकाउनुभयो ?

मेरो उद्देश्य अरुलाई सिकाउनुभन्दा पनि आफू सिक्नु थियो । दीपाश्री यो फिल्ममा निर्देशन सल्लाहकारका रुपमा सँगै हुनुहुन्थ्यो । उहाँबाट प्राविधिक पक्षका धेरै कुरा मैले सिक्न पाएँ । त्यस्तै दीपकराज गिरीबाट पटकथा, अभिनय र मार्केटिङ सिक्दैछु । 

कमेडीयनसँग काम गर्दाको अनुभव ?

कमेडियनसँग काम गर्दा रमाइलो भयो । हाँसिखुसी फिल्मको काम सकियो । म पनि सेन्स अफ ह्युमर भएकै मान्छे हुँ । उहाँहरुसँग घुलमिल हुन सजिलो पनि भयो ।

अब कस्तो चलचित्र गर्न मन लागेको छ ? 

मलाई किशोरकिशोरीहरुको लभस्टोरी फिल्म गर्ने इच्छा छ । सायद पाँचौं फिल्म त्यस्तै लभस्टोरी बनाउनेछु होला । किशोर किशोरीमात्र होइन अभिभावकले पनि हेर्नुपर्ने फिल्म हुनेछ त्यो । चौथो फिल्म चाहिँ सायद गाउँकै कथामा बनाउँनेछु ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप