शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत

आइतबार, २६ असोज २०७६, १६ : ००
आइतबार, २६ असोज २०७६

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग आग्रह गरेका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यसँगको भेटवार्तामा चीनमा आफूहरुले जनता र राष्ट्रलाई सही बाटामा डो¥याएका कारण जनताको अपार समर्थन पाएको र उक्त सद्भाव जनताको सत्ताका रुपमा स्थापित र लोकप्रिय भएको उल्लेख गरे ।
 
भेटमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति सीले नेपालको राजाीतिक उपलब्धि र विकासको पहल र नेपालको विशेषतासहितको प्रयत्नलाई बधाई दिएको र चीन नेपालको विकासका प्रयासलाई सहयोग गर्न तत्पर रहेको विश्वास दिलाएको जानकारी दिए । 

‘नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ । हामीबीच पहिलेदेखि नै राम्रो सम्बन्ध रहिआएको छ । यसलाई सबै तहमा विश्वास र विस्तार गर्नुपर्छ’, राष्ट्रपति सीले भने, ‘हामीहरुबीचको सम्बन्धलाई सरकार जनता, पार्टीको तहमा अगाडि बढाउनुपर्छ । दुई कम्युनिष्ट पार्टी भएकाले हाम्राबीचको राजनीतिक तहमा सम्बन्धका दायरा र आयामलाई अगाडि बढाउनुपर्छ ।’
 
चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा शक्ति आर्जन गरेका कारणले त्यसैको आधारमा मात्रै आफूहरु हिँडिरहेको भन्ने नभएको बताउँदै राष्ट्रपति सीले थपे, ‘शक्ति प्राप्त गरेका कारणले मात्रै होइन । कम्युनिष्ट पार्टीले आफूभित्रको अनुशासनलाई विशेष जोड दिनुपर्छ । त्यसलाई केन्द्रमा राखेर समाजवाद निर्माण गर्नुपर्छ । चीन र नेपालको बीचमा सकारात्मक पाटो मात्र छैन । चुनौतीका पहाड पनि छन् भन्ने बुझ्दै अगाडि बढ्नुपर्छ, जुन कुरा मैले हिजोको सम्बोधनमा समेत इङ्गित गरेकोे छु ।’
 
भेटका अवसरमा नेकपाका अध्यक्ष दाहालले चीन र चिनियाँ कम्युनिष्ट पार्टीसँगको मित्रतालाई नेकपाले धेरै महत्व दिएको र एक चीन नीतिप्रति शब्दमा मात्र नभई व्यवहारमा समेत प्रतिबद्ध रहेको बताए । 

अध्यक्ष दाहालले भने, ‘चीनको विकासबाट हामी पनि लाभान्वित हुन चाहन्छौँ । नेपाल र नेपाली जनताले त्यसबाट लाभ लिन सक्छन् भन्ने हाम्रो विश्वास छ । तपाईँको नेतृत्वमा चीनले अझै बढी विकास गरी सबल समाजवाद निर्माण गरोस् भन्ने हाम्रो पनि अपेक्षा छ ।’
 
राष्ट्रपति सी रहेको होटेलमा भएको भेटवार्तामा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र महासचिव विष्णुप्रसाद पौडेल एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए । यसपछि राष्ट्रपति सीले अध्यक्ष दाहालसँग बेग्लै भेटवार्ता गरेका थिए । 
 
राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत हुनुभएकाले दुई पार्टीका स्तरमा छलफल भएको हो । यही असोज ७ गते काठमाडौंँमा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सम्बन्ध विस्तारबारे सम्झौता भएको थियो । 

भेटमा राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, अन्य नेता र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी थिइन् । 

राष्ट्रपति सी नेतृत्वको प्रमण्डल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित द्विपक्षीय वार्ता भई विभिन्न सम्झौता भएको छ ।  

असोज ७ गते सम्पन्न सम्झौतामा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने, वैचारिक र राजनीतिक छलफल तीव्र बनाउने र विकासका ढाँचा आदानप्रदान गर्ने उल्लेख गरिएको छ । 

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालको उपस्थितिमा भएको सम्झौतापत्रमा नेकपा विदेश विभाग प्रमुख नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका थिए । 

सोही अवसरमा सी विचारधाराबारे अन्तरक्रियासमेत गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार नेपालको दुईदिने राजकीय भ्रमणमा आएका राष्ट्रपति सी स्वदेश फर्किएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप