मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरका मेयर चिरिबाबु भन्छन् : देउवाले दिएको त्यो हजारको नोट म कहिल्यै कारोबार गर्दिनँ

बुधबार, ३२ साउन २०७४, ०९ : ४३
बुधबार, ३२ साउन २०७४

चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदा बाहिर खासै चर्चा भएन । किनभने, उनी कुनै सेलेब्रिटी नेता थिएनन् । चिरिबाबुले निर्वाचन जित्लान् भन्नेमा उनकै पार्टी कांग्रेसका सभापतिदेखि केन्द्रीयस्तरका नेता पनि विश्वस्त थिएनन् । तर, ललितपुरको मेयरमा विजयी भएपछि उनको चर्चा निकै भयो । उनी बाहिर नपत्याइएका, तर जनताले पत्याएका नेता रहेछन् भन्ने चर्चा भयो । मेयर भइसकेपछिको साढे दुई महिनाको अवधिमा पनि देशभरका अन्य मेयरभन्दा फरक कोणबाट चिरिबाबुको चर्चा हुने गरेको छ । सेवासुविधाको लोभ नभएका र जनताको कामप्रति चिन्तित मेयरका रूपमा उनको छवि उजेलिँदै छ । नयाँ पत्रिकाका रमेश सापकोटासँग मेयर चिरिबाबुले निर्वाचनका वेलाका रोचक कहानी सुनाएका छन् :

जनाधारमा विश्वस्त थिएँ
म पाटनकै बासिन्दा । जनाधार राम्रो भएकोमा विश्वस्त थिएँ । मैले पार्टी (कांग्रेस)को सांगठनिक पदमा कहिल्यै दाबी गरिनँ । महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्लाको सचिव, कोषाध्यक्ष र अध्यक्षजस्ता पदमा कहिल्यै चुनाव लडिनँ र लड्न पनि चाहिनँ । जिल्लाको राजनीतिमा खुट्टा तान्ने प्रवृत्ति असाध्यै हुन्छ । यसकारण मलाई संगठनतिर इच्छा भएन । योभन्दा मेरो आकांक्षा महानगरमै काम गर्नु थियो । यसमै आकांक्षा राखेँ । जितेर जनतालाई सुशासन दिने योजना बुन्दै आएको थिएँ । टिकट पाए स्थानीय निर्वाचनमा जित्छु भन्ने पनि लागेकै थियो ।

५५ वर्षपछि कांग्रेसले ललितपुर जिल्लाका तीनवटै क्षेत्रमा चुनाव जितेको थियो । तीनवटै तहमा वर्षौंपछि जितेपछि महानगरपालिकामा हारियो भने इज्जत नै जान्छ भन्ने हाम्रो निचोड थियो । टिकटका दाबेदारहरूको सुक्ष्म तरिकाले मूल्यांकन भयो । जिल्लाका अधिकांशको बोली थियो, जिते चिरिबाबुले हो, नत्र अरूले जित्दैनन् ।

जिल्ला कार्यसमितिका प्रमुख नेता र सभासद् यो निचोडमा पुगेपछि मैले पनि इच्छा जनाएँ । ०४७ देखि कांग्रेसमा लागेको व्यक्ति, पञ्चायतकालमै दुईपटक वडा अध्यक्ष जितेको अनुभव पनि थियो । ०४९ को स्थानीय निकायको निर्वाचनमा पनि बागीको बाबजुद पनि जितेको थिएँ । ललितपुरमा रहेर तीनपटक स्थानीय निर्वाचन जितेको अनुभव र यहाँका जनतासँगको सम्बन्धका कारण योपटक पनि जितिन्छ भन्नेमा ढुक्क थिएँ । तर, उम्मेदवारीमा धेरैको दाबी भएकाले मैले नै पाउने पक्का थिएन ।

चिरिबाबु उच्चारण गर्नै जानेनन्
दाबेदार धेरै हुँदा टिकट कसले पाउने भन्ने चर्चा उत्तिकै चल्यो । मेरो जनाधार राम्रो थियो, तर पार्टीमा माथिसम्म बलियो पहुँच थिएन । मैले केन्द्रका सबैलाई चिन्ने, तर उहाँहरू कसैले पनि मलाई नचिन्ने अवस्था थियो । यहाँसम्म कि उहाँहरूले मेरो नामसमेत प्रस्ट भन्न सक्नुहुन्थेन । कसैले चिरबाबु, कसैले चिढीबाबु त कसैले चिनीबाबु भन्नुहुन्थ्यो ।

उम्मेदवार चयन हुँदासम्म पनि धेरैले मेरो नाम शुद्धसँग गर्न सकेनन् । अर्को कुरा, म नेताकोमा दर्शनभेट गर्न कहिल्यै गइनँ । मेरो आफ्नै शैली छ, जनताको बीचमा काम गर्ने । तर, नेताको दैलो नचहार्ने । सूर्यलाई नौ ग्रहले घुमेजस्तो नेतालाई घुम्न जानुपर्छ भन्ने कहिल्यै सोचिनँ, गइनँ ।

मैले फ्याट्टै भनिदिएँ, ‘ल सभापतिज्यू, मैले हारेँ भने तपाईंलाई एक लाख रुपैयाँ दिन्छु । तर, मैले जितेँ भने तपाईंले एक सय रुपैयाँ मात्रै दिए हुन्छ ।’उहाँले फेरि भन्नुभयो, ‘हारेपछि त्यो एक लाखको के महत्व ?’ यत्तिकैमा फोन संवाद सकियो ।

म ललितपुर कांग्रेसकै नेतासँग सम्पर्कमा थिएँ । जिल्लाका नेतालाई पनि जित्ने मान्छे यो हो भनेर थाहा थियो । जिल्ला सभापति मदन अमात्यले मेरो नाम ‘बोल्ड’ हिसाबले सिफारिस गर्नुभयो । जिल्लाबाट सिफारिस भएपछि केन्द्रका नेताहरू अप्ठ्यारोमा पर्नुभएछ । महानगरको उम्मेदवार हामीले चिन्दै चिनेका छैनौँ, उसले कसरी चुनाव जित्ला ? भन्ने परेछ । पार्टी सभापतिलाई धेरैले यस्तो कुरा सुनाएछन् ।

सभापति देउवासँग बाजी हानेँ
टिकटको टुंगो लागेको थिएन । तर, पनि हामीले घरदैलो गरिरहेका थियौँ । घरदैलो सकेर एक दिन बेलुका जिल्ला सभापति मदन दाइ (मदन अमात्य)सहितका नेता पुल्चोचस्थित मेरै घरबाहिर चियागफमा थियौँ । मदन दाइको मोबाइल फोनको घन्टी बज्यो । दाइले ‘नमस्ते दाइ, जय नेपाल’ भन्नुभयो । ठूलै मान्छेको फोन हो भन्ने अनुमान मैले लगाएँ । उताबाट के सोधिएको थियो, सुनिएन । तर, मदन दाइले ‘हामीले उठाउने भनेको उम्मेदवारले जित्नुहुन्छ’ भनेर ठोकुवा गर्नुभएको थियो । ‘जिताएर ल्याउने मेरो जिम्मा भो’सम्म भन्नुभएको थियो ।

कुराकानीकै क्रममा थाहा भयो, सभापति शेरबहादुर देउवाको फोन रहेछ । मदन दाइले ‘चिरिबाबु पनि यहीँ छ’ भनेपछि सभापतिले केही कुरा गर्न चाहनुभएछ । मसँग कुरा हुँदा उहाँले ‘चुनाव पक्का जित्छौ त ?’ भन्नुभयो । एउटै प्रश्न पटकपटक सोध्नुभयो । मैले वाचा गरेँ । तर, अझै विश्वास नगरेपछि मनमनै रिस उठ्यो । सानोबाबु (नेवारी भाषामा चिरिबाबु भनेको सानोबाबु हो) ठानेर नपत्याएको हो कि भन्ने पनि लाग्यो । त्यसपछि मैले फ्याट्टै भनिदिएँ, ‘ल सभापतिज्यू मैले हारेँ भने तपाईंलाई एक लाख रुपैयाँ दिन्छु । तर, मैले जितेँ भने तपाईंले एक सय रुपैयाँ मात्रै दिए हुन्छ ।’

उहाँले फेरि भन्नुभयो, ‘हारेपछि त्यो एक लाखको के महत्व ?’ यत्तिकैमा फोन सम्वाद सकियो । उहाँले विश्वास नगरेको र जित्ने ठोकुवा गर्दै मैले बाजी मारेको प्रसंग पछिसम्म सम्झिरहेँ । त्यही फोन सम्वादको तीन दिनपछि टिकट पाएँ ।

टिकट पाएपछि अर्को तनाव
निरन्तर रूपमा विश्वास दिलाएपछि बल्ल टिकट पाइयो । तर, घटना अर्कैतिर मोडिनेजस्तो देखियो । निर्वाचनमा सफल हुन पार्टीले तालमेलको नीति लियो । सबैतिर मिलाउँदै जाने क्रममा ललितपुरमा माओवादीलाई छाड्ने कुराकानी भइरहेको रहेछ । केन्द्रको यो तयारी लागू गर्ने तयारी निकै अघि बढिरहँदा हामीलाई तनाव भयो ।

उम्मेदवारी फिर्ता गर्न चाहनेका लागि तोकिएको अन्तिम दिन बिहान साढे नौ बजेतिर मदन दाइले मलाई फोन गर्नुभयो । कहाँ छौ ? भन्नुभयो । मैले पाटनमै रहेको जानकारी गराएँ । उहाँले पुल्चोक बोलाउनुभयो । उम्मेदवारी फिर्ता लिनका लागि माथिबाट ठूलो दबाब आउँदै छ भन्नुभयो । मेरो मनमा नराम्रो झस्को पस्यो ।

सभापति देउवाले हस्ताक्षर गरेर दिएको त्यो हजारको नोट म कहिल्यै कारोबार गर्दिनँ । अन्यत्र सार्वजनिक पनि गर्दिनँ । मैले कुन संघर्षले टिकट पाएँ र जिते भन्ने पुष्टि गर्न छोरा–नाति पुस्तालाई मात्रै देखाउँछु । बाजीमा जितेको हजारको नोट अहिले खामबन्दी गरेर राखेको छु।

उहाँले मोबाइल अफ गर्न सुझाब दिनुभयो । उपमेयर उम्मेदवार गीतालाई पनि त्यही सुझाब दिनुभयो । मदन दाइले पनि फोन अफ गर्नुभयो । मोबाइल अफ गर्नुको मतलब, कसैले सम्पर्क गर्न नसकोस् भन्ने थियो । त्यसपछि म, गीता र राजु महर्जन (भतिजा) फोन अफ गरेर कीर्तिपुरतिर लाग्यौँ । भतिजको साथीको घरमा गएर साढे पाँच घण्टा बस्यौँ । मदन दाइसँग भने अर्कै नम्बरबाट सम्पर्कका थियौँ । तर, पार्टी केन्द्रको सम्पर्कबाट भने टाढा थियौँ । 
उम्मेदवारी फिर्ताको समय टरेपछि हामी फर्कियौँ । बल्लतल्ल उम्मेदवारी पक्का भयो । त्यो संघर्षले टिकट प्राप्त गरियो र जितेर पनि देखाइयो ।

८ देखि १२ हजार अन्तरले जित्ने अड्कल
८ देखि १२ हजार अन्तरले जित्छु भन्ने अड्कल थियो । तर, परिस्थिति केही फरक भयो । साझा पार्टीका उम्मेदवारले पाएको ८० प्रतिशत भोट त कांग्रेसबाट काटिएर गयो भन्ने मेरो हिसाब छ । अन्तर निकै कम अवस्थामा पुग्दा पनि हारिन्छ भन्नेचाहिँ कहिल्यै लागेन । तीन सय ६५ मतान्तरले एमाले उम्मेदवारलाई जितेँ । खासमा आन्तरिक कलह र पार्टीभित्र हराउने पूर्वाग्रही उदाएपछि कम मतान्तर निस्कियो । तर, म उनीहरूप्रति इष्र्या राख्दिनँ, गुन
नै लगाउँछु ।

एक हजार रुपैयाँ बाजी जितेपछि… 
पार्टी केन्द्रबाट उम्मेदवार नै नबनाउने, बनाएपछि नाम फिर्ता लिएर तालमेल गर्ने प्रयास भयो । तर, हामी ललितपुर महानगरपालिकामा कांग्रेसलाई जिताउन सफल भयौँ । त्यसपछि केन्द्रीय कार्यालयमा बैठक भएकै वेला सभापतिले बोलाउनुभयो । ‘ल चिरिबाबु आयो’ भनेपछि केही नेताले अंगालो मार्नुभयो, कोही खल्तीबाट खादा निकालेर लगाइदिन थाल्नुभयो । शुभकामनाको ओइरो लाग्यो ।

मेरो सामुन्नेमा सभापति शेरबहादुर देउवालाई देखेँ । उहाँ घरी यताको खल्ती, घरी उताको खल्ती छामिरहनुभएको थियो । मैले अनुमान लगाइहालेँ, उहाँ बाजीको पैसा दिन प्रयास गर्दै हुनुहुन्छ, तर गोजीमा भेटिएन होला । दिनुभयो । तर, मैले लिन मानिनँ । एक सय रुपैयाँ हो भने लिन्छु, तर एक हजार त लिन्न भनेँ । किनभने मैले जितेँ भने उहाँले एक सय रुपैयाँ दिनुपर्छ भनेको थिएँ । उहाँको गोजीमा भने सयको नोट रहेनछ क्यारे, हजारकै नोट दिएर पटकपटक लिन भन्नुभयो । उहाँको जोडपछि मैले हजार रुपैयाँकै नोट लिएँ । तर, ९ सय रुपैयाँ फिर्ता गर्न पर्स पनि झिकेँ । उहाँले फेरि ‘भयो के छाडिदेऊ’ भनेपछि त्यो विषयलाई ठूलो बनाइनँ । उहाँले पैसामा हस्ताक्षर नै गरेर दिनुभएको थियो । लगत्तै मैले फोटो खिचाएँ । तर, पैसामा हस्ताक्षर गरेको फोटो खिचाएको भन्दै मलाई कतिपयले गाली गरे । पैसामा हस्ताक्षर गर्न नमिल्ने रहेछ, सभापति देउवाले नि गरिहाल्नुभयो ।

उहाँले हस्ताक्षर गरेको त्यो हजारको नोट म कहिल्यै कारोबार गर्दिनँ । अन्यत्र सार्वजनिक पनि गर्दिनँ । मैले कुन संघर्षले टिकट पाएँ र जिते भन्ने पुष्टि गर्न छोरा–नाति पुस्तालाई मात्रै देखाउँछु । बाजीमा जितेको हजारको नोट अहिले खामबन्दी गरेर राखेको छु ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप