बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सी–मोदी अनौपचारिक वार्ताः नरेन्द्र मोदी वार्तास्थल हेलिकप्टरमा जाँदा सी जिनपिङ भने कारमै गए

शनिबार, २५ असोज २०७६, १४ : १९
शनिबार, २५ असोज २०७६

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक भेटवार्ताको लागि शुक्रबार तमिलनाडू पुगेका चीनका राष्ट्रपति सी जिनपिङले चेन्नई विमानस्थलबाट वार्तास्थल जानको लागि हेलिकप्टरको साटो सकडमार्ग प्रयोग गरे । 

चेन्नई र सी जिनपिङ बसेको माम्मल्लपुरमको होटलको दूरी ५७ किमी थियो । सीले चेन्नई विमानस्थलबाट वार्तास्थलसम्म गाडीमा पुग्दा भारतका प्रधानमन्त्री मोदी भने हेलिकप्टरबाट त्यता लागेका थिए । 

‘हेलिकप्टर प्रयोग नगर्ने कानुनजस्तै’
चिनियाँ नेताहरु हेलिकप्टर प्रयोग नगर्ने नीतिको कारण सीले गाडी प्रयोग गरेका थिए । सोही नीतिका कारण सी लामो दूरी पनि सडक मार्गबाटै तय गर्ने गर्छन् । 

बेइजिङस्थित विदेश मन्त्रालयका अधिकारीका अनुसार चिनियाँ नेताहरुले हेलिकप्टर प्रयोग नगर्ने कुरा झण्डै कानुनजस्तै छ । 

‘चिनियाँ नेताहरु हवाईजहाज र कार प्रयोग गर्छन् तर हेलिकप्टर भने मन पराउँदैनन्,’ चिनियाँ विदेश मन्त्रालयका अधिकारीको भनाई उल्लेख गर्दै हिन्दूस्तान टाइम्सले लेखेको छ । 

सीले जी–२० जस्तो बहुपक्षीय बैठकमा सहभागी हुदाँ पनि हेलिकप्टर प्रयोग नगर्ने गरेको अधिकारीले जानकारी गराए । 

चीनबाटै ल्याइएको कार प्रयोग
सी जिनपिङले चेन्नईबाट माम्मल्लापुरमको होटलसम्मको यात्राका लागि चीनबाटै ल्याइएको ‘होङछी’ लिमोजिनमा प्रयोग गरेका थिए । 

‘होङछी’ चीनको विलासी कार हो । यसलाई सन् १९५८ मा देशको सरकारी कार निर्माता कम्पनी ‘फस्र्ट अटोमोबाइल वर्क’ले निर्माण गरेको हो ।  

सन् १९७० को दशकमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनसँगको ऐतिहासिक भेटका क्रममा माओले यो ब्राण्डको कार प्रयोग गरेका थिए । त्यसपछि यो कार अन्य नेताले प्रयोग गर्ने लहर चलेको थियो ।

तर १९९० को दशकपछिका चिनियाँ नेताले विदेशमा निर्माण भएका कार प्रयोग गर्न थालेपछि यसको प्रयोग कम हुन थालेको थियो । चिनियाँ भाषामा ‘होङछी’को अर्थ ‘रातो झण्डा’ भन्ने हुन्छ । 

तर सन् २०१२ मा सी जिनपिङ सत्तामा आएपछि कार्यकर्ताहरुलाई स्वदेशी वाहन प्रयाग गर्न उर्दीनै दिए । त्यस बेला चिनियाँ कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई सीले विदेशी गाडि छाडेर स्वदेशी गाडि प्रयोग गर्न निर्देशन दिएका थिए ।

विदेशी भूमिमा पनि स्वदेशी वाहनको प्रयोग गर्ने अभ्यास

सीले विदेश भ्रमणको क्रममा ‘होङछी’ कार प्रयोग परम्पराको रुपमा विकास गर्ने प्रयास गरिरहेका छन् । अमेरिकाका राष्ट्रपतिहरु आफ्ना सम्पूर्ण भ्रमणका लागि काडिलक ब्राण्डको विशेष कार ‘द बिस्ट’ प्रयोग गर्ने गछ्र्रन् । 
चीनले अहिले अमेरिकाकै जस्तो गरेर देशमै बनेको ‘होङछी’लाई आफ्नो नेताको विदेश भ्रमणमा प्रयोग गर्न थालेको छ । यसका लागि नेता जाने देशमा पहिले ती सवारी विमानबाट लगिन्छ । 

साउथ चाइना मर्निङ पोष्टका अनुसार सीले पहिले पटक सन् २०१४ मा न्युजिल्याण्डको राजकीय भ्रमणमा विदेश भूमिमा पनि ‘होङछी’ प्रयोग गरेका थिए । 
यस कदमलाई विदेशी भूमिमा चिनियाँ ब्राण्डको प्रबद्धन गर्ने प्रयासको रुपमा हेरिएको छ । 

बेइजिङस्थित चाइना फरेन अफेर युनिभर्सिटीका प्रद्यापक सु हाओले हाङछीको छनौट चिनियाँ सामाग्री पनि पश्चिमा देशका वाहनबराबरी छन् भन्ने सन्देश दिने प्रयास भएको बताए । 

‘अमेरिकाका राष्ट्रपतिहरु विदेशी सवारीको सुरक्षामा आशंका गर्छन् । त्यसैले आफैले कार लिएर हिड्छन् । तर चीनको सन्दर्भमा त्यसको फरक कारण छ,’ सुले भने ,‘ विदेश भ्रमणमा होङ्छीको प्रयोगको उदेश्य चिनियाँ कारहरु पनि उच्च राजकीय प्रयोजनामा पनि उपयुक्त छ भन्ने देखाउनु हो ।’

अनौपचारिक वार्तापछि अवलोकन
बिहिबारको पहिलो दिनको अनौपचारिक वार्तापछि सीको भ्रमण–टोलीलाई माम्मल्लापुरम पर्यटकीय क्षेत्रको दृश्यावलोकन गराइएको थियो । साँझ होटल फर्किएका सी पुनः दोस्रो दिनको लागि आज विहान माम्मल्लापुरम पुगेका छन् । 

मोदीसँगको आजको वार्ता सकाएर सी जिनपिङ नेपालको लागि उड्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप