शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले पर्यटनमा बहुआयामिक प्रभाव पर्छ : मन्त्री भट्टराई

शनिबार, २५ असोज २०७६, १२ : ५७
शनिबार, २५ असोज २०७६

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन्। 

उनले वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपालमा चिनियाँ पर्यटकको निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको बढोत्तरी हुने विश्वास व्यक्त गरे।
     
मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको नेपाल भ्रमणको सन्दर्भमा गरिएको कुराकानीका क्रममा पर्यटनमन्त्री भट्टराईले २३ वर्षपछि चीनका राष्ट्र प्रमुखबाट हुन गइरहेको नेपाल भ्रमणले मुलुकको पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण अवसर भएको बताए।
    
पर्यटनमन्त्री भट्टराईले विश्वको बलियो अर्थतन्त्र र विश्व महाशक्ति राष्ट्रका रुपमा उदाएको चीनले लिने कुनै पनि नीति, कार्यक्रम र अख्तियारीले विश्वलाई नै प्रभावित पार्ने स्थिति बनिरहेको सन्दर्भमा त्यस्तो मुलुकका राष्ट्र प्रमुखको नेपाल भ्रमण गर्नु नेपाल र नेपालीका लागि गौरवको विषय भएको उल्लेखगरे।
    
'विश्वको अर्थतन्त्रमा, विश्वको सामरिक क्षेत्रमा र विश्व पर्यटन प्रवर्द्धनमा चीनको योगदान र भूमिका निर्णायक ठाउँमा पुगेको छ। त्यस्तो मुलुकको राष्ट्र प्रमुखको हैसियतले नेपालको भ्रमण गर्नु नेपाल र नेपालीका लागि गौरवको विषय हो।' उनले भने, 'नेपालको तर्फबाट पटकपटक राष्ट्रप्रमुख र सरकार प्रमुखको चीनमा भ्रमण हुँदै आयो तर चीनको तर्फबाट यो तहको भ्रमण हुन सकेको थिएन अहिले भ्रमण हुनु हाम्रा लागि महत्वपूर्ण छ।'

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षको समयमा चीनबाट कम्तीमा पनि पाँच लाख पर्यटक नेपालमा भित्र्याउने मिसनका साथ काम गरिरहेको उल्लेख गरे। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ।

चीनबाट पछिल्ला वर्षमा नेपाल आउने पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ। सन् २०१८ मा एक लाख ६० हजार चिनियाँले नेपाल भ्रमण गरेका छन्। सन् २०१९ को आठ महिनाको अवधिमा अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले वृद्धि भएको छ। 
    
चिनियाँ पर्यटक खासगरी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायतका गन्तव्यमा बढी घुम्न रुचाएको तथ्याङ्कले देखाउँछ। नेपाल बुद्धको जन्मभूमि हो। चीनमा भगवान् गौतम बुद्धलाई धेरै सम्मान गरिन्छ। बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी त्यहाँ भएकाले भ्रमणपछि लुम्बिनीमा चिनियाँ पर्यटकको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको पर्यटनमन्त्री भट्टराईले उल्लेख गरे।

पर्यटनका निम्ति अर्को महत्वपूर्ण पक्ष भनेको सहज ‘कनेक्टिभिटी’ हो। अहिले चीनका कुनमिङ, ग्वोञ्जाओ, ल्हासा, छेन्दु, सिचुवानलगायत विभिन्न गन्तव्यबाट चाइनिज एयरलाइन्सले नेपालमा सिधा उडान भर्दै आएका छन्। नेपालको तर्फबाट छिटै हिमालय एयरलाइन्सले बेइजिङबाट उडान गर्ने तयारी गरेको छ। 

त्यस्तै केही महीना अगाडि नेपाल र चीनबीच भएको दुई पक्षीय हवाई सम्झौताबाट चीनका थप १५ वटा सहरबाट नेपालमा हवाई उडान गर्ने सहमति भएको छ। सोहीअनुरुप नेपाल एयरलाइन्सले पनि ग्वोञ्जाओ र बेइजिङबाट उडान गर्ने तयारी गरिरहेको छ। यसबाट पनि चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएको छ।
    
उड्डयनका क्षेत्रमा चिनियाँको सहयोग

नागरिक उड्डयनका क्षेत्रमा पनि नेपाललाई चिनियाँ पक्षको महत्वपूर्ण सहयोग प्राप्त भइरहेको उहाँले उल्लेख गरे। विशेषगरी भैरहवास्थित निर्माणको अन्तिम चरणमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने ठेकेदार कम्पनी चिनियाँ रहेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पनि चिनियाँ कम्पनीले लिएको छ। 

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा क्षमता विस्तार कार्यमा पनि चिनियाँ ठेकेदार कम्पनीकै संलग्नता रहेको छ। यस हिसाबले उड्डयन क्षेत्रमा चिनियाँको उपस्थिति महत्वपूर्ण मानिन्छ।
    
'कुनै पनि राष्टका राष्ट्रप्रमुख वा सरकार प्रमुख जुन स्थानमा भ्रमण गर्नुहुन्छ, त्यहाँ पर्यटक बढेको देखिन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ, जनकपुरधाम र पशुपतिनाथको भ्रमण गरेपछि पर्यटकको सङ्खयामा वृद्धि भएको छ।' भट्टराईले भने,' चिनियाँ राष्ट्रपतिको भ्रमणपछि चिनियाँ पर्यटकको हालको सङ्ख्याबाट वार्षिक पाँच लाखभन्दा बढी पुग्ने अपेक्षा गरेका छौँ। यो भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनका निम्ति बहुआयामिक प्रभाव पार्नेछ।'
    
उनले नेपाल सरकार, जनता र सिङ्गो मुलुक चिनियाँ राष्ट्रपतिको भ्रमणकोे भव्य स्वागतको तयारीमा जुटेको र उनको दुईदिने राजकीय भ्रमण पूर्णरुपमा सफल हुने विश्वास व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप