शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सी जिनपिङको भ्रमणको अबसरमा तमिलनाडू चिटिक्क पारिएपछि अदालतले भन्यो, ‘प्रदेशलाई सफा राखिराख्न ठूला नेतालाई ल्याइरहनु’

शनिबार, २५ असोज २०७६, १२ : ००
शनिबार, २५ असोज २०७६

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति शी जिनपिङबीच तमिलनाडूको मामल्लापुरममा हिजो र आज दुई दिने अनौपचारिक शिखर वार्ता चलिहरेको छ । त्यस वार्ताअघि चेन्नई र नजिकको महाबलीपुरम (मामल्लापुरम) मा युद्धस्तरमा सरसफाइ अभियान चल्यो ।

त्यस सरसफाइ अभियानलाई उल्लेख गर्दै मद्रास उच्च अदालतले प्रदेश सफासुग्घर राखिराख्नको लागि नेताहरुलाई तमिलनाडूको भ्रमण गराईरहनुपर्ने टिप्पणी गरेको छ ।

न्यायाधीशद्वय एस. वैद्यनाथ र सी. सरवननको बेन्चले सहरमा अनाधिकृत रुपमा ब्यानर तथा होर्डिङ बोर्ड लगाउनेहरुलाई अधिकतम सजायँ माग गर्दै हालिएको एक मुद्दामा बहसगर्ने क्रममा यो टिप्पणी गरिएको हो ।

अघिल्लो महिना सेप्टेम्बर १२ को दिए एक २३ वर्षिया इन्जिनियर सुबाश्रीमाथि यस्तै एक होर्डिङ बोर्ड खसेको थियो । चेन्नई थुरईपक्कम–पल्लवरम रेडियल रोडमा आफ्नो बाइकमा यात्रारत सुबाश्रीमाथि होर्डिङ बोर्ड झरेपछि उनी लड्न पुगिन् । र उनीपछि आइरहेको ट्रकले किच्दा उनको ज्यान गएको थियो ।

यो मुद्दा सुबाश्रीका पिताले दायर गरेका थिए ।

मिडिया रिपोर्ट अनुसार सुबाश्रीमाथि झरेको होर्डिङ बोर्ड एआईएडीएमके पार्टीका पूर्व पार्षद र कान्चीपुरम इस्ट एमजीआर मन्ड्रमका सहायक सचिव एस. जयगोपालका परिवारका सदस्यको विवाहको लागि लगाइएको थियो ।

सुबाश्रीका पिताले आफ्नो छोरीको मृत्युको लागि सरकारबाट क्षतिपुर्ति स्वरुप एक करोड भारु माग गरेका छन् । त्यसका साथै उनले यस विषयमा एसटीआई (विशेष अनुसन्धान टिम)बाट जाँच गराउनुपर्ने बताएका छन् ।

सुनुवाईको क्रममा सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा मामल्लापुरम निक्कै सफा भएको कुरा उल्लेख गरिएको छ । ‘ठूला–ठूला नेता आउँदा सरकारले यस्ता कदम उठाउने भएकाले तमिलनाडुलाई सफासुग्घर बनाउने हो भने ठूला नेताहरुको भ्रमण भइरहनुपर्छ,’ न्यायाधीशद्वयले टिप्पणी गरेका छन् ।

चीनको राष्ट्रपति सी जिनपिङ शुक्रबार चेन्नई पुगेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सीसँग शुक्रबार चेन्नईभन्दा झण्डै ५० किमी टाढा मामल्लापुरममा भेटघाट गरे ।

सी जिनपिङको भ्रमणअघि मामल्लापुरमस्थित ७औं शताब्दीका पल्लव वंशिय स्मारकहरु सफा गरेर चम्काइएको छ ।

त्यस्तै सी जिनपिङको यात्रालाई मध्यनजर गरेर चेन्नई विमानस्थल अवस्थित रहेको जीएसटी रोडलगायत ओल्ड महाबलीपुरम रोड र इस्ट कोस्ट रोडलाई पुरै नयाँ तरिकाले सजाइएको छ ।

सरसफाई अन्तर्गत चेन्नईको जीएसटी रोडस्थित मेट्रो रेलको पिलरमा लगाएको पोस्टरहरु पनि हटाइएको छ भने सडकमा खुइलिएका धर्साहरु पुनःकोरिएको छ ।

चेन्नई र मामल्लापुरममा युद्धस्तरमा चलिरहेको सफाई र सौन्दर्यकरणको कामलाई उल्लेख गर्दै न्यायाधीशहरुले उक्त टिप्पणी गरेका हुन् । मुद्दाको आगामी सुनुवाई अक्टोबर १५को लागि तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप