शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयमा फोन : वाणिज्य बैङ्कको एटीएम ह्याक गरिसकें, अब राष्ट्र बैङ्कको गर्दैछु !

शुक्रबार, २४ असोज २०७६, २१ : १५
शुक्रबार, २४ असोज २०७६

काठमाडौँ । बिहीबार दिउँसो करिब ३ बजेतिर गृह मन्त्रालयमा एउटा फोन आयो । फोनमा भनिएको थियो – ‘सिरहाबाट बोल्दैछु । वाणिज्य बैङ्कको एटीएम ह्याक गरिसकें । अब राष्ट्र बैङ्कको गर्दैछु ।’

गृह मन्त्रालयमा आएको फोन रिसिभ गरेका थिए – ‘रिसेप्सनिष्ट’ । उनले तत्कालै गृहसचिव प्रेमकुमार राईलाई फोनमा आएको विषयबारे जानकारी गराइहाले । 

गृहसचिव प्रेमकुमार राईले तत्कालै प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाललाई ‘त्यो मान्छे को हो पत्ता लगाउन निर्देशन’ दिए । 

आईजीपी खनालले पनि तत्कालै महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापालाई घटनाबारे जानकारी दिएर तत्काल अपराधीलाई पक्रेर कारबाही गर्न निर्देशन दिए । 

केही दिनअघि मात्र कृषि विकास बैङ्कको सिरहाको लहान शाखाबाट करोडौं रुपैयाँ ह्याक गरेर विभिन्न व्यक्तिको खातामा पुर्याइएको थियो । यस्तो कुरा सुनेपछि महाशाखाको टोली झनै सक्रिय बन्यो । त्यो व्यक्ति को हो पत्ता खोज्न तिर लाग्यो । 

जुन अपरिचित व्यक्तिले फोन गरेको नम्बर ट्रयाक गर्दै महाशाखाको टोली खोजीकार्यमा संलग्न भयो । अन्ततः महाशाखाको टोलीले ती अपरिचित व्यक्तिलाई २४ घण्टा नबित्दै सिरहाको कल्याणपुरबाट पक्राउ गर्यो । 

पक्राउ परेका व्यक्ति थिए सिरहाकै प्रमोद ठाकुर । अनुसन्धानको क्रममा ठाकुर मानसिक रोगी रहेको प्रहरीको भनाइ छ । 

सोधपुछको क्रममा पक्राउ परेका ठाकुरले ‘आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी’ लाई पनि फोन गरेर कुराकानी गरेको प्रहरी समक्ष बयान दिएको महाशाखाका प्रमुख थापाले रातोपाटीलाई जानकारी दिए । 

ठाकुरले एउटा फोन प्रयोग गर्दै आइरहेको थापाको भनाइ छ । एसएसपी थापाले भने, ‘एउटा फोन प्रयोग गरे पनि सिम भने ७ वटा आफ्नै नामबाट निकालेर चलाउँदै आएको पाइएको छ ।’

ठाकुरले भारतको सर्वोच्च अदालतलमा समेत फोन गरेर नेपालका बैङ्कका एटीएम ह्याक गर्न लागेको बताएको प्रहरी समक्ष बयान दिएका छन् । 

यस्तै ठाकुरले बङ्गलादेशको जति पनि प्लेन क्र्यास भयो आफ्नै कारणले भएको पनि बताएका छन् ।

प्रहरीले ठाकुर मानसिक सन्तुलन गुमेको व्यक्ति भएको भन्दै स्वास्थ परीक्षण गराउने जनाएको छ । ठाकुरले दिएको बयान अविश्वसनीय देखिएकाले परीक्षणको लागि पठाइएको प्रहरीको भनाइ छ । 

पक्राउ परेका ठाकुरको मोबाइल र ७ वटै सिमकार्ड प्रहरीले राखेर थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप