शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ कुटनीतिः बहुध्रुवीय समीकरणको नेतृत्व

शुक्रबार, २४ असोज २०७६, ०७ : ५७
शुक्रबार, २४ असोज २०७६

२०१९, सेप्टेम्बर ३ का दिन चिनियाँ राष्ट्रपति सी जिनपिङले केन्द्रीय पार्टी स्कूलका नवनियुक्त तथा सेवारत पार्टी कार्यकर्ता एवम् अधिकृतहरुको तालिमको आरम्भ गर्ने एक समारोहमा सम्बोधन गर्दै थिए । सम्बोधनका क्रममा उनले निरन्तर पुनरुक्ति गरिरहेका केही पदावलीहरु यहाँँ स्मरणीय छ । उनले ‘ठूला संघर्षहरु’, ‘चिनियाँ सपना’, ‘संघर्षहरु’, ‘संघर्षका सम्पूर्ण स्वरुपहरु’, ‘महान् राष्ट्रिय पुनर्जागरण’, ‘शक्तिशाली समाजवादी मुलुक’ जस्ता पदावली बारम्बार प्रयोग गरिरहे ।

उनको आशय झल्किन्थ्यो, ‘चीनले राष्ट्रिय पुनर्जागरणको चिनियाँ सपना हासिल गर्नका निमित एउटा महान् संघर्षबाट गुज्रनै बाँकी छ । चीनलाई एउटा शक्तिशाली समाजवादी मुलुकका रुपमा विश्व सामु उभ्याउन महान् चिनियाँ जनताले अवश्यम्भावी रुपमा  संघर्षका सम्पूर्ण आयामहरुसंग साक्षात्कार गर्नैपर्ने बाध्यकारी परिस्थितिहरु आउँदैछन् ।’ त्यसका लागि सबैले तयार रहन आग्रह गर्ने भावमा उक्त सम्बोधन केन्द्रीत थियो ।

उनको उक्त भाषणको कुनै अंशमा पनि चीनको प्रतिद्वन्द्वी राष्ट्रहरु या कुनै बहुदेशीय गठबन्धनहरुको नाम समेत उच्चारण गरिएको पाइँदैन ।   

हाल विश्वभरका सञ्चार माध्यमहरुले फुक्दै आएका ‘चीन–अमेरिका व्यापार युद्ध’, ‘पश्चिमेली मुलुकहरुसँगको चीनको प्रतिस्पर्धा’, ‘पश्चिमेली लोकतन्त्र र मानव अधिकार विरुद्ध चीनको कदम’ जस्ता वाक्यांशहरुलाई उनले कतै पनि खुलेर प्रतिवाद गरेनन् । अमेरिका चीनको प्रतिद्वन्द्वी हो भन्ने पदावली पनि उक्त भाषणमा कतै पाइन्न ।

तर सम्पूर्ण भाषण टुँगिदा एउटै स्वरमा उनका सम्पूर्ण अभिव्यक्ति ‘पश्चिमी सभ्यता, शक्ति, अर्थव्यवस्था लगायत सबैकुरा चीन विरोधी छन्, ती सबैले चीनको दीर्घकालीन अहित नै चाहन्छन्’ भनिरहेको भान हुन्छ । सिका लागि चीनको केन्द्रीय सत्तामा टिकिराख्न कुनै अप्ठ्यारो छैन । उनले संविधान नै संशोधन गरेर आफूमा असिमित अधिकार केन्द्रीत गरिसकेका छन् । मुलुकभित्र र कम्युनिष्ट पार्टीपंक्तिमा उनी आफू एकदमै शक्तिशाली बनेका छन् ।

वाह्य तथा कुटनितिक जगतमा पनि उनले अकल्पनीय उपलब्धी हासिल गरेका छन् । मार्च १४, सन २०१३ मा चीनको राष्ट्रपतिका रुपमा चयन भएदेखि हालसम्म विभिन्न बहुपक्षीय शीर्ष बैठक, भेला तथा सम्मेलनहरुमा सहभागी भएर आफ्नो मुलुक र मुलुकले अपनाएका ‘चिनियाँ विशेषतासहितको समाजवाद’लाई सक्दो प्रसार गर्ने कोशीस गरिरहेका छन् ।  

यस क्रममा एसिया–प्रशान्त आर्थिक सहयोग एपेकको छ ओटा शिखर बैठकहरुमा राष्ट्रपति सी सहभागी भइइसकेका छन् भने ब्राजिल, रुस, भारत, चीन र साउथ अफ्रिका सम्मिलित ब्रिक्सको छ ओटा शीर्ष बैठकमा उनले आफ्नो मुलुकको प्रतिनिधित्व गरिसकेका छन् । त्यस्तै, उनले जि–२० को सातओटा, आणविक सुरक्षा शिखर सम्मेलन–एएससको दुईओटा, साँघाई सहकार्य संगठन–एससीओको सातओटा शिखर बैठकमा सहभागिता जनाएका छन् । राष्ट्रपतिले ३६ पटक जति वैदेशिक भ्रमण गरिसकेका छन् ।

आफू राष्ट्रपति भएपछि पहिलो वैदेशिक राजकीय भ्रमण राष्ट्रपति सीले रुसबाट शुरु गरे । सन् २०१३ को मार्च २२–२३ मा सम्पन्न भएको उनको रुसी महासंघको भ्रमणका क्रममा उनले रुसी राष्ट्रपतिसँग दुईपक्षीय हितका पक्षमा कुराकानी भएको थियो । दुई मुलुकबीच बृहद रणनीतिक योजनाहरुबारे सहकार्य गर्ने तथा पर्यटनको बिकास र साँस्कृतिक आदानप्रदान गर्नेबारे पनि छलफल भएको थियो । त्यसै भ्रमणका क्रममा राष्ट्रपति सीले रुसी संसद दुमाका अध्यक्ष सेर्गेइ नारिस्किन, रक्षामन्त्री सेर्गेइ शोइगु तथा सुदुर–पूर्व विकासमन्त्री ईशाएभलाई भेटेर रुसी विभागीय मन्त्रीहरुको योजना तथा सरकारको कार्यक्रमबारे जिज्ञासा पनि राखेका थिए ।

भेटघाट जतिपटक या जुनसुकै फोरमहरुमा भएको भए पनि आफ्नो नेतृत्वको विश्व व्यवस्था सिर्जना गर्न चीनले धेरै कुरामाथि ध्यान दिनुपर्ने हुन्छ ।

एउटा उदयमान महाशक्तिका रुपमा चीनले विद्यमान विश्व व्यवस्थाको अर्थ–राजनीतिक खेलको नियम नै बदल्नुपर्ने हुन्छ र त्यस दिशातर्फ यू अघि बढिसकेको छ । त्यसमा अमेरिकाको नेतृत्वमा निर्मित विश्व अर्थतन्त्रको आधारशीलालाई नयाँँ तर विशुद्द मौलिक ढाँचा दिनु पर्दछ । जि–टु अर्थात चीन र अमेरिका मिलेर बनेको दुई सदस्यीय समूहको निर्माण गरी अन्तरर्राष्ट्रिय वित्तीय संकट टार्ने, वातावरण परिवर्तनले ल्याएका जोखिमहरु न्यूनीकरण गर्ने, आम विनाशकारी हातहतियारहरुलाई नियन्त्रण गर्ने, विश्व राजनीतिको दीर्घरोग बनिरहेको इज्राएल–प्यालेस्टाइन समस्यालाई अन्त्य गर्न कुटनीतिक पहल गर्ने र मुख्य गरी एसिया–प्रशान्त क्षेत्रमा बढ्दै गएको क्षेत्रिय शक्तिराष्ट्रहरु बीचको वैमनस्यता कम गरी क्षेत्रिय शान्ति एवम् स्थिरता कायम गर्ने रणनीतिक पहल गर्ने काम गर्नु पर्दछ । त्यसक्रममा चीनले ‘चिनियाँ विशेषतासहितको समाजवाद’ हासिल गर्न आफ्ना निकटतम छिमेकीहरुमा ‘लाइक माइन्डेड’ विचारको प्रसार गर्नुपर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप