शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रविद्को नजरमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण :  ‘ल्याण्डलक्ड' बाट 'लिङ्कड’ बन्ने अवसर

बिहीबार, २३ असोज २०७६, १६ : १५
बिहीबार, २३ असोज २०७६

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणको तयारीमा सरकार जोडतोडका साथ लागि परेको छ । आगामी शनिबारबाट हुने सीको दुई दिने नेपाल भ्रमणमा नेपाल कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रधानमन्त्री केपी ओलीले पुर्व प्रधानमन्त्री र परराष्ट्रविद्हरुसँग बिहीबार छालफल गरेका छन् । सो छलफलमा पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले सीको भ्रमण उपलव्धिमुलक बनाउन सरकारले गर्नुपर्ने आवश्यक तयारीका साथै विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति सीको दुई दिने राजकीय भ्रमणका बेला रेल सेवा विस्तार, सडक विस्तार, विद्युतीय लाइन विस्तारलगायतका कनेक्टिभीटीका क्षेत्रमा हुने सहमतिमा हस्ताक्षर गर्ने तयारी छ । त्यसक्रममा राष्ट्रपति सी र प्रधानमन्त्री केपी ओलीबीच हुने उच्चस्तरीय भेटवार्ताले दुई मुलुकबीचको सम्बन्धले समेत फड्को मार्ने विश्वास गरिएको छ ।

राष्ट्रपति सीको भ्रमणले मुलुकको आर्थिक समृद्धि र विकासको अवधारणालाई अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुकासाथै पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा हुँदै आएको सहयोगमा पनि वृद्धि हुने अपेक्षा सरोकारवालहरुको छ ।

राष्ट्रपति सीको भ्रमण, यसको महत्त्व र नेपालले यसबाट लिनसक्ने फाइदाका बारेमा रातोपाटीले परराष्ट्रविज्ञहरुको प्रतिकृया लिएको छ ।

सीको भ्रमणबाट नेपालले प्रशस्त फाइदा लिनसक्नुपर्छ

हिरण्यलाल श्रेष्ठ परराष्ट्रविद्

नेपालको भूराजनीतिक स्थितिले गर्दा विश्वका ठूला शक्ति राष्ट्रहरुको प्रतिस्पर्धामा नेपाल छ । यस्तो अवस्थामा नेपालले आफुले अपनाउनुपर्ने विदेश नीति अत्यन्त सन्तुलित हुन जरुरी छ । चीनको साटो ‘भारत’ र भारतको साटो ‘चीन’ भन्ने होइन । हामीलाई दुवै देश चाहिन्छ । नेपाल कसैको पोल्टामा पर्नुहुँदैन ।

२३ बर्षपछि चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा नेपालले आफ्नो विदेश नीति र व्यवहार स्पष्ट ढङ्गले बुझाउन सक्नुपर्छ । चीनले नेपालमा चीनविरोधी गतिविधि रोक भनेर भन्दै आएको हो । यो पटक पनि त्यसमा उसको जोड रहन्छ । उसले दक्षिण एशिया पस्ने बाटो देऊ भनेको हो । चीनले अघि सारेको बीआरआईमार्फत नेपालले ठूलो आर्थिक र विकासमा लाभ लिनसक्छ । यसका लागि सुझबुझका साथ सोही अनुसार प्रस्तुत हुनसक्नुपर्छ । यसबारेमा सी र नेपालको राजनीतिक नेतृत्वबीच गहन छलफल हुन जरुरी छ । नेपाल वीआरआई परियोजनामा जोडिएमा ल्याण्ड लक्ड कन्ट्रीबाट लिङ्ड कन्ट्री बन्ने अवसर खुला हुन्छ । त्यसो भयो भने नेपालमा कसैले नाकाबन्दी लगाउन पनि सक्दैन । यो परियोजनामार्फत रेल ल्याउने कुरा जुन भइरहेको छ । यसबाट नेपालले तेस्रो देशमा व्यापारका लागि पारवाहन सुविधा पाउँछ । त्यसपछि नेपाल स्वाधिन राष्ट्रका रुपमा विश्वमा चिनिन्छ ।

सीको नेपाल भ्रमणबाट नेपालले अरुपनि धेरै फाइदा लिन सक्छ । त्यसका लागि राज्यले पर्याप्त गृहकार्य गर्नुपर्छ । दुरदर्शी भएर सम्झौता र सहकार्यका लागि तयार हुनुपर्छ ।

त्यसमा चिनियाँ पक्षका पनि केही सरोकारका कुरा हुनसक्छन् । उनीहरुको पहिलो चासो भनेको सुरक्षा हो । सुरक्षाका लागि हामीले उसलाई ग्यारेन्टी गर्नसक्नुपर्छ । त्यसोभएमात्र दुरगामी महत्त्वका योजनाहरुमा सम्झौता हुनसक्छ । चीनले अघि सारेको रेल योजना नेपालको विकास र आर्थिक सम्मृद्धिका लागि कोसेढुङगा सावित हुनसक्छ । केरुङ–काठमाडौँ, पोखरा हुँदै लुम्बिनीसम्म रेल सेवा विस्तार गर्न सकिए नेपालको आर्थिक विकास ह्वात्तै बढ्छ । रेल सेवा विस्तारपछि चीनको जनसङ्ख्यामध्ये १० प्रतिशत मात्रै पर्यटक नेपाल आएभने त्यसको सकारात्मक प्रभाव नेपाललाई पर्छ । जुन विषयमा कतिपयले ऋण लिएर रेल सेवा विस्तार गर्नुहुदैन समेत भनेको सुनिन्छ त्यो भनेको नेपालमा विकास नहोस् भन्नेहरुको चाहाना हो । केही प्रतिशत ऋण लिएर रेलसेवा विस्तार गर्न सकिन्छ । यसरी लिएको ऋण १५ वर्षभित्र तिर्न सकिन्छ । यसो गर्दा नेपाल चीन र दक्षिण एसियाको ‘ट्रान्जिट कन्ट्री’ बन्नसक्छ ।   

विश्वास भए परिणाम सुखद हुन्छ

रमेशनाथ पाण्डे, पूर्व परराष्ट्रमन्त्री

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण होस् या अरु कुनै उच्चस्तरीय यस्ता भ्रमणमा दुई देशवीचमा हुने सहमतिहरु कुटनीतिक माध्यमबाट पहिले नै तय भइसकेका हुन्छन् । भ्रमणका बेला तिनै सहमतिमा हस्ताक्षर गर्नेमात्रै हो । वास्तममा चिनियाँ राष्ट्रपतिको अहिले हुन लागेको नेपाल भ्रमणका बेला राष्ट्रपति सी र प्रधानमन्त्री केपी ओलीबीचको वार्ता बढि महत्त्वपूर्ण हुन्छ । त्यसवेला हुने सहमति, समझदारी र विश्वासले नै दीघकालीन सम्बन्धलाई निर्देश गर्छ । त्यसका लागि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी सँगको उच्चस्तरीय वार्तामा के गर्ने र कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । मेरो अनुभवमा यस्तो वार्तामा विश्वास भयो भने परिणाम सुखद हुन्छ । तर उच्चस्तरीय यस्ता भेटमा एकअर्कालाई आश्चार्य बनाउने वा चकित हुने कुरा र अपेक्षा गर्नु हुदैन ।  

आर्थिक समृद्धि र विकासको अवधारणा अघि बढाउन  राष्ट्रपति सीको भ्रमण महत्त्वपूर्ण  

डा. राजन भट्टराई, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार

राष्ट्रपति सीको राजकीय भ्रमणमा रेल सेवा विस्तार, सडक विस्तार, विद्युतीय लाईन विस्तारलगायतका कनेक्टिभीटीको क्षेत्र नयाँ आयाम थपिनेछन् । राष्ट्रपति सी र प्रधानमन्त्री केपी ओलीबीच हुने उच्चस्तरीय भेटवार्ताले दुई मुलुकबीचको समस्यारहित सम्बन्धले फड्को मार्ने विश्वास गर्न सकिन्छ । मुलुकको आर्थिक समृद्धि र विकासको अवधारणालाई अघि बढाउन चिनियाँ राष्ट्रपति सीको भ्रमणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा हुँदै आएको सहयोगमा पनि भारी वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।

पञ्चशीलको सिद्धान्तका आधारमा सम्बन्ध बनाउनुपर्छ  

विदेश मामिला विज्ञ डा. दिनेश भट्टराई

लामो प्रयासपछि चिनियाँ राष्ट्रपतिले भ्रमण गर्दै हुनुहुन्छ । यसका लागि हामीले राम्रो तयारी गनुपर्यो । हाम्रो स्पष्टता हुनुपर्यो ।  हामीले आफ्नो कुरा स्पष्टसँग राख्नुपर्छ र दुवै पक्षको चाहनालाई मध्यनजर गरेर पञ्चशील सिद्धान्ताका आधारमा सम्बन्ध बनाउनुपर्छ ।

चीन विश्व शक्तिका रुपमा उदयमान छ । जसले हाम्रो ढोकामा यत्रो अवसर आइरहेको छ । यद्यपि अवसरसँगै हामीलाई चुनौति पनि छ । त्यसैले यो अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा सरसल्लाह र छलफल गर्न आवश्यक छ । परराष्ट्र नीति भनेको पार्टीको नीति होइन, राष्ट्रको नीति हो । त्यसैले सरकारले प्रतिपक्षीसँग पनि छलफल गर्नुपर्ने हुन्छ । आज औपचारिकताका लागि बोलाइएको सुनेको छु । तर यसका लागि औपचारिकताले मात्र पुग्दैन । यो भ्रमण पहिलेदेखि पाइपलाइनमा रहेको थियो । यो महत्त्वपूर्ण भ्रमण हो, निकै अर्थपूर्ण पनि छ । यसका लागि राष्ट्रको बृह्त तयारी चाहिन्छ । हामी के चाहन्छौँ ? के गर्न सक्दैनौँ भनेर भन्न सक्नुपर्छ । अर्को कुरा हामीलाई मात्र चीन आवश्यक होइन, चीनका लागि नेपालको साथ र सदभाव चाहिन्छ । त्यसैले हामीले बराबरीको आधारमा कुरा राख्न सक्यो भने भ्रमण फलदायी हुन्छ । चीनले भौगोलिक धरातलीय यथार्थता पनि बुझ्छ  । पहिलो कुरा मित्रता नै हो । जसले सम्बन्धलाई उचाइमा पुर्याउने काम गर्छ । तर सम्बन्ध त्यतिबेला मात्र उचाईमा पुर्याउन सकिन्छ जतिबेला ‘लेभल अफ ट्रस्ट’ लाई बढाउन सकिन्छ । त्यसलाई बढाउनु पर्यो ।

दोस्रो हामीले सिक्नुपर्न र लिनुपर्ने कुरा विकास कै लागि हो । जसमा कनेक्टिभिटी मुख्य कुरा बनेर आउँछ । यसमा पनि हाम्रो ध्यान जानसक्नुपर्छ । हामीलाई चाहिएको विकास नै हो । हाम्रो सपना पनि विकास गर्ने नै हो । तर विकास भन्दैमा आफ्नो सम्मान, आफ्नो स्वतन्त्रता र आफ्नो सार्वभौमिकता विर्सनु हुँदैन । तेस्रो कुरा नेपाललाई चीन जति आवश्यक छ, चीनलाई नेपाल पनि त्यति नै आवश्यक छ ।

लगानीका लागि आग्रह गर्नुपर्छ

पूर्व राजदूत टंक कार्की

भ्रमणका लागि सरकारले सर्वप्रथम एजेण्डा भेरिफाइ गर्नुपर्नेमा पूर्व राजदूत कार्की सुझाउँछन् । उनी भन्छन्, ‘चिनियाँ राष्ट्रपतिको ऐतिहासिक भ्रमण हुँदैछ । यो भ्रमणमा सरकारले सबै पक्षसँग छलफल गरेर एजेण्डाको भेरिफाइ गर्नुपर्छ । सुरक्षाको क्षत्रमा पनि सरकार गम्भीर हुनुपर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग गरेका सम्झौताहरु विशेष प्रथामिकतामा पर्ने उनको बुझाइ छ ।

‘राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले पहिलो पटक प्रधानमन्त्री हँदा चीनसँग गरेको सम्झौता नै यो भ्रमणका एजेण्डा बन्छन् होला,’ पूर्व राजदूत कार्कीले भने, ‘त्यसमा कनेक्टिभिटीको कुरा नयाँ आउँछ । यसको कार्यान्वयनका लागि नेपालले प्रयास गर्नुपर्छ ।’ राष्ट्रपति सीसँग पूर्वाधारमा सहयोग र लगानीका लागि आग्रह गर्नुपर्ने उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप