बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

असिनाबाट धानबालीमा ७५ लाखको क्षति

बिहीबार, २३ असोज २०७६, ०७ : १४
बिहीबार, २३ असोज २०७६

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ । 

    असिनाका कारण ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका–२ ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले बताए । बडादशैँका दिन मङ्गलबार अपराह्न २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, तमाने, विमिराबोट, फापरखेतलगायत ठाउँमा लगाएको धानबाली, कोदो, फलफूल लगायतको बालीमा क्षति पुगेको हो । असिनाका कारण स्थानीयवासी भद्रबहादुर रिजालको ५२ मुरी धान उत्पादन हुने खेतको धान बाली पूर्णरुपमा क्षति पुगेको छ । 

    त्यसैगरी डम्मरबहादुर पोख्रेलको २५, लीला जौसीको २५, चन्द्रकान्त शर्माको २५ मुरीलगायत सयौँ किसानको खेतमा लगाएको धानबालीमा क्षति पुगेको हो । ज्यामरुककोटको गौश्वारा, तमाने र विमिराबोट क्षेत्रका ३०० घरपरिवारमध्ये १५० घरपरिवारको खेतमा लगाएको धानबालीमा पूर्ण क्षति पुगेको छ भने १५० परिवारको खेतमा भने आंशिक क्षति पुगेको बेनपा¬–२ का वडा सदस्य डम्मरबहादुर पोख्रेलले बताए । 

    असिना पीडित भद्रबहादुर रिजालका अनुसार ५२ मुरी धान उत्पादन हुने खेतमा लगाइएको धान असिनाले एक दाना पनि काम नलाग्ने गरी झारेको छ । खेतमा धानको नल मात्र बाँकी रहेको छ भने दाना एउटा पनि छैन ।

    बेनपा–२ का वडाअध्यक्ष हिराबहादुर थापाले असिनाका कारण १५ हजार मुरी धान क्षति भएको र यसबाट कृषकलाई ७५ लाख बराबरको नोक्सान भएको बताए । वडाध्यक्ष थापाका अनुसार विपद्कालीन बैठक बसेर क्षतिको यथार्थ विवरण सङ्कलन कार्य भइरहेको र एक–दुई दिनभित्रमा वास्तविक क्षतिको विवरण सार्वजनिक गरिनेछ ।    असिनाले धान खेती सखाप पारेपछि स्थानीय कृषकहरु चिन्तित बनेका छन् । उनीहरुले राहत पाउन नसकेमा भोकै मर्नुको विकल्प नरहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप