शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति सीसँग चीन निर्यात हुने वस्तुमा शुन्य भन्सार लागतबारे कुराकानी गर्नुपर्छ  ः पूर्व परराष्ट्रमन्त्री डा. महत

बुधबार, २२ असोज २०७६, १५ : ३९
बुधबार, २२ असोज २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने बताएका छन् ।

उनले भने, ‘चिनियाँ राष्ट्रपतिको नेपाल आउनु खुसीको कुरा हो । हामी उहाँलाई स्वागत गर्न चाहन्छौं ।’ बुधबार रिपोर्टर्स क्लबमा नेता महतले आफू परराष्ट्रमन्त्री भएकै बेला नेपाल भ्रमणको लागि निमन्त्रणा गरिएको सुनाउँदै ढिलै भएपनि नेपाल आउनु खुसीको कुरा भएको बताए । उनले चीन नेपालको छिमेकी मित्रराष्ट्र मात्रै नभएर एउटा नजिकको मित्र भएको सुनाए ।

उनले भने, ‘चीनको समृद्धि अहिले दिनानुदिन बढिरहेको छ । विश्वमै चीन शक्तिशाली देशको रुपमा स्थापित भइसकेको छ । हामीले चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ ।’ 

आफ्नो पार्टीले विपी कोइरालाको पालादेखि नै चीनसँग सुमधुर सम्बन्ध राखेको पनि महतले स्पष्ट पारे । 
उनले आफूहरुले कुन देशसँग कुन राजनीतिक पद्धती वा प्रणाली छ भनेर सम्बन्ध राख्ने भन्दापनि एउटा देशको अर्को देशसँग आपसी हितमा केन्द्रित रहेर सम्बन्ध राख्नुपर्ने बताए । महतले एक–अर्काको जायज चासो र चिन्ताप्रति गम्भीर हुनुपर्ने जोड दिए । 

उनले भने, ‘नेपालले आफ्नो राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर आफ्नो एजेण्डाअघि सार्नुपर्छ ।’ उनले चिनियाँ लगानीकर्तालाई नेपालमा आमन्त्रण गर्नुपर्ने पनि सुझाए । 

उनले भने, ‘नेपालमा चिनियाँ लगानी भित्र्याउन सक्यौं भने दुई देशबीच रहेको व्यापार घाटा घटाउन सकिनेछ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा हुने उच्चस्तरीय छलफलमा यो विषयमा कुराकानी हुनुपर्छ । नेपालबाट चीन निर्यात हुने वस्तुमा शुन्य भन्सार लागत कायम गर्नेबारे पनि कुराकानी हुनुपर्छ ।’

उनले नेपालले चीनसँगको सम्बन्धमा सडक सञ्जाल अघि बढाउनेबारे ध्यान दिनुपर्ने पनि सरकारलाई सुझाव दिए । उनले भने,‘चीनसँग हामीले १२ महिनै चल्ने सडक सञ्जाल बनाउनुपर्छ । त्यस्तै, अरु नाकाहरु पनि खोल्नुपर्छ ।’ 

भारत र चीनबीच नेपाल भएर व्यापार नभएसम्म रेलमा लगानी गर्नु नेपालको लागि घाटा हुनेपनि उनका तर्क छ । तर ऋणमा नभई अनुदानमा रेल बनाउने कुरा भए त्यो भने स्विकार्य हुने उनले बताए । उनले भने,‘हामीले आफैं बनाउन सक्ने अवस्था छैन् । त्यसैले ऋणमा पनि बनाउनुहुँदैन् । बरु, अनुदानमा नै बनाउनुपर्छ ।’

नेपालले छहरे–टोखा सुरुङमार्गको बारेमा सोच्नुपर्ने बताए । उनले भने,‘सुरुङमार्गको विकास गर्न सकियो भने चीनसँगको सडकमार्ग एकदमै छोटो हुन्छ ।’ चीनसँग सरकारले सुपुर्दुगी सन्धी गर्न लागेको चर्चाबारे उनले भने, ‘नेपालले थप छलफल गर्नुपर्छ । यसबारेमा समान दृष्टिकोण हुनुपर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप