बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक पटक घर जानैपर्ने दसैँ

बुधबार, २२ असोज २०७६, १२ : ३६
बुधबार, २२ असोज २०७६

काठमाडौँ । चाडपर्व संस्कृति मात्र होइन, परिवार र समाजलाई जोड्ने एउटा माध्यम पनि हो । चाडपर्वको बिदामा पूजापाठ मात्र होइन, घरपरिवार र इष्टमित्र, समाजलाई भेट्ने कार्य पनि हुन्छ । त्यही भएर दसैँको लामो बिदामा प्रायः मान्छेहरू आआफ्नो थातथलो जाने गरेका छन् । दसैँमा काठमाडौँ खाली जस्तै हुन्छ, यहाँका मूल बासिन्दा तथा विशेष काम भएकाहरू तथा बाटोघाटोबाट दिक्क भएका व्यक्तिहरू मात्र जाँदैनन्, नत्र ७५ प्रतिशत व्यक्ति आआफ्नो घर फर्कन्छन् । 

पछिल्लो समय मधेसीहरू पनि काठमाडौँमै घरजम गरेर बसेका छन् । कतिपयले त बसाइँ सराइ पनि काठमाडौँ गराइसकेका छन् । तैपनि दसैँमा आफ्नो पुरानो घर सम्झँदै घर जान्छन् । त्यसको एउटै कारण हो– परिवार र समाज । प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राडा. योगेन्द्र यादवले समाजका लागि भए पनि दसैँमा एक पटक घर जाने गरेको बताउँछन् । 

कीर्तिपुरमा उनको घर छ । उनको अर्को पुख्र्यौली घर सिरहा रहेको छ । उनका सबै परिवार काठमाडौँमै बस्छन् तैपनि कहिलेकाहीँ आफन्तलाई भेट्न दसैँमा घर जान्छन् । उनी भन्छन्, ‘हामी प्रत्येक दसैँमा जाँदैनौँ, आवश्यकता र समय अनुकुल भए जानेगरेका छौँ ।’ यस पटक देश बाहिर जानुपरेको हुनाले दसैँमा घर जादैनौँ । अन्य सदस्य र पुराना साथीभाइसँग भेटघाट गर्न पनि दसैँमा घर जानुपर्ने बताउँछन् । 
दसैँमा नै देश विदेशबाट मान्छेहरू आआफ्नो घर पुगका हुन्छन् । कहिल्यै भेट नभएका साथी भाइसँग दसैँमा भेट हुने हुनाले दसैँ रमाइलो हुने गरेको संस्कृतिविद् रामदयाल राकेश बताउँछन् । 

उनी भन्छन्, ‘रमाइलोका साथै आफन्त र साथी भाइसँग भेट हुने भएकाले प्रत्येक दसैँमा घर जाने गरेको थिएँ । दुई वर्षदेखि स्वास्थ्य समस्या र व्यस्तताका कारण जान पाएको छैन ।’ तराई मधेसमा दसैँमा निकै रमाइलो हुन्छ । खासगरी झिझिया नृत्य निकै मन पर्ने भएकाले दसैँमा घर जाने गरेको बताउँदै दसैँमा पुराना साथीहरूसँग भेटघाट पनि हुने गरेको राकेशले बताए ।

शान्तिनगरमा राकेशको घर छ । उनको पुख्र्यौली घर सर्लाहीमा छ । शान्तिनगरका पुराना निवासी हुनाले त्यहाँको समाज र टोलबासीको चाडपर्वमा सहभागिता रहन्छ, उनले भने, लामो समयदेखि काठमाडौँमा बसेको हुनाले यहाँ पनि छुट्टै समाज सिर्जना भएको छ । यहाँ पनि चाडपर्व, विवाहहरू भइरहन्छन्, त्यस्ता कार्यमा पनि सहभागी हुनुपर्ने  हुन्छ । तर आफ्नो पुख्र्यौली घर भनेको आफ्नै हो, त्यहाँको जति आनन्द कहीँ हुँदैन ।’
घर बनाइसकेपछि त्यसको सुरक्षाको पनि डर हुन्छ । दसैँमा काठमाडौँ पूरै खाली हुन्छ, डेरामा बस्नेहरू प्रायः घर गइसकेका हुन्छन् । त्यसबेला बाध्य भएर कतिपय घरभेटी काठमाडौँ बस्नुपर्ने हुन्छ । बल्खु निवासी समाजवादी पार्टीका नेता अमरेश नारायण झाले आफू नछुटाई गाउँ जाने गरेको बताए । अरू चाडपर्वमा नगए पनि दसैँमा अवश्य जान्छु । किनभने पुराना साथीभाइ, परिवारसँग भेटघाट हुन्छ । बसाइको आनन्द लिनका लागि पनि आफू प्रत्येक वर्ष गाउँ जाने गरेको छु । उनी भन्छन्, ‘बल्खुमा मेरो घर छ, यहाँका टोल र समाजमा पनि घुलमिल भएको छु । यहाँका समाजसँग पनि मिलेको छु । त्यसैले यहाँको समाजले पनि अपेक्षा गरेको हुन्छ तर दसैँमा घरजान बाध्यता हुन्छ ।’

यहीँ घर हुनेहरू पनि सुरक्षाका कारण कतिपय जाँदैनन् । दसैँमा पूरै खाली हुन्छ, त्यसबेला घरलाई त्यतिकै छाडेर जान मन नहुनेहरू जाँदैनन् भन्दै नेता झाले यतायातका असुविधाका कारण पनि धेरैजना घर जान नपाएको उनी बताउँछन् । 

काठमाडौँ कर्मभूमि हो, दुःखसुखमा रमाउने ठाउँ यही हो तर दसैँमा उराँठ लाग्दो हुन्छ । किन हो कुनै दसैँ जतिजति नजिक आउँछ, त्यति त्यति घरको याद आउन थाल्छ । सिनामङ्गल निवासी सरोज मिश्र भन्छन्, अरू चाडपर्वमा खासै मतलब हुँदैन तर दसैँ भन्नेवित्तिकै घरको मात्र याद आउँछ । साथीभाइको मात्र याद आउँछ । त्यसैले म प्रत्येक दसैँमा घर जान्छु ।’

सिनामङ्गल नगर सेवा समाजका अध्यक्षसमेत रहेका मिश्र काठमाडौँमा एउटा निजी कम्पनीमा काम गर्छन् । यहाँको समाजको खुशीमा पनि कहिलेकाहीँ रमाउँछन् उनी । विवाह, अन्य चाड पर्वहरू प्रायः यहीको परिवारसँग मनाउने गरेको उनी बताउँछन् । दसैँमा आफू अरूलाई भेट्न मात्र होइन, अरूले आफूलाई पनि भेट्न आउने गरेका छन् । आफन्त र इष्टमित्र भेटको एउटा मात्र समय भनेको दसैँ नै रहेको उनी बताउँछन् ।
भैँसीपाटी बस्ने जय निसान्त आवश्यकता र समयको उपलब्धताका आधारमा दसैँमा घर जाने गरेको बताए । महोत्तरी जलेश्वर पुख्र्यौली घर भएका जय निसान्त दसैँमा आवश्यकता अनुसार कहिले जाने कहिले नजाने गर्छन् । यस पटक देश बाहिर जानुपरेकाले गाउँ जाने कुरै हुँदैन । उनी भन्छन्, कहिलेकाहीँ दसैँमा घर जाँदा असाध्यै रमाइलो हुन्छ । हुन त प्रायः घर गइरहन्छु, आउने जाने भइरहन्छ तर दसैँमा गयो भने विशेष जस्तो लाग्छ । घर आएको जस्तो महसुस हुन्छ ।’ आफन्त र इष्टमित्रसँग भेट्ने, परिवारसँग समय विताउने सबभन्दा राम्रो माध्यम दसैँ रहेको उनी बताउँछन् । 

मधेसमा मात्र होइन, पहाडमा पनि दसैँमा परिवारको जमघटमा नै बित्ने गरेको छ । पूजापाठ भन्दा पनि इष्टमित्र र आफन्तसँग भेट हुनुको साथै परिवारसँग रमाइलो भइरहेको हुन्छ, जुन अरू पर्वमा हुँदैन । त्यसैले एकपटक भए पनि आफ्नो मूलघर जानुपर्ने सन्देश दसैँले दिएको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप