शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फौजीको दसैँ !

बुधबार, २२ असोज २०७६, ११ : ३८
बुधबार, २२ असोज २०७६

नेपालीहरूको महान चाड बडादसैँको अवसरमा सरकारी तथा गैरसरकारी लगायतका अधिकांश कार्यालयका कर्मचारीको दसैँ बिदा हुने गर्छ । अझ सरकारी स्कुलमा त १५ दिन अगाडि घटस्थापनादेखि नै सार्वजनिक बिदा दिने चलन छ । 

टीका जमरा लगाई आफूभन्दा ठूलाबडाको आशीर्वाद थापेर पिङ खेल्दै रमाइलो गरी सबै नेपाली नागरिकले दसैँ मनाइरहँदा सुरक्षाकर्मी भने अहोरात्र खटी सुरक्षा दिइरहेका हुन्छन् । 

वर्ष दिनमा आउने महान् चाड दसैँमा आफ्नो सन्तान घर फर्किन्छ भन्ने आस कुन बाबुआमाको नहुँदो हो र ! तर फौजीका लागि भने यो अवसर विरलै जुर्छ । 

तर आफ्नो कर्तव्यको अगाडि उनीहरू नतमस्तक हुन्छन् । परिवारको खुसीभन्दा सर्वसाधारणको सुरक्षा उनीहरूका लागि पहिलो प्राथमिकता बन्छ ।

रातदिन नभनी उनीहरू अहोरात्र ड्युटीमा खटिन्छन् । थोरै त्यस्ता भाग्यमानी फौजी पनि छन्, जसले घर परिवारसँगै दसैँ मनाउने सौभाग्य पाउँछन् । धेरैले त ड्युटीमै टीका लगाउँछन् र कार्यस्थलमै खुसी साट्दै दसैँ खल्लो बन्न नदिने प्रयास गर्छन् ।

यसरी हेर्दा नागरिकलाई सुरक्षा दिने सुरक्षाकर्मीको दसैँ खल्लो त देखिन्छ । तर पनि उनीहरू सामाजिक सेवामा तल्लीन हुन पाउँदा निकै खुसी छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले आफ्ना आमाबुबाको हातबाट टीका नलगाएको ३ वर्ष भयो । प्रहरी सेवाको २४ वर्षे अवधिको अधिकांश दसैँ उनले कार्यक्षेत्रमै विताएका छन् । 

भोजपुर घर भएका ढकालका आमाबुबाले पनि प्रहरी निरीक्षक हुँदासम्म छोरो नआएकोमा गुनासो गर्थे । ‘सुरु सुरुमा त आफैलाई पनि जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो । घरबाट पनि गुनासो हुन्थ्यो,’ उनले स्मरण गरे, ‘तर अहिले बुबाआमाले पनि बझ्नुभएको छ, प्रहरीको जागिरै यस्तै हो भनेर ।’

दसैँको टीकाको दिन एक छिन आफूभन्दा ठूलाको आशीर्वाद लिएर फेरि ड्युटीमै खटिएको एसएसपी ढकाल बताउँछन् । ट्राफिक प्रहरीको बिदा नहुने भएकाले कार्यालयलाई घर सम्झी मीठो खाई दसैँ मनाइएको एसएसपी ढकालको भनाइ छ । 

‘बिदा हुँदा पनि जान सक्ने अवस्था छैन्, उनले रातोपाटीसँग भने, ‘राजधानीका विभिन्न ट्राफिक प्रहरी कार्यालयहरूको आआफ्नै प्रकृतिका जिम्मेवारी हुन्छ । उपत्यकाको ट्राफिक महाशाखाको इन्चार्जको जिम्मेवारी आफैमा एउटा संवेदनशील जिम्मेवारी हो ।’

एसएसपी ढकालले चाडवर्पमा सवारी दुर्घटना नहोस् भनी ट्राफिक सचेतना तीब्र बनाएको बताए ।  यस्तै ट्राफिक महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले ट्राफिक प्रहरीलाई बिदा नपाइने भनी सरकारी आदेश भएकाले दसैँमा २४सै घण्टा ड्युटीमा खटिएको बताए । 

श्रेष्ठले चाडपर्वमा जनशक्ति कम हुने र सवारी दुर्घटना, झैझगडा चोरी जस्ता आपराधिक क्रियाकलपमा मानिसहरू बढी संलग्न हुनसक्ने भएकाले ट्राफिक प्रहरीलाई सोहीअनुसार डियुटीमा खटाइएको बताए । 

एसपी श्रेष्ठले ट्राफिक प्रहरी भनेको राष्ट्र सेवक भएकाले घर जान नपाए पनि आलोपालो ड्युटी मिलाएर दसैँ मनाएको बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले पनि घरमा अभिभावकको हातको टीका नलगाएको ३ वर्ष भयो । गोरखा जिल्ला घर भएका बोगटीलाई व्यस्तताले दसैँमा घर जान फुर्सद मिलेको छैन । 

‘दसैँ भनेर मात्रै भएन । शान्ति, सुरक्षाको व्यवस्थापनदेखि सङ्गठित अपराधको अनुसन्धान गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो’, उनले भने, ‘यही बीचमा भीआईपी र भीभीआईपीज्यूहरूको पनि सवारी हुन्छ । उहाँहरूको सुरक्षा व्यवस्थापनमा पनि हामी क्रियाशील रहन्छौँ ।’

चाडपर्वको समयमा माथिल्लो तहका अधिकारीहरूले बिदा दिए पनि आफ्नो क्षेत्र छाडेर जानसक्ने अवस्था नरहेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप