बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रिजका खानेकुरा कम प्रयोग गरौँ

बोसोविनाको मासु स्वास्थ्यका लागि राम्रो हुन्छ
बुधबार, २२ असोज २०७६, ०९ : ५९
बुधबार, २२ असोज २०७६

काठमाडौँ । दसैँ खानपानको मुख्य पर्व हो । लामो समयसम्म बिदा हुने हुँदा पनि दसैँ सबैका लागि विशेष हुन्छ । यो बिदाको समयमा मनोरञ्जन खानपानलाई धेरै महत्त्वका साथ हेरिन्छ । दसैँमा बढी मात्रामा मासुको प्रयोग गरिन्छ । मासु स्वास्थ्यका लागि फाइदाजनक हो तर बोसोजन्य मासुले स्वास्थ्यका लागि फाइदा नगर्ने पोषणविदहरुले भन्दै आएका छन् ।  दसैँ या अन्य समयमा कस्तो खालको मासु प्रयोग गर्ने, एक पटक बनाएको मासु कति दिनसम्म प्रयोग गर्ने, दसैँमा नागरिकले मासुसँगै अन्य कस्ता खालको खानपानमा ध्यान दिने र कस्ता बिरामीले यस्तो समयमा ख्याल गर्ने लगायत विषयमा वरिष्ठ पोषणविद् डा. उमा कोइरालाले जनाकारी गराएकी छिन् । डा. कोइराला विगत ३५ वर्षदेखि पोषणको क्षेत्रमा आबद्ध छिन् ।

दसैँलाई खानपानको पर्व भनेर चिनिन्छ । यो समयमा विशेषतः मासुजन्य परिकार धेरै मात्रामा प्रयोग गरिन्छ । एक व्यक्तिले दिनमा कति मासु खाँदा राम्रो हुन्छ  ?  

नेपाल जस्तो देशमा दिनमा एक व्यक्तिमा २०० ग्राम आवश्यक पर्छ भने विकसित देशहरुमा १५० ग्राम मात्रै मासु दिनमा आवश्यक पर्छ । दैनिक २०० ग्राम मासु भनेको वयस्क र सामान्य व्यक्तिका लागि हो । वृद्धावृद्धको शरीरको प्रणाली सुस्त भइसकेको हुँदा धेरै मासु खान सकिन्न । व्यक्ति र आवश्यकताअनुसार मासु सेवन गर्दा राम्रो हुन्छ । कसैलाई ५० ग्रामले पनि पुग्छ  भने कसैले १०० ग्राम पनि खाइरहेका हुन्छन् । अब बालबालिकामा पनि तौल र उसको शरीरको बनावट अनुसार थोरै नै चाहिन्छ ।

तर हामी पाउँदा एकै पटक धेरै खाने, पेट भर्ने त हो नि भन्ने हिसाबले पनि खाने गर्छांै । त्यो राम्रो बानी होइन । मासु थोरै र नियमित खानुपर्छ । किनभने हाम्रो शरीरको आवश्यकतालाई परिपूर्ति गर्न खाना खाने हो । 

दसैँमा एक पटक पकाएको मासु तथा अन्य परिकार दसैँभर खाने चलन पनि छन् । यस्ता खानपानले हाम्रा स्वास्थ्य केही असर गर्छ कि गर्दैन ?

 सिद्धान्त अनुसार भन्ने हो भने बासी खान राम्रो होइन भनेर हामीले भन्ने गर्छाैं, राम्रो होइन पनि । तर मासुको हकमा भने प्रोटिन तत्त्व आगोले पनि त्यति नष्ट नगर्ने, बासी हुँदा पनि नजाने हुँदा एक दुई दिनसम्म सुरक्षित राखेर प्रयोग गर्दा खासै समस्या हुँदैन । तर धेरै बासी खानु स्वास्थ्यका लागि राम्रो होइन । गनाउने, किटाणुहरु पनि आइसकेको मासु खाँदा स्वास्थ्यका लागि राम्रो मानिँदैन । त्यसैले दसैँमा थोरै थोरै सधैँ पकाएर खाँदा स्वास्थ्यलाई कुनै पनि असर गर्दैन । 

फ्रिजमा राखेर लामो समयसम्म खानेकुरा खानु कतिको ठीक हो ? फ्रिजबिना बनाएको परिकारलाई कसरी राख्दा स्वास्थ्यकर मानिन्छ ?

फ्रिजमा धेरै दिन राखेको खानेकुरालाई स्वास्थकर मानिदैन । म पोषणविदको नाताले भन्नुपर्दा रेफ्रिजेनेटर नै धेरै प्रयोग नगर्दा नै राम्रो हुन्छ । किन भने फ्रिजमा राखेका कुरा धेरै स्वास्थ्यकर हुँदैन भन्ने कुरा पुष्टि भइसकेको छ । तर अहिलेको आधुनिक समयमा हामीले प्रविधिसँग पनि चल्नुपर्छ । कति कुराहरु फ्रिजमा नै राख्नुपर्नेहुन्छ ।   

दूग्धजन्य पदार्थहरु छिट्टै बिग्रिने हुँदा फ्रिज प्रयोग गर्नु नै पर्छ । अर्काे कुरा सहरी जीवन पनि व्यस्त छन् । बिहान पकाएर उब्रेको खाना फाल्न सक्दैनौँ । बेलुकालाई पनि हुन्छ भनेर राख्छौँ अथवा बेलुका पकाएको बिहान खाएर जाने भनेर पनि राख्ने चलन छ ।

त्यसैले एक दुई दिनसम्म खानेकुरा फ्रिजमा राख्न सकिन्छ । तर छोपेर राख्नुपर्ने हुन्छ । छोपेर सुरक्षित किसिमले राख्ने र प्लास्टिकको सामान सकेसम्म फ्रिजमा प्रयोग नगर्दा राम्रो हुन्छ । प्लास्टिकको सामानको पछिल्लो समय धेरै प्रयोग हुँदै आइरहेको छ । प्लास्टिकका सामान स्वास्थ्यका लागि हानिकारक हो । तातो, अमिलो, पिरो, तेलयुक्त पदार्थ प्लास्टिकको सामानमा प्रयोग नगर्दा नै राम्रो हुन्छ । 

प्लास्टिकको भाँडामा राखेको खानेकुरा खाँदा नसर्ने रोग लाग्ने अध्ययन पनि देखाएको छ । त्यसैले थोरै समयको लागि राख्ने, प्लास्टिकका भाँडामा सकभर नराख्ने र फ्रिजमा खानेकुरा राख्दा पनि छोपेर राख्ने गर्नुपर्छ । काठमाडौँको तापक्रममा धेरै तरकारीहरु फ्रिजमा राख्नु पर्ने त्यति जरुरी छैन । चाडै सड्ने गल्ने कुराहरु छन् भने कागजमा बेरेर पनि फ्रिजमा राख्न सकिन्छ । फर्सी, इस्कुस, घिरौँला जस्ता सागसब्जी बाहिर राख्दा पनि कुहिँदैन । अझ चिसोको समयमा फ्रिज चलाउनुपर्ने खासै आवश्यक पनि पर्दैन । झिँगाबाट बचाउन सक्यौँ भने धेरै तारेको खानेकुराहरु बिग्रिदैन । तेलले खानालाई सुरक्षित राख्ने काम गर्छ । पुरानो अचारहरु फ्रिजमा नराखी पनि खाना सक्छौँ । सामान्य त जाडो मौसममा घरमा चिसो छ भने बिहान पकाएर बेलुका पनि खान सकिन्छ ।

दसैँको समयमा कस्ता बिरामीले खानापानमा विशेष ध्यान दिनुपर्छ ?  

दसैँ हाम्रो सबैभन्दा ठूलो पर्व भन्छौँ । सबै परिवारका सदस्य जम्मा हुने रमाइलो गर्ने खाने भन्ने कुरा पनि हुन्छ । रमाइलो गर्ने भन्ने बित्तिकै सबैभन्दा पहिला खाना नै आउँछ । मीठो खाने राम्रो खाने, पेटभर खाने भन्ने चलन छ । त्यसैले मान्छे धेरै उत्साहित भएर पनि धेरै खाइरहेको देखिन्छ । त्यसमा पनि तारेको चिल्लो धेरै बोसो भएको मासु हामीलाई मनपर्छ । बोसो भएको रातो मासु भयो भने दङ्ग पर्ने हाम्रो चलन छ ।

तर स्वास्थ्यका लागि भने त्यस्ता खानेकुराहरु नखाँदा अथवा कम गर्दा राम्रो हुन्छ । यसै पनि दसैँमा छुट्टी हुँदा घरमा बसेपछि धेरै खाइन्छ । थप चिल्लो बोसोसहितको मासु खाँदा धेरै नै भारी हुन्छ र त्यसले असर गर्छ । रातो मासु खाने हो भने दुब्लो खालको बोसो नभएको मासु स्वास्थ्यलाई धेरै असर गर्दैन । 

खास गरेर मधुमेह, उच्च रक्तचाप, किड्नी, लिबरको बिरामी छ भने यस्ता खालको खानपानमा एकदम ख्याल गर्नुपर्ने हुन्छ । किनभने माच्छा मासु धेरै खाँदा यी अङ्गहरुमा सीधै असर पर्छ । चिल्लो, मासु, गुलियो जस्ता खानेकुराले मधुमेहको बिरामीलाई पनि धेरै असर गर्छ । रोग लागेको व्यक्तिले मात्रै होइन, स्वास्थ्यमा ध्यान सामान्य व्यक्तिले पनि दिन जरुरी हुन्छ । झन् यस्ता बिरामीले विशेष ध्यान दिनुपर्छ । सामान्य व्यक्तिमा पनि धेरै खाँदा पेट दुख्ने, नउब्जेको रोग पनि उब्जने सम्भावना हुन्छ ।

रातोमासु स्वास्थ्यका लागि बेफाइदा भनिन्छ । दसैँमा मासु खाँदा कस्तो खालको मासु खाने ? 

रातोमासु संसारमा धेरै विवादान आएको कुरा हो । मासु आफ्नो ठाउँमा राम्रो पनि हो । हाम्रो शरीरका लागि आवश्यक पनि हो । मासुबाट भिटामिन ६, भिटामिन १२, प्रोटिन शरीरलाई राम्रोसँग प्राप्त हुन्छ । यो हाम्रो शरीरलाई चाहिने अत्यन्त आवश्यक ८ वटा एमिनोएसिड हुन्छ । एमिनोएसिडले प्रोटिन बनेको हुन्छ । त्यो ८ वटा एमिनोएसिड चाहिँ जनावरजन्य मासुमा पाइन्छ ।

त्यसैले मासु खाएपछि शरीरलाई सबै खालको एमिनोएसिड पुग्छ । यस्तै मासुबाट अर्काे हेम भन्ने आइरन फलाम तत्त्व पाइन्छ । त्यो हाम्रो शरीरमा रगत बन्नका लागि अति आवश्यक तत्व हो । यो कुराले पनि प्रोटिन कति महत्त्व छ भन्ने कुरा त अनुमान गर्न सकिन्छ ।

पहिला पहिला मासु खाएर स्वास्थ र लामो जीवनयापन गरेको सुनेका र  देखेकै पनि छौँ । तर अहिले आएर प्रविधि परिवर्तन भएको छ । पहिला रातो मासु दिने जनावरहरु चौरमा चर्थे, उनीहरु घाँस, घरको खाना, अन्न खाएर हुर्किन्थे । जसले गर्दा त्यस्ता जनावरको मासु स्वास्थ हुन्थ्यो ।

अहिले जनावरहरु चौरमा चराइन्न । फार्ममा पालेको हुन्छन् । हाई क्वालिटीका दाना खुवाएको हुन्छ । त्यस्ता जनावरमा हलचल कम हुन्छ । जसले गर्दा जनावर पनि मोटा हुन्छन् । जनावरलाई घाँस खुवाइन्न दाना खुवाइन्छ । फार्ममा पालिन्छ र मासु खानाकै लागि भनेर मोटो बनाइन्छ । अनि त्यस्ता जनावरमा बोसो धेरै हुन्छ ।

त्यस्तो किसिमको मासु चाहिँ हानिकारक हो । अहिले पहिला जस्तो स्वतन्त्र रूपमा चौरमा चरेर हुर्केका जनावरमा बोसो कम हुन्छ, स्वास्थ्यमा खासै असर पर्दैन । पहाडका खसी डाँडा काँडा हिँडेको हुन्छन् । बोसो कम हुन्छ । तराईका खसी एकदम  ठूला हुन्छन् अनि बोसो धेरै हुन्छ ।

त्यो हाम्रो हुर्काइका कारणले र जुन किसिमले जनावरहरु पालेको हुन्छ त्यस कारणले गर्दा पनि अहिले रातो मासुको स्थिति फरक भएको हो । त्यसले गर्दा रातो मासु खान हुन्न भन्ने कारण त्यताबाट आएको हो । होइन भने त्यस्तो मासु हाम्रो शरीरका लागि उत्तम हो । रातो मासु हाम्रो शरीरका लागि राम्रो हो तर दुब्लो भयो भने झनै राम्रो हो ।

बोसो निकालेर रातो मासु बनाएको भन्दा पनि बोसो नै नभएको दुब्लो जनावर छ भने त्यस्तो मासु राम्रो हुन्छ । अर्काे प्रशोधन नगरेको ताजा मासु राम्रो हुन्छ । अहिले धेरै बोसोजन्य मासु पाइने हुँदा हानिकारक भनिएको हो । यस्तो मासुमा प्रोटिनको मात्रा कम हुन्छ । बोसोको मात्रा धेरै हुन्छ । जस्तो भनौँ सय ग्राम मासुमा २० देखि २५ ग्राम मात्रै प्रोटिन हुन्छ ।

बोसो पनि जम्ने र नजम्ने दुई किसिमका हुन्छन् । हामीले सेवन गर्ने मासुमा जम्ने बोसो धेरै मात्रामा पाइन्छ । अनि कडा किसिमको बोसो भएको मासु खाने हाम्रो दैनिक जीवनयापन हिँडडुल नगर्ने, धेरै सवारी साधनमा प्रयोग गर्दा पनि रातो मासु हानिकरक हो भन्ने गरिएको हो । 

मासुसँगै अन्य कस्ता खालको खानेकुरालाई प्राथमकिता दिन जरुरी हुन्छ ?

दसैँमा मासुको साथसाथै हाम्रो स्वाद बसेको चिउरा हो । चिउरा स्वास्थ्यका लागि  राम्रो पनि हो । चामलमा नपाइएको पौष्टिक तत्त्वहरु चिउँरामा पाइन्छ । किनभने चिउरालाई भुस बनाउँदैनौँ । अलिअलि कुटेर बनाएको हुन्छ । चामलमा पाउने जति पनि पौष्टिक तत्व हो त्यो चिउरामा खेर गएको हुँर्दैन । त्यसैले चिउरा खान राम्रो हुन्छ । च्याँख्ला, ढिँडो, रोटी खाँदा राम्रो हुन्छ । सकेसम्म सेतो भात कम खाँदा राम्रो हुन्छ ।

ताजा मासु खानु राम्रो कि फ्रिजमा लामो समय राखेको मासु खाँदा राम्रो ?

  फ्रिजमा पनि एक हप्तासम्म राखेर खाँदा मासु स्वास्थ्यकर नै मानिन्छ । त्यसैले हप्ता दिनसम्म राखेर खान कुनै समस्या छैन । मासु डी फ्रिजमा राखेर खाने हो । तर बाहिर राखेर मासुु खान मिल्दैन । किनभने मासु एउटा यस्तो पदार्थ हो एकदम छिट्टै गनाउँछ । जीवाणु किटाणुलाई पनि मासु असाध्यै प्रिय हुन्छ । त्यसमा जीवाणुलाई चाहिने हुर्किने सबै किसिमको पदार्थ हुन्छ । त्यसैले बाहिर राखेको मासु छिट्टै बिग्रिन्छ । मासु पहिला काट्दा फ्रेसमा रातो हुन्छ । पछि राख्दै जाँदा कालो कालो भएर जान्छ । त्यस्तो मासु भने खान हुँदैन ।

तर सहरी क्षेत्रमा दसैँमा मात्रै होइन अन्य समयमा पनि महिनौँ दिनसम्म मासु फ्रिजमा राखेर खाने चलन छ नि ?

सजिलोका लागि हो तर त्यस्तो मासु स्वास्थ्यको दृष्टिकोणले यस्तो मासु राम्रो मानिँदैन । धेरै लामो समयसम्म फ्रिजमा राखेको खानेकुराहरु खानु हुँदैन । फ्रिजमा लामो समय खानेकुरा अथवा मासु राखेर खाँदा उच्च रक्तचाप हुने सम्भावना हुन्छ, मधुमेहलाई पनि प्रोत्साहन गर्छ ।

पेटसम्बन्धी विभिन्न समस्या अल्सर, ग्यासट्राइटिस हुन सक्छ, किड्नीलाई पनि धेरै खराब गर्छ । लिबरमा पनि समस्या ल्याउन सक्छ । त्यसैले फ्रिजमा राखेको खानेकुरा धेरै खानु हुँदैन र लामो समयसम्म राखेर खानु पनि भएन ।

 स्वास्थ्यमा देखिने यस्ता समस्याहरु विकसिम देशहरुमा झन धेरै पाइन्छ । त्यसैले सफा र स्वस्थ खाऔँ । बासी तारेको खानेकुरा नखाऔँ रोग लागेर सबै पैसा अस्पतालमा खर्च गर्नुपर्यो भने कमाएको के काम लाग्यो ? पहिलादेखि नै स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । मेरो प्लेट, थालमा आएको खानेकुराहरु कस्ता छन् । मैले कस्ता खानेकुरा धेरै खाइरहेको छु भन्ने कुरामा ध्यान दिन जरुरी छ । सबै किसिमको ताजा खानेकुरा पाउँछौँ, यो मानेमा भने हामी भाग्यमानी छौँ ।

अन्य देशमा यस्ता किसिमका खानेकुरा कमै पाउँछौँ । प्रशस्त मात्रामा तरकारी, गेडागुडी, फलफूल हाम्रो सन्तुलित भोजनमा पर्छन् । बाहिरको खानेकुरामा मोह कम गर्नुपर्छ र सिजनअनुसारको दाल भात तरकारी खायौँ भने पनि हामी स्वस्थ हुन्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप