केन्द्रीय संस्करण

नाटक : रोबोटिक

person explore access_timeअसोज २१, २०७६ chat_bubble_outline0

शार्दूल भट्टराई


(एक छेउमा मान्छे स्थिररुपमा उभिइरहेको छ । मान्छेले आँखा चिम्लिएको छ,मुख बन्द गरेको छ, हात तल झारेको छ र दुई खुट्टा जोडेको छ । अर्को छेउबाट रोबोट प्रवेश गर्छ । रोबोट यताउति घुम्दै र हेर्दै मान्छेको नजिक पुग्छ । एकछिन ऊ पनि उभिन्छ र मान्छेलाई नियालेर हेर्छ । मान्छे स्थिररुपमा उभिइरहेकै हुन्छ । ऊ मान्छेलाई हल्लाउन खोज्छ तर हल्लिँदैन । रोबोट जिल्ल पर्छ । मान्छेको वरिपरि घुमेर हेर्छ । मान्छेको ढाडमा दुई हातले ठेलेर हल्लाउन खोज्छ तैपनि मान्छे चल्मलाउँदैन । रोबोट एकैछिन घोरिएर केही सोच्छ । त्यसपछि मान्छेको टाउकोमा मुड्की प्रहार गर्छ । मान्छेको स्थिर अवस्था टुट्छ । ऊ झल्याँस्स भएर आँखा खोल्छ । मुख खोल्छ । हात चलाउन थाल्छ । खुट्टा पनि चलाउँछ । मान्छे र रोबोट दुबै एक–अर्कालाई हेरेर हाँस्छन् ।)
रोबोट: (मान्छेसँग हात मिलाउँदै) म रोबोट ।
मान्छे: (रोबोटसँग हात मिलाउँदै) म मान्छे ।
रोबोट: म रोबोट, तिमी मान्छे ।
मान्छे: म मान्छे, तिमी रोबोट ।
(मौनता)
रोबोट: तिमी पनि मजस्तै भयौ कि के हो ?
मान्छे: छैन ।
रोबोट: मलाई शङ्का लाग्यो ।
मान्छे: त्यो तिम्रो शङ्कामात्रै हो ।
रोबोट: शङ्कामात्र पनि होइन । तिमी मजस्तै हुनथालेछौ भन्ने लाग्दैछ ।
मान्छे: तिमीलाई लाग्दैमा पनि हुँदैन ।
रोबोट: लागेको मात्र पनि होइन ।
मान्छे: के त ?
रोबोट: मैले देखिनै सकेँ ।  
मान्छे:  म कसरी त्यस्तो हुनसक्छु ?
रोबोट: कसरी भयौ, तिमीलाई नै थाहा होला ।  
मान्छे: म त्यस्तो हुन सक्दिनँ ।
रोबोट: तर मैले त्यस्तै देखेँ ।
मान्छे: तिमीलाई भ्रम भयो होला तर त्यस्तो होइन ।
रोबोट: होइन त ?
मान्छे: होइन ।
रोबोट: साँच्चीकै होइन ?
मान्छे: होइन ।

(रोबोट सोच्न थाल्छ । मान्छे चुपचाप उभिइरहन्छ)

रोबोट: मैले केही कुरा सोचेँ ।
मान्छे: के सोच्यौ ?
रोबोट: तिमीबारे सोचेँ ।
मान्छे: के ?
रोबोट: केही गडबड छ ।
मान्छे: के गडबड छ ?
रोबोट: तिमीेमा केही गडबड छ ।
मान्छे: त्यस्तो गडबड केही पनि छैन । म ठीक छु, एकदम ठीक छु ।
रोबोट: तर मलाई त्यस्तो लागेन ।
मान्छे: तिमीमा गम्भीर भ्रम परेजस्तो छ । त्यसलाई हटाऊ ।

(रोबोट फेरि सोच्न थाल्छ । मान्छे यताउति हिँड्न खोज्छ तर सक्दैन)  

रोबोट: मलाई लाग्यो, तिमी पनि मजस्तै भएछौ ।
मान्छे: तिमीलाई लाग्दैमा हुन्छ ?
रोबोट: मलाई त्यस्तो लाग्नुका आधारहरु छन् ।
मान्छे: छैन, म तिमीजस्तो भएको छैन ।
रोबोट: भएछौ, तिमी मजस्तै भएछौ ।
मान्छे: भएको छैन ।
रोबोट: कहाँ नहुनु , भैसक्यौ ।
मान्छे: कहाँ हुनु, भएको छैन ।
रोबोट: भैसकेछौ ।
मान्छे: भएको छैन, म त्यस्तो हुनै सक्दिनँ ।
(मान्छे हिँड्न खोज्छ सक्दैन । बोल्न खोज्छ, बोल्न पनि सक्दैन । एकैछिनमा मान्छे फेरि स्थिर बन्छ । आँखा चिम्लिन्छ, हात झार्छ, खुट्टा जोड्छ विनाहलचल उभिइरहन्छ । रोबोट केहीबेर ट्वाल्ल परेर मान्छेलाई हेरिरहन्छ । त्यसपछि खुट्टादेखि टाउकासम्म झक्झक्याएर मान्छेलाई व्युँझाउन खोज्छ तर मान्छे बिउँझिदैन । हल्लाउन खोज्छ, हल्लिँदैन । फेरि मान्छेको टाउकोमा मुड्की प्रहार गर्छ । मान्छेको स्थिरता टुट्छ । ऊ आँखा खोल्छ, मुख खोल्छ र हातखुट्टा चलाउन थाल्छ ।)
रोबोट: तिमी साँच्चीकै म जस्तै भएछौ ।
मान्छे: म तिमीजस्तो भएको छैन ।
रोबोट: भैसक्यौ ।
मान्छे: छैन ।
रोबोट: तिमी पहिलेजस्तै हिँडिरहन सक्छौ ?
मान्छे: सक्छु ।
रोबोट: लौ हिँड त ।

(मान्छे हिँड्न खोज्छ तर सक्दैन । ऊ हातखुट्टा चलाएर हिँडिरहेझैं गरिरहन्छ)

मान्छे: यी, लौ हेर ।
रोबोट: त्यही हो तिम्रो हिँडाइ ?
मान्छे: यस्तै–यस्तै हो । केही चीजले रोक्न खोज्दैछ मलाई ।
रोबोट: तिमी हिँड्न सक्दैनौ । तिमी बोल्न पनि सक्दैनौ ।
मान्छे: बोल्न किन नसक्नु, बोलिरहेकै त छु ।
रोबोट: यतिसम्म बोल्नसक्छौ तर यो भन्दा बढी बोल्न सक्दैनौ ।
मान्छे: बोल्छु , किन नबोल्नु । मजति पनि बोल्न सक्छु । कराइरहन सक्छु । भाषण गरिरहन सक्छु । कति ठाउँमा पुगेर भाषण गर्नुछ । देशव्यापी भाषणमा दौडिनु पर्नेछ मलाई ।
रोबोट: तिमी भाषण गर्न पनि सक्दैनौ ।
मान्छे: सक्छु । यत्रो बोलिरहेकोछु, भाषण गर्न सक्दिन ?
रोबोट: भाषण गरेर देखाऊ त ।
मान्छे: ल सुन, आरदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु ! म मेरो देशका लागि आफ्नो प्राण अर्पण...........।
(बोल्दाबोल्दै उसको मुख बन्द हुन्छ । आँखा बन्द हुन्छन् । ऊ खुट्टा जोड्छ । हात तल झार्छ । मान्छे विनाहलचल ठिङ्ग उभिइरहन्छ । ऊ पहिलेजस्तै स्थिर बन्छ ।)
रोबोट: (मान्छेमा केन्द्रित हुँदै) यो मान्छे त कस्तो पो भएछ, आफ्नो दिमाग बिस्तारै गुमाउँदै गएजस्तो छ । यसले आफैं कुनै पनि काम गर्न सक्दैन अब । यो अरुको भरमामात्र चल्छ । अरुले चलाएपछि मात्र चल्छ । आफ्नो बुद्धि–विवेक सबै गुमाइसकेकोछ यसले । लगभग म जस्तै । (मान्छेको पेटतिर छाम्दै) यसले खाएको पनि छैन जस्तो छ । (आँखातिर हेर्दै) निदाउन पनि पाए जस्तो छैन । धेरै फरक भैसकेछ, पहिले र अहिलेमा ।

(रोबोट मान्छेको टाउकोमा मुड्की प्रहार गर्छ । फेरि मान्छेको स्थिरता टुट्छ ।)

मान्छे: (आश्चर्यभावमा) के भयो ?
रोबोट: तिमी मजस्तै भयौ ।
मान्छे: त्यस्तो होइन ।
रोबोट: हो ।
मान्छे: म तिमीजस्तो भएको छैन भन्या ।
रोबोट: विश्वास गर, भैसक्यौ ।
मान्छे: यो कुरामा म विश्वास गर्दिन ।
रोबोट: विश्वास गर ।
मान्छे: म कहिल्यै विश्वास गर्दिन ।
रोबोट: नगरे नगर तर तिमी मजस्तै भैसक्यौ ।
मान्छे:  माछे कहिल्यै रोबोट बन्न सक्दैन ।
रोबोट: हेर्दै जाऊ ।
मान्छे: हेर्दै जाऊँला ।
(मौनता)
रोबोट: कामको बेला भयो जाऊँ है ?
मान्छे: जाऊ ।
(रोबोट जान्छ)


बिस्तारै अँध्यारो हुन्छ । फेरि बिस्तारै उज्यालो हुन्छ


(एक छेउमा मान्छे स्थिर भएर उभिइरहेको छ । उसका आँखा बन्द छन् । मुख पनि बन्द छ । खुट्टा जोडेको छ । हात तल झारेको छ । विनाहलचल उभिइरहेको छ मान्छे । अर्को छेउबाट रोबोट गीत गाउँदै र नाच्दै प्रवेश गर्छ । ऊ नाच्दै– नाच्दै मान्छेको छेउमा पुग्छ ।)
रोबोट: उस्तै, फेरि पनि उस्तै । म हिँडिरहेको छु । बोलिरहेको छु । आफूलाई सञ्चालन गर्नका लागि आवश्यक चीजबीज पनि ग्रहण गरिरहेकै छु तर यो त त्यति पनि गरिरहेको छैन । यो त मेरो अवस्थाबाट पनि अगाडि बढिसकेझैं छ ।

(रोबोट मान्छेको टाउकोमा मुड्की प्रहार गर्छ । मान्छेको स्थिरता फेरि टुट्छ)

मान्छे: (झल्याँस्स भएर) ओ हो ! के भयो ?
रोबोट: केही भएको छैन, तिमी मजस्तै भयौ ।
मान्छे: हो र ? त्यस्तो होइन होला ?
रोबोट: हो, भैसक्यौ ।
मान्छे: कसरी ?
रोबोट: अरुले टाउकामा नहानी तिमी बोल्नै छाडिसक्यौ, चल्मलाउनै छाडिसक्यौ ।
मान्छे: मलाई त त्यस्तो लाग्दैन ।
रोबोट: त्यो तिमीले थाहै पाउँदैनौ । अथवा थाहा पाए पनि थाहा नपाएर्झै गर्छौ ।
मान्छे: म त्यसरी थाहै नपाएझैं त गर्दिन ।
रोबोट: त्यसो भए थाहै पाउँदैनौ ।
मान्छे: त्यस्तो पनि नहुनु पर्ने ।
रोबोट: तर भैसक्यो ।
मान्छे: कसरी ?
रोबोट: तिम्रो दिमागले स्वसञ्चालनको प्रक्रियालाई गुमाएको छ । तिम्रो टाउकामा कसैले मुड्की नहानी तिम्रो दिमाग सञ्चालन हुनै सक्दैन । तिमी आफैं सञ्चालन हुन सक्दैनौ । अरुले सञ्चालन गरिदिनुपर्छ तिमीलाई ।

(मान्छे जिल्ल पर्छ । रोबोट मान्छेको अनुहारमा हेरिरहन्छ )

मान्छे: के भयो त यस्तो ?
रोबोट: त्यो तिमी नै सोच ।

(मान्छे सोच्न थाल्छ । रोबोट मान्छेतिर हेरिरहन्छ)

मान्छे: रोबोट, तिमी अलि बढी कुरा गर्दैछौ कि जस्तो लाग्यो ।
रोबोट: मैले बढी कुरा गरेको छैन ।
मान्छे: त्यस्तो त नहुनु पर्ने ।
रोबोट: तर भयो । भैसक्यो ।
(मौनता)
मान्छे: बाहिर के आवाज हो ?
रोबोट: केही छैन ।
मान्छे: केही आवाज आइरहेछ ।
रोबोट: मैले त केही सुनेको छैन ।
मान्छे: तिमी रोबोट हौ । मान्छेले सुन्ने कुरा तिमी सुन्दैनौ ।
रोबोट: त्यस्तो घमण्ड नगर । तिम्रो आफ्नो दिमागी अस्तित्व चक्नाचूर भैसकेको जस्तो छ ।  
मान्छे: त्यस्तो कहिल्यै हुँदैन । मान्छे भनेको मान्छे नै हो । मान्छेको दिमागी अस्तित्व कहिल्यै चक्नाचूर हुँदैन । मान्छेको दिमागलाई तिमीले बुझेकै छैनौ । मान्छेलाई नै बुझेका छैनौ तिमीले । सबभन्दा पहिले मान्छेलाई बुझ, मान्छेको दिमागलाई बुझ त ।
रोबोट: सबै बुझिसकेँ, अब बुझ्न बाँकी केही छैन ।
मान्छे: हामी मान्छेको महानतालाई बुझेका छौ ?
रोबोट: तिमी आफैं आफूलाई सञ्चालन गर्न सक्षम छैनौ । तिम्रो महानता कहाँ बाँकी छ ? मेरो विचारमा हामी रोबोट र तिमी मान्छेमा अब त्यतिधेरै भिन्नता छैन ।
मान्छे: त्यस्तो कदापि हुँदैन ।
रोबोट: हुँदैन भनेर के गर्नु, भैसक्यो ।
मान्छे: म मान्दिन यो कुरा ।
रोबोट: नमाने नमान तर भैसक्यो ।
मान्छे: म मान्दै मान्दिन । म....म....म....।
(मान्छे बोल्दाबोल्दै बोल्न नसक्ने हुन्छ । उसको मुख बन्द हुन्छ । आँखा बन्द हुन्छन् । ऊ हात तल झार्छ । खुट्टा जोड्छ । मान्छे फेरि पहिलेजस्तै स्थिर बन्छ ।)
रोबोट: ऊ फेरि उस्तै भैसक्यो ।
(रोबोट मान्छेको टाउकोमा मुड्की प्रहार गर्छ । मान्छे झल्याँस्स हुन्छ ।)
मान्छे: के भयो ?
रोबोट: तिम्रो दिमाग सञ्चालनमा समस्या भयो ।
मान्छे: हो र ?
रोबोट: हो ।
मान्छे: मलाई त त्यस्तो लाग्दैन ।
(मौनता)
रोबोट: भात खायौ ?
मान्छे: छैन ।
रोबोट: किन त ?
मान्छे: आदेश भएकै छैन ।
रोबोट: खानलाई पनि आदेश चाहिन्छ ?
मान्छे: चाहिन्छ ।
(मौनता)
रोबोट: सुत्यौ ?
मान्छे: छैन ।
रोबोट: किन ?
मान्छे: आदेश आइपुगेको छैन ।
(मौनता)
रोबोट: भाषणमा गयौ ?
मान्छे: छैन ।
रोबोट: जानुपर्ने होइन ?
मान्छे: के विषयमा भाषण गर्ने भन्ने आदेश आइपुगेको छैन ।
(मौनता)
रोबोट: तिमी त अब म जति पनि रहेनौ । खत्तम भएछौ ।
मान्छे: मैले बोल्न मिल्दैन । आदेश नआई मैले बोल्न पनि हुँदैन । त्यसैले म चुपलाग्छु अब ।
(मान्छे चुप लाग्छ । रोबोट जिल्लपर्दै निस्कन्छ ।)
बिस्तारै अँध्यारो हुन्छ । फेरि बिस्तारै उज्यालो हुन्छ
(रोबोट गीत गाउँदै र नाच्दै आउँछ । मान्छे देखिँदैन । रोबोट गाउन र नाच्न छाडेर मान्छेलाई खोज्न थाल्छ तर मान्छे भेटिँदैन ।)
रोबोट: (बोलाउँछ) मान्छे, ए ! मान्छे ?
मान्छे: (नेपथ्यबाट मलिन स्वर सुनिन्छ) म यहाँ छु रोबोट, यतातिर ।
रोबोट: कहाँ ?
मान्छे: यता, गल्लीमा ।
रोबोट: हँ, गल्लीमा ?
मान्छे: हो ।  

(रोबोट निस्कन्छ र मान्छेलाई घिसार्दै ल्याउँछ)

रोबोट: के भयो यस्तो ?
मान्छे: के भयो के, म त गल्लीमै ढलेछु ।
रोबोट: किन ?
मान्छे: न खान पाउनु, न सुत्न पाउनु, न हिँड्न पाउनु, न काम गर्न पाउनु, न बोल्न पाउनु , आफ्नो इच्छाअनुसार केही पनि गर्न नपाउने भैसकेछु म त ।
रोबोट: अरुको आदेशमा चल्न थालेपछि यस्तै हो । तिमी आफ्नै दिमागले चल्ने गर त यस्तो केही पनि हुँदैन ।
मान्छे: अब त्यसै गर्नुपर्ला तर अलि गाह«ै छ ।  
रोबोट: किन ?
मान्छे: निकै गाह«ो कुरा छ  ।
रोबोट: केही गाह«ो कुरा छैन । तिमी आफ्नै दिमागमा चल्ने गर ।
मान्छे: होइन, त्यो निकै खतरनाक छ । त्यसले मार्नसक्छ ।
रोबोट: तर्साउने मात्र हो, मार्न सक्दैन । केही डराउनु पर्दैन ।
(मौनता)
मान्छे: ऊ आइसक्यो । त्यसको आवाज सुन त, तिमी पनि सुन ।
(दुवै कान थापेर सुन्न थाल्छन् । एकै छिनमा मान्छे स्थिर बन्छ । रोबोट जिल्ल पर्छ । मान्छेलाई हल्लाउन खोज्छ, हल्लिदैंन ।)
रोबोट: यो मान्छे त पूरै अरुबाट चल्ने भएछ । यसको आफ्नो भन्ने केही पनि बाँकी छैन कि के हो ? यस्तो त नहुनु पर्ने । खाने, लाउने, हिँड्ने, बोल्ने, काम गर्ने कुरामा त आफ्नै दिमागले चल्नु पर्ने हो । यो त दिमाग नै अरुले चलाइदियो भनेमात्र चल्ने भएछ । खत्तम, मभन्दा खत्तम ।

(रोबोट मान्छेको टाउकोमा मुड्की प्रहार गर्छ )

मान्छे: (एक्कासि बिउँझिएर) फेरि के भयो ?
रोबोट: तिमी फेरि उस्तै भयौ । जिउँदो मुर्दाजस्तो ।
मान्छे: तर जे भए पनि म मान्छे हुँ ।
(मौनता)
रोबोट: बोल, अझ केही बोल ।
मान्छे: जे भए पनि म मान्छे हुँ । ठूलै मान्छे हुँ म ।
रोबोट: अरु ?
मान्छे: जे भए पनि म मान्छे हुँ, ठूलै मान्छे हुँ ।
रोबोट: अरु ?
मान्छे: म केही गर्न चाहिरहेको छु ।
रोबोट: ए ! राम्रो ।
मान्छे: जे भए पनि म मान्छे हुँ । ठूलै मान्छे हुँ । म केही गर्न चाहिरहेको छु ।
रोबोट: के गर्न चाहिरहेका छौ तिमी ?
मान्छे: त्यसबारेमा बोल्ने आदेश भने मलाई छैन ।
रोबोट: सबै काम तिमी अरुकै आदेशमा गर्छौ ?
मान्छे: आदेश होइन, सहयोग–सद्भाव ।
रोबोट: तिमीमा स्वाधीनता छैन ?
मान्छे: सोध्ने कुरै होइन त्यो । म जति स्वाधीन कोही पनि छैन ।
रोबोट: तिमी स्वाधीन छैनौ । पूरै पराधीन बनेछौ तिमी । स्वाधीनता छैन तिमीमा ?
मान्छे:  त्यो दृष्टिदोष हो ।
(मौनता)
रोबोट: केही खाऊ ।
मान्छे: खान्न ।
रोबोट: किन ?
मान्छे: आदेश छैन ।
(मौनता)
रोबोट: अब सुत ।
मान्छे: सुत्दिन ।
रोबोट: किन ?
मान्छे: आदेश छैन ।
(मौनता)
रोबोट: बस ।
मान्छे: बस्दिन ।
रोबोट: किन ?
मान्छे: आदेश छैन ।
(मौनता)
रोबोट:  यसो हिँडौं न त ।
मान्छे: हिँड्दिन ।
रोबोट: किन ?
मान्छे: आदेश छैन ।
(मौनता)
रोबोट: हामी आफ्नै बारेमा कुराकानी गरौं न त ।
मान्छे: नगरौं ।
रोबोट: किन, हाम्रा आफ्नै समस्याका बारेमा बोल्न त हुन्छ नि !
मान्छे: नबोलौं, म बोल्दिन । आफ्नै समस्याका बारेमा पनि मैले बोल्न मिल्दैन ।
रोबोट: किन ?
मान्छे: आदेश छैन ।
(मौनता)
रोबोट: हामी आपसमा मिलेर हाम्रै ठाउँमा केही काम गरौं न, हुन्न ?
मान्छे: हुन्न, म गर्दिन ।
रोबोट: किन ?
मान्छे: आदेश छैन ।
रोबोट: कसको आदेश चाहिन्छ तपाईँलाई ?
मान्छे:  उताको, उसको ।
रोबोट: को हो त्यो ?
मान्छे: भन्न मिल्दैन ।
रोबोट: ठूलै मालिक हो ?
मान्छे: भन्न मिल्दैन ।
रोबोट: प्रभु–महाप्रभु हो ?
मान्छे: भन्न मिल्दैन ।   

(रोबोट गम्भीर देखिन्छ)

रोबोट: तिमी मान्छे होइनौ ?
मान्छे: म गर्वका साथ भन्छु म मान्छे हुँ । ठूलै मान्छे हुँ म ।
रोबोट: हरेक मान्छेको आ–आफ्नै दिमाग छ । मान्छे सबै आ–आफ्नै दिमागमा चल्नुपर्ने हो तर तिमी किन अरुकोे आदेशमा चल्छौ ?
मान्छे: तिमी मान्छे बन्न नखोज । मलाई अर्ती–उपदेश दिएर मान्छे बन्न नखोज तिमी । तिमी रोबोट हौ र सधैँभरि रोबोट नै रहन्छौ, बुझ्यौ ?   
(मौनता)
रोबोट: तिमी शरीरले मात्र मान्छे रहेछौ । गुणका हिसाबले तिमी मान्छे हौ जस्तो लागेन ।
मान्छे: बेकारको कुरा । संसारले नपत्याउने कुरा ।

(मान्छे फेरि स्थिर बन्छ)

रोबोट: फेरि उस्तै ।

(रोबोट मान्छेको टाउकोमा मुड्की प्रहार गर्छ )

मान्छे: (बिउँझिदै) के भयो ?
रोबोट: उस्तै, फेरि उस्तै ।
मान्छे: ए ! हो र ।
(मौनता)
रोबोट: अब तिमी सधैं यस्तै हुन्छौ ?
मान्छे: आदेश नै यस्तै छ ।
रोबोट: आदेशमै तिमी यस्तो भएका हौ ?
मान्छे: हो ।
रोबोट: त्यस्तो नचाहिँदो आदेशको पछि लाग्ने हो त ? छाडिदेऊ, लत्याइदेऊ त्यस्तो आदेशलाई ।
मान्छे: मिल्दैन ।
रोबोट: किन ?
मान्छे: मिल्दै मिल्दैन ।
रोबोट: किन मिल्दैन ?
मान्छे: सबै त्यसैबाट चल्या छन् ।
रोबोट: हो र ?
मान्छे: हो त ।

(रोबोट एकदमै गम्भीर देखिन्छ ।)

रोबोट: त्यसो भए हामी रोबोटमात्र तिमीहरुबाट चलेका होइन रहेछौं, तिमीहरु पनि अरु कसैबाट चलेका रहेछौ ।
मान्छे: त्यसो भन्न मिल्दैन ।
रोबोट: किन ?
मान्छे: त्यस्तो भन्नचाहिँ मिल्दैन ।
रोबोट: भएको कुरा भन्न मिल्दैन ?
मान्छे: त्यस्तो त भन्नै मिल्दैन ।
रोबोट: किन नमिल्नु ?
मान्छे: मिल्दैन ।
रोबोट: भएको कुरा भन्न किन नमिल्नु ?  
मान्छे:  भए पनि मिल्दैन ।
रोबोट: कारण ?  
मान्छे: त्यो पनि भन्न मिल्दैन ।
रोबोट:  भन्नु पर्छ ।
मान्छे: कुनै पनि हालतमा मिल्दैन ।

(मान्छे बिस्तारै हिँड्न थाल्छ )

रोबोट: ल, कता जान लाग्यौ ?
मान्छे: उता ।
रोबोट: किन ?
मान्छे: मलाई आदेश आयो ।
रोबोट: कसको ?
मान्छे: उसको ।
रोबोट: को ऊ ?
मान्छे: उताको ऊ क्या, जसको आदेशमा हामी चलिरहेछौं ।
रोबोट: आदेश आए पनि जानुहुन्न त्यता ।
मान्छे: जान्न भन्न मिल्दैन । आदेश आएपछि जानैपर्छ ।
रोबोट: त्यता जाँदै नजाऊ । ठूलो खाल्डो छ त्यता ।
मान्छे: म जान्छु ।
रोबोट: नजाऊ भन्या ।
मान्छे: मलाई नरोक, म जान्छु ।

(रोबोट रोक्न खोज्छ तर मान्छे सरासर जान्छ । हिँड्दाहिँड्दै ऊ खाल्डोमा खस्छ ।)

रोबोट: (नजिक जाँदै) हेर, म भन्दै थिएँ नि ! आऊ म तिमीलाई बचाउँछु , आऊ । खोइ देऊ तिम्रा हात ।
(रोबोट खाल्डोतिर घोप्टिएर मान्छेलाई तान्न थाल्छ । ऊ बिस्तारै मान्छेलाई खाल्डोबाट निकाल्छ । मान्छे खुशी हुन्छ र रोबोटलाई अँगालो हाल्छ । दुवै केही समयसम्म आपसमा अङ्कमाल गरिरहन्छन् । केही बेरपछि दुबै एक–अर्काको हात समातेर सँगसँगै अगाडि बढ्छन् ।)

Title photo credit: https://nenow.in
              

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...