केन्द्रीय संस्करण
दसैँ

मैथिल जनजीवनमा दसैँको स्थान

person explore access_timeअसोज २०, २०७६ chat_bubble_outline0

यद्यपि यस वर्ष स्थिति केही भिन्न रह्यो । भिन्नता के अर्थमा भने दसैँ लागिसक्दा पनि वर्षाले हामीसँग बिदा लिएन । अझ मिथिला क्षेत्रको कुरा गर्ने हो भने त कतिपय ठाउँ नराम्रोसँग वर्षाले प्रभावित छन् । देशका अन्य ठाउँमा पनि वर्षाजन्य अवरोध तथा प्रतिकूलताहरूले दसैँ चाहिँदो पाराले सुरिन पाएन । तर सामान्यतया प्रत्येक वर्ष हिलो मैलो र गर्मी उष्णताबाट मुक्ति दिलाउँदै आउने चाड हो विजया दशमी ।

समग्र नेपालमा दसैँको उल्लास, उमङ्ग, रोमाञ्च, औत्सुक्य आदि कतिसम्म हुन्छ भन्ने भनिरहनुपर्ने कुरै होइन । सरकारले दसैँको बिदा ५ दिनमा सीमित गरे पनि घटस्थापनादेखि नै देशका बजार विद्यालय, विश्वविद्यालय, अड्डा, अदालतलगायत लोकमानस दसैँमय रहने गर्छ । यति मात्र नभई छठी पर्वसम्म यसको धङधङी बाँकी रहनुले पनि दसैँको महत्त्व र स्थानलाई दर्साइरहेको हुन्छ । अझ सरकारी कार्यालयदेखि लिएर अन्य व्यावसायिक प्रतिष्ठानहरूबाट समेत आफ्ना कर्मचारीहरूलाई दसैँखर्च उपलब्ध गराइनु र दसैँकै छेको पारेर देशमा प्रायसो नयाँ नोट निष्काशन गरिनुले समेत यसको महत्त्व प्रमाणित गर्छ ।

तर कताकता नेपालमा मूल धारका देखिने यावत कुराहरू पर्वतीय संस्कृतिकै धरोहर मानिने मानसिकता व्याप्त छ । त्यसमाथि पछिल्लो समयमा राष्ट्रिय रूपमै व्यापकता कमाउँदै गएको छठी पर्वमाथि मूलतः मिथिलाको स्वामित्व देखिने गरेको छ । यसले गर्दा मिथिला वा सिङ्गो तराई मधेसको छठी नै मूल पर्व हो र अन्य पर्वको त्यहाँ खासै स्थान नभएको धारणा अनेकौँ नेपालीहरूमा पाइने गरेको छ । तर त्यसो होइन, दसैँ मिथिलामा पनि त्यति नै भक्ति, निष्ठा र उमङ्गका साथ मनाइन्छ, जति देशको अन्य ठाउँमा । बरू केही दृष्टिले त अन्तभन्दा पृथक र भव्य रूपले मनाइन्छ भन्दा पनि फरक परोइन । हो, टीका र जमरा लाउने कुरा पहाडी समाज जतिको भव्य र व्यापक छैन मिथिलामा । मात्र दसैँको दिन घरका मूल व्यक्ति वा पण्डित पुरोहितबाट लगाएपछि सकिन्छ टीका जमराको औपचारिकता त्यहीँ पनि सर्वत्र नभई कताकती मात्रै ।

*****

सामान्यतया मिथिलामा मनाइने प्रत्येक चाडबाडमा सांस्कृतिक मौलिकता तथा वैशिष्ट्य बढी देखिन्छ । तर दसैँमा यो पक्ष अपेक्षाकृत कम मुखर हुन्छ । यद्यपि सम्पूर्ण मिथिला मनस्थितिगत रूपमा लगातार पन्ध्र दिनसम्म जुन उमङ्ग र समर्पणका साथ यस पर्वमा समाहित हुन्छ, त्यो अन्य पर्वमा सामान्यतया पाइँदैन । केटाकेटीहरूदेखि युवायुवती र वृद्धवृद्धामा  समान उत्साहले संलग्न हुन्छन् दसैँमा । सबै जाति, वर्ग र स्तरका मानिसको उमङ्गरूपी चङ्गालाई आपसी स्नेह र सौहाद्र्रको धागोले जोडेर उन्मुक्त आकाशमा कावा ख्वाउने लट्टाइ हो मिथिलाको दसैँ ।

*****

वस्तुतः खेती किसानीका मुख्य कामबाट फुर्सद पाएर मैथिलहरू आध्यात्मिकता र मनोरञ्जनको अखडामा आफूलाई होम्ने गर्छन् । यसरी चौरचन, जितियापछि दसैँ हुँदै सुरु हुन्छ, मिथिलामा चाडपर्वको अनवरत शृङ्खला । अनेकथरी चाडपर्व मनाइने हुनाले त्यहाँ दसैँ मात्र पर्वको रूपमा देखिँदैन । तर अनेकौँ रैथाने चाडपर्वहरू प्रचलित हुँदाहुँदै पनि हिन्दुहरूको प्रमुख पर्व विजया दशमी समेत उत्तिकै भव्यतापूर्वक मनाइन्छ मिथिलामा। बरु सर्वाधिक समर्पण भावले मनाइने पर्व दसैँ नै हो भन्दा पनि अत्युक्ति नहुने अवस्थासमेत रहेको छ ।

दशमी, दुर्गापूजा, दशहरा आदि नामले सम्बोधन गरिने दसैँ वस्तुतः मिथिलाको एउटा यस्तो महापर्व हो, जसले मैथिलहरूको मन मनमा अभूतपूर्व ऊर्जा एवं उल्लासको सञ्चार गर्दछ । मिथिलाका अन्य महत्त्वपूर्ण चाड पर्वको विशाल स्वागतद्वारको निर्माण विजया दशमीले नै गर्दछ । सुकराती (तिहार), छठी, सामाचकेवा आदि मिथिलाको सोच तथा संस्कृतिलाई प्रतिबिम्बन गर्ने चाडपर्वहरू दसैँपछि नै लगत्तै आउन थाल्छन् ।

सामान्यतया मिथिलामा मनाइने प्रत्येक चाडबाडमा सांस्कृतिक मौलिकता तथा वैशिष्ट्य बढी देखिन्छ । तर दसैँमा यो पक्ष अपेक्षाकृत कम मुखर हुन्छ । यद्यपि सम्पूर्ण मिथिला मनस्थितिगत रूपमा लगातार पन्ध्र दिनसम्म जुन उमङ्ग र समर्पणका साथ यस पर्वमा समाहित हुन्छ, त्यो अन्य पर्वमा सामान्यतया पाइँदैन । केटाकेटीहरूदेखि युवायुवती र वृद्धवृद्धामा  समान उत्साहले संलग्न हुन्छन् दसैँमा । सबै जाति, वर्ग र स्तरका मानिसको उमङ्गरूपी चङ्गालाई आपसी स्नेह र सौहाद्र्रको धागोले जोडेर उन्मुक्त आकाशमा कावा ख्वाउने लट्टाइ हो मिथिलाको दसैँ ।

भूगोलबाट विस्थापित भएको सात सय वर्ष बितिसक्दा पनि मिथिला आजसम्म अस्तित्वमा हुनुको एक मात्र कारण हो मैथिलहरूको छातीमा गहिरोसँग कुँदिएको मिथिलापन । कतिसम्म भने आफ्नो जीवनमा मिथिलालाई जीवन्त राखेर हिँड्नेहरूले त यसलाई जीवन्तता दिएकै छन्, यसका विरुद्ध कुरा र काम गर्नेहरू पनि ‘मरा–मरा’ शैलीमा ‘राम’ जपेझैँ मिथिलाकै कुरा गरेर यसको महिमा प्रकट गरिरहेका हुन्छन् । यो भूगोल मैथिली भाषा, मैथिली संस्कृतिका विविध आयाम एवं कला संस्कृतिको अविच्छिन्न निरन्तरताकै माध्यमबाट आजसम्म पनि आआप्नो छातीमा सजाएर राख्न मिथिलावासीहरू सफल भएका छन् । यसमा पनि दसैँले समेत सुदृढ बनाएको सांस्कृतिक धरातलले योगदान पुर्याएको छ ।

वर्षायाम समाप्त भएलगत्तै आउने विजया दशमीमा बाटेघाटोको सरसफाइ तथा घर आँगन लिपपोत गर्ने चटारो एकातिर हुन्छ भने केटाकेटीहरूमा नयाँ लुगाफाटा पाउने उल्लासले पर्वमा चञ्चलता थपेको हुन्छ । नवरात्रा अवधिभरि पूजापाठ ध्यानमा मैथिलहरूको सहभागिता विशेष रहने गर्दछ । मिथिलावासीहरू उसै पनि अलि धर्मभीरु प्रकृतिकै हुन्छन् । त्यसैले सामान्यतया तेत्तीसै कोटि देवीदेउतामाथि मैथिलहरूको समान आस्था देखिन्छ । तर भगवती दुर्गा र भोलेशङ्करमाथि भने यिनीहरूको आस्था विशेष एवं आत्मिक प्रकृतिको हुन्छ । त्यसैले नेपाली भाषामा तीज आउनासाथ बग्रेल्ती गीतहरू निस्किन थालेझैँ मैथिली भाषामा दसैँ र शिवरात्रि तथा काँवरियावाल ‘सीजन’मा जति धार्मिक गीतहरू रेकर्ड भएर आउँछन्, त्यति अन्य कुनै समयमा आउँदैनन् ।

मिथिला क्षेत्रमा अनेकौँ शक्तिपीठहरू हुनुका साथै, गाउँगाउँमा भगवतीका मन्दिरहरू पनि अवश्य पाइन्छन् । त्यति मात्र नभई मिथिलाको कुनै गाउँ यस्तो पाइँदैन, जहाँ  दसैँको समयमा दुई चार ठाउँमा भगवतीका मूर्तिहरू बनाइएका नहोऊन् वा दुर्गापूजाको मेला (जात्रा) नलाग्दोहोस् । समयक्रममा मैथिलहरूको बसोबास रहेका ठाउँहरूमा पनि यस्ता परम्पराले झाँगिने मौका पाए । फलतः पछिल्ला ३, ४ दशकमा राजधानी काठमाडौँ तथा नेपालको पश्चिमी तराईतर पनि दसैँको यो स्वरूप विस्तृत हुन थालेको छ । पहिला पहिला नेपालको पश्चिम तराई अर्थात अवध क्षेत्रतिर दसैँको मुख्य उल्लास विजया दशमीका दिन रावण दहनमा केन्द्रित हुने गर्दथ्यो । मूर्ति निर्माण तथा पूजन नगन्य प्रायः हुन्छ । नेपालकै भूमिमा रहेको मिथिलातर्फ छिन्नमस्ता सखडास्थित शक्रेश्वरी भगवती वा भारदहस्थित कङ्कालनी भगवती वा जनकपुरधामको राजदेवी मन्दिरमा जुन किसिमको भव्यता दसैँले ल्याएको हुन्छ, जस्तो विशाल मेला लाग्दछ, त्यस विषयमा विशेष भनिरहनुपर्ने आवश्यकता नै रहँदैन ।

*****

एउटा खास कुरा जुन मिथिलाको दसैँमा देखिन्छ, त्यो हो– सङ्गीत–नाट्यकलाको संरक्षण एवं प्रवद्र्धनमा यो पर्व निकै सहयोगी सिद्ध हुँदै आएको छ । मिथिलाका प्रायः प्रत्येक गाउँमा सप्तमीदेखि दशमी, एकादशी, द्वादशी मात्र नभई कोजाग्रात पूर्णिमासम्म पनि सङ्गीत, नाट्य समारोहहरूको आयोजना हुने गर्छ । अष्टमीका दिन घरका प्रत्येक कोठाको दैलोमा भगवतीको गोडा बनाउने चलन छ ।

*****

मिथिलाका पुरुषहरू प्रायः नौरथाभरी शक्तिपीठ वा भगवती मन्दिरहरूमा गई दुर्गाकवच पाठ गर्ने गर्दछन् । कतिपय व्यक्ति आफ्नै गोसाउन घर (पूजा कोठा) मा पनि यसरी दुर्गा कवच पाठ गर्छन् । महिलाहरू पनि नित्य दिन भगवतीको पूजा (आराधना गर्नुका साथै कुमारी भोजन गराउने वा भगवतीलाई ‘पातरि दिने’ विशेष प्रकारको भोग लगाउने) काममा संलग्न हुन्छन् । यस प्रकार के देखिन्छ भने मिथिलामा मानिसहरू कलशस्थापन (घटस्थापना) कै दिनदेखि दसैँको भक्तिमयतामा चुर्लुम्म डुब्छन् । कतिपय श्रद्धालुहरू दश दिनसम्म शवासनको मुद्रामा सुतेर छातीमाथि जयन्ती (जमरा) उमार्छन् । अनेकौँ व्यक्ति नवरात्राभरि उपवास बस्छन् भने कतिपयले मात्र फलाहार गरेर पूरा दसैँ बिताउँछन् । सप्तमीदेखि नवमीसम्म विभिन्न भगवती मन्दिरहरूमा जस्ता भव्य मेलाहरू लाग्छन्, ती विमुग्धकारी हुने गर्छन् । केटाकेटीदेखि बुढापाकासम्म, महिला पुरुष, तरुनी तन्नेरी सबै आप्नो आस्था, उमङ्ग र भावनाका साथ समान उत्साहसाथ यी मेलाहरूमा सहभागी हुन्छन् ।

यी सबै विशिष्टताका साथै एउटा खास कुरा जुन मिथिलाको दसैँमा देखिन्छ, त्यो हो– सङ्गीत–नाट्यकलाको संरक्षण एवं प्रवद्र्धनमा यो पर्व निकै सहयोगी सिद्ध हुँदै आएको छ । मिथिलाका प्रायः प्रत्येक गाउँमा सप्तमीदेखि दशमी, एकादशी, द्वादशी मात्र नभई कोजाग्रात पूर्णिमासम्म पनि सङ्गीत, नाट्य समारोहहरूको आयोजना हुने गर्छ । अष्टमीका दिन घरका प्रत्येक कोठाको दैलोमा भगवतीको गोडा बनाउने चलन छ । यसरी यस पर्वले थोरै मात्रामा चित्रकलालाई पनि फक्रिने वातावरण दिएको छ । यसबाहेक वैवाहिक कर्मसँग जोडेर पनि मिथिलामा दसैँलाई थप महिमामण्डन गरिएको छ । केही जात विशेषमा कोजाग्रात पूर्णिमाको साँझ पान र मखान अनिवार्य रूपले खाने पर्व, ‘कोजगरा’ भव्यतापूर्वक मनाइन्छ । यसमा मिथिलाको मौलिक उत्पादनलाई संरक्षण र टेवा दिने अभिप्राय अन्तर्निहित रहेको देखिन्छ । किनकि संसारमै मखानको कुल उत्पादनमध्ये ९० प्रतिशतजति नेपाल र भारतको मिथिला क्षेत्रमा नै हुने गर्दछ । मखानको प्रवद्र्धनका निमित्त पान मखान स्वर्गमा पनि पाइँदैन भन्ने कथनलाई व्यापक तुल्याइएको छ ।

हरेक शुभ कार्य साइत हेरेर मात्र गरिने मानसिकता र परम्परा रहेको मिथिलामा दशमीको दिनलाई ‘जतरा’ भनेर पनि सम्बोधन गरिन्छ, जसको अर्थ नै ‘साइत’ हुन्छ । भनिन्छ– यस दिन दशै दिशा खुल्ला हुन्छ । त्यसैले कुनै पनि कामका लागि साइत हेरिराख्नु आवश्यक हुँदैन । यस्तै जतराको दिन एकाबिहानै उठेर नीलकण्ठको चराको दर्शन गर्ने प्रचलन छ । यसले कतै न कतै घर छेउछाउ रुखबिरुवाको प्रचुरता रहोस् र चराचुरुङ्गीहरू पनि सबै प्रकारका रहून् भन्ने कुरालाई आधार दिएको मान्न सकिन्छ ।

मिथिलामा दसैँले लोक गीत नृत्यको विशिष्ट अनुष्ठान झिझियालाई संरक्षण दिएको छ । घटस्थापनाकै दिनदेखि गाउँका किशोरी युवती महिलाहरू राति खाना खाएर एकठाउँ भेला हुन्छन् र झिझिया गाउने अनि नाच्ने गर्छन् । गीत नृत्य सुरु गर्नुभन्दा पहिले महिलाहरूको समूह ग्रामदेवता (डिहबार, ब्रह्मस्थान) को स्थानमा पुगेर पहिले डल्ले सुपारी सलामी चढाएर पूजा गर्छन् अनि नाच्दै गाउँदै गाउँ भ्रमण गर्छन् । यसमा प्वालैप्वाल पारिएको घैँटो भित्र दियो बालेर उक्त घैँटो टाउकोमा राखेर नृत्य गरिन्छ । यद्यपि झिझिया नाच गर्नाले बोक्सी वा दुष्टात्माहरूको प्रभावबाट मुक्त भइने विश्वास राखिन्छ तर वस्तुतः यो विभिन्न किसिमको बन्धनमा थिचिएका महिलाहरूले दसैँताकाको शारदीय सन्ध्यामा उन्मुक्त रूपले ग्राम भ्रमण गर्ने तथा आफ्नो कला पस्किने एउटा विशिष्ट अवसर स्वयंले निर्माण गरेको एउटा उपक्रम हो ।

दसैँको सम्पूर्ण अवधिभर खासगरी महिलाहरूले भगवतीका विभिन्न रूपको पूजा आराधना गर्दै तत्सम्बन्धी संस्कार गीतहरू गाउने गर्दछन् । समूहमा गाइने यस्ता गीतहरूले नौरथा लागेदेखि नै बेग्लै प्रकृतिको भक्तिमयता सिर्जना गर्छ । जतराको दिन भगवतीलाई बिदा गरिन्छ । यसमा पनि मिथिलाको परम्पराअनुसार बिदाइको घडीमा गाइने शोकगीत समदाओन गाइने परम्परा छ ।

यस प्रकार यावत पक्षहरूमा विचार गर्दा मिथिलामा विजयादशमीको विशिष्ट स्थान रहेको कुरा स्वतः प्रमाणित हुन्छ । हो, दसैँमा बलि प्रदानका नाममा जसरी ससाना बोकाहरूको व्यापक संहार गरिन्छ, त्यसबाट कसरी मुक्ति पाउने वा धार्मिकताको उन्मादमा यदाकदा देखिने सामाजिक कलहहरूबाट कसरी निजात पाउने भन्ने कुराहरूमा भने संवेदनशील हुनैपर्छ मैथिलहरूले । यति कुरामा ध्यान दिने दिएर दसैँ मनाइने हो भने धर्म संस्कृतिको उपयोग समाजको कल्याणका निमित्त गरिने मैथिल दर्शनको प्रयोगकर्ताका रूपमा मिथिलावासीहरूको छवि सदा उच्च नै रहिरहने कुरामा सन्देह गुञ्जायस रहने छैन । समग्रमा दसैँले असत्यमाथि सत्यको विजयका रूपमा जुन सन्देश प्रवाहित गर्दै आएको छ, त्यसलाई आत्मसात गर्नका लागि यो एउटा महापर्वका रूपमा हामीसामु प्रस्तुत भइरहेकै छ ।

प्राज्ञ परिषद् सदस्य,

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान

dhipre@gmail.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...