केन्द्रीय संस्करण
दसैँ

सुदूरपश्चिमको पृथक दसैँ : दौडाउँदै दिइन्छ राँगाको बली

person explore access_timeअसोज १९, २०७६ chat_bubble_outline1

काठमाडौँ – समग्र रुपमा हेर्दा मेची–महाकालीकै दसैँ मनाउने परम्परा मिल्दो जुल्दो नै छ । तर, बली दिने प्रथाको हिसाबले सुदूरपश्चिमको दसैँ अन्य ठाउँभन्दा अलि पृथक छ । त्यसमा पनि मुख्य गरी अछामको ।

सुदुर तथा मध्यपश्चिममा अन्य ठाउँको दसैँ भन्दा पृथक रहेको त्यहाँका लोक संस्कृतिविद् यज्ञराज उपाध्याय बताउँछन् । त्यहाँ मुख्यगरी ठूलो मात्रामा राँगा र बोकाहरुको बली चडाइन्छ । तर राँगाको बली अन्य पृथक ढङ्गले दिइने गरिएको उपाध्यायको भनाइ छ ।

सुदुर तथा मध्यपश्चिममा दिइने बली प्रथाबारे उनी भन्छन्, ‘राँगाको बली चडाउनु पूर्व बोकाको बली चढाउने गरिन्छ । बोकाको बली दिइसकेपछि विभिन्न ठाउँमा दुई किसिमका राँगाहरुको बली दिइन्छ ।’

उनका अनुसार त्यहाँ सत्तार राँगा र पोथा राँगाको बली दिने प्रचलन छ । पोथा भनेको ६ महिनादेखि २ वर्ष बीचको राँगालाई भनिन्छ । सत्तार भनेको ५ वर्षमाथिको ठूला राँगाहरु हुन् ।

‘कोकिलादेवीलाई पोथा राँगाको मात्र बली दिइन्छ भने विशेषत कालिकादेवीका नाममाा सत्तार राँगाको बली चढाइन्छ । पोथा राँगालाई (मन्दिर परिसरमा राँगा काट्न तयार पारिएको स्थान) मौलामा काटिन्छ । मौलामा संकल्प छरेर पोथा राँगा काट्ने प्रचलन छ,’ उनी भन्छन् ।

उनका अनुसार राँगा काट्दा कसले काट्ने भन्ने पनि कुरा आउँछ । त्यहाँको क्षेत्री समूदायको गर्खालको खलकको पहिलो अधिकार हुन्छ । त्यसपछि दोस्रोमा कसलाई कट्न दिने, तेस्रो पटक कसलाई काट्न दिने भन्ने प्रचलन रहेको हुन्छ । त्यही प्रचलन अनुसार रोलक्रममा विशेषतः क्षेत्री समुदायका विभिन्न जातीलाई राँगा काट्न दिने गरिन्छ ।

यता, सत्तार राँगा काट्ने तरिकाने निकै भिन्न हुन्छ । संस्कृतिविद् उपाध्यायका अनुसार मन्दिर परिसरमा संकल्प छरिसकेपछि सत्तार राँगाहरुलाई सयौँको संख्यामा रहेका मानिसहरुले लाठी प्रहार गरेर ३– ४ सय मिटर दौडाइन्छ । दौडिरहेको बेला नै राँगा ५÷६ जनाले खँुडा र तरवारले विभत्स तरिकाले काट्छन् । त्यसमा कुनै होसियारी अपनाइने गरिएको पाइँदैन । अष्टमी र नवमीका दिन सुदूर तथा मध्यपश्चिमका विभिन्न जिल्लाहरुमा यस्तो विभत्स तरिकाले बली दिइने प्रचलन छ । उपाध्याय भन्छन्, ‘अहिलेको अवस्थामा अब हाम्रो यो बली प्रथाको विकल्प पनि खोज्नु पर्ने देखिन्छ ।’

सुदूपश्चिममा दसैँको टिका दशमीका दिनमात्र लगाउने चलन थियो । तर त्यो अहिले फेरिएको छ । उनले भने, ‘विजया दशमीका दिनमा मात्र मान्यजनबाट रोलक्रम अनुसार टीका लगाउने गरिन्थ्यो । पछिल्लो समय दशमीदेखि पूर्णिमासम्म तडकभडका साथ टिका लगाउने प्रवृति थपिएको छ ।’

दसैँले जोड्छ फाटेको मन

उपाध्याय दसैँलाई नेपालीको ठूलो राष्ट्रिय चाडको रुपमा अथ्र्याउँछन् । उनका अनुसार यस पर्वको सामाजिक पाटो पनि छ । सामाजिक जनजीवनका लागि दसैँ अत्यन्त महत्त्वपूर्ण छ । वर्षौँदेखि टाढा रहेका परिवारका सदस्यहरुलाई यस पर्वले एक ठाउँमा ल्याउँछ । दसैँले ती फाटेका मनहरु मिलाउने काम गर्छ । वषौँसम्म नबोलेकाहरुका लागि दसैँ मन माझामाझ गर्न सुनौलो अवसर बन्ने गरेको पाइन्छ । पहिलोका सबै तिक्ततालाई मेटाउँदै मान्यजनबाट टीका ग्रहण गर्ने कुराले समाजलाइ जोडने काम गरेको उपाध्यायको भनाइ छ ।

उनी भन्छन्, ‘वर्षदिनसम्म निषेधको मासिकताबाट गुज्रेका मान्छेहरु दसैँमा सामाजिक जीवनमा जोडिन र सदभाव बढाउन अग्रसर हुन्छन् ।’ साथै दसैँ आफैमा सौन्दर्यता बोकेर आउने पर्व भएकाले यसले सबैको मन प्रफुल्ल पार्ने संस्कृति विद् उपाध्याय बताउँछन् । ‘यता खेतमा झुलिरहेका धानका बाला, माथि देखिने नील गगनको मन लोभ्याउने खुल्ला दृश्य र शीतल पवनको झोँकाबीच दसैँको आफ्नै विषेशता छ,’ उनले वर्णन गरे ।

उनका अनुसार दसैँसँग अर्को सामाजिक पाटो महिषासुरको प्रसङ्गसँग जोडिएको छ । महिषासुरले आफूलाई लोग्ने मान्छे (पुरुष)ले मार्न नसक्ने गरी ब्रम्हाबाट वरदान मागेर शक्ति प्राप्त गरेको थियो । ‘महिषासुरलाई लागको थियो महिलाहरु शक्तिविहीन हुन्छ । महिलाहरुले मलाई मार्न सक्दैन,’ उपाध्याय भन्छन्, ‘लोग्ने मान्छेले मार्न नसक्ने बरदान पाएको छु । अब चौधै भुवन मैले दिग विजय गर्छु भन्ने हिसाबले उसले जगतमा विताण्डा मच्चाएको थियो । महिषासुरको अत्याचार बढेपछि जगत जननी दुर्गा प्रकट भइन् । अनि उनले महिषासुरको वध गरिन् ।’

अहिले पनि समाजमा महिषासुर जस्तै दानव समाजमा भएकाले तिनलाई पराजित गर्न दसैँबाट समाजले प्रेणा पाएको उनी दाबी गर्छन् । त्यसैले त्यो दानवीय रुपलाई प्रास्त गर्नका लागि पनि दसैँबाट समाजले प्रेणा प्राप्त गरेको छ ।’

दसैँमाथिको बहस

दसैँ बहस पुरानो भइसके पनि अझै सेलाइसकेको छैन । जब दसैँ – तिहार नजिकिन्छ तब बहसले निरन्तरता पाउने गरेको छ । बहसको विषय हुन्छ, दसैँ सबै नेपालीको कि हिन्दुधर्मालम्बीहरुको मात्र । पर्वहरु बहसको विषय बन्नु संस्कृतिविद् उपाध्यायको नजरमा हाम्रो संस्कार र संस्कृतिप्रति रहेको साघुरो सोचको उपज हो ।

‘हामी नेपाली सोचाइको साघुरो घेरामा बाँधिएका छौँ,’ उनले भने । व्यक्तिगत स्वार्थका लागि आफ्ना मूल्य र मान्यता बिर्सिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले पश्चिमा मुलुकहरुले नेपालको धर्मको संस्कृतिमा प्रभाव जमाएको जिकिर गरे । ‘पश्चिमा संस्कृतिको प्रभाव नेपालमा दरिलो रुपमा जमिरहेको छ । मान्छेहरुले व्यक्तिगत स्वार्थका लागि आफ्ना मूल्य र मान्यता बिर्सिँदै गएका छन्,’ उनले भने, ‘युरोपिएन लगायतका पश्चिमा मुलुकहरु संसारमा एकछत्र रुपमा राज गर्नका लागि आफ्नो धर्मको प्रभाव नेपालमा फैलाउन लागका छन् ।  उनीहरुको लोभ र लालचमा हाम्रा धेरै दाजुभाइ फसेका छन् ।’

नेपालमा विभिन्न जातिले मनाउने चाड पर्व सबैको चाड पर्वको भएको उनको तर्क छ । उपाध्याले भन्छन्, ‘हाम्रो संस्कार जन्य जति पनि चाड पर्र्वहरु छन् । ती हामी सबै नेपालीका साझा संस्कृति हुन् । गुरुङ–मगरहरुको लोसार, मधेसीहरुको छठ, मुस्लिमहरुको ईद, थारुहरुको माघी, हिन्दुधर्मालम्बीको दसैँ लगायतका पर्व किन नहोस् सबै हाम्रो साझा पर्व हुन् । संस्कृति कुनै एउटा समुदायको पेवा हुँदैन । संस्कृति सबैको साझा हुन्छ । हाम्रो सोचाइको कमी र यो पश्चिमा संस्कृतिको प्रभावले गर्दा हाम्रोबीचमा दसैँ पर्व कसको भन्ने बैमनस्यता उत्पन्न भएको छ ।’

उनले भने, ‘संसार एउटा अदृष्य शक्ति भनेको ईश्वर छ । त्यो ईश्वर भनेको एउटै हो । कसैले अल्ला भन्ला, येशु भन्ला, हामीले भगवान भन्नौला, कसैले पूर्व फर्केर नमस्कार गर्ला कसैले पश्चिम फर्केर नमस्कार गर्ला तर त्यसको सार तत्त्व भनेको एउटै हो ।’

पहिले र अहिलेको दसैँमा ठूलो भिन्नता आएका छ । पछिल्लो समय हाम्रो चाड पर्वहरु निकै तडकभडक हुने गरेका छन् । जस हाम्रा मूल्य र मान्यतामा समेत गरावट आएको उनी बताउँछन् । दसैँमा बढ्दो तडकभडकले ‘दसैँ कि दशा’ भन्ने उखान स्थापित भएकोमा उनलाई राम्रो लागको छैन । उनी भन्छन्, ‘विपन्न वर्गका लागि दसैँ दशा भएर आउने प्रवृतिको थालनी भएको देखिन्छ । हाम्रो संस्कारहरुलाई परम्परागत रुपमै मनाउँदा राम्रो हुन्छ ।’

कमेन्ट

  1. Oct. 6, 2019, 1:46 p.m. Hari
    Manche nai po rahcha danab bhaneko. Devi ok naam ma Bali Dino banda garnu parcha.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...