केन्द्रीय संस्करण
समाज

तराईमा प्रचलित एउटा अनौठो विश्वासः दसैँमा 'डायन' निक्कै सक्रिय हुन्छ !

person explore access_timeअसोज १९, २०७६ chat_bubble_outline0

विज्ञान र प्रविधिको चमत्कारले मानिसले भौतिकवादको विकासमा ठूलो उपलब्धि हासिल गरिसकेको छ । लोक परलोक कुनै अलौकिक शक्तिले निर्माण गरिदिएको भन्ने खालका अन्धविश्वासलाई तोड्दै मानिसले चन्द्रमामा पाइला टेकिसकेको छ भने अपरिमेय ब्रम्हाण्डका अनन्त रहस्यको खोजपड्तालमा उसले निकै तीब्रताका साथ पाइला चालिसकेको छ । तर विडम्बनाको कुरा, भौतिक विज्ञानले उन्नतिको शिखर चुम्ने दिशातिर अघि बढिसक्दा पनि अझै हाम्रो नेपाली समाजको एउटा ठूलो हिस्सा रुढी, अन्धविश्वास र कथित बोक्सी डायनको घनचक्करमा रुमल्लिरहेको छ । निश्चय पनि दुःखको साथ भन्नैपर्छः यो भनेको समाजको पछौटेपन र अविकसितपनाको द्योतक नै हो । संस्कार, पर्व र परम्पराको नाममा जरो गाडेर बसेको यस्ता रुढी, अन्धविश्वासलाई चिर्ने र भत्काउने काम युद्धस्तरमा राज्यकै अग्रसरतामा हुनुपर्ने हो । तर त्यो हुन सकिरहेको छैन ।

आउनुहोस, दसैँको सेरोफेरामा आज तराईमा प्रचलित त्यस्तै एउटा अन्धविश्वासी परम्परासँग हामी तपाई पाठकहरुलाई साक्षात्कार गराउँदैछौं ।

*****

तराईका जनजीवनका संस्कारहरुसँग परिचित नभएका मानिसहरुलाई यो कुरा पढ्दा र थाहा पाउँदा अचम्म पनि लाग्न सक्छ । तर तराईमा जन्मे हुर्केकाहरुका लागि यो कुनै अनौठो कुरा हैन ।

*****

दसैँको आवागमनसँगसँगै तराई क्षेत्रमा एउटा अनौठो खालको अन्धविश्वासले अलि नै बढी भाउ पाउने गर्छ । दसैँ आएपछि तराईमा बच्चाबच्चीको डाढमा लसुन बाँध दिने, सुनारले दिन दसैँया औठी लगाई दिने, कसै कसैले लोहा पनि बाँधिदिने, निधारमा टिका लगाई दिने क्रम अलि नै बढी चल्छ ।

तराईका जनजीवनका संस्कारहरुसँग परिचित नभएका मानिसहरुलाई यो कुरा पढ्दा र थाहा पाउँदा अचम्म पनि लाग्न सक्छ । तर तराईमा जन्मे हुर्केकाहरुका लागि यो कुनै अनौठो कुरा हैन । उनीहरुलाई राम्ररी थाहा छ, त्यस्तो गर्नुको मुख्य कारण हो, उनीहरुले मान्दै र विश्वास गर्दै आएको ‘डायन (बोक्सी)’ बाट सुरक्षा । अरु समयको तुलनामा दसैँमा डायनहरु बढी सक्रिय हुने, विद्या सिद्धका लागि प्रयोगहरु गर्ने विश्वास जब्बर रहेको कारणले तराई मधेशको गाउँघरमा दसैँमा एक प्रकारको त्रास हुन्छ । घटस्थापनादेखि नै छोराछोरीलाई घरबाट निस्कन नदिने, निस्कन दिए पनि टुनामुना गरेर मात्र निस्किने दिने चलन मधेसका गाउँघरमा पाइन्छ ।

डायन जोगीको बुरा नजर नपरोस् भनी आफ्नो घरको प्रवेशद्वारमा कालो रङले पोतेको हुन्छ । घरमाथि नाङ्लोमा चुना र कालो रङ्ग लगाएर सबैले देख्ने गरी राख्ने चलन मधेसमा अझै कायम छ । यसको मुख्य कारण नै डायन हो ।

दसैँको अष्टमी, नवमी र दशमीमा डायन, धामी झाँक्रीहरूले आआफ्नो विद्यासिद्ध गर्ने र सिकेको विद्या कसै न कसैमाथि प्रयोग गर्नुपर्ने भएकाले त्यही समाजमा रहेका बालबालिकामाथि गर्ने गरेको हुनाले समाजमा दसैँ पर्नेवित्तिकै एक प्रकारको त्रास हुने गरेको मैथिली साहित्य परिषद्का उपाध्यक्ष श्यामसुन्दर यादवले बताए । तन्त्रमन्त्र सिक्ने र त्यसमा सिद्धि प्राप्त गर्ने समय दसैँ हो । यो पर्वमा नयाँ नयाँ डायनहरू पनि आउँछन् । तिनले आफूले सिकेको विषय कसै न कसैमाथि प्रयोग गर्छन् भन्ने विश्वास समाजमा हुन्छ तर अहिले विस्तारै हराउँदै गएको उनले बताए ।

परम्परागत रुपमा के विश्वास गरिन्छ भने, नयाँ डायन पुराना डायनभन्दा खतरनाक हुन्छन् । डायनाले कसैमाथि केही प्रयोग गर्यो भने फिर्ता लिन सक्ने तन्त्र सिकेको हुँदैन । गाउँघरमा यसलाई मार र संहार भन्छन्् । टुना सिकेपछि कसैलाई प्रयोग गर्यो भने त्यसलाई ठीक गर्ने मन्त्र पनि हुन्छ । तर कतिपयले टुना लगाउन सिकेका हुन्छन् तर त्यसलाई ठीक गर्न नसिकेका कारण नयाँ डायनबाट बढी डराउँछन् ।

त्यसो त मान्ने र विश्वास गर्नेहरुका लागि मिथिला तन्त्र मन्त्र सिद्ध गर्ने ठाउँ नै हो । यहाँ विभिन्न प्रकारका देवीदेवता हुन्छन् । तिनलाई तन्त्रमन्त्रका विधिबाट पूजाआजा गर्ने चलन अझै पनि रहेको उपाध्यक्ष यादव बताउँछन् । दिनभद्री लोकगाथामा बुधनी धमनी, जोगमल किराँतको चर्चा हुनु तन्त्रमन्त्रसँग सम्बन्धित कुरा रहेको उनी बताउँछन् ।

दसैँमा साँझपर्ने वित्तिकै आमाबुवाले घरबाट निस्कन नदिएको अनुभव पत्रकार नागेन्द्र कर्णसँग छ । महोत्तरीका पत्रकार नागेन्द्र कर्णले भने, पहिला पहिला दसैँमा साँझ पर्ने वित्तिकै आमाबुबाले घरमा थुनेर राख्नु हुन्थ्यो । कतै निस्कन दिनुहुँदैनथ्यो । तर दिउँसो कतै निस्किनु पर्दा टुनामुना गरेर मात्र निस्किन दिनुहुन्थ्यो । अहिले त्यो चलन हराएको छ ।’

*****

दसैँतिहारमा बालबच्चा बिरामी भए भने सबभन्दा पहिला डायनमाथि नै शङ्का गर्छन् । कसैले कुनै टुनामुना गर्दिए कि भनेर शङ्का गर्छन् । झारफुकतिर लाग्छन् । बाटोमा हिँड्दा फलानो आइमाईले छोरालाई छोइदिएका कारण यस्तो भएको भनी शङ्कामै झैझगडा पनि हुने गरेको छ दसैँमा ।

*****

पहिलाको जस्तो देखिँदैन । परम्परागत सोच भएका आमाबुबाले अहिले पनि आफ्ना छोराछोरीलाई दसैँमा कालो टीका लगाइदिने, लसुन बाँधिदिने, कुनै धातु साथमा राखिदिएर पठाउने गरेको देख्न पाइन्छ तर धेरै कम । उनले भने, ‘अहिले पनि घरको गेटमा कालो पोत्ने, छत तथा छानामा कालो वस्तु राख्ने चलन छँदैछ । दसैँमा पूजा घरमा बालिने दियोको तेल नाइटोमा लगाउने चलन छँदैछ । यी सबै डायनबाट बच्नका गरिने कार्य हुन् ।’

दसैँतिहारमा बालबच्चा बिरामी भए भने सबभन्दा पहिला डायनमाथि नै शङ्का गर्छन् । कसैले कुनै टुनामुना गर्दिए कि भनेर शङ्का गर्छन् । झारफुकतिर लाग्छन् । बाटोमा हिँड्दा फलानो आइमाईले छोरालाई छोइदिएका कारण यस्तो भएको भनी शङ्कामै झैझगडा पनि हुने गरेको छ दसैँमा ।

कोही पहिलादेखि नै डायन भएको व्यक्ति छ भने दसैँमा उसको वरपर कोही पनि जाँदैनन् । टोलमा केही बिरामी परे भने त्यहीमाथि नै शङ्का गर्छन्, जनकपुरका वरिष्ठ पत्रकार रामभरोस कपडीले भने, ‘बालबच्चाका आमाबुबाका लागि दसैँ त्रासको समय हो । छोराछोरीलाई कसरी जोगाउने भन्ने भय आमाबुबामा हुन्छ । तर अहिले यो चलन निकै हराएको छ ।’

उनले भने, ‘मेरा आमाबुबाले पनि डायन जोगीबाट बचाउनका लागि दसैया औँठी लगाइदिने, लसुन बाँधिदिने, कालो टीका लगाइदिने गर्नुहुन्थ्यो । तर गाउँघरमा पनि यो चलन हराउँदै गएको छ ।’ शिक्षाका कारण मान्छेमा चेतनाको विकास भएका कारण यो विस्तारै हराउँदै गएको छ । तर अहिले पनि विकट ग्रामीण क्षेत्र जहाँ शिक्षाको पहुँच छैन, रुढीवाद हाबी छ, ती ठाउँमा अझै विश्वास रहेको उनले सुनाए ।

‘डायनको प्रभाव कम भएको हो भन्न सकिँदैन तर त्यसलाई कसले कसरी लिन्छन् त्यसमा भर पर्छ’, उनले भने, ‘दसैँ तिहार डायन, धामी झाँक्रीका लागि सिक्ने समय हो, तन्त्रमन्त्र सिद्ध गर्ने र प्रयोग गर्ने समय हो । त्यही भएर समाजमा अलिअलि हुन्छ ।’ झिझिया पनि डायनको प्रभाव कम गर्न परम्परादेखि चल्दै आएको हो । दसैँमा डायन जोगीको प्रभाव निकै हुने भएको हुनाले त्यसको प्रभाव जन्त्रमन्त्र कम गर्न झिझियाको सुरुवात भएको उनले बताए ।

सिरहाका परमेश्वर यादव भन्छन्, ‘दसैँ आउँदा अहिले पनि डायन जोगीको नै याद आउँछ किनभने दसैँमा आमाबुबा, हजुरआमाले कसरी लुकाउनु हुन्थ्यो । त्यो कुरा अहिले पनि सम्झना आउँछ । तर त्यो अहिले धेरै नै कम भएको छ । प्रायः केटाकेटीहरू पढेलेखेका छन्, समाज बुझेका छन् । प्रविधि दुनियाँसँग नजिक भएका कारणले यी कुरा मानिरहेका हुँदैनन् । आमाबुबाले लगाऊ भन्दा केटाकेटीले लगाउन मानेका हुँदैनन् ।’ तर परम्परा, अन्धविश्वासमाथि विश्वास गरेकाहरूले अझै पनि कालो टीका र दसैया औँठी लगाउने गरेको उनी बताउँछन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...