शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डीपी ढकालको पुस्तक : पूँजीवाद र समाजवादी अर्थ–राजनीतिक विकासक्रम

शनिबार, १८ असोज २०७६, १७ : ०८
शनिबार, १८ असोज २०७६

तपाई दसैँ–तिहार जस्ता पर्वको विदामा हुनुहुन्छ वा नयाँ ज्ञानवद्र्धक पुस्तक पढ्ने विचारमा हुनुहुन्छ भने ‘पूँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ पुस्तक छनौट गर्न सक्नुहुन्छ ।

अर्थ राजनीतिक क्षेत्रमा गहन अध्ययन गरेका नेपाल कम्युनिष्ट पार्टीका युवा नेता डीपी ढकालले लेखेको ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ पुस्तक बजारमा आएको छ ।

अर्थ राजनीतिको विषयमा रुचि हुने बौद्धिक वर्गका व्यक्तिदेखि अन्य अध्येताहरुका निकै उपयोगी रहेको पुस्तकमा पुँजीवादी अर्थव्यवस्थाको नेतृत्व गरिरहेको मुख्य देशमध्ये अमेरिकाको २ सय ५० वर्षको तथा भारतको भण्डै ५ सय वर्षको अर्थ राजनीतिक इतिहास, युरोपेली देश स्विट्जरल्यण्डको विकासको मोडेल र दक्षिण कोरियाको छोटो समयको सफलताको मोडेलबारे चर्चा गरिएको छ ।

पुस्तकमा अर्थ राजनीतिको क्षेत्रमा समाजवादी राज्य व्यवस्था सञ्चालनको अनुभव हासिल गरेका तत्कालीन सोभियत सङ्घ, जनवादी गणतन्त्र चीन तथा क्युवाको अर्थ–राजनीतिक मोडलबारे विश्लेषण गरिएको छ । समाजवादी र पुँजीवादी देशहरुले अपनाएका आर्थिक मोडल, विभिन्न कालखण्डमा उनीहरुको आर्थिक अवस्था, राजनीतिक मोडलले आर्थिक समृद्धिमा पारेको प्रभाव आदीलाई तथ्याङ्क्सहित प्रस्तुत गरिएको छ ।

लेखकले गहन अध्ययन गरेर विश्व अर्थव्यव्स्थामा आएका विभिन्न धारहरु मध्ये पुँजीवादी र समाजवादी धारका सफलताहरु, असफलताहरु, त्यसका विभिन्न चरणमा आएका संकटहरुलाई मिहिन ढंगले केलाएका छन् ।

उनले पुस्तकमा कसरी अमेरिकाले विश्वमा पूँजीवादी धारको नेतृत्व गर्न सक्यो र त्यसको अहिले विश्वमा कस्तो प्रभाव रहेको छ भने तथ्य सहित विश्लेषण गरेका छन् भने तत्कालीन सोभियत संङ्घ, चीन तथा क्यूवालाई आधार बनाएर समाजवादी अर्थराजनीतिको विकास र त्यसको विश्वमा परेको प्रभावबारे आंकडासहित उल्लेख गरेका छन् ।

लेखकले पुस्तकमा विश्व अर्थराजनीतिको अवस्था मात्रै नभई नेपालमा त्यसको प्रभावबारे पनि चर्चा गरेका छन् । उनले पुस्तकमा नेपालको मध्यकालीन अर्थतन्त्रदेखि अहिलेसम्मको अर्थतन्त्रको अवस्थालाई चित्रण गर्दै नेपालले अब अंंगिकार गर्नुपर्ने अर्थ–राजनीतिको बारेमा पनि विश्लेषण गरेका छन् । विगतदेखि नेपालले अंगिकार गरेको अर्थनीति त्रुटिपूर्ण रहेको बताउदैँ उनले नेपालले अपनाउनुपर्ने नयाँ अर्थनीतिका बारे पनि सुझाव प्रस्तुत गरेका छन् ।

संसारभर अहिले पूँजीवादी अर्थव्यवस्था ठीक कि समाजवादी अर्थतन्त्र ठीक भन्ने विषयमा पेचिलो बहस भइरहेका बेला नेकपाका नेताहरुले समाजवादी अर्थनीतिलाई अंगीकार गरेर जाने बताइरहेका छन् ।

नेकपाले आफ्नो राजनीतिक प्रतिवेदनमा समेत समाजवादको स्थापनाको विषयलाई स्पष्टरुपमा समावेश गरेको छ । तर नेपालले अहिले अपनाएको आर्थिक नीतिलाई डा. बाबुराम भट्टराईले ठिमाहा पूँजीवादी अर्थतन्त्रको संज्ञा दिने गरेका छन् । उनले नेपालको अर्थतन्त्र उन्नत किसिमको पूँजीवादी पनि नभएको र समाजवाद तर्फ पनि अघि बढ्न पनि बढ्न नसकी अलमलिएको अवस्थाको रुपमा विश्लेषण गर्ने गरेका छन् ।

पूँजीवादी अर्थनीतिलाई अंगीकार गरेका अमेरिका, जापान, दक्षिण कोरिया लगायतका मुलुकहरु आफ्नो नीतिप्रति स्पष्ट छन् भने समाजवादी अर्थनीति अँगालेका चीन, क्यूवा लगाएका देशहरु पनि आफ्नो मान्यतामा प्रष्ट छन् । अस्थिर राजनीतिबाट विस्तारै स्थायीत्वतर्फ उन्मुख नेपालको सन्र्दभमा कस्तो खालको अर्थनीति अँगाल्ने भन्नेमा अझै दुविधा रहेको छ ।  नेपालले आफ्नै मौलिकतामा आधारित रहेर वैज्ञानिक समाजवादी दृष्टिकोणको अर्थनीति अपनाएर यहाँ विद्यमान गरीबी, रोग, भोक र सामाजिक असमानताको निर्मूल गर्नुपर्नेबारे बहस पनि चलिरहेको छ ।

संक्रमणकालीन राजनीतिक शासन व्यवस्थाबाट मुलुक स्थायित्व तर्फ अघि बढ्ने बेला अर्थनीतिका जुन प्रकारको बहस सिर्जना हुनुपर्ने थियो त्यो डीपी ढकालको ‘पूँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’ पुस्तकले गरेको छ । विश्व अर्थतन्त्रमा पुँजीवादको नेतृत्व गरिरहेको अमेरिका र समाजवादी अर्थतन्त्रको नेतृत्व गरिरहेको चीनबिच पछिल्लो समय देखिएको व्यापारयुद्धले यी दुई अर्थनीतिबीचको द्वन्द्व सतहमा आएको छ ।

विश्व अर्थराजनीतिमा समाजवाद र पूँजीवादी व्यवस्थाविच भइरहेको यही गोलचक्करलाई राम्रोसँग बुझ्नका लागि नेकपाका नेता डिपी ढकालको ‘पुँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’ नामक पुस्तक निकै उपयोगी छ । माओवादीले सञ्चालन गरेको दशवर्षे जनयुद्धमा समेत सहभागी भएका लेखक ढकालले पुस्तकमा विश्वको अर्थ राजनीतिक विकासक्रम, साम्राज्यवाद, शीतयुद्धपछिको दुई विश्वको अर्थ राजनीति, नेपालको विगतदेखि हालसम्मको अर्थनीतिलाई गहिराइमा पुगेर पुस्तकमा समावेश गरेका छन् ।

जागरण बुक हाउसको प्रकाशन गरेको कूल ४ सय ७ पृष्ठ रहेको पुस्तकको मूल्य ६ सय रुपैयाँ राखिएको छ । मोटो गाता भएको पुस्तकको मूल्य १ हजार २ सय ५० रुपैयाँ राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप