बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोशनी शाहीको उजुरीपछि अब यसरी पक्राउ पर्न सक्छन् महरा

शनिबार, १८ असोज २०७६, १४ : ५९
शनिबार, १८ असोज २०७६

काठमाडौं–  निवर्तमान सभामुख कृष्णबहादुर महराबाट यौन दुर्व्यवहार भएको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा पक्राउ पर्ने विषयमा चर्चा परिचर्चा सुरु भएको छ ।

नेपालको राजनीतिक इतिहासकै हाइप्रोफाइलको यो स्क्यान्डलका कारण महराले सभामुख पदनै गुमाइसकेका छन् । अब उनी पक्राउ समेत पर्ने सम्भावना बढेर गएको छ ।


संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी आफ्ना श्रीमानसहित किटानी जाहेरी दर्ता गर्न प्रहरीकहाँ पुगेको बताइएको छ । 

रोशनीले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर जबरजस्ती करणी उद्योगमा महराविरुद्ध किटानी जाहेरी दिएकी हुन् । बलात्कार प्रयासको अभियोगमा प्रहरीमा किटानी जाहेरी परेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पीडित रोशनीले महराविरुद्ध किटानी जाहेरी दिएको पुष्टि गरे । महराविरुद्ध उजुरी परेसँगै उनी पक्राउ पर्ने सम्भावना बलियो बनेको छ । 

यो प्रकरणलाई अन्यत्र मोड्ने गरी रोशनीले आफ्नै सुरुको बोली फेर्दै आफूमाथि कुनै यौन दुर्व्यवहार नभएको दाबीसहित बयान दिएपनि उपलब्ध तथ्यहरुको विश्लेषणबाट महरा रोशनीको निवास पुगेको पुष्टि भएपछि महरालाई कारबाहीको दायरामा ल्याउन चौतर्फी दवाव परेको थियो । 

यो विषयमा  शुक्रबार गृहमन्त्री रामबहादुर थापाले आईजीपी सर्वेन्द्र खनालसहितको बैठक बोलाएका थिए । सोही बैठकमा गृहमन्त्री थापाले  अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । 

यसरी पक्राउ पर्न सक्छन् महरा

अहिले प्रहरीमा महराविरुद्ध किटानी जाहेरी मात्रै परेको हो । महिलाले पटक–पटक आफ्नो बयान फेर्दै आएकाले अहिले प्रहरीले उनको जाहेरीमाथि नै सुरुमा छानबिन गरिरहेको प्रहरी स्रोत बताउँछ । त्यसपछि प्रहरीले कुसुर भएको पर्याप्त आधार पाएको खण्डमा महरालाई पक्राउ गर्न आवश्यक प्रक्रिया थाल्छ । 

जसका लागि प्रहरीले अदालतमा मुद्दा दर्ता गराएर पक्राउका लागि अनुमति लिनसक्छ ।  गम्भीर प्रकृतिको मुद्दा रहेको अवस्थामा तथा दोषी भाग्ने अवस्था रहेको खण्डमा भने विशेष पक्राउ पुर्जी जारी गरेर पनि प्रहरीले पक्राउ गर्न सक्छ । र, पछि त्यसलाई अदालतबाट सदर गराउन सक्छ ।

गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने आफ्नो बोलीको खण्डनन गरेकी थिइन् । उनले आफ्नो बोलीको खण्डन गरेको भएपनि धेरैले उनले दवावमा बोली फेरेको टिप्पणी गरेका छन् । 
बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् । तर प्रहरी अनुसन्धानबाट भने महरा रोशनीको कोठामा पुगेको पुष्टि भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप