शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संगीतको कथा : नवदुर्गालाई आह्वान गर्ने मङ्गलधुन – मालश्री

‘जुन घरमा नवदुर्गाको पूजा हुन्छ, त्यो घरमा मालश्री धुन अनिवार्य छ’
शनिबार, १८ असोज २०७६, ११ : १४
शनिबार, १८ असोज २०७६

दसैँ छेउछाउ आइपुग्दा नपुग्दै हामी प्रायः सबैतिर एउटा मीठो धुन बजेको सुन्ने गर्छौं । सुन्दा अति कर्णप्रिय लाग्ने त्यो धुन सुन्दा मात्रै पनि हामी सबैको मनमा एक किसिमको उमङ्ग र उत्साहको सञ्चार हुन्छ । हाम्रो मन मस्तिष्कले स्वतः ठम्याइहाल्छ– आहा, दसैँ आयो ! त्यो कर्णप्रिय धुन, जसले मनमा उत्साह र उमङ्गको सञ्चार गर्छ, त्यसलाई बोलचालको भाषामा मङ्गलधुन भन्ने गरिन्छ । मङ्गलधुन अर्थात् मालश्री धुन ।

दसैँको रमझमसँगै आजभोलि रेडियो, टेलिभिजन होस् अन्य माध्यम जताततै मालश्री धुनले प्रथामिकता पाइरहेका छन् । मालश्री एक प्रकारको मङ्गल धुन हो । विशेष गरे चाडबाडमा यो धुन बज्ने गर्छ । मालश्री धुन नव दुर्गा देवीको आह्वान गर्ने धुन भएकाले पनि यो समय विशेष प्रथामिकतामा पर्ने गरेको सङ्गीत र गायनका गुरुदेव कामद बताउँछन् ।

६ वर्षको कलिलै उमेरदेखि सङ्गीतमा होमिएका कामद गीतसङ्गीत प्रेमी माझ अपरिचत नाम भने होइन । नेपालका उत्कृष्ट सङ्गीत गुरुमा उनको नाम अग्रपङ्तिमा आउने गर्छ । कामदसँग सङ्गीत र गायनको प्रशिक्षण नलिएका नेपालमा सायदै गायक गायिका होलान् । करिब आधा दर्जन बाध्य बाधनमा पनि निपुण उनले गायनमा प्रशिक्षण दिन (सिकाउन) थालेका ३२ वर्ष नाघिसक्यो । कलानिधि इन्दिरा सङ्गीतमा २ वर्ष, डोरेमी सङ्गीत पाठशाला १२ वर्ष सङ्गीत सिकाएका कामदले १७ वर्षदेखि आफ्नै गुरुकुल सङ्गीत पाठशालाबाट गायन र सङ्गीतको प्रशिक्षण दिँदै आइरहेका छन् । उनीसँग गायन र सङ्गीत सिक्ने थुप्रैले देश विदेशको यात्रा गरेको मात्र होइन । काठमाडौँमा घर, गाडी सबै जोडेका छन् । उनको भने न त बैङ्क ब्यालेन्स छ । न घर गाडी । अहिले पनि डेराकै बास छ । तर पनि खुसी छन् उनी । सिराहा जिल्ला लक्ष्मी पुरपतारी गाउँपालिका पोखरभिन्डा–२ का कामद मालश्री धुनको विषयमा यसो भन्छन् ।

के हो मालश्री धुन ?

यो एक मङ्गलधुन हो । हाम्रो हिन्दु परम्परा अनुसार दसैँमा नवदुर्गा माता भगवती आह्वान गर्ने, उनलाई स्वगत गर्ने गरिन्छ । नवदुर्गाको स्वागत र आह्वानका लागि मङ्गलधुन प्रयोग हुँदै आएको छ ।

हे माता नवरात्रिमा मेरो घरमा प्रवेश गरेर बालबच्चा, घरपरिवार, इस्टमित्र, छरछिमेक र देशको समेत रक्षा गर्नुस् भन्ने कामनासहित भगवतीको आह्वान गर्न यो मङ्गलधुन अनिवार्य बजाउनुपर्छ ।

यो धुनसँग भगवतीसम्बन्धी जुनै गीत तथा भजन मिसाएर गाउन तथा बजाउन पनि सकिन्छ । दसैँ हिन्दु धर्मालम्बीको परम्परा हो । दसँैमा माता दुर्गाको विषेश रूपले मान्ने परम्परा रहेकाले उनलाई खुसी पार्ने धुनको रूपमा पनि यसलाई लिइने गरिन्छ ।

मालश्री राग

सङ्गीतका अनेक राग छन् । यो धुन मालश्री रागमै बजाइने गरिन्छ । मलाश्री एक प्रकारको मात्र हुन्छ । यो धुन, जसले जे बाजा प्रयोग गरेर पनि बजाउन सकिन्छ । नेपालमा यो धुन बजाउन बाँसुरी, सीतार, सहनाई, भ्वाइलेन, सारङ्गी, हारनोनियम लगायत वाद्यबादकबाट बजाउने गरिएको छ । यो धुनका लागि यो बाजा मात्र प्रयोग गर्ने गरिन्छ भनेर निर्दिष्ट गरिएको छैन । जेरी बाङ्गो भए पनि, भाँचिएको भए पनि, नमिलेको भए पनि गुलियो त गुलियो नै हुन्छ नि ।

यो सिजन हो

विजया दशमी मङ्गल धुन बजाउने लागि सिजन पनि हो । वर्षको दुई पटक अर्थात विजयादशमी र चैते दसैँ यो धुनका लागि सिजन मान्निछ । यो समय मालश्री धुन देवीका लागि यो सिजनमा जति प्रिय हुन्छ । अन्य सिजमा हुँदैन ।

मङ्गलधुन हामी विशेष गरेर देवीहरुको पूजाका लागि प्रयोग गर्न सक्छौँ । नव दुर्गापूजाको अलवा यो धुन सरस्वती पूजा, लक्ष्मी पूजा र गौरी पूजा लगायतका अवसरमा पनि प्रयोग गर्न सकिन्छ । देवीलाई खुसी तुल्याएर ल्याउने धुन नै मालश्री धुन हो । विशेष गरेर दसैँ र तिहार यसको बढी प्रयोग हुने गर्छ ।

घरमा बज्नैपर्छ

दसँैमा सबैको घरमा नवदुर्गा पूजा हुने भएकाले यो धुन अनिवार्य मानिएको छ । जुन घरमा नवदुर्गाको पूजा हुन्छ । त्यो घरमा यो धुन बजेकै हुनुपर्छ । किनभने यो धुनबाट मात्रै देवीको आह्वान हुने हो । देवी नै नबोलाई केको पूजा गर्ने ।

त्यसैले बाजा बजाउन जान्ने बाजा प्रयोग गरेर र नजान्नेले पनि रेकर्ड बजाएर पनि दसैँमा धुन घरमा बजाउनुपर्छ । जहाँ यो धुन बज्छ । त्यहाँ देवीको आगमन हुन्छ । अर्काे कुरा धर्म र संस्कृति प्रतिनिष्ठा राख्न पनि यसको प्रथामिकतामा जोड  दिनुपर्छ ।

के गर्छ र ?

यो एउटा आस्था र विश्वास हो । भगवानप्रतिको उसको भावन धुनबाट पनि प्रस्ट हुन्छ रे । यो धुन बजेको ठाउँमा भगवानको प्रवेश अनिवार्य हुन्छ भनिन्छ । भगवानको प्रवेश भए पनि सुख, शान्ति, समृद्धि हुन्छ । दुःख, कष्ट, पिरमर्का, शत्रु हरण हुन्छ । बिघ्न बाधा टर्छ । चौतर्फी लाभ मिल्छ ।

कहिलेदेखि चल्यो

मालश्री धुन कहिले बन्यो, कसले बनायो भन्ने सकिन्न किटानका साथ भन्न सकिन्न । यो हाम्रो परम्परादेखि चल्दै आएको धुन हो । परम्परा आजको वा यो समयको भनेर भन्न सक्ने अवस्था छैन ।

इतिहासदेखि चल्दै आएको यो हाम्रो संस्कृति पनि हो । खुसीयालीमा मात्र बजाइने भएकाले पनि यसलाई मङ्गलधुन भनिएको हो । अन्य देवीदेवताको आवहान पूजा र भजनबाट पनि गर्न सकिन्छ । तर नव दुर्गाको आह्वान र पूजामा मङ्गलधुन भएन भने अधुरो हुन्छ । यो अन्य देवीदेवताको आवशानका लागि पनि प्रयोग गर्न सकिन्छ ।

पहाडको धुन

खास गरेर यो धुन पहाडी भेगमा बजाउने गरिन्थ्यो । यो धुन नेवार समुदायबाट १७ औँ शताब्दीमा नेवार समुदायबाट उत्पति भएको पनि भनिन्छ । अहिले त तराई र भारतका केही ठाउँमा प्रचलनमा छ । ठाउँअनुसार बजाउने शैलीमा केही फरक होलान् । तर धुन यही हो । नेपाली रहेसम्म यो धुन मेटिँदैन । हामीले मेट्न पनि दिनु हुँदैन ।

यो लोकसङ्गीत

लोकसङ्गीतमा मालश्री धुन एक किसिमको सङ्गीत हो । यो कसैको उत्पादन वा रचना हो । इतिहासमा यो धुन कसैले सिर्जना गरेको भएकाले लोकसङ्गीतमा परेको हो । शस्त्रीय भनेकै आदिकालबाट चल्दै आएको सङ्गीत हो । त्यसैले यो धुनलाई शास्त्रीय सङ्गीतमा राखिएको छ । हजारौँ हजार वर्ष अगाडिबाट चल्दै आएको र हजारौँ हजार वर्षपछिसम्म चल्ने सङ्गीत शास्त्रीय सङ्गीत हो । अहिले हामी आधुनिक सङ्गीत भनेर जेजति प्रयोग गरिरहेका छौँ । त्यसको बेस पनि शास्त्रीय सङ्गीत नै हो ।

लोप हुने अवस्थामा

मङ्गलधुन अहिले बिस्तारै लोप हुने खतरा देखिएको छ । किनभने युवापुस्ताको चासो यस तर्फ देखिएको छैन । यो हाम्रो शास्त्रीय सङ्गीतका लागि दुर्भाग्य हो । अहिलेका पुस्ता विदेशी सङ्गीतको नक्कलमा रमाउन थालेका छन् । युवापुस्ता विदेशी संस्कृतिमा भुल्नु भनेको हाम्रो कलासंस्कृति लोभ हुनु हो ।

हामीले अरूको संस्कृतिको नक्ल गर्नुभनेको हाम्रो घरमा आएका पाउना जस्तै हो । जसरी पाहुँना सधैँ घरमा रहन सक्दैनन् । विदेशी संस्कृति पनि त्यही हो । हामीले हाम्रो संस्कृति छोड्नु हुँदैन । अरूको कलासंस्कृतिलाई सम्मान गर्दै आफ्नो संस्कृति अँगालेर अगाडि बढ्नुपर्छ ।

वरिष्ठ सितारवाधक तारावीरसिंह तुलाधरद्वारा प्रस्तुत मालश्री धुन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप