केन्द्रीय संस्करण
फोटो फिचर

नेपालका केही चर्चित र दर्शनीय शक्तिपीठहरु

person explore access_timeअसोज १७, २०७६ chat_bubble_outline0

हिन्दू धर्ममा आस्था राख्ने, यो धर्म मान्नेहरुका लागि शक्तिपीठहरुको विशेष महत्त्व हुने गर्छ । शक्तिपीठहरुको स्थापना र तिनको पूजा गर्ने प्रचलनले कुनै वेला समाज व्यवस्थामा मातृसत्ताको प्रभुत्व रहेको तथ्यलाई औंल्याउँदछ । हिन्दू धर्म मान्नेहरुले सामान्यतः शक्तिपीठहरुको अराधाना सदैव गर्ने गर्छन् । अझ दशैं आएपछि त शक्तिपीठहरुमा झनै विशेष आराधना, पूजापाठहरु गर्ने गरिन्छ ।
आज हामी तपाईंहरुलाई क्यामेराको माध्यमबाट मुलुकका केही चर्चित शक्तिपीठहरुको दर्शन गराउँदैछौं ।

पाथिभरा, ताप्लेजुङ

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ ।

 विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ ।

यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम "पाथीभरा देवी" भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई "मुक्‍तुवुङ" भनेर चिन्दछन् । लिम्बूभाषामा "मुक्‍तु"को अर्थ शक्ति वा बल, "वुङ"को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन् ।

दन्तकाली, धरान

दन्तकाली मन्दिर धरान नगरपालीका वडा नं. १४ विजयपुर डाँडाको मध्य भागमा अवस्थित छ । मध्यकाल तिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिँड्दा सतीदेवीको दन्त पतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ । यो मन्दिरको बारेमा स्वस्थानी ब्रतकथामा पनि उल्लेख भएको पाइन्छ । नेपाल एकिकरण पूर्व विजयपुर राज्यका सेनवंशी राजाहरूको ईष्टदेवीको रूपमा पुजित यो शक्तिपीठको महिमा सदाकाल उस्तै रहेको छ ।

दन्तकालीको मन्दिर वि.सं. २०३५–३६ सालसम्म सामान्य प्रकारको थियो हाल भने त्यसपछि यस स्थानमा भब्य तले शैलीको मन्दिर बनाइएको छ । दन्तकाली क्षेत्रमा दशैंको नौरथामा मेला लाग्दछ । त्यस समयमा धरान बजारका प्राय सबै मानिसहरू दन्तकालीमा पुग्ने गर्दछन् । यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने गर्दछ ।

कालिञ्चोक भगवती, दोलखा

कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटरको उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ।

कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ।जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो।

पलाञ्चोक भगवती, काभ्रेपलाञ्चोक

पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लाको साठीघर भगवती गाविसमा अवस्थित छ। काभ्रेको पाँचखालबाट ७ किलोमिटर पूर्वस्थित यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन्। शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतिको मूर्ति अद्दितीय मानिन्छ। नक्शाल भगवती र शोभा भगवती अनि पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ति रहेको छ।

दक्षिणकाली, काठमाडौं

दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।

यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ। दसैंको नवरात्रीमा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ।

मनोकामना, गोरखा

मनकामना/मनोकामना भगवति गोरखाको मनकामना मन्दिर एक महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। गोर्खाका राजा राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ। दशैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यो मन्दिर को पुजारीहरू भने मगर जातीको पिथकोते थरको हुने पाइन्छ। पृथ्वीनारायण शाहको खस र मगर सेनाहरूले लिम्बुवानी सेनालाई हराएपछि यहीँ आएर लखन थापा मगरले देवीलाई बलि भेट गरेको थाहा पाइन्छ।

कालिका भगवती, बाग्लुङ

बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ ।

शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजा आराधना गर्ने विश्वास गरिन्छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजा पाठ गर्नाले उनी प्रसन्न हुन्छिन् र फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहँदै आएको छ ।


बागेश्वरी, नेपालगञ्ज

बागेश्वरी मन्दिर नेपालगञ्जमा रहेको एक प्रसिद्ध मन्दिर हो। बाँके जिल्लाको नेपालगञ्जमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतिदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ। यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा-आराधना गरेको मानिन्छ। एउटा ठूलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो।

मैतिदेवी मन्दिर

मैतीदेवी काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठहरू मध्ये एक हो। करिब चारसय वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ। चारैतिरबाट मानव वस्तीले घेरिएको अवस्थामा रहेको यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरू पाइन्छ।

जनश्रुतिहरूअनुसार पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिँडेका थिए। बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरूलाई यहाँ बस्न बाध्य पारेकोले तिनै पञ्चदेवीको माइतीका रूपमा यसलाई 'माइती देवी' हुँदै मैतीदेवी भन्ने गरिएको हो। त्यस्तै एउटा अर्को किंवदन्दीअनुसार रुद्रमती (हालको धोवीखोला, मन्दिरको उत्तरपूर्वबाट बग्दथ्यो) को किनारमा एकजना मुनिकार (किसान) खेत खन्दै जाँदा उनले एउटा ढुंगा (शीला) भेटे। त्यसलाई सार्न ती किसानले हजार प्रयत्न गरे तर सकेनन् बरु उनी थाकेर त्यही भसक्कै निदाए। त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरू मयूरमा हिडिरहेको बेला मयूरको प्वाँखको हावाले किसान व्यूँझिए। त्यसपछि उनले आफूले भोग्नु परेको दुःख सविस्तार देवीहरूलाई बताए। पञ्चकुमारीहरूलाई आफ्नो कुरा बताएपछि देवी खुशी भएर त्यसैमा बसिन्। त्यसैले कतिपयले यसलाई मयूरतीर्थ समेत भन्ने गरेका छन्।

यस शक्तिपीठलाई कतै मयमती बाल कुमारी, कतै मेइतीदेवी त कतै मयती देवी आदि पनि भन्ने गरेको पाइन्छ। यहाँ सबैभन्दा पहिले राजा गुणकामदेव (ललितपुर घाँयाबुमा प्राप्त ने. स. १०७ को शिलालेखबाट यिनको शासनकाल १०४३ भन्ने बुझिन्छ)ले कान्तिपुर शहरको स्थापना गरेपछि यसका वरीपरी गणेश, भैरव आदि देव पुरुषका साथै काली, योगिनी, अष्टमातृकाजस्ता देवदेवीको स्थापना गरेका थिए भन्ने भनाइ इतिहासविद्हरूको छ। इतिहासविद् भुवनलाल प्रधानका अनुसार यहाँ पहिलो पटक मन्दिर निर्माण काठमाडौं राज्यका राजा प्रताप मल्ल (ने. स. ७६१-९४, वि.स. १६९८-१७३१ ) ले गरेका हुन्।

हाल रहेको मैतीदेवीको मन्दिर भने सन् १७११ मा चतुर्देशी सेवा खलकले बनाएका थिए।

तलेजु भवानी काठमाडौं

तलेजु भवानी काठमाडौं उपत्यकामा अवस्थित एक मन्दिर हो। तलेजु भवानीलाई पुज्ने परम्परा काठमाडौं उपत्यकालगायत अन्य ठाउँमा पनि पाइन्छ। चौधौँ शताब्दीमा सिम्रौनगढका राजा हरिहरसिंहदेवले मुसलमानको आक्रमणबाट बचाएर ल्याई तुलजा भवानीलाई भक्तपुरमा स्थापना गरेको इतिहास पाइन्छ। यही तुलजाको अपभ्रंश भई तलेजु नाम रहन गएको हो। भक्तपुरपछि क्रमशः काठमाडौं, पाटन र कीर्तिपुरका प्राचीन राजदरबारभित्र तलेजुका भव्य मन्दिर छन्। नेपालमा राज्य गर्ने राजाहरूले तुलजा भवानीलाई इष्टदेवी मान्ने गरेका छन्।

सबै तस्विरहरु: सुन्दर बस्नेत । तथ्यस्रोतहरु: विकिपिडिया

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...