केन्द्रीय संस्करण

चीनको अन्तर्राष्ट्रिय प्रभाव र नेपालको अवस्था

person explore access_timeअसोज १६, २०७६ chat_bubble_outline0

नरहरि आचार्य  
नेपालमा अहिले चीनको अन्तर्राष्ट्रिय प्रभाव र नेपालको अवस्थाबारे धेरै चर्चा भएको छ । जनवादी गणतन्त्र चीनको जनवादी व्यवस्थाको स्थापना सन् १९४९ सालमा भयो । 

त्यसबेलादेखि नै माओत्सेतुङ चीनका प्रमुख नेता, अध्यक्ष भए । उनको मृत्युपछि पनि अध्यक्ष मानेर महासचिव बनाउन थालियो । नेपालका केही कम्युनिस्ट पार्टीहरूमा पनि त्यही थियो । 

अहिलेको सी जिङपिङ पनि कम्युनिस्ट पार्टीको महासचिव र चीनको राष्ट्रपति हुन् । माओत्सेतुङको समयमा चीनले अनौठो ढङ्गले आफ्नो काम सम्पन्न गरेको थियो  । विकास पनि अलिअलि गरेको थियो । 

उनले अमेरिकालगायत लोकतन्त्रवादी देश, पुँजीवादी अर्थव्यवस्था भएका देशहरूसँग दुस्मनी जस्तै थियो । सन् १९६६ देखि १९७६ उनको देहावसान नहुदासम्म सांस्कृतिक क्रान्ति चीनमा एकदमै चलेको थियो । 

सांस्कृतिक क्रान्तिका नाममा सैद्धान्तिक विरोधीहरूलाई कडा व्यवहार गर्ने स्थिति त्यो बेलामा थियो । उहाँको मृत्यु १९७६ मा भएपछि उहाँको युुग २ वर्ष जति रह्यो । 

त्यसपछि १९७८ सालमा देङ स्याओफिङको युग सुरु भयो । १९७८ सालबाट १९९२ सालसम्म उहाँको युग रह्यो । ०९२ पछि पार्किङसन भन्ने कडा रोग लाग्यो, १९९७ सालमा देहावसान भए । 

आफ्नो समयमा चीन साम्यवादी भए पनि पुँजीवादी आर्थिक नीति लागू गरे । उनको भनाइ भनेर भन्ने चलन पनि छ– बिरालो कालो होस् वा सेतो जे भए पनि मुसा मार्नुपर्छ । चीनले पैसा कमाउनुपर्छ भन्ने नीति अघि ल्याए । यत्रो धेरै जनसङ्ख्या भएको देशले पुँजी सङ्कलन गर्नुपर्यो भन्ने उनको आशय थियो । 

उनलाई आधुनिक चीनको रचनाकार भनेर सबैले नाम लिए । वाकोफिङ हुँदा १९८८ मा तियानमेन घटना भयो । त्यो विशेष घटना भएको छ, चीनले कहिल्यै पनि विर्सन नसक्ने । त्यसपछि सी जिनपिङको उदय विशेष उल्लेखनीय रह्यो । सिजिनपिङ २०१३ बाट राष्ट्रपति भए । 

उनी आएपछि चीनले नयाँ कोल्टो फेर्न लाग्यो कि भनेजस्तो देखियो । मैले पनि सन् २००५ मा चीनको भ्रमण गरेको थिएँ । अहिले नेपालमा सी विचारधारा भनेर चीनबाट मान्छे आएर नेपाल कम्युनिस्ट पार्टीसँग गोष्ठी भयो । नेपालमा भएको यस्तो पहिलो पटक हो । चीनले पनि विदेशमा गरेको पहिलो पटक नैै हो भन्छन् । नेकपा सक्रिय भए जस्तै काँग्रेस सक्रिय हुनुपर्यो भन्ने मात्र पनि होइन । नेपाली काँग्रेसको अस्तित्व के हो ? कार्यक्रम के हो ? विचारधारा के हो ? हाम्रो कुरा स्थापित हुँदै जानुपर्यो । अहिले हामीले यसतर्फ ध्यान दिनुपर्छ । 

डा. मिनेन्द्र रिजाल  
१९८८ को चीनको तियानमेन चोकमा घटेको घटना कसैले विर्सन नसकिने खालको भयो । त्यो बेला सोभियत युनियन रस्साका राष्ट्रपति मिखायल गोर्वाचोभ चीन भ्रमण गरिरहेका थिए । हामीलाई नेपालमा लोकतन्त्र कसरी ल्याउन सकिन्छ भन्ने भइराखेको समयमा चीनमा नै लोकतन्त्र आयोभने झन् गजबै हुनेभयो भनेर टीभी हेरिएको थियो ।
टीभीमा कमेन्टेटरले भनिराखेको थियो भने सोभियत युनियनबाट आएको राष्ट्रपतिलाई यो देखाउन चीनलाई लाजभयो होला ! पाहुना नआएको बेलाभए सहन सक्थ्यो होला, पाहुना भएको हुँदा सहन नसक्ने भयो । त्यतिखेरसम्म कुन कम्युनिस्ट शासन पहिला जान्छ भन्ने टुङ्गो थिएन । त्यो कमेन्ट गर्नेलाई चीनको कम्युनिस्ट शासन जान लाग्यो, सोभियत सङ्घको सुरक्षित छ भने जस्तो लागेको बुझिन्थ्यो । केही समयअघि भेनेजुएलाको सन्दर्भमा नेकपा अध्यक्ष प्रचण्डको विज्ञप्ती आयो, प्रधानमन्त्री विदेशमा थिए । 

यस भनाइले हाम्रो सङ्क्रमणकालको न्याय टुङ्ग्याउनका लागि झन्झट् आउनसक्छ भन्ने लाग्यो । हामीलाई पश्चिमाहरूको सहयोग सङ्क्रमणकालको न्याय टुङ्ग्याउन चाहिएको छ । किन यस्तो गरेको होला ? यसमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले राजदूत बोलाएर भन्नुभयो यो हाम्रो सरकारको नीति पनि होइन, पार्टीको नीति पनि होइन । फेरि अहिले हेर्दा सङ्क्रमणकालको न्याय भत्काउन खोजिएको हो कि जस्तो लाग्दैछ ।
अहिले संस्थाहरू बलिया छैनन् । निरङ्कुशतामा जानका लागि वातावरण हुन्छ । अहिले विद्युतमा ५०, ६० अर्बको लगानी हुने र भारतमा बिक्री गर्ने कुरा संसदमा ल्याएनन् । त्यसैगरी अमेरिकासँग चीनसँग छैन भने चीनसँग अमेरिकासँग छैन भने डिप्लोमेटिकमा एकअर्काको कुरा नहुने जस्तो गरी सरकार भन्दैछ । त्यस्तो हँुदैन, डिप्लोमेटिक कुरा दोहोरो हुन्छ । 

एक लेबलसम्म अर्को देशसँग भएको कुरा भन्ने गरिन्छ । आजको हाम्रो शासनले कम्बोडिया हेरेको छ, चीन मात्र हेरेको भए हामीलाई चिन्ता थिएन । चीनको दुई पाटो छ, सिद्धान्त हामीलाई चाहिएको भएन, अरू हामीलाई चाहिन्छ । कानुनहरू थिचोमिचो गर्ने ल्याएको छ । कानुन बनाउँदा कहाँ कसरी छिराउँछन् थाहा नहुने संसदीय अभ्यासको विपरीत हुने काम गरिरहेका छन् । सरकारको ध्यान निरङ्कुश अझै हुँदै जानुपर्छ, नियन्त्रण अझै हुँदै जानुपर्छ, त्रास अझै दिदै जानुपर्छ भन्ने छ । नेकपाको स्कुल विभागले गरेको काम विचारधारासँग जोडिएको जस्तो लाग्छ । चीन, नेपाल, भारतको सम्बन्धबाट नेपालले फाइदा लिने कुरामा कुनै विवाद नै हुँदैन । चीन हाम्रो पुरानो भरपर्दो मित्र हो । कहिल्यै हामीलाई अपमानित गरेको छैन । कलकारखाना, सडक बनाउन चीनले मद्दत गरेको छ । सी जिनपिङको भ्रमणलाई हामीले स्कुल विभागको प्रशिक्षणभन्दा फरक रूपमा हेर्छौं । चीन नेपालको बाटो भएर तल जान खोजेको छ । हामीसँग कुरा गर्दा विकासका लागि चीनसँगको हाम्रो आबद्धता अत्यन्तै जरुरी छ । नेपाली काँग्रेसले चीनसँगको सम्बन्धलाई दर्शन, निरङ्कुश शासन व्यवस्थाका लागि यो प्रशिक्षण र नेपाल चीनको सम्बन्धलाई छुट्याएर प्रस्तुत हुन चाहन्छ । 

श्यामप्रसाद मैनाली, पूर्वसचिव 
हामीले साइकोफेन्सी गरेर लोकतन्त्र रहँदैन । यस कुरामा हामी सतर्क हुनुपर्छ । भारतमा पनि काँग्रेसको सरकार भए पनि मोदीको सरकार भए पनि परराष्ट्र नीतिमा फरक पर्दैन । उनीहरूको नेपाललाई हेर्ने दृष्टिकोण लामो समयदेखि एउटै छ । नेपालमा नेपाली काँग्रेसले लामो सयमसम्म शासन गरेर बस्दा पनि त्याो लेबलमा विकसित गर्न सकेनौँ । 

एमालेहरू सरकारमा हुँदा जस्तो खालको ढुलमुले नीति देखिन्थ्यो, त्यसले गर्दा उहाँहरूबाट यो अपेक्षा गर्ने कुरा आएन । यतिखेर अमेरिका भर्सेज चाइना सक्रिय भएर आइराखेको छ । यहाँ दुई तिहाइ कम्युनिस्ट सरकार भएको सन्दर्भमा सीको नेपाल भ्रमण उनीहरूको दृष्टिबाट हेर्दा एकदमै सान्दर्भिक छ । तर सीको सम्मेलन हुँदै जाँदा नेपालको नेकपाको नेतृत्व भ्रष्टै भ्रष्ट छ । यो तहको नेतृत्वले नेपाललाई कम्युनिस्ट बनाउन सक्दैन । काँग्रेसको तुलनामा कम्युनिस्टहरू धेरै भ्रष्ट छन् । सी पथको प्रशिक्षणले यहाँ कम्युनिजम हुनै सक्दैन तर रणनीतिक रूपमा अमेरिकालाई देखाउन पनि चीन यहाँ बलियो रूपमा आफूलाई देखाउन खोज्छ । राष्ट्रपतिको भ्रमणको सँघारमा यो प्रशिक्षण नगरेको भए कम्युनिस्टहरूलाई राम्रो हुन्थ्यो । कम्युनिस्ट सरकारबाट लम्पसारवाद मात्र देखिएको छ । सी पथ सैद्धान्तिक रूपले मान्न सकिँदैन तर चीनमा नै खाद्यान्न मिसावटमा गरिएको दण्ड, भ्रष्टाचार गरेकालाई दिने दण्ड, कानुनी राज्य सञ्चालनलाई सकारात्मक रूपमा लिन सकिन्छ । चीन र भारतसँग आर्थिक रूपले फाइदा लिन पनि हामी ठीक परराष्ट्रनीति बनाएर अघि बढ्नु पर्छ ।
गोविन्द अधिकारी, वरिष्ठ पत्रकार 
अहिलेको तातो प्रसङ्गमा कुरा गर्ने हो भने आधा जिम्मेवारी नेपाली काँग्रेसले लिनुपर्छ । नेपाली काँग्रेस गिरिजाप्रसाद कोइरालाको अवसान पछि विस्तारै–विस्तारै हराउँदै हराउँदै गएको छ । अन्तर्राष्ट्रिय बजार, नेपाली समाजमा काँग्रेसको भाउ घट्दै गएको छ । त्यसैको प्रभाव चीनका कम्युनिस्टले आफ्नो विस्तार गर्ने र नेपालका कम्युनिस्टहरूलाई पनि चीनकोे जस्तो गरेर चलाउन पाए हुन्थ्यो भनेर रहर हुनु स्वाभाविक हो । उनीहरू त्यही दीक्षामा हुर्केको  हुँदा रहर भयो भनेर धेरै चिन्त गर्नुपर्दैन । त्यो रहर पूरा गर्न नदिने काँग्रेसले हो । काँग्रेससँग त्यो क्षमता, त्यो दृष्टिकोण छ जस्तो लाग्दैन । सोच्ने सोचाइमा अहिले सरकारमा भएको र प्रतिपक्षमा भएकाको धेरै टाढा छैन । सम्झौता गर्न हुने र नहुने दुवैमा सम्झौता भइराखेको हुन्छ । सिद्धान्तसँग सम्झौता नगर्ने, व्यवहारमा सम्झौता गर्ने हुनुपर्ने हो ।

यहाँ अहिले व्यवहार र सिद्धान्तलाई एकै ठाउँमा राखिएको अवस्था छ । चीन आफ्नो हैसियतमा बस्नुुपर्छ नेपालमा भन्ने हैसियत तिब्बत हो । नेपाली सबैले तिब्बत विर्सिए । चीनको सहयोग लिँदा पनि नेपालले तिब्बती शरणार्थीलाई पालेर लिन्थ्यो । संसारमा शरणार्थी पाल्नेमध्येको उत्तम नमुना देखाएको भनेर यूएनले नेपाललाई पदक नै दिएको थियो । त्यसले गर्दा चीन नेपालसँग धेरै जोरी खोज्न हुन्न भन्ने पनि थियो यो हैसियत हाम्रो गुमिसकेको छ । काँग्रेसको सरकार हुँदा तिब्बतीहरूलाई प्रदर्शन गर्न रोक लगाइयो । अशान्ति गर्न दिन नहुने शान्तिपूर्ण रूपमा गर्न दिनुपथ्र्यो । यो अन्तर्राष्ट्रिय कानुनका आधारमा पनि रोक्न नहुने थियो । चीनलाई खुसी पार्न भनेर काँग्रेसले नै सैद्धान्तिक आधारहरू छोडेपछि जग खलबलिने नै भयो ।

यहाँको लोकतन्त्रका लागि चीनको विकास मोडल उपयुक्त हो कि होइन बहस हुनुपथ्र्यो । बीपीको मोडेलले नेपालमा के हुँदैनथ्यो भनेर बहस गर्नुपथ्र्यो । बीपीले भनेजस्तो मानवीय विकासका दृष्टिले अहिले प्रविधिको विकासमा आएको परिवर्तनले  नेपाल अर्कै बनिसक्थ्यो । प्रत्येक व्यक्ति स्वतन्त्र हुने र स्वतन्त्रताको माया हुने स्वतन्त्र चिन्तनको विकास गर्न सक्ने अवस्था भएको भए हामी अधिनायकवादीको चङ्गुलमा पर्छौं कि भनेर पनि सोच्न पर्दैनथ्यो । हामीले बन्दीपुरमा कलेज खोल्न जान भनेर लागेको भनेर उत्साहित हँुदै भनेको बीपीले भन्नुभयो, ‘असल शिक्षक खोज, असल मान्छे बनाउनेतिर लाग । काँग्रेस, सङ्गठन बनाउन पर्दैन, कलेज खोलेर मात्रै हुँदैन । 

कुलचन्द्र वाग्ले, वरिष्ठ पत्रकार 
नेपालमा चीनले गरेको प्रशिक्षणबाट के देखिन्छ भने नेपालको कम्युनिस्ट सरकार परराष्ट्र नीतिबाट सिफ्ट गर्न खोजेको देखिँदैछ । शक्तिको बढोत्तरीसँगै चीनले पनि परराष्ट्र नीतिमा प्रबुद्ध खालको भूमिका खेल्न खोजेको हो कि भन्ने देखिन्छ । त्यसैले दुवै देशको परराष्ट्र नीति कता जाँदैछ भन्ने विषयमा हामीले छलफल गर्नुपर्छ । बराक ओबामाले भनेका थिए, १५ वर्षमा चीन यही रफ्तारमा गयो र हाम्रो यही अवस्था रहेमा चीनले हामीलाई आर्थिक उन्नतिमा उछिन्छ भनेका थिए । उ

नले थप भनेका थिए, प्राविधिक पक्षमा हामीलाई उछिन्न ५०औँ वर्ष लाग्छ । आज त्यो हैसियतमा पुग्दा चीन रिभर्स भएको देखिन्छ । नेपाली काँग्रेस र चीनको सम्बन्ध के हो ? यो विषय पनि अनुत्तरित छ । चीनको विकास कम्युनिस्ट दर्शनसँगको हो । नेपालमा त्यो मोडेल कसरी लागू गर्न सकिन्छ । सीको विचारधारा भनेको चिनियाँ चरित्रको समाजवाद ! चिनियाँ चरित्रको समाजवाद कम्युनिस्ट दर्शन, कम्युनिस्ट पद्धतिबाट नै जोडिन्छ । सीको विचारधारा कम्युनिस्ट नै हो । नेपालका कम्युनिस्टहरू लोकतन्त्रप्रति प्रतिबद्ध छैनन् । चीन, नेकपा र पश्चिमाका लागि पनि यो प्रयोग अवश्य हो । सीलाई माओवादी पक्षका कट्टर कम्युनिस्ट हुन् नै भनिन्छ । विकासको प्रलोभनमा कम्युनिस्ट करण गर्न खोजिँदैछ । 

डा. रामप्रसाद मैनाली 
अहिले चीन नेपालमा अक्रामक रूपले आउन खोजेको छ । कुनै पनि राष्ट्रले आर्थिक वृद्धि  हासिल गरिसकेपछि आफ्नो राजनीतिक प्रभाव पार्न खोज्नु स्वाभाविक हो । नेपालका मानिसलाई लगेरर भ्रमण गराउने, प्रशिक्षण गर्ने दुईतीन वर्षमा तीव्र गतिले बढेको छ । अहिले कयौँ मेयरहरू उता पढ्न गएका छन्, यता प्रशिक्षण चलाइएको छ । काँग्रेसको सरकार भएको समयमा पनि चाइनाले यसरी नै सहयोग गर्न चाहेको थियो ।

विकासको मोडेल सिक्न पर्यो । चाइनाले अमेरिकन कम्पनीहरू ल्याएर विकास गर्यो । हाम्रो भौगोलिक अवस्थाले पनि त्यो सम्भव छैन । हाम्रोेमा ठ्याक्कै चाइनाको विकास मोडल पनि लिने अवस्था छैन । उनीहरूले पार्टी कार्यकर्तालाई कसरी परिचालन गर्दा रहेछन् त्यो हेरौँ ! हाम्रोेमा पनि गरिबी निवारणमा धेरै पैसा खर्च भएको छ । उनीहरूको पनि गरिबी निवारण रहेछ, टोलमा कार्यकर्ताको मोबाइल नम्बरसम्म देखाएर राख्ने र परेको समस्या त्यहाँ भनेपछि सहयोग पाउने हुँदोरहेछ । आक्रामक रूपले वैचारिक रूपमा आए पनि हामी अर्को पक्षमा लागेर खेल मैदान नबनौँ । त्यो क्षमता हामीले देखाउनु पर्यो । 

रामचन्द्र घिमिरे 
छिमेकी मुलुक चीनले नेपाललाई सम्मान नै गरेको इतिहास छ । केही दिनअघि नेकपा र चीनको कम्युनिस्ट पार्टीको प्रशिक्षण सैद्धान्तिक रूपले भएको देखिन्छ । सिद्धान्तभन्दा बाहिर अर्थनीति हुन्छ भन्ने लाग्दैन । राजनीतिक सिद्धान्तले नै अर्थनीतिलाई प्रभाव पार्छ । चीनमा हाम्रो जस्तो खुला विरोध गर्न नपाइने भएको हुँदा उत्पादनका लागि वातावरण भयो होला । चीन देङ स्याओफिङले लोकतन्त्रतर्फ अगाडि बढाउन खोज्नुभयो होला । तर तियानमेन स्क्वायरमा भएको घटनापछि लोकतन्त्रको सम्पूर्ण बाटो बन्द भयो जस्तो लाग्छ । हाम्रोमा राजा भएको लोकतन्त्र पनि नियन्त्रण खालको भयो भनेर लोकतान्त्रिक गणतन्त्रमा छौँ ।

हामीले अभ्यास गरिरहेको लोकतन्त्र र सरकार सञ्चालनको जिम्मा पाएको नेकपा कम्युनिस्ट सिद्धान्तप्रति अघि बढेको देखिँदैछ । नेकपा र चीनको कम्युनिस्ट पार्टीबीच भएको प्रशिक्षणमा नेपाली काँग्रेसले केही कुरा स्पष्ट रूपमा भन्न जरुरी छ । नेपाली काँग्रेस चीनको सिद्धान्तलाई कसरी समर्थन गर्न सक्छ ? मानव अधिकारको विषयमा चीनमा पनि मानव अधिकार हुनुपर्छ भनेर काँग्रेसले भन्न सक्नुपर्छ । चीनसँगको विकास ग्लोबलाइजेसनसँग बाटो निर्माण लगायत आउने कुरा हुनसक्ला ! अन्यथा प्रत्यक्ष रूपमा हाम्रो जनशक्ति पनि चीनमा जान मिल्दो रहेनछ । चीनसँगको हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ, पार्टी–पार्टी बीचको संवाद भइरहनुपर्छ । यतिखेर नेपालको परराष्ट्र नीति कमजोर भएको देखियो । त्यसैगरी नेतृत्व पनि उचो हुन सकेको देखिएन ।

(२०७६ असोज ११ गते काँग्रेस नेता नरहरि आचार्यको निवासमा भएको छलफलमा सहभागीहरूले राखेको धारणामा आधारित ।)
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...