केन्द्रीय संस्करण

ख्रुस्चेभले भनेका स्टालिनजस्तै हो त नेकपा नेतृत्व ?

person explore access_timeअसोज १६, २०७६ chat_bubble_outline1
रामकुमार एलन

रातोपाटी

शनिबार बिहान । थापागाउँको कुनै एउटा कलेजको सभाहल । कार्यक्रम नेकपा (साविकका एमाले र माओवादी केन्द्रका केन्द्रीय सदस्य र पार्टीमा अवसर नपाएका तर योग्य केही युवापुस्ताका नेताहरूलाई प्रशिक्षण । अहिले कम्युनिस्ट नेताहरूले बोलिरहने शब्द ‘मूलतः’ जोड्दा १७ चैत २०७५ मा दर्ता भएको पुष्पलाल मित्रता केन्द्रको बैठक र प्रशिक्षण कार्यक्रम । पार्टी पङ्क्तिमा धेरैले यसलाई ‘गुट’को मोसो दलिदिएका छन् । रूपमा र उपमा जे भने पनि सारमा पुष्पलाल मित्रता केन्द्र पार्टीमा वैचारिक प्रशिक्षण, अभ्यासका लागि क्रियाशील छ । त्यसैको एउटा कडी हो प्रशिक्षण । 

८९ सदस्यीय केन्द्रीय समिति रहेको केन्द्रमा केही केन्द्रीय सदस्य थप भएपछिको प्रशिक्षणमा सुरेन्द्र पाण्डे आइपुग्नुभयो अलि ढिला । प्रतीक्षा निकै गरियो । समाजवादमा नगई नहुने अवस्था तर सुरु कहाँबाट गर्ने ? पाण्डेले भन्नुभयो, ‘रुस र चीनको अभ्यास गर्न सक्छौँ कि सक्दैनौँ ?’

कसरी सुरु भयो रुसमा समाजवाद ?
सन् १९१८ मा रुसमा जमिन सहकार मातहत राखियो । उद्योगहरू राष्ट्रियकरण गरियो । तर उद्योग कामदारले मात्र चलाउन सकेनन्, सन् १९२० मा कारखाना टाट पल्टिएपछि सन् १९२१ मा संशोधन गरियो । नयाँ आर्थिक नीति लागू गरियो । सन् १९४५ मा पुराना नोट खारेज भए । शिक्षा, स्वास्थ्य, यातायात सरकारीकरण गरियो । अर्थात् ६ क्षेत्रमा राज्यको हस्तक्षेप जरुरी छ ः जमिन, उद्योग, नोट, शिक्षा, स्वास्थ्य र यातायात क्षेत्र । 

चीनमा के भयो ?
सन् १९४९ मा चीनले ४५ प्रतिशत भूमि किसानलाई दिइयो । सन् १९५३ मा सबै जमिन सहकारी मातहत ल्याइयो । १९५६ मा सबै जमिन चिनियाँ कम्युनको अधीनमा राखियो । आजपर्यन्त नेपालभन्दा ६७ गुणा ठूलो देश चीनमा जमिन राज्यको हो । जनताले ७० वर्षसम्म जमिन भाडामा लिएर उत्पादन, निर्माण र पूर्वाधार बनाउँछन् । त्यसपछि फेरि राज्यसँग नवीकरण गर्नुपर्छ । 

सन् १९५५ मै ३ अर्ब क्षतिपूर्ति दिएर भएका उद्योग सरकार मातहत ल्याइयो । त्यसअघि सन् १९५४ मै बैङ्कले नयाँ नोट जारी गर्यो । १९७० मा मात्र विश्वविद्यालयमा सबैलाई खुला गरिएको हो । शिक्षा, स्वास्थ्य, यातायात सरकार मातहतमा छ । 

नेपालमा कहाँबाट सुरु गर्ने ?
जबसम्म नेपाल पनि जमिन, उद्योग, नोट, शिक्षा, स्वास्थ्य र यातायातमा बलियो हस्तक्षेपकारी भूमिका निभाउन सक्दैन, समाजवाद आमसभाको पट्यारलाग्दा भाषणबाहेक केही हुनेछैन । 
तथ्याङ्कमा हेर्ने हो भने, नेपालको कुल बजेट छ ः १५ खर्ब । शिक्षा क्षेत्रलाई हस्तक्षेप गर्ने हो भने र उनीहरूलाई सरकार मातहत ल्याउने हो भने, २० खर्ब रूपैयाँ क्षतिपूर्ति दिन जरुरी छ । जमिन जमिनदारकै छ, राज्यको मातहतमा ल्याउने कल्पना मात्र हो । उद्योगको क्षतिपूर्ति कति दिने ? कसरी लिने ? भएको पनि चलाउन नसकेर बन्द गरियो । २६ भन्दा बढी उद्योग प्रजातन्त्र आएपछि बन्द भए । 
स्वास्थ्य क्षेत्रमा करिब १० खर्ब रूपैयाँ लगानी भएको छ । बजेटको ६६ प्रतिशत खर्चेर स्वास्थ्य क्षेत्रमा राज्य हस्तक्षेप गर्न सक्छ । तर जमिन र उद्योग कब्जा गर्न सकिएन भने यो राज्यका लागि ‘स्वस्थकर’ हुनै सक्दैन । 
यातायातमा हस्तक्षेप त के सिन्डिकेट जीवितै छ । यातायात मन्त्री र सरकारको बुलेटिनमा बाहेक अन्त सिन्डिकेट सकिएको हो । थप बुझ्न मन लाग्नेले रिङरोडमा एउटा माइक्रो किनेर चलाउने सक्ने छैनन् । 
हामी नोट बदल्ने कल्पना गर्दै छौँ र ? 

समाजवाद कहाँबाट सुरु गर्ने ? 
फेरि पनि समाजवादमा नगई हुन्न । हामीभन्दा बढी युरोपेलीहरू समाजवादको अभ्यास गरिरहेका छन् । हामी घोषणामा सीमित छौँ । सुरेन्द्र पाण्डे भन्नुहुन्छ, ‘राष्ट्रिय उद्योग र क्षमता विकास नै हाम्रो आधार हो तत्कालका लागि । समाज ढिलोचाँडो यसरी विकसित हुन्छ कि राज्य शासन गर्नै सक्दैन ।’ 
अहिले हामी तेङ स्याओ पिङले भनेजस्तै गरिबी बाँढ्ने समाजवाद मात्र बोलिरहेका छौँ । ठूला घरमा नबस्ने, फ्लाटमा बस्ने शैली विकसित गरेर पनि हामी बदलिन सक्छौँ । 

खोइ राजनीतिक स्टिलका खुट्टा ?
नेकपा स्थायी कमिटी सदस्य भीम रावलको सम्बोधन थियो सुरेन्द्र पाण्डेपछि । रावल आएर सम्बोधन सुरु गर्नैलाग्दा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि आइपुग्नु भयो । मञ्चमा नारायणकाजीलाई राख्दै रावलको सम्बोधन थियो : नेकपाको मूलनीति नै बाह्य हस्तक्षेप, दबाबको सामना दृढतापूर्वक गर्नु भन्ने हो । म आफै त्यो लेख्ने काममा सहभागी छु । तर यतिखेर किन हामी घचक्कै घुँडा टेकिरहेका छौँ । किन राजनीतिक स्टिलका खुट्टा टेकिएनन् ? राष्ट्रियताप्रति रावलको चासो बढी थियो । 

फरक हुन्न देशभक्तिको रूपरङ्ग
नेता रावलको कटाक्ष थियो, ‘म निहुरिँदा निहुरिएको हुने र अर्कोले चाहिँ घचक्कै घुँडा टेक्दा पनि उभिएको हुन्छ र ?’ उभ्याइ र झुकाइ एउटै भएको भन्दै रावलले थप्नु भयो, ‘१८ महिनामा एकीकरणका काम बाँकी नै छन्, ८ महिना भयो स्थायी समितिको बैठक बसाउन सकिएको छैन । कि लेखिदिउँ धारा र दफामै, यस्तो तौल, उस्तो उचाइ, भएकालाई यो नियम लागू हुने छैन ।’

रावलले पार्टीका दुई अध्यक्षको कार्यशैलीकै कारण यस्ता भेलाहरू हुने गरेको, फोरम खुल्न थालेको र नेताहरू बोल्ने गरेको उल्लेख गर्नुभयो । भन्नुभयो, ‘म त राम्रो कार्यक्रम भनेर यहाँ आएको, फेरि केहीलाई गुटको भेला भन्ने लाग्ला । त्यसो भए छलफल गरौँ, के के गर्ने, के के नगर्ने ? नीति बनाउँ, के चलाउने, के नचलाउने ? अझ मिल्ने भए अध्यक्षद्वयबाट लागू गरौँ ।’  

यति हो सेरीको रोपाइँ
थोरै मन्तव्य तर सरकार सञ्चालन र पार्टी सञ्चालनमा देखिएको बेथितिमा एक्लो प्रतिवाद गर्दै रावलले देउडाकै सहारा लिनु भयो र सुनाउनु भयो ः 
यति हो सेरीको रोपाइँ 
यति हो भात खुवाइ
यति हो पिरती लवाइ
यति हो साथ हराइ ।
नेकपाको यात्रा सेरीको रोपाइँ नभएको र दृढतापूर्वक बेथितिविरुद्ध लाग्न रावलले ढाडस मात्र दिनु भएन, भन्नुभयो, ‘कसैले धम्क्याए, थर्काए, गुटको भेला भनेर गाली गरे मलाई खबर गर्नु, सामना गर्न मै तयार छु ।’
मञ्चमा बसेर सुनिरहेका नारायणकाजी श्रेष्ठसँग छोटो कुराकानीपछि रावल बाहिरिनुभयो । पालो आयो श्रेष्ठको । 

टायरमा गुच्चा हानेजस्तो होइन
नेता श्रेष्ठले राजनीतिक सङ्घर्षको अध्याय सकिएको बताउँदै भन्नुभयो, ‘स्वदेशमा श्रम सिर्जना गरी विदेशका ४० लाख युवालाई स्वदेशमा ल्याउन सक्छौँ ? नेतृत्वको अभाव पूरा गर्न सक्छौँ ? सामाजिक आर्थिक रूपान्तरण सम्भव छ तत्काल ? यो टायरमा गुच्चा हानेजस्तो होइन समाजवादको यात्रा ।’ 

के हो हाम्रो सिद्धान्त ?
नेकपाको सिद्धान्त मार्क्सवाद र लेनिनवाद नै हो । क्रान्तिको रणनीतिक लक्ष र आधारभूत कार्यक्रम समाजवाद नै हो । राष्ट्रिय पुँजी निर्माण नै हो । समाजवाद उन्मुख जनताको समाजवाद नै हो सिद्धान्त । नेता श्रेष्ठ कटाक्ष गर्नुहुन्छ, ‘सचिवालयकै सदस्यहरू मनलाग्दी बोलिरहेका छन्, बझेर कि नबुझी ?’

सत्तामा जनताको सहभागिता 
समाजवादको लक्ष सत्ता सञ्चालनमा आम जनताको प्रत्यक्ष सहभागिता नै हो । नेता श्रेष्ठले भन्नुभयो, ‘यसलाई लेनिनले लागू गर्न खोज्दै हुनुहुन्थ्यो, पाउनुभएन ।’ समाजवादमा ‘राइट टु रिकल’ पनि हुन्छ । र, आज पर्यन्त समाज सिर्जनशील हुन सकेन । आम समाजमा समाजवाद जनवाद सुनिश्चित हुन सकेन ।  

सैद्धान्तिक बहसको थुप्रो
यतिखेर नेकपा सैद्धान्तिक बहसको थुप्रोले भरिपूर्ण छ । कोही जनताको बहुदलीय जनवाद भन्दै हिँडेका छन् । यो एमालेको दृष्टिविन्दु नै हो । एक्काइसौँ शताब्दीको जनवाद माओवादीको प्रस्ताव मात्र हो । नेकपाले अङ्गीकार गरेको जनताको जनवाद बहसमै छ । तर यी यावत् सैद्धान्तिक बहसको थुप्रोमा किन यी विषय परेनन् ?
– नेपालको राजनीतिक कार्यदिशाको ढाँचा के हो ?
– विज्ञान, प्रविधिको अधिकतम प्रयोग र नवीनतम उपलब्धिलाई मानवहितमा केन्द्रित
– समाजवाद उन्मुख कार्यक्रम
– वातावरणमैत्री अभ्यास
– दीर्घजीवीपन

अब के गर्ने ?
– एकीकृत पार्टीका सबै सङ्गठन क्रियाशील पारौँ
– विधि, पद्धतिमा संस्थालाई सामूहिक नेतृत्वमा लैजाऊँ
– चारित्रिक, सांस्कृतिक विचलनविरुद्ध सङ्घर्ष
– पार्टीमा न्याय स्थापना
– निष्ठावान्, स्वच्छ, क्षमताका आधारमा भूमिका
– निरन्तर प्रशिक्षण
– सरकारलाई सफल बनाउँ । यसका लागि पार्टीले सरकार चलाउने आधारभूत नीति निर्माण गरौँ र सरकारलाई निर्देशन दिऊँ । पार्टीले गृहकार्य नगरी सरकारलाई निर्देशन नदिऊँ, वैकल्पिक लोकप्रिय कार्यक्रम तय गरौँ । 
– सुशासनको नीति पार्टीभित्र लागू गरौँ । 
– शान्ति प्रक्रिया, सङ्क्रमणकालीन न्यायका बाँकी कार्यभार पूरा गरौँ । 
–समाजमा राष्ट्रिय मेलमिलप कायम गरौँ, पीडितलाई न्याय अनुभूत गराऔँ । 
– अनि महाधिवेशनमा जाऊँ ।
त्यसअघि नेपाली जनताले भनून् ः हत्तेरिका, अचेल त जुन कार्यालयमा पनि घुस नुखुवाई काम त फ्याट्ट–फ्याट्ट हुन थाल्यो, भयो है नेकपाको शासनमा चमत्कार ! 

अहिले हामी कस्ता छौँ, किन भयौँ नेकपा ?
नेता श्रेष्ठले नेकपाका कार्यकर्तासँग दुईवटा बाटो भएको बताउनुभयो : 
क. मार्क्सवादी भइयो, नारा लगाइयो, कम्युनिस्ट भनेर हिँडियो, सङ्घर्ष गरियो, दुःख खेपियो, सरकार पनि बनाइयो, जीवन अब पुँजीवाद हो, पुँजीवादी संसदवाद नै बाँकी जीवन हो । जे पाइन्छ, आएको र सकेको खाने हो ।
ख. निश्चित लक्ष र दृष्टिकोणले एकाकार छौँ । नयाँ विधिमा नेपाल समाजवादमा जान्छ भनेर विश्व हेरिरहेको छ । समाजवादको रणनीतिक कार्यभार पूरा गर्ने दायित्व बोकेर हामी नेकपामा समेटिएका हौँ । ठूलो काँग्रेस हुँदैनौँ ।

ख्रुस्चेभले के भनेका थिए ?
आज हामी डराइरहेका छौँ । नेकपाका एउटा नेताको फेर समात्दा अरू नेताले मिलेर अवसरबाट मिल्काइदिने पो हो कि भनेर त्रसित छौँ । मनमा आएको कयौँ कुरा पनि भन्न सकिरहेका छैनौँ । नराम्रोलाई नराम्रो भन्ने आँट नै छैन । नेता श्रेष्ठले सुनाउनु भयो, ‘सन् १९५६ मा स्टालिनको निधनपछि ख्रुस्चेभले सम्मेलनमा भन्नुभयो, स्टालिन हत्यारा हो, पिपासु हो, भ्रष्ट हो ।’

बाँचुन्जेल स्टालिनलाई ‘गडफादर’ मान्ने ख्रुस्चेभको सम्बोधन सुनेर सम्मेलनको हलको कुनै कुनाबाट आवाज आयो, ‘त्यतिखेर तिमी कहाँ थियौ त ?’

ख्रुस्चेभले भन्नुभयो, ‘तिमी नै भन त, अहिले कहाँ छौ ?’

हलमा सन्नाटा छायो । कोही बोलेनन् । 

क्रुस्चेभले नै भने, ‘हो, अहिले तिमी जहाँ छौ नि, त्यतिखेर म पनि त्यही थिएँ ।’

कतै हामी ख्रुस्चेभ नियतीमै पो छौँ कि ? कोही नसकिउन्जेल विद्रोह पनि गर्नै नसक्ने अवस्थामा पुगेका पो हौँ कि ? नारायणकाजीको सम्बोधनले सभाहलमा हाँसोको फोहोरा बर्सियो । यस्ता प्रशिक्षणका कार्यक्रम नेकपाका नेता कार्यकर्तालाई गाउँगाउँसम्म जरुरी देखिन्छ ।  

 

कमेन्ट

  1. Oct. 5, 2019, 9:52 p.m. Santos
    Good analysis
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...