शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महरा प्रकरणले नेकपाभित्र ‘मनोवैज्ञानिक’ त्रास

बिहीबार, १६ असोज २०७६, १२ : ४१
बिहीबार, १६ असोज २०७६

काठमाडौँ– संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीसँगको विवादित सम्बन्धले कृष्णबहादुर महराले सभामुख पद गुमाउनु पर्यो । नेपालको राजनीतिक इतिहासमा यौन दुर्व्यवहारको आरोपमा संवैधानिक पदमा बसेका व्यक्तिले यसरी राजीनामा दिएको पहिलो पटक हो ।

यद्यपि महरामाथि आरोप लगाउने महिलाको बोली फरक देखिन थालेको छ । उनले तीनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा बुधबार साँझ आफै उपस्थित भएर आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी गराइएकी छिन् । उनले दिएको लिखित निवेदनमा भनिएको छ, ‘म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ, मिडियामा कसरी समाचार आए, मलाई थाहा छैन । सञ्चार माध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन ।’

यद्यपि त्यतिन्जेल ढिला भइसकेको थियो । महिलाको पहिलो अन्तरवार्ताले नै महरामाथि दबाब सुरु भएको थियो ।  नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नै महरालाई बचाउन नसकिने भनेर राजीनामा गर्न लगाएपछि महराका सबै विकल्प बन्द भएका थिए । गम्भीर नैतिक प्रश्नले घेरिएपछि महराले राजीनामा दिए ।

सङ्घीय संसद् सचिवालयले कृष्णबहादुर महराले सभामुख पदबाट दिएको राजीनामासम्बन्धी सूचना प्रकाशित गरेको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि दुव्र्यवहार भएको आरोप लागेपछि छानबिन गर्न सहज होस् भनी उनले मङ्गलबार संवैधानिक व्यवस्थाअनुरूप उपसभामुखसमक्ष राजीनामा दिएका थिए । पहिला शर्तसहितको राजीनामा आएको भनेर आलोचना भएपछि महराले दोस्रो राजीनामा बुझाए ।

सङ्घीय संसद्को अधिवेशन चालु रहेको अवस्थामा सदनमा तथा अधिवेशन नभएको अवस्थामा सभामुखको राजीनामा सूूचनामार्फत जानकारी गराउने व्यवस्था अनुसार सचिवालयले सूचना जारी गर्यो । रिक्त भएको सभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढाउन सङ्घीय संसद्को पाँचौँ अधिवेशन प्रारम्भ आह्वान हुनुुपर्ने छ । नयाँ सभामुख बन्नका लागि तत्कालीन एमाले र माओवादी केन्द्रभित्र दौडधुप पनि सुरु भइसकेको छ । तत्कालीन बाम गठबन्धन हुँदा सभामुख माओवादी र उपसभामुख नेकपाको भागमा परेको थियो । त्यसैअनुसार महरा सभामुख र उपसभामुख डा. शिवमाया तुुम्बाहाङ्फे आएकी थिइन् । महरा निर्वरोध निर्वाचित भएका थिए ।

यो प्रक्रियाको विषय हो । तर महरा प्रकरणले नेकपाभित्र निकै ठूलो मनोवैज्ञानिक प्रभाव पारेको छ । नेकपाका नेतृहरुका अनुसार पार्टीभित्र बिहेइतर सम्बन्धको ठूलो समस्या छ । जुन महराजस्तै जुनसुकै बेला बाहिर आउन सक्छ । नेकपाको केन्द्रीय समितिमा रहेकी एक नेतृले नाम नलेख्ने शर्तमा भनिन्, ‘महरा प्रकरण बाहिर आएर ठूलो भएको हो । यस्ता अनैतिक सम्बन्धहरु नेकपाभित्र धेरै छन् । कुनै कालखण्डमा सतहमा आउलान् ।’

तत्कालीन एमाले र माओवादी केन्द्रका अनुशासन विभागमा सांस्कृतिक विचलनसम्बन्धी उजुरी पनि पर्ने गरेका थिए । तर पार्टी एकतापछि एकीकृत पार्टीको अनुशासन विभाग बनेको छैन । ‘विभाग बन्यो भने यस्ता समस्या सतहमा आउन सक्छन् । उजुरी पर्न सक्छन् ।’ ती नेतृले भनिन् । राजनीतिक लाभ र बढुवाको आशमा कहिलेकाहीँ महिला कार्यकर्ताले पनि ‘कम्प्रमाइज’ गर्ने गरेको उनको गुनासो छ । ‘कम्परमाइज’ गलत अभ्यास हो,’ उनले भनिन् ।

नेकपाको सचिवालयदेखि स्थायी कमिटीसम्म, केन्द्रीय समितिदेखि प्रदेश समितिसम्म र जिल्ला समितिदेखि जनवर्गीय सङ्गठन र विभागसम्म यौनहिंसा र दुव्र्यवहारको समस्या रहेको नेकपा एक महिला सांसदको भनाइ छ । उनले भनिन्, ‘अनुहार हेरेर मात्र कसैको पनि मूल्याङ्कन गर्ने अवस्था छैन । समस्या तलदेखि माथिसम्म छ ।’

पूर्वमाओवादीको अनुशासन विभागमा बसेर काम गरेका एक नेताले सुनाए, ‘नेतामा नैतिकताको खडेरी छ । त्यो आर्थिक मात्र होइन, सांस्कृतिक रूपमा पनि देखिन्छ ।’

यही विषयमा पूर्वएमालेको अनुशासन विभागमा रहेका एक नेताले भने, ‘तत्कालीन एमालेमा बेलाबेला यस्ता समस्याका उजुरी आउँथे । अलि पछाडिका कुरा गर्ने हो भने ठूलै नेताविरुद्ध पनि घरपरिवारबाटै उजुरी परेका उदारण छन् । बहुविवाहको पनि तत्कालीन एमालेमा ठूलो समस्या थियो ।’

महरा प्रकरणले ‘अनैतिक सम्बन्ध’मा बसेका नेकपाका सबै नेतामाथि निकै ठूलो मनोवैज्ञानिक दबाब परेको शीर्ष नेताको सचिवालयमा रहेकाहरु बताउँछन् । उनीहरुका अनुसार यो मनोवैज्ञानिक प्रभावको असर कस्तो हुन्छ ? यो चाहिँ हेर्न बाँकी छ । तर महरा प्रकरण नेकपाका धेरै नेतालाई पाठ भएको छ । नेकपाका एक केन्द्रीय सदस्यका अनुसार महरा प्रकरणले नेताहरुलाई सचेत गराएको छ । 

उनका अनुसार महरा प्रकरण बाहिर आएपछि खासगरी दुई कुराले नेताहरुलाई सचेत गराएको छ । पहिलो, यस्ता कमीकमजोरीमा सतर्क हुनुपर्ने रैछ भन्ने । दोस्रो, जो अहिले आक्रमणमा तम्तयार भएका छन्, तिनीहरु व्याक हुन सक्छन् । भोलि मिडियाले आफ्नो पनि कुरा बाहिर ल्याउन सक्छन् भनेर । 

अर्कोतर्फ महरा प्रकरणपछि नेकपाका महिला नेतृहरुको मौनता गज्जबको छ । उनीहरुले सार्वजनिक रूपमा कुरा उठाएका छैनन् । बरु कतिपय बचाउमा लागेका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका महिला नेतृ पनि यो प्रकरणमा मौन देखिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप