शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बार्सिलोनाको जितमा स्वारेज नायक

बिहीबार, १६ असोज २०७६, ०८ : ५१
बिहीबार, १६ असोज २०७६

स्पेनिस महारथि बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग फुटबलमा इटालियन प्रतिस्पर्धी इन्टर मिलानविरुद्ध कठिन जित निकालेको छ । समूह ‘एफ’ अन्तर्गत घरेलु मैदानमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले इन्टरलाई २–१ गोलले हरायो । बार्सिलोनाले एक गोलले पछि परेको स्थितिलाई उल्टाएर दुई गोल गरेको थियो ।

बार्सिलोनाको जितमा लुईस स्वारेज नायक बने । दुवै गोल स्वारेजले गरेका थिए । इन्टरका लागि लौटारो मार्टिनेजले गोल गरेका थिए । खेलमा सुरुवाती अग्रता इन्टरले लिएको थियो । लौटारोले तेस्रो मिनेटमै गोल गरेका थिए । पहिलो हाफमा पछि परेको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गर्यो । स्वारेजले ५८औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि ८४औं मिनेटमा स्वारेजले ब्यक्तिगत दोस्रो गोल थप्दै बार्सिलोनाको जित पक्का बनाएका थिए ।

च्याम्पियन्स लिगान बार्सिलोनाको यो पहिलो जित हो । जितसँगै बार्सिलोनाले दुई खेलबाट चार अंक बनाएको छ । बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमन्डसँग गोलरहित बराबरीमा रोकिएको थियो । एक अंक बनाएको इन्टर तेस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा डर्टमन्डले स्लाभिया पराग्वेलाई उसैको मैदानमा २–० गोलले हराएको छ । जितसँगै चार अंक बनाएको डर्टमन्ड शीर्ष स्थानमा छ । एक अंक बनाएको स्लाभिया तालिकाको अन्तिममा छ ।

यसैगरी समूह ‘जी’ को खेलमा लियोनले लेईपजिगलाई २–० गोलले पराजित गरेको छ । लियोनको जितमा मेम्फिस डिपेले ११औं र मार्टिन टेरिरले ६५औं मिनेटमा गोल गरे । अर्को खेलमा जेनिट सेन्ट पिटर्सबर्गले बेन्फिकालाई ३–१ गोलले हराएको छ । जितसँगै दुई खेलबाट समान चार अंक बनाएको पिटर्सबर्ग र लियोन क्रमशः पहिलो र दोस्रो स्थानमा छ । तीन अंक बनाएको लेईपजिग तेस्रो स्थानमा छ । बेन्फिकाले अंक जोड्न सकेको छैन ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप