शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता रिजालमाथि भएको आक्रमणको प्रयासबारे मन्त्रीले दिए जवाफ

सोमबार, १३ असोज २०७६, १९ : ५४
सोमबार, १३ असोज २०७६

पोखरा – गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यले शून्य तथा विशेष समयमा उठाएका विषयमा सरकारका सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका छन् । सो अवसरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले तनहुँको रिसिङ गाउँपालिकामा भएको घटनामा सुरक्षाकर्मीले ठूलो मेहनत गरेको बताए । घटनामा दुःख व्यक्त गर्दै उनले सरकारले पर्याप्त मात्रामा सुरक्षा सतर्कता बढाएको तथा सुरक्षाकर्मीले बीचमा बसेर दुवै पक्षबीच झडप हुन नदिएका कारणले त्यहाँ कुनै नराम्रो घटना नघटेको बताए । 

यही असोज १२ गते रिसिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीनेन्द्र रिजाललाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) समर्थक स्थानीयले अवरोध गरेका थिए । 

सो अवसरमा मन्त्री चुमानले गाउँपालिकाको केन्द्रका विषयमा यसअघि वडा नं ६ को ढुङ्गागाडे वा चालिसेमा जहाँ जमीन प्राप्त हुन्छ त्यहीँ राख्ने भन्नेबारेमा स्थानीय तह पुनःसंरचना समितिले सिफारिस गरे पनि पछि गाउँपालिकाले पोखरी भञ्ज्याङमा केन्द्र राख्ने निर्णय गरेपछि रिसिङ्मा असन्तुष्टि देखिएको र शिलान्यासको अघिल्लो दिनदेखि नै विरोध शुरु भएको सदनलाई जानकारी गराएका थिए । 

स्थानीयको असन्तुष्टि र आन्दोलनका बारेमा काङ्ग्रेस नेता रिजाललाई पहिला नै अवगत गराइएको र असन्तुष्ट पक्षले बन्द आह्वान गरेकाले उनी ५ बजे बन्द खुलेपछि मात्र कार्यक्रम स्थलमा पुगेर भवन शिलान्यास गरेको मन्त्री चुमानले जानकारी दिए । प्रदेशका १६ स्थानमा प्रहरी चौकी स्थापना गर्ने योजना रहेकामा १५ वटामा काम अघि बढेको तथा एउटाको जमीन प्राप्तिमा ढिलाइ भएको उनले बताए ।

बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई छुट्टै सिटको व्यवस्था गरेर भाडामा ५० प्रतिशत छुट दिइएको बताए ।

प्रदेश राजधानी लगायतका मुख्य शहरका सडक वर्षायामको पानीले खाल्डाखुल्डी भएकाले चाडपर्वलाई मध्यनजर गरी छिटो ममर्तका लागि पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिइसकिएको उनले जानकारी दिए ।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले विदेशबाट मल आयात गर्नुपर्ने बाध्यता रहेको तथा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमार्फत वितरण गर्ने गरिएको जानकारी दिँदै हिउँदे मौसमका लागि दशैँ÷तिहारका बीचमा पुनः मल वितरण गरिने बताए ।

मुस्ताङबाट पोखराका लागि भित्रिएका भेडा, च्याङ्ग्राको परीक्षण गरी स्वस्थताका लागि मन्त्रालयले प्राविधिक परिचालन गरेको जानकारी दिँदै उहाँले भदौ २९ देखि असोज ११ सम्म म्याग्दीको बेनी हुँदै १५ हजार ५३५ भेडा, च्याङ्गा पोखरातर्फ भित्रिएको जानकारी दिए ।

सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरामा महामारीका रुपमा फैलिएको लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग नियन्त्रण उन्मुख रहेको जानकारी गराए ।

गत वर्ष ५७१ बिरामी फेला परेकामा यस वर्ष हालसम्म दुई हजार ३५५ जना प्रभावित बनेको जानकारी दिँदै उनले भदौ महीनामा प्रतिदिन १११ जनाका दरले सङ्क्रमित फेला परेकामा असोजयता दैनिक ३४ जनामा देखिएकाले रोग नियन्त्रणउन्मुख रहेको उल्लेख गरे ।

बैठकको शुरुआतमा प्रदेशसभा सदस्य दोबाटे विश्वकर्माले विशेष समय माग गरी हिजो तनहुँमा काङ्ग्रेस नेतामाथि दुव्र्यवहार भएको र शिलान्यासमा रोक लगाएर कम्युनिष्ट पार्टीका कार्यकर्ताले आतङ्कित पारेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा गत वर्ष माघ ८ गतेसभामा प्रस्तुत भई माघ १४ गते दफावार छलफलका लागि विधायन समितिमा पठाइएको ‘प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ समितिका सभापति मोहनप्रसाद रेग्मीले प्रतिवेदनसहित सभामा प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही असोज १४ गते दिनको १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप