मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

युवतीसँग मोहित  युवकको कल्पनाः हेर्नुस् सांगितिक नाटकका २३ तस्बिर

मङ्गलबार, ३१ साउन २०७४, १६ : ५२
मङ्गलबार, ३१ साउन २०७४

काठमाडौँ–अनामनगरस्थित मण्डला नाटकघरको प्रेक्षालय सांगीतिक प्रस्तुतिले  गुञ्जायामान भएको छ । मण्डलामा ‘को १ छ छ १ छ’  सांगीतिक नाटक साउन २७ गतेदेखि मञ्चन भैरहेकोे छ । आधा सुर भनेर चिनिने संगीतकार रोशनराज थापाको कथा, परिकल्पना तथा निर्देशनमा तयार  भएको सांगीतिक नाटकमा संगीत निर्देशन पनि उनैले गरेका हुन् । 


नाटकको आलेख सिजन दाहालले तयार पारेका हुन् । लेट्स इन्टरटेनमेन्टको उत्पादनमा बनेको यस नाटकलाई जिरो सर्कल इन्टरटेनमेन्ट्सले प्रस्तुत गरेको छ ।
एउटा छोटो दुरीको यात्रामा एक युवकमाथि घटेको घटना र उक्त घटनाका कारण उसले भोगेको मानसिक उथलपुथललाई समेटेर बनाइएको छ, नाटक ।


ग्रामिण भेगको युवकले आफ्नो एक  दिवसीय बस यात्रामा एउटी युवती भेट्न पुग्छ । युवतीको सुन्दरताबाट प्रभावित भएर युवकले बसभित्रै अर्को काल्पनिक यात्राको उडान भर्छ । आफ्नो प्रणय–आकांक्षालाई युवतीसामु प्रकट गर्ने उपायहरुको खोजीमा भौतारिएको युवकले कल्पनाका कस्ता कस्ता तहहरु कसरी पार गर्छ भन्ने कुरा नाटकको केन्द्रिय विषय हो । सांगीतिक नाटक भएकोले यसमा गीतसंगीतको प्रधानता छ भने संवादहरुको विरलै प्रयोग गरिएको छ । 


सरुभक्तका गीतरचना प्रयोग गरिएको नाटकमा प्रत्यक्ष संगीत दिन आधा सुरका साथमा दीपक श्रेष्ठ, दीक्षित अधिकारी र निरज रेग्मी रहेका छन् । नाटकमा नम्रता केसीको कोरियोग्राफी, इन्जिनियर अनिल कार्कीको मञ्च विधान र उमेश तामाङको प्रकाश परिकल्पनालाई देख्न सकिनेछ । 


नाटकको निर्माण परिकल्पना लेट्स इन्टरटेनमेन्टका बिकाश बुढाथोकीले  गरेका हुन् भने यसमा रुपेश खनालको मञ्च व्यवस्थापन रहेको छ । प्रचार सामग्रीहरु अशेष लुईंटेलले तयार पारेका हुन् । साउन नाटक भदौ १७ गतेको दिनसम्म नियमित मञ्चन हुनेछ । नाटक मञ्चनको समय साँझ ५ः३० बजे राखिएको छ भने शनिवार दिउँसो १ बजेको अतिरिक्त प्रदर्शन समेत रहनेछ । 


नाटकका कलाकारहरु युवा पुस्तामाझ लोकप्रिय नवोदित रंगकर्मी हुन् । नाटककी मुख्य अभिनेत्री निशा कार्कीले यसअघि नाटक सिरुमारानीबाट दर्शकको मन जितेकी थिइन् 


नाटकका अन्य कलाकारहरु रियर राई, आयान खड्का, मिलन कार्की, रोहित पौडेल, अनुप न्यौपाने, पुष्कर कार्की र सागर दाहाल पनि रंगमञ्च र चलचित्रहरुमा उदाइरहेका नामहरु हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप