शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकमको पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकलाई थप सुविधाः एक अर्कामा निःशुल्क भ्वाइस कल

मङ्गलबार, ३१ साउन २०७४, १६ : ३५
मङ्गलबार, ३१ साउन २०७४

काठमाडौ– नेपाल टेलिकमले जीएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकका लागि उपलब्ध गराउँदै आएको कर्पोरेट युजर ग्रुप (सीयूजी) सुविधालाई रि–प्याकेज गर्दै नयाँ महसुल दर निर्धारण गरेको छ । यो सुविधा साउन ३१ गते देखि शुरु भएको र आगामी कात्तिक २७ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ । 

सीयूजी सुविधा प्रयोग गरी एउटै सीयूजी प्याकेज अन्तर्गत रहेका कर्पोरेट ग्राहकले अब एक अर्कामा निःशुल्क रुपमा असीमित भ्वाइस कल गर्न सक्ने छन् । साथै कर्पोरेट युजर ग्रुप वाहेक नेपाल टेलिकमकै नेटवर्क भित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न र डाटा चलाउन पाइने छ । कम्पनीले कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी कर सहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराएको जनाएको छ ।

सबैभन्दा सस्तो प्याकेज ४ सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस अन्तर्गत सीयूजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने छ । त्यसैगरी ७ सय रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ । यो वाहेक १ हजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३ सय रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६ सय रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइने जनाएको छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ । 

जीएसएम पोष्टपेड कर्पोरेट ग्राहकलाई लक्षित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जीएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने जनाइएको छ । कर्पोरेट हाउसले आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने जनाएको छ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप