शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भिजिट नेपाल २०२० : यस्ता छन् नुवाकोटका पर्यटकीय गन्तव्य

आइतबार, १२ असोज २०७६, १७ : ०७
आइतबार, १२ असोज २०७६

नुवाकोट । भिजिट नेपाल ट्वान्टी ट्वान्टीका लागि नुवाकोटले तीव्र तयारी थालेको छ । प्रादेशिक क्षेत्र प्रदेश नम्बर ३ अन्तर्गतको ऐतिहासिक जिल्ला नुवाकोटले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्न आफ्नो क्षेत्रबाट पहल थालेको हो ।

 पर्यटन वर्ष २०२० लाई सफल पार्न र ऐतिहासिक नुवाकोटमा बढीभन्दा बढी पर्यटक भित्र्याउन यतिखेर नुवाकोट लालायित भएको छ । त्यसैको तयारीमा यतिखेर नुवाकोट प्रादेशिक सरकार तथा स्थानीय निकाय, स्थानीय होटल तथा पर्यटन व्यवसायीहरु एकजुट भएका छन् । 

गत शुक्रबार विश्व पर्यटन दिवसको अवसर पारेर जिल्लाको सदरमुकाम विदुरमा भिजिट नेपाल २०२० को एक बहस नै चलाइएको थियो । होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल प्रदेश ३ को आयोजना र स्थानीय सरकार विदुर नगरपालिका नुवाकोटको सहआयोजना सञ्चालित उक्त अन्तिर्क्रिया कार्यक्रममा ऐतिहासिक धरोहर नुवाकोटले भिजिट नेपाल २०२० को अधिकतम फाइदा उठाउनुपर्ने आवाज उठेको छ । 
राजधानी काठमाडौँसँग जोडिएको जिल्ला तर प्राकृतिक, सांस्कृति एवं धार्मिक तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण नुवाकोट पर्यटकीय दृष्टिकोणले अब्बल रहेको भन्दै यसको प्रचार प्रसार र प्रवद्धर्नमा लाग्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । 

नेपाल एकीकरणको उद्गमविन्दु नुवाकोटलाई ऐतिहासिक जिल्ला मानिन्छ । 

पृथ्वी नारायण शाहले नेपाल एकीकरणको पहिलो सुरुवात नुवाकोट जिल्लाबाटै गरेका थिए । पहिलो र दोस्रो आक्रमणबाट पराजित भएका शाहले तेस्रो पटक वि.सं. १८०१ मा आक्रमण गरी नुवाकोटमाथि विजय हासिल गरेका थिए । 

जितपछि नुवाकोटमा दरबार बनाई पृथ्वी नारायण शाहले गोरखा र नुवाकोटलाई राजधानी बनाएका थिए । २४ वर्ष नुवाकोटबाटै राज्य सञ्चालन गरेका थिए । पछि यही दरबारबाट काठमाडौँ, कीर्तिपुर लगायत अन्य राज्यहरुको आक्रमणको योजना बनाई शाहले राज्य एकीरण गर्दै अएका थिए । हालसम्म पनि नुवाकोटमा पृथ्वी नारायण शाहले निर्माण गरेको सात तले दरबार पुरानै अवस्थामा रहेको छ । जुन दरबार अहिले पुनर्निर्माणको चरणमा छ ।  

पृथ्वी नारायण शाहको पालादेखि नै ऐतिहासिक रहन सफल नुवाकोटमा अथाहा प्राकृतिक तथा एतिहासिक धरोहरहरुले जिल्लालाई पर्यटकीय नगरी बनाएको स्थानीय प्रदेश सरकार सांसद केशव पाण्डेले बताएका छन् । यसै पर्यटकीय सम्भावनाहरुलाई उपयोग गर्दै नुवाकोटले बढीभन्दा बढी लाभ लिनुपर्ने उनको भनाइ छ । 

‘नुवाकोट प्राकृति, धार्मिक, सांस्कृति तथा ऐतिहासिक रूपमा सम्पन्न छ । यसले पर्यटन व्यवसायको प्रचुर सम्भावना देखाउँछ । हामीले यसको भरपुर उपयोग गर्न सक्नुपर्छ । पाण्डले भने, ‘भिजिट नेपाल २०२० लाई लक्षित गरेर जाने हो भने पनि त्यसको फाइदा नुवाकोटले पछिसम्म लिइरहन सक्छ । २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा २० लाखको १० प्रतिशत पर्यटक मात्र पनि नुवाकोटमा भित्र्याउन सकियो भने यसले जिल्लाको अर्थतन्त्रमा ठूलो उपलब्धि ल्याउँछ ।’

पाण्डेका अनुसार २० लाखको १० प्रतिशत अर्थात् २ लाख पर्यटक भित्र्याउने गरी जिल्लाले त्यसको तयारी थाल्न आवश्यक छ ।

अन्तर्क्रियामा पर्यटन प्रवद्र्धनलाई नै जोड दिँदै पूर्व युवा तथा खेलकुद मन्त्री तथा नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित सङ्घीय सांसद हितबहादुर तामाङले पर्यटकीय दृष्टिकोणले जिल्ला समुन्नत भए पनि व्यवसायमा भनेपछि परेको बताए । राजधानीसँग जोडिएको तर प्राकृतिक, धार्मिक सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुले भरिपूर्ण क्षेत्रमा अवसर पाएर पनि उपयोग हुन नसकेको उनको भनाइ थियो । 

‘हामीसँग के छैन । प्रकृतिले दिएको सुन्दर हराभरा उच्च पहाड, नजिकै टल्कने हिमाल, चारैतिर देखिने अग्ला पहाड, थुम्की, पाटी भञ्ज्याङ, प्रख्यात धार्मिक स्थलहरु । पुर्खाले चलाएका रीतिरिवाजहरु । त्यसमाथि अझ हामीसँग सिङ्गै युग बोकेको ऐतिहासिक धरोहरहरु छन् ।’ तामाङगले भने, ‘हामीसँग कमी छ त केवल इच्छिाशक्ति र प्रचार प्रसारको । अब हामीले नुवाकोटलाई विश्वमा चिनाउनु पर्छ । भिजिट नेपाल २०२० त्यसको गतिलो उपाय हुनसक्छ ।’

तामाङले राजधानीसँग नजिकै रहेर पनि र विकासका प्रचुर सम्भावना नै सम्भावना भएर पनि नुवाकोटको विकास हुन नसक्नुमा पूर्वाधारको विकासमा गम्भीर नहुनु आँैल्याएका छन् । राजधानीसँग जोड्ने मूल सडक बाटोसहित तीनवटै वैकल्पिक बाटोको प्रसङ्गलाई लिँदै उनले आफूले ठूलो पहल गर्दा समेत सरकारी काम प्रक्रिया र ठेकेदारको बदमासीले असहयोग भएको बताए । 

‘काठमाडौँ–छहरे बाटो सुधारका लागि अर्थमन्त्रालयसँग म आफैले बजेट माग गरे । बजेट आउने बेला २७ करोड प्रस्ताव गरिएकोमा १ करोड मात्र दिने भनिएछ । पछि म आफै मन्त्रीकोमा गएर बजेट बढाइदिन आग्र गरे ।’ तामाङले भने, ‘तत्कालीन अर्थमन्त्री वर्षमान पुनले थप २ करोड थपेर बजेट ३ करोड पु¥याइदिए । तर सरकारी प्रक्रियाअनुसार रकम आउन ढिला भयो । आउँदा बर्खा लागिसकेपछि काम गर्न सकिएन ।’
यता नुवाकोट जिल्ला, स्थानीय तह विदुर नगरपालिका, उद्योग वाणिज्य सङ्घ, व्यापार व्यवसायी लगायत अन्य निजी क्षेत्रहरुले समेत समग्र नुवाकोटको पर्यटन प्रवद्र्धनमा सडक पूर्वाधार नै प्रमुख चुनौती विषय भएको औँल्याएका छन् । यो समस्याको शीघ्र व्यवस्थापन हुनुपर्नेमा उनीहरुको जोड रहेको छ । 

भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रममा समग्र नेपाल र नुवाकोटको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले अन्तर्क्रिया कार्यक्रम राखिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल प्रदेश ३ का अध्यक्ष सन्तोष उप्रेतीले बताएका छन् । होटल व्यवसायमार्फत पर्यटन प्रवद्र्धनमा नेपाल सरकारलाई सक्दो सहयोग गर्नेसमेत उनले प्रतिबद्धता जनाएका छन् । नुवाकोटबाट अभियानका रूपमा थालिएको यस कार्यक्रम प्रदेशका बाँकी रहेका अन्य १२ जिल्लामा पनि सञ्चालन गरिने यसै कार्यक्रममार्फत उप्रेतीले जानकारी गराएका छन् ।

‘पर्यटन उद्योग वा पर्यटन व्यवसायसँगै होटल व्यवसाय पनि जोडिएर आउँछ । यो क्षेत्र बिना पर्यटन व्यवसायलाई विकास एवं विस्तार गर्न सकिँदैन । त्यसैले पर्यटन प्रवद्र्धनमा हाम्रो उपस्थिति महत्त्वपूर्ण छ ।’ उप्रेतीले भने, ‘भिजिट नेपाल २०२० लाई सफल पार्न हामी नेपाल सरकारलाई सहयोग गर्न तयार छौँ । हामी हाम्रा पाहुनालाई स्वागत सत्कारसहित व्यवस्थित खानपान गराउँछौँ । तर हाम्रो एउटै आग्रह छ, सरकारले हामीलाई सोही किसिमको वातावरण बनाइदेओस् ।’

नुवाकोटका प्रमुख पर्यटकीय गन्तव्यहरु
 

नुवाकोट दरबार क्षेत्र
नुवाकोट सात तले दरबार नुवाकोटको एक महत्त्वपूर्ण चिनारी हो । वि.सं. १८०१ मा नुवाकोट विजय गरेपश्चात आफ्नो एकीकरणलाई निरन्तरता दिने उद्देश्यले तात्कालीन राजा पृश्वीनारायण शाहले ललितपुरका कालीगढहरुको सहयोग लिई यो दरबारको निर्माण गरेका थिए । निकै कलात्म तरिकाले निर्माण गरिएको विशाल नौतले दरबार आज पनि वास्तुकलामा देशै अनुपम नमुना मानिन्छ । पहिले नौ तलामा रहेको यो दरबार वि.सं १९९० सालको महाभूकम्पले क्षति पुर्याई सात तलामा सीमित भएको थियो । हाल वि.सं. २०७२ सालमा आएको विनासकारी महाभूकम्पले यो दरबारलाई पुनः क्षति पुर्याएको छ । अहिले यसको पुनर्निर्माण कार्य भइरहेको छ । 


यस क्षेत्र पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण रहेको छ । यस दरबारको वरपर भक्तपुरे राजाको दरबार, ललितपुरे राजको दरबार, शीतलपाटी, कोतघर जस्ता विभिन्न दर्शनीय स्थलहरु छन् । यस क्षेत्रमा रहेको मल्लकालीन रङ्गमहल दरबार पनि यस क्षेत्रको थप आकर्षण हो । 
 

बेलकोटगढी
नुवाकोटको ऐतिहासिक स्थलहरुमध्येको एक हो बेलकोटगढी । पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोटमाथि आक्रमण गर्नका लागि यो गढीको निर्माण गरेका थिए । पृथ्वीनारायण शाहले तत्कालीन बेलकोटका राजा जयन्त रानालाई काटेर सो ठाउँमा जयन्तको शरीरलाई गाडी गढीमै उनको सम्झना र चिर शान्तिको लागि काठको मौलो गाडेका थिए । सो मौलो आजसम्म पनि देख्न सकिन्छ । हाल यो गढीलाई चारैतिर ढुङ्गाको पर्खाल लगाएर माथिल्लो भागको मध्य भागको मध्यभागमा श्री निरञ्जना भगवती मन्दिर स्थापना गरिएको छ ।

दुप्चेश्वर महादेव
दुप्चेश्वर महादेव नुवाकोट जिल्ला सदरमुकामदेखि करिब ४० किमि उत्तरपूर्वमा पर्छ ।  धार्मिक दृष्टिकोणले अति नै महत्त्वपूर्ण यस मन्दिरमा दर्शन गरेपछि निःसन्तान दम्पतीको सन्तान हुने र मनोकामना पूरा हुने जनआस्था रहेको छ । यहाँ हरेक वर्ष मङ्सिर पूर्णिमाको दिन विशाल मेला लाग्ने गर्छ । उक्त रात यस मन्दिरमा जिल्लाभित्र र जिल्लाबाहिरका भक्तजनहरुको भीड लाग्ने गर्छ । 
 

सागरकुण्ड
समुद्र सतहदेखि २९१५ (दुई हजार नौ सय पन्ध्र) मिटर उचाइमा पर्ने सागरकुण्ड धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थल हो । काठमाडौँदेखि बूढानीलकण्ठ हुँदै गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने यस कुण्डको पर्यटकीय आकर्षण भनेको यस कुण्डमा न त कतै पानीको स्रोत भेटिन्छ न त कुनै निकास नै । जनैपूर्णिमाको दिन गोसाइँकुण्ड जान नसक्ने भक्तजनहरु यस कुण्ड गए उत्तिकै फल मिल्ने जनआस्था रहेको छ । 
ककनी
राजधानी काठमाडौँदेखि जम्मा २७ किलोमिटरको मात्र दूरीमा रहेको ककनी पर्यटकीय दृष्टिकोणले निकै आकर्षक मानिन्छ । यो क्षेत्र प्राकृतिक सौन्दयले भरिपूर्ण छ । समुद्र सतहदेखि करिब २०३० किमिको उचाइमा रहेको ककनी यस जिल्लाकै थोरै रमणीय प्राकृतिक सम्पदाहरुमध्ये पर्छ । उच्च भूवनोटको कारणले यस स्थानबाट नुवकोट जिल्लाको लिखु फाँट लगायत थुप्रै होचा भूभागहरुका साथै लाङ्टाङ, गौरीशङ्कर, मनास्लु, गणेश हिमाललगायत थुप्रै हिमशृङ्खलाहरुको देख्न सकिन्छ । यस क्षेत्रमा हिउँदमा पिकनिक जाने र रमाइलो जमघठहुनेहरुको भीड लाग्ने गर्छ । 

त्यस्तै, अन्यमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय दृष्टिकोणले निकै आकर्षक मानिएको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रहरुमा शिवपुरीमा अवस्थित सूर्यचौर, चिम्टेश्वर, भैरमकोट, भैरवी मन्दिर, बेत्रावतीको उत्तरगयाधाम, देवीघाटको जालपा मन्दिर, राम मन्दिर रहेका छन् । सांस्कृतिक रीतिरिवाज र चालचलनमा समेत नुुवाकोट सम्मपन्न रहेको छ । यहाँ मनाइने गाईजात्रारलाखे नाच, सिन्दुरेजात्रा, माघेसङ्क्रातिको गोरु जुधाउने जात्रा लगायतका पर्वहरु समेत प्रख्यात छन् । 


    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप