केन्द्रीय संस्करण
संस्मरण

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस्

दुवै ‘सम्मान’को किन भयो अल्पायुमै यस्तो दु:खद् अवशान ?

person explore access_timeअसोज १२, २०७६ chat_bubble_outline1

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ?

सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?

यी पंक्ति महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो सर्वाधिक प्रिय खण्ड काव्य मुना मदनमा मुनाको मृत्युले शोकाकुल मदनको मुखबाट बकाएका छन् । म भने तामाको मुना जस्ता आफ्ना दुइ प्रिय ‘सम्मान’/ सम्मान उलक र सम्मान भट्टको अल्पायुमै भएको अस्वाभाविक अवसानमा यी पंक्ति लेखिरहेछु ।

ईश्वरप्रति मदन र मेरो एकै छ गुनासो, एउटै छ प्रश्न । ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ?...

***

शोकमा परेका मान्छेहरुलाई नरोउ भन्दिन म । आँशुले थोरै भए पनि दु:ख पखाल्छ जस्तो लाग्छ । म आफैँ पनि यत्तिखेर दुखद् संयोगको पीडाले आक्रान्त छु । आफुलाई हल्का पार्न मात्र मैले यो लेखेको हुँ । त्यसैले यसमा मेरो नितान्त व्यक्तिगत अनुभब स्मरण छ, मेरो एक साथी र एक नातेदारसँगको संगत र उनीहरुको अथाह शोकका बारेमा । मान्छेका सङ्घर्ष, सम्बन्ध र समवेदनाजस्ता विषयप्रति रुचि वा चासो छ भने मात्र यो आलेख पढ्नु होला ।

***

आयामेली कवि बैरागी काइँलाको एउटा चर्चित कविता छ, ‘हाट भर्ने मानिस’ । कवि काइँला लेख्छन्:

मलाई झण्डै छोएर जाने

पर.... पुगिसकेको कालो मोटरसित

मृत्यु, आज जिन्दागीको छेवैनिर भएर गयो !

सानो दुर्घटनाको खुद्रा पैसाले पनि नकिनेर,

यो जिन्दागी

मृत्यु, आज बजारबाट खाली हात गयो !

कविताको पंक्तिमाजस्तै ‘सम्मान’हरुको हकमा पनि भइदिएको भए कति राम्रो हुन्थ्यो ! दु:खको कुरा नियतिलाई त्यस्तो मन्जुर भइदिएन ।

उसो त कवि कोष्ठभित्र लेख्छन्:

(हो, मृत्यु त सम्मान हो ! )

तर, यहाँ ‘सम्मान’हरुको मृत्यु भएको छ र त्यसको शोक र सन्तापले एकातिर कैयौँ मन आँशुका भवसागरमा डुबिरहेका छन् भने अर्कोतिर कैयौँ मुटुहरु जलिरहेका छन् ।

कविताका पंक्ति ‘सम्मान’हरुका सन्दर्भमा ठ्याक्कै उल्टो भए पनि शीर्षक भने उनीहरुकै लागि राखेसरह भएको छ । सम्मान उलक र सम्मान भट्ट दुवै हाट भर्ने मानिसजस्तै यो धर्तीमा झुलुक्क आए र फेरि विलोप भए ।

सम्मान उलकको २० वर्ष पुग्न ५० दिन बाँकी हुँदै र सम्मान भट्टको २० वर्ष २५ दिनमा इहलीला समाप्त भयो ।

दुवै सम्मान होनहार थिए, प्रतिभाशाली पनि त्यस्तै । शायद, ईश्वरले पनि असल मान्छे नै खोजेर लैजान्छन् कि !? हिजो सम्मान उलकको पाँचौं वार्षिकी थियो भने आज सम्मान भट्टको तेह्रौँ पुण्यतिथि हो ।

मेरो प्रार्थना छ: दुवै सम्मानका आत्माले मोक्ष प्राप्त गरुन् ।

***

पत्रकारिताको प्रारम्भिक संघर्षमै थिएँ म ।

प्रजातन्त्र पुनर्स्थापना गर्न आयोजना हुन लागेको जनआन्दोलनलाई सघाउने ध्येयले २०४६ पुस २२ गतेदेखि हामी चारजना (रामचन्द्र भट्टराई, प्रेम तिवारी, विश्वेश्वर कट्टेल र म ) मिलेर समालोचना दैनिक प्रकाशन प्रारम्भ गरेका थियौँ । त्यसले जनआन्दोलनलाई सघाउनसम्म सघायो । समालोचना दैनिक सय दिनको हुँदा नहुँदै मुलुकमा प्रजातन्त्र पुनर्स्थापना पनि भयो ।

‘प्रजातन्त्र र प्रेसको आयु बराबर हुन्छ’ भनिन्छ । तर, निरङ्कुश पंचायती कालमा प्रकाशन प्रारम्भ गरिएको समालोचना दैनिक पुनर्स्थापित प्रजातन्त्रमा हामीले चलाउन सकेनौँ, केही महिनामै त्यो बन्द भयो ।

सबै साथीहरु आआफ्नै बाटो लागेपछि म पनि त्यतिखेर सबैभन्दा व्यवस्थित ढङ्गले प्रकाशित साप्ताहिक पत्रिका जनमंच म्यागेजिनमा जागिर खान गएँ ।

श्रीमती र दुइ छोरासहित ताहाचलमा बस्थें म । हो त्यही बेला, एकदिन हाम्रो कोठामा आइपुगे गोरखाको तान्द्राङ आमचौरका तोयानाथ भट्ट ।

तोया मेरा साला हुन् । मेरी श्रीमतीका सातजना हजुरबुबा । उनी कान्छाको नातिनी, तोया माइलाको नाती । चार बर्षमा आमा र पाँच बा गुमाएका टुहुरा तोया विविध कारणले बिद्यालय शिक्षा पूरा नगर्दै कलकत्ते लाहुरे बनेका थिए । अब काठमाडौँमै केही गर्ने उद्देश्यले आएका रहेछन् उनी ।

उनी आफन्तको आधार खोज्दै हामीकहाँ आएका थिए भने मेरी श्रीमतीको पनि सात भाइ खलकका ४४ जना दाजुभाइमध्ये टुहुरा तोयाप्रति विशेष स्नेह थियो/ छ । संयोगले हामी बसेकै घरमा एउटा कोठा खाली भएकाले उनी त्यहीँ बसे ।

‘काठमाडौँमा केही गर्न’ कि पुँजी चाहिन्थ्यो, कि शैक्षिक योग्यता । ती दुवै तोयासँग थिएन । शैक्षिक योग्यता नभएकाले कतै जागिरका लागि प्रयास गरिदिन मिलेन, बन्दव्यापारका लागि पुँजी हालिदिन हामी आफैँ पनि येनकेन आफ्नो गुजारा चलाइरहेका थियौँ । तर, जहाँ इच्छा त्यहाँ उपाय भने झैँ तोया आफैले काम खोजे छन्- इन्द्रचोकको एक पसलमा कमिशनमा सारी बेच्ने ।

केही महिनामै तोयाले राम्रै कमाइ गर्न थाले । उनले आफ्नी श्रीमती सीता भट्टलाई पनि काठमाडौँ झिकाए । त्यसपछि उनीहरु र हामी ताहाचलकै अर्को घरमा डेरा सर्‍यौं । हामीले एउटै छानामुनि रहेर आआफ्नै जीवन संघर्ष गर्‍यौँ ।

***

मेरो एउटा साथी छन्, सुरेशमान उलक । लायन्स क्लबमा आबध्द समाजसेवी हुन् उनी । लायन्स क्लब अफ सामाखुशीको पूर्व अध्यक्ष । सुरेशको खास परिचय चाहिँ छपाइ क्षेत्रका उम्दा डिजाइनर हो ।

फोटोग्राफीका सौखिन सम्मान  उलक केएमसी कलेजमा स्नातक अध्ययनरत थिए । 

छपाइसम्बन्धी कामकै सिलसिलामा प्रेम नामका एक दाइले चिनजान गराइदिएकोले हो कि, हाम्रो सम्बन्ध सेवा प्रदायक र सेवाग्राहीको जस्तो कहिल्यै रहेन । झन्डै तीन दशकदेखि हामी दाजु भाइ सरह रहँदै आएका छौं । उनी मलाई नाम नलिइकन ससम्मान ‘डाइ’ भन्छन् र उनलाई म सस्नेह सुरेश मात्र भन्छु ।

भक्तपुर थातथलो भएका सुरेशसँग मेरो परिचयको तारतम्य जुटेको चैं भक्तपुर नै थातथलो भएका भरत जंगमका कारण हो । कालान्तरमा ‘राजावादी’ भएका भरत जंगम पंचायतकालमै ‘कालो सूर्य’ उपन्यास लेखेर चर्चित थिए । चीनबाट सामान आयात गरेर होलसेल व्यापार पनि गर्ने जंगम नेपाली आवाज साप्ताहिकका प्रकाशक थिए ।

नेपाली आवाज साप्ताहिकका सम्पादक थिए मेरा मित्रहरु यादव थपलिया र तारानाथ दाहाल । खै किन हो, दुवैजना सम्पादक थिए ।

मैले जनमंचमा काम गरेको वर्ष दिन पनि भएको थिएन । समालोचना दैनिकका प्रकाशक / सम्पादक रामचन्द्र भट्टराईले केही ‘मित्र’हरुले राम्रै लगानी गरिदिने भएका छन्, व्यवस्थित तवरले समालोचना फेरि प्रकाशन गरौँ भन्ने प्रस्ताव गर्नु भयो । जनआन्दोलनको बेला त्यति लोकप्रिय भएको समालोचना दैनिकले जीवन पाउँछ भने ठीकै छ नि त भनेर मैले जनमंचको जागिर छोडिदिएँ । तर, लगानी गरिदिने भनेका उहाँका ‘मित्र’हरु पिरेत पाराका परेछन् । व्यवस्थित तवरको त कुरै छोडौँ, जेनतेन ढङ्गले समेत तिनले तीन महिना पनि समालोचना चलाउन सकेनन् । वास्तवमा त्यो रामचन्द्र भट्टराई र मलाई मात्र हैन, समालोचना दैनिकप्रति नै धोका थियो ।

समालोचना दैनिक फेरि बन्द भएपछि प्रकाशक किशोर सिलवालले मलाई जनमंचमै आउ भन्नु भएको थियो । तर, एकपल्ट छोडेको ठाउँमा फेरि जान मलाई कस्तो कस्तो लागिरहेको थियो । त्यहीबेला, मेरा मित्रद्वय यादवजी र ताराजीले नेपाली आवाजमा डाक्नु भएकाले २०४८ पुस १ गतेदेखि मैले त्यहाँ काम सुरु गरें । तर, प्रकाशक जंगम व्यापारको सिलसिलामा चीनमा हुनुभएकाले मेरो सेवा सुविधा तय भएको थिएन ।

नेपाली आवाज साप्ताहिक हरेक शुक्रबार प्रकाशित हुन्थ्यो । पुस ५ गते प्रकाशित भयो । पुस १२ गते पनि प्रकाशित भयो ।

पुस १४ गते नेपाली आवाजको बिजुली बजारस्थित कार्यालयमा म पुग्दा दुवै सम्पादक आइपुगेका थिएनन् । झन्डै दुई घण्टा कुरेपछि यादवजी र ताराजी दुवै रातोपिरो अनुहारसहित आइपुगे ।

भएछ के भने- अघिल्लो दिन काठमाडौँ आइपुगेका प्रकाशक जंगमले यादवजी र ताराजी दुवैलाई बिहानै फोन गरेर आफ्नो घरमा डाकेर सोध्नु भएछ, ‘आज राष्ट्रले के उत्सव मनाइ रहेको छ ?’

साथीहरुले स्वाभाविक जवाफ दिएछन् ‘श्री ५ महाराजधिराज वीरेन्द्रको शुभजन्मोत्सव !’

‘तपाईंहरुलाई थाहा त रहेछ, अनि हाम्रो पत्रिकामा महाराजधिराजलाई शुभकामना टक्राएको खै त ?’

दुवै सम्पादकले भुलवश छुटेको जवाफ दिएछन् ।

शुभजन्मोत्सवका बेला नेपाली आवाज साप्ताहिकमा पत्रिकाको ‘मास्टर हेड’सँगै ‘एयर प्यानल’मा महाराजधिराजलाई शुभकामना टक्राउने चलन रहेछ । पुस १२को अंकमा त्यो साँच्चै भुलवश छुटेको थियो । 

त्यो भुल मात्र नभई अक्षम्य गल्ती भएको बताउँदै प्रकाशक जंगमले मुख्य समाचारप्रति समेत आपत्ति प्रकट गर्नुभएछ ।

साथै उहाँले मेरो नाम लिएर ‘त्यो गणतन्त्रवादी’लाई किन ल्याएको भनेर पनि आपत्ति जनाउनु भएछ ।

नेपाल कम्यनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले संविधानसभाको माग गर्दै निकाल्नु भएको प्रेस वक्तव्यलाई आधार बनाउँदै त्यो मुख्य समाचार मैले लेखेको थिएँ ।

प्रकाशक र सम्पादकद्वयबीच चर्काचर्की चर्किएपछि मेरा दुवै मित्रले त्यहीँ राजीनामा गरेर आएका रहेछन् । र, बाटोमै के पनि अठोट गरेछन् भने पुस १९ गते शुक्रबार ‘साप्ताहिक नेपाल आवाज’ बजारमा ल्याएर भरत जंगमलाई ‘देखाइदिने’ !

म त के भन्नु न के भन्नु भएँ । सोचें, 'मेरो त १०/१२ दिनको निमेक मात्र गुमेको छ, मेरा मित्रहरुले मेरोसमेत कारणले सम्पादक पद छोडेर आएका छन्, त्यसैले मैले यिनलाई साथ दिनैपर्छ ।'

हामी युध्दस्तरमा पत्रिका प्रकाशनको तयारीमा जुट्यौं । यादवजी र ताराजीले आवश्यक रकम जोहो गर्ने हुनुभयो । मैले पत्रिका प्रकाशनको प्राविधिक बन्दोबस्त गर्ने जिम्मा लिएँ ।

त्यहीबेला हो, मेरो सुरेशसँग चिनापर्ची भएको । बागबजारको भक्तपुर मिनिबस पार्कनेर एउटा सानो कार्यालय बनायौँ र एउटा सानो टीम पनि । त्यहींस्थित काठमाडौँ कम्प्युटरमा पत्रिकाका सामग्री टाइप हुने भयो । तर, त्यहाँ ‘पेज मेकिंग’ प्रविधि थिएन । त्यसैले ‘ए फोर साइज’मा ‘प्रिन्ट’ गरेको सामग्री कुनै ‘आर्टिष्ट’ले ‘कट पेष्ट’ गरेर पेज तयार पार्नु पर्थ्यो ।

मैले आफ्नु समस्या छपाइसम्बन्धी पूरापूर ज्ञान भएका गोरखापत्रमा काम गर्नु हुने प्रेम तिवारी दाइलाई बताएँ । उहाँले मलाई क्षेत्रपाटीमा समा आर्टका सुरेशसँग भेटाएर समस्या समाधान गरिदिनु भयो ।

हामीले पुस १९ गते शुक्रबार नेपाल आवाज साप्ताहिक बजारमा ल्याएरै छोड्यौं !

खै भरत जंगमले त ‘देख्नु’ भयो कि भएन ? थाहा भएन । तर, आवेगमा सुरु गरिएको त्यो पत्रिकाको भविष्य मैले चाहिँ देखिनँ । त्यसैबीच जनमंचका प्रकाशक किशोर सिलवालले मलाई फेरि पनि बोलाउनु भएकाले पाँचौं अंक प्रकाशित भएपछि नेपाल आवाज छोडेर म जनमंचमै फर्किएँ !

मैले व्यहोरेका प्रकाशकहरुमध्ये किशोर सिलवाल सर्वाधिक भलादमी र सज्जन लागेको छ । उहाँ मलाई असाध्यै माया गर्नुहुन्थ्यो, प्रोत्साहित पनि त्यस्तै । तर, श्याम गोयन्काले कान्तिपुर दैनिक सुरु गर्नु हुने भएपछि दोश्रोपल्ट पनि दश महिनामै जनमंच साप्ताहिक छोडें । त्यतिखेर मैले माया गर्ने प्रकाशकसँगै रहनुभन्दा व्यावसायिक पत्रकारिताको थालनी हुन लागेको कान्तिपुरमा सामेल हुनु युगिन दायित्व ठानेको थिएँ । मंसिरमा म कान्तिपुर गएँ, फागुन ७ बाट कान्तिपुर राष्ट्रिय दैनिकको विधिवत प्रकाशन प्रारम्भ भयो ।

***    

रामराजाप्रसाद सिंह १४ वर्ष लामो पटना प्रबासपछि स्वदेश फर्कने हुनुभयो २०५१ सालमा ।

राजाको सक्रिय नेतृत्वको निर्दलीय पंचायती कालमै गणतन्त्र नेपालको वकालत गर्नुहुने रामराजासँग म एक दशकदेखि प्रत्यक्ष-परोक्ष राजनीतिक सानिध्यमा थिएँ ।

प्रखर गणतन्त्रवादी नेता थिए रामराजाप्रसाद सिंह । उनी सम्पन्न जमिनदार परिवारमा जन्मेर पनि सादगी जिन्दगी बिताउने गान्धीवादी नेता थिए भने राजनीतिक कार्यनीतिमा चेग्वेभाराका अनुयायी ।

निर्दलीय पंचायत विरुध्दको वैधानिक संघर्ष फलिभूत नभएपछि २०४२ साल असार ६ गते रामराजाको नेतृत्वमा जनवादी मोर्चाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र नारायणहिटी राजदरबारसहित देशका विभिन्न भागमा बम विस्फोट  गराई क्रान्तिको विगुल फुकेको थियो ।

त्यसै अभियोगमा पञ्चायती राज्यसत्ताले रामराजालगायत मोर्चाका चारजना नेतालाई मृत्युदण्डको फैसला सुनायो । उहाँहरू भूमिगत हुनुभएकाले त्यो सजाय कार्यान्वयन गर्न भने सकेन । तर, २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि पनि रामराजासहितका जनवादी नेताहरुको सजाय खारेज गरिएन । त्यसैले मोर्चाले २०४८ सालको आमनिर्वाचनमा भाग लिएन । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार बनेपछि मात्र आममाफी दिइएको थियो ।

हो, यस्तो पृष्ठभूमिमा २०५१ साल असारमा रामराजा खुल्ला राजनीतिमा आउने हुनुभयो । उहाँकै सुझावमा पत्रकारितामा प्रवेश गरेको मैले ‘गुरुभेटी’ स्वरूप एउटा सानो किताव प्रकाशन गरिदिने निर्णय लिएँ: ‘हाम्रो प्रस्तावना गणतन्त्र नेपाल स्थापना’ । 

त्यो पुस्तकमा भूमिकाबाहेक मेरो केही सिर्जना थिएन । जनवादी मोर्चाका भूमिगतकालीन प्रेस वक्तव्यहरु, प्रजातन्त पुनर्स्थापनापछिको पहिलो प्रतिनिधिसभाका सांसदहरुलाई राजतन्त्र हटाई गणतन्त्र नेपाल उदघोषका लागि गरिएको आग्रहलगायतका दस्तावेज पुस्तकमा समावेश थिए । साथमा नूतनधर शर्मा र मैले जनवादी मोर्चाका अध्यक्ष रामराजा र उपाध्यक्ष खेमराज ‘मायालु’सँग लिएको दुइटा अन्तर्वार्ता पनि त्यसमा संग्रहित थियो ।

गणतन्त्र शब्द नै २०४२ को बम विष्फोटभन्दा खतरनाक ठानिने त्यो समयमा ‘हाम्रो प्रस्थावना गणतन्त्र नेपाल स्थापना’ पुस्तक टाइप, लेआउट र छपाइको जिम्मेवारी समा आर्टका सुरेशमानले लिइदिए । र, आफ्नी सानी छोरी मनीषाजस्तै चिटिक्क परेको पुस्तक तयार पारिदिएका थिए । 

***

नेपाल आवाज र त्यो पुस्तकको कामपछि सुरेश र मेरो मित्रता घनिष्ठ बनेको थियो । क्षेत्रपाटीतिर पुग्दा म सुरेशकोमा पसेकै हुन्थेँ, कहिल्यै बाटो काट्दिनथें ।

त्यसरी नै एकदिन म समा आर्ट पुग्दा उनीहरुको परिवारमा एक बालक थपिइसकेको रहेछ । मैले पैसा दिएर नयाँ मान्छेको मुख हेरेँ र मन्जुलाई सोधेँ, ‘छोराको नाम के राख्यौ ?’

सुरेशले उछिनेर भन्यो, ‘लौ, बरु ‘डाइले नै एउटा राम्रो नाम राखी डिनोस् !’

छोरीको नाम आमाको नामको सुरुको अक्षरबाट राखिएकोले मैले बाउको नाम सुरेशमान र उनीहरुको कम्पनी समा आर्टसँग पनि मिल्दोजुल्दो हुन्छ भनेर ‘सम्मान’ नाम सुझाएँ । सुरेश र मन्जु दुवैले ‘गज्जब नाम’ भनेर स्वीकारे, मेरो पनि नाक घिरौँला जत्रै भयो ।

***      

तिनताकाकै कुरा हो, म कान्तिपुरको समाचार सम्पादक र ‘नाइटडेस्क’ प्रमुख दुवै थिएँ । ‘डेस्क क्लोज’ गर्नै लागेको बेला मेरी श्रीमतीले फोन गरिन् ।

अहिलेजस्तो हैन, त्यतिखेर मोबाइल त के फोन पनि दुर्लभै थियो । हाम्रोमा फोन थिएन, आपतविपत पर्दा छिमेकीको फोनले काम चलाउने गर्थ्यौँ । त्यति राति फोन गर्नुको अर्थ हुन्थ्यो, केही आपत पर्नु । हो नै रहेछ, श्रीमतीले आत्तिदै भनिन्: तपाईं आइहाल्न पर्‍यो, यहाँ सीतालाई व्यथा लाग्न थालिसक्यो ।’

तोया काम बिशेषले आफ्नो घर गोरखा गएको थियो ।

कान्तिपुरको स्टाफ बोक्ने गाडी लिएर म डेरामा पुगेँ र त्यसैमा राखेर सीतालाई अस्पताल पुर्‍यायौँ । सीताले छोरी पाइन् ।

'लज्जा' उपन्यासकी लेखिका तसलिमा नसरिन त्यतिखेर साह्रै चर्चित थिइन् । मैले सीता र तोयाको छोरीको नाम तसलिमा राख्न सुझाएँ । उनीहरुले स्वीकारे पनि । तर, उच्चारण तसिना भनेर गरे ! अर्की छोरी जन्मँदा आफैँले नाम राखेछन्- नविना ।

त्यसपछि जन्मिएको छोराको नाम भने मैले नै राखिदिएको हुँ ।

न्वारानमा टीकोटालो सकिएपछि तोयाले भन्यो: भिनाजु, तपाईंले राखिदिनु भएको ‘तसिना’ नाम कस्तो ‘युनिक’ छ, हामीले राखेको ‘नविना’ नाम त ‘कमन’ रहेछ । छोराको न्वारनमा जुरेको ‘भानुभक्त’ नाम राम्रो भए पनि अलि पुरानो खाले भयो । त्यसैले ‘युनिक’ नाम राखिदिनुस् न !’

मैले ‘सम्मान’ नाम राख्दा सुरेश र मन्जु खुशी भएको झ्वाट्ट सम्झेँ र मलाई पनि त्यो नाम राम्रो लागेकाले फ्याट्टै भनें: सम्मान भट्ट राखौँ बाबुको नाम ।’

सीता र तोयाले पनि औधी मन पराए ‘सम्मान’ नाम ।

सम्मान भट्ट  इस्लिङ्टन कलेजमा बीबीए अध्ययनरत थिए । 

***

२०७० सालको कुरा हो । म अन्नपूर्ण पोष्ट दैनिकको सम्पादक थिएँ, सम्मान उलक मलाई भेट्न अनामनगर अफिसमा आयो । उसले असोज २ गतेका लागि निर्धारित इन्द्रजात्राको रथ निर्माणको क्रममा भएको दुर्घटनाको तस्विर खिचेर ल्याएको रहेछ ।

मैले फोटोग्राफी शाखा प्रमुख राजेश गुरुङलाई बोलाएर त्यो घटनाको तस्विर हाम्रा सहकर्मीले खिचे नखिचेको सोधेँ । राजेशले भन्यो, ‘त्यो घटना ‘मिस’ भएको छ दाइ, सम्मानले ल्याएको तस्विर प्रथम पृष्ठमा छाप्न उपयुक्त हुन्छ ।’

फोटोग्राफीको शौखिन सम्मान उलक संवेदनशील स्वभावको थियो । साँस्कृतिक गतिविधिमा रुची राख्थ्यो भने प्रकृतिप्रेमी पनि थियो । छोराको रहर पूरा गर्न सुरेशले अन्नपूर्ण सर्किट लगायतका स्थानमा आफूसँगै ट्रेकिंग गराएका र राम्रा राम्रा लेन्ससहित निकोनको डीएसएलआर क्यामेरा किनिदिएका थिए ।  

त्यो भेटमा मैले सम्मानलाई भनेको थिएँ, ‘मैले तिम्रो नाम ‘सम्मान’ राखे पनि समाजमा आफ्नो नाम राख्ने काम गरेर त्यो नाम सम्मानित तुल्याउने काम चाहिँ तिम्रो नै हो । तिमीले त्यो लक्षण देखायौ, स्याबास सम्मान !’

प्रत्युत्तरमा उसले 'हजुरहरुको माया र आशिर्वाद पाइयो भने नाम राखिहाल्छु नि' अंकल भन्यो ।

सम्मान उलकलाई ‘क्रेडिट’ दिएर त्यो तस्विर भोलिपल्टको अन्नपूर्ण पोष्टको प्रथम पृष्ठमा छापियो ।

२०७१ सालको असोज १४ गते बिहानै सुरेश र मेरो साझा साथी भरत शर्माले फोन गरेर सुरेशलाई ‘बज्रपात’ परेछ नि भने ।

मैले दोहोर्‍याएर सोध्दा उनले भने: ‘सुरेशको छोरोले ‘सुसाइड’ गरेछ दाइ अस्ति ।’

तुरुन्तै दुइभाइ भेटिएर सुरेशको नयाँ बानेश्वरस्थित घरमा गयौँ । हामीलाई देख्नासाथ सुरेशले बरर्र आँशु खसाल्दै भन्यो: ‘सबै खेल खट्टम भयो डाइ, हाम्रो ट संसारै रिट्टियो ।’

छोराको किरिया बसिरहेको एउटा बाउ देख्न पर्दा, त्यसमाथि पनि त्यो पात्र आफ्नै साथी हुँदा कस्तो हुन्छ ? कल्पना गर्नुस् त ! म त्यस्तै अवस्थामा थिएँ, आफैँलाई सम्हाल्न पनि त्यहाँ हम्मेहम्मे पर्‍यो मलाई । मन्जु र मनिषा पनि बलिन्द्रधारा आँसु खसालिरहेका थिए ।

तर के गर्नु, नाट्यकार बालकृष्ण समले लेखेजस्तै ‘सहू सहू सहू सहू, सहनै नसके पनि सहू’को त्यहाँ विकल्प थिएन ।

***

यो संसार कुमालेको चक्रजस्तै छ, एकदिन टुहुराको पनि दिन फर्किन्छ भनिन्छ । यो भनाइ तोयामा हुबहु लागू भएको थियो । ४ वर्षको उमेरमा आमा र बाउ ६ महिनाको बीचमा गुमाएको एउटा टुहुराले शुन्य पुँजीबाट काम शुरु गरेर राम्रो आर्थिक हैसियत बनाएको थियो । बोली र ब्यबहारले ग्राहक रिझाएर उसले आफ्नै दुइटा पसल बनाएको थियो । मोटरसाइकल, गाडी, घर, घडेरी सब जोडेको थियो र तीनजनै छोराछोरी हुर्काएर राम्रोसँग पढाइ लेखाइ गराएको थियो ।

तोयालाई सम्पत्तिबाट मात्र हैन, सन्तानबाट पनि सुखसन्तोष थियो । छोरीहरु तसिना र नबिन दुवै धार्मिक स्वभावका छन् भने छोरा सम्मान ‘जेन्टल म्यान’ थियो । पढाइमा उम्दा, साह्रै सज्जन र व्यावहारिक । पढाइबाट उब्रेको समय ऊ पसलमा बसेर बाउलाई सघाउँथ्यो ।   

मेरी श्रीमती र म गत फागुनमा अमेरिका जानुअघि केही पिस सारी किन्न मासंगल्लीस्थित तोयाको पसलमा गएका थियौँ । पसलमा केही कामदारसहित सम्मान नै रहेछ । उसैले दिदीलाई ठूलो बुट्टाभन्दा सानो बुट्टावाला सारी लगाउँदा राम्रो देखिने सुझाव दियो, मेरी श्रीमतीले उसकै सुझाव बमोजिमका सारी किनिन् ।

हामी अमेरिकाबाट फर्केको एक साता मात्र बितेको थियो । रुघाखोकीले सताएर घरमै सुतिरहेको थिएँ म । भदौ ३१ गते राति एउटा फोन आयो, सम्मान भट्ट दुर्घटनामा परेर बनस्थली ढुंगेधारास्थित साइबाबा अस्पतालमा छ भनेर ।

त्यो अस्पतालनजिकै चक्रपथको अन्नपूर्ण चोकमा एउटा बसले उसको मोटरसाइकललाई ठक्कर दिएको रहेछ । छातीमा गाडीको चक्काको दाग बाहेक अन्त कतै केही घाउचोट थिएन । मानौं, हामीलाई देख्नासाथ ऊ जुरुक उठेर 'नमस्ते दिदी, नमस्ते भिनाजु, कहिले फर्किनु भयो हजुरहरु' भनेर सोध्न सक्छ !

तर, त्यहाँ सम्मानमाथि जीवनको अन्तिम सत्य लागू भइसकेको थियो । उसको प्राणपखेरु उडिसकेको थियो । बरु, अस्पताल परिसर सीताको बिलौनामा स्तब्ध थियो भने तोया किम्कर्तव्यविमुढ । हामीलाई देख्नासाथ सीताले भनिन्: भिनाजु हामी त सिध्दियौं, तपाईंले नाम राखिदिनु भएको सम्मानलाई दैवले हामीबाट चुडेर लग्यो !’

उफ् जिन्दगी, कस्तो कस्तो दृश्य पनि देख्नुपर्छ !

***

दुवै सम्मानको दुखद् अवसानमा मेरो कुनै गल्ती नभए पनि मलाई ग्लानि भैरहेको छ । के उनीहरुको नाम सम्मान नभएको भए यी ‘ट्राजेडी’ हुने थिएन होला त ?         

उसो त, ‘काल महिमा’ शीर्षक कवितामा कविशिरोमणि लेखनाथ पौड्यालले लेखेका छन्:

भाका,भूल,दया,क्षमा र ममता,सन्तोष जान्दैन त्यो
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो
                    .....

राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो
आयो टप्प टिप्यो,लग्यो,मिति पुग्यो टारेरर्दैन त्यो

सुरेश र मन्जुलाई अनि तोया र सीतालाई म विनम्र आग्रह गर्छु: ‘जे नहुनु पर्थ्यो, त्यो भइसक्यो र अब सच्चिने कुनै सम्भावनासमेत छैन । त्यसैले चित्त बुझाउ ! आखिर संसारमा अजम्बरी केही छैन, कोही छैन र यस्तो वियोग व्यहोर्ने पनि तिमीहरु मात्रै होइनौ ।’

कमेन्ट

  1. Sept. 29, 2019, 3:34 p.m. किशोर
    उत्कृष्ट लेखनी, साह्रै मार्मीक। दुवै सम्मान प्रति हार्दिक श्रद्धान्जली।
  2.  1 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...