केन्द्रीय संस्करण
धर्म/संस्कृति

महिषासुरमर्द्धिनीको पृथक आइकनोग्राफी

person explore access_timeअसोज ११, २०७६ chat_bubble_outline1

- इनरुवाको गुद्री बजारमा महिना दिन अगाडिबाट महिषासुर बधको मुर्ति बनाउन शुरु हुन्थ्यो । स्कूल जाँदा एक घण्टा अगाडि र फर्कँदा एक घण्टा म कालिगढी हेरेर मुग्ध हुन्थे । घटस्थापनाको दिनसम्ममा मुर्तिमा प्राण नै भए झैँ भव्य देखिन्थ्यो । आक्रामक सिंहमा सवार भव्य सुन्दरी देवीको त्रिशुलले महिषासुरको छातीमा रोपेर रक्ताम्य भएको दृश्य मेरो मथिगंलमा अझै नाच्छ ।

- महिषासुर बधको मिथको विविध स्वरुपको विकासक्रम संगै यसको आइकनोग्राफीमा पनि समयक्रममा परिवर्तन आएको रहेछ ।

- महिषासुरमर्द्धिनीको रुपमा प्राप्त पहिलो प्रस्तर मुर्ति कुषाण साम्राज्य काल अर्थात् लगभग इशाको पहिलो शताब्दी हो । यसमा महिषासुरको मानव स्वरुप छैन । बरु महिष अर्थात भैंसीको नै छ । यसमा देवीले असुरलाई देब्रे हातले ढाडमा थिचेर दाहिने हातले गर्धन निमोठेको आकृती छ । लगभग गुप्त शासनकालसम्म यहि प्रतिक/आइकन प्रचलनमा रहेको देखिन्छ । यस अवधिसम्म पनि देवीको वाहन सिंहको चित्रण छैन । गुप्तकालको आरम्भ तिर टेराकोटा चित्रणमा सिंहको प्रतिक बल्ल देखिन्छ । यसमा सिंह लडाइमा सामेल नभएर देवीको देब्रे पाउ राख्ने पाउदानीको रुपमा छ । यो अवधिमा देवीको हतियारको रुपमा तरवार ढाल बज्र र छोटो त्रिशुलसम्मको विविधता छ । हातहरु चार, छ र आठ सम्म छन । यी कुनै पनि हतियारले महिषासुरको बध गरेको आइकन यो अवधिमा छैन ।

- सन् ४०० देखि भने देवीको हातमा धनुकाँण पनि भिराएको पाइन्छ । साथै महिषासुर बधको तरिका पनि परिवर्तन देखिन्छ। हातमा लामो त्रिशुल पनि यहि समय यता देखिएको हो । जसमा बाह्र हात भएकी देवीले महिषासुरको पुच्छर समातेर लगभग हावामा उचालेको र ढाडमा त्रिशुल रोपेको तथा देवीको दाहिने पाउले महिषासुरको टाउकोमा टेकेको देखिन्छ । यो दोस्रो प्रकारको आइकनोग्राफी हो । त्यस उप्रान्त मध्य र उत्तर भारतमा ११ औँ सताब्दी सम्म यहि प्रकारको प्रतिमा व्याप्त भयो । नेपालमा भेटिएको यस प्रकारको धातु प्रतिमा १९ औँ शताब्दीको हो ।

-उता दक्षिण भारतमा भने महिषासुरमर्द्धिनी आइकनोग्राफीको नयाँ स्वरुपको विकास भयो । सातौँ शताब्दीमा पल्लव साम्राज्यकालको प्रस्तरकलामा पहिलोपटक देवीको दुश्मन भैंसी/राँगो नभएर भैँसीको शीर भएको वलिष्ठ पुरुष रहेको छ । शीरमा मुकुट सहितको महिषासुर विविध रत्न तथा आभूषण सहितको छ ।

- पशुको शिर सहितको महिषासुरको यो प्रतिक हाल सम्म धेरै ठाँउमा प्रचलनमा छ ।

- उडिसामा अझै पनि महिषासुरमर्द्धिनीको पृथक आइकनोग्राफीको प्रचलन छ । जहाँ मृत्यु सम्मुख पुगेको असुरले देवीको योनी चुम्बन गरिरहेको छ !

- देवी र महिषासुरको सम्बन्धमा आएको विकासक्रमको यो उत्कर्ष हो । यस सम्बन्धको विकासक्रमको कारक चाहिँ शैव तथा बैष्णव सम्प्रदायमा शाक्त सम्प्रदायको फैलँदो प्रभाव हो ।

- आरम्भ हुन्छ - देवीको उत्पत्तिका प्रारम्भिक मिथहरु (जहाँ उनको उत्पत्ति ब्रह्मा, बिष्णु, महेश लगायत सबैको देउताको शक्तिको समुच्चयबाट भएको भन्ने छ) लाई ढाकछोप तथा उनको स्वायत्त उत्पत्तिको फुलबुट्टा भर्ने कामसंगै । अनि बिस्तारै देवी र असुरको दुश्मनी लडाइँको सम्बन्ध प्रेम र अनुरागमा विकसित हुन थाल्यो ।

- देवी महात्म्यसम्म पनि महिषस्वरुपको असुरसंग देवीको लडाइँमा कारण दुश्मनी नै छ । शिव पुराण र वामन पुराणमा पनि यो लडाइँ कायम छ । तर पछिल्ला मिथकहरुमा लडाइँको उदेश्यमा फरक छ । दुश्मनीभन्दा पनि प्रेम प्राप्तिका लडेर ज्यान फाल्नु उपयुक्त ठानेर असुर युद्धमा होमिन्छ ।

- वामन पुराणको २० औं अध्यायमा देवी अदभुत सुन्दरताको विस्तृत वर्णन छ । यहाँ असुरले विवाहको प्रस्ताव राख्छ, तर अस्वीकृत हुन्छ । यो प्रसंग देवीभागवतसम्म पुग्दा लम्बेतान भएको छ । महिषासुरले देवीलाई फकाउन कुनै कसर छाडदैन । यहाँ महिषासुर बलिस्ठ , सुन्दर र शक्तिशाली असुरराजको रुपमा चित्रण गरिएको छ ।

- महिषासुर देवीको प्रेममा समर्पित हुने, उनकै शरणमा पर्ने, हतियार बिसाउने तथा अन्य देवतासंगको दुश्मनी समेत भुल्ने बाचा गर्छ ।

- बराह पुराणमा अझ थपथाप हुन्छ महिषासुरको देवी 'क्रेज'मा । केहि मिथकमा उल्लेख भए झैँ असुरसंगको अघिल्ला युगमा भएको युद्धको उल्लेख यसमा छैन । स्वर्गबाट देवतालाई लखेटेको प्रसंग पनि छैन । बरु महिषासुर देवी प्राप्तिका लागि सारा देउतासंग भिड्दै छ ।

- तर देवी मान्दिनन् । खासमा उनको हैसियतले दिंदैन । उनी अड्को थाप्छिन् (वामन पुराण) - युद्धमा हराउनेले मात्रै उनीसंग विवाह गर्न पाउने भन्दै । केही नलागेर देवीले (वामन पुराण) असुरराजको 'महिला मित्र' बन्ने प्रस्ताव राख्छिन् ।

- यो 'होपलेस' प्रेमकथामा अन्तत असुरराज देवीबाट अलग्गिनु भन्दा उनकै हातबाट मृत्यु रोज्छ ।

- यो विकासक्रममा महिषासुर भगवतीको दुश्मनबाट देवीको प्रेममा समर्पित प्रेमी/भक्तको रुपमा स्थापित भएको छ ।

- अब माथि उल्लेखित आइकनको प्रसंग ! देवी पुराणमा असुर अघिल्लो जन्ममा दुन्दुभीको अवतारमा शिवकी पत्नी उमालाई मन परांउछ । डाहाले आगो भएका शिवले आफ्नो तेस्रो आंखाले उसलाई भस्म पार्छन् । उडिसाको परम्परामा देवीको योनी चुम्बनमार्फत् असुरराजले मोक्ष प्राप्त गर्छ ।

- यो प्रेम मिथकले कालिका पुराण (सन १०००) तिर बैधता पाँउछ । जहाँ महिषासुरलाई नै शिवको अवतार अंश मानिएको मिथकको फुलबुट्टा छ ।

- यसरी घुमाईफिराई देवी र महिषासुरको मिलन भैगएछ ।

Homepage Photo: https://www.maadurgawallpaper.comभित्री पेजका तस्विरहरु: लेखककाे फेसबुक पेज

कमेन्ट

  1. Sept. 29, 2019, 3:11 p.m. concrete barrier
    yasto pakhandi lekhak...k bhanna khojya
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...