शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रि–मेनोपज र पेरिमेनोपज भनेर बस्दा क्यान्सर पनि हुनसक्छ’

महिनावारीमा गडबडी भयो ? रक्तश्राव भयो ? जँचाउन ढिला नगरौं
शनिबार, ११ असोज २०७६, ११ : २१
शनिबार, ११ असोज २०७६

डा. निरा सिंह श्रेष्ठ
 

प्रि–मेनोपज


महिलाहरुमा महिनावारी सुक्ने अथवा रोकिने प्राकृतिक प्रकृयालाई रजनोवृत्ति अर्थात् मेनोपज (Menopause) भनिन्छ । उमेर ढल्कँदै गएपछि अर्थात् महिलाको शरीरले बच्चा जन्माउन सक्ने क्षमता गुमाउँदै गयो है भन्ने कुराको संकेत हो– मेनोपज । यस अवस्थामा महिलाको शरीरभित्र गर्भाशयमा अण्डा परिपक्व भएर निस्काशन हुने प्रक्रिया रोकिन्छ । यसलाई हामी अण्डाको उत्पादन बन्द  भएको अर्थमा पनि बुझ्न सक्छौं ।

अण्डाको उत्पादन रोकिनु भनेको अब उसमा सन्तान जन्माउन सक्ने क्षमता पनि सकियो है भन्ने कुराको पनि संकेत हो । यस अर्थमा महिनावारी सुक्नु वा रोकिनु भनेको स्तनपायी प्राणीहरु, जसमा मानिस समेत मुख्यतः पर्दछ, का लागि प्रकृतिले गरिदिएको अद्भूत सुरक्षा व्यवस्था पनि हो ।

मेनोपज हुने उमेर व्यक्तिपिच्छे फरक हुने गर्छ । सामान्यतया महिलाहरुमा ४० देखि ५० वर्षको उमेरमा महिनावारी रोकिन्छ । कतिलाई ४० भन्दा कम उमेरमा पनि रोकिन सक्छ भने, कतिको केही ढिला ६० वर्षसम्म पनि रोकिन सक्ने हुन सक्छ । 

मेनोपजलाई पनि सामान्यतः तीन चरणमा विभाजित गर्न सकिन्छः प्रिमेनोेपज, मेनोपज र पेरिमेनोपज । मेनोपज हुनुभन्दा ठीक अघिको अवस्थालाई प्रिमेनोपज भन्न सकिन्छ । महिनावारी सुकेको अवस्थालाई मेनोपज भनिन्छ । प्रिमेनोपजभन्दा अघि महिनावारीमा देखापर्ने गडबढीदेखि लिएर प्रिमेनोपज, मेनोपज र मेनोपजपछिको पनि निश्चित समयावाधिलाई पेरिमेनोपज भन्ने गरिन्छ । यो अवधि भनेको २ वर्षदेखि १० वर्षसम्मको पनि हुन सक्छ ।

यस हिसाबले हेर्दा पेरिमेनोपज भनेको प्रिमेनोपजभन्दा पहिले महिनावारीमा देखापर्ने गडबडी मुख्य रुपमा पर्ने गर्छ । तर साथसाथै, प्रिमेनोपज, मेनोपजको चरण पनि फेरिमेनोपजभित्रैकै चरणहरु हुन् । मेनोपज भइसकेपछि अर्थात् महिनावारी सुकिसकेपछि पनि निश्चित अवधिसम्म महिलाहरुमा अनियमित रुपमा यदाकदा महिनावारी हुन सक्छ । हो, त्यो चरणसम्मलाई  पनि पेरिमेनोपज नै भनिन्छ । 

महिलाहरुमा आजभोली उमेर अगावै पेरिमेनोपज र प्रि–मेनोपजका समस्याहरु बढी देखिन थालेको छ । अव्यवस्थित जीवनशैली, वातावरण, खानपान, वंशाणुगत दिर्घरोग, हर्मोनल परिवर्तनलगायतका कारण पनि यस्तो हुने गर्छ । प्रि–मेनोपजको अवस्था आउनुको कारण पाठेघरको समस्यालाई लिइन्छ । यसले महिलाहरुलाई आमा बन्नबाट पनि बञ्चित गरिरहेको छ ।

सामान्यत १३–१४ वर्षको उमेरदेखि ४०–५० वर्षको उमेरसम्म महिलाहरुको महिनाबारी चक्र चलिरहन्छ, जुन सन्तानोत्पत्तिको लागि प्रकृतिले निर्धारण गरिदिएकोसामान्य प्रक्रिया नै हो । तर कतिपयलाई समयअगावै जस्तो ३०–४० वर्ष उमेरको बीचमै पाठेघर, गर्भाशयमा समस्या आउँदा महिनाबारीमा गडवडी हुने, रक्तश्राव हुने गर्छ त कतिलाई महिनावारी नै रोकिन्छ पनि । यस्तो समस्याले मुख्य रुपमा सन्तान पैदा गर्न समस्या दिइरहेको छ । 

प्रि–मेनोपजको अवस्था बढी हुनुमा मुख्य त हर्मोनको गडबडी पनि हो । यस्तो अवस्थामा मेनोपज नै हो कि भन्ने लक्षण खासै नदेखिने भएकाले महिलाहरु अलमलमा परेका पाईन्छ । यस्तो समस्या आएमा चिकिसत्सकसँग जँचाउनु नै बढी बुद्धिमानी हुन्छ ।  

पेरिमेनोपज 
महिनाबारी सुक्ने उमेरभन्दा केही वर्ष (५–७ वर्ष) अगाडि नै महिनाबारीको तालिका बदलिन थाल्यो भने त्यो पेरिमेनोपज हुन सक्छ । जस्तैः ४० देखि ५० को उमेरमा सामान्यत महिनाबारी रोकिन्छ तर यदी ३०–३५ को उमेरबाटै महिनाबारी हुनुपर्ने तालिकामा नहुने जस्ता परिवर्तन आउन थाल्यो भने त्यो पेरिमेनोपजको लक्षण हो भन्ने बुझ्नु पर्छ । र, यो भनेको मेनोपजतिरको यात्रा शुरु भयो है भन्ने कुराको संकेत पनि हो ।

पेरिमेनोपजको लक्षणहरु
महिलाहरु मेनोपजको समयमा प्रवेश गर्नुपूर्व पेरिमेनोपजको समयमा हुन सक्छन् । यो समय विशेष गरेर ३० देखि ४० सम्म देखिन सक्छ ।  यदी पेरिमेनोपज हो भने महिनाबारीको समय परिवर्तन हुँदै जाने, स्तनमा दुखाइ महसूस हुने, तौल बढ्ने, कपाल झर्ने, निन्द्रामा समस्या आउने, मुड परिवर्तन भइरहने, टाउको दुखे, यौनइच्छामा कमी आउने, राति अत्यधिक पसिना आउने, मुटुका धड्कन बढ्ने, चिडचिडे हुने, डिप्रेसनको लक्षणहरु देखिने, वैचैन हुने, एकाग्रतामा ह्रास आउने, पिसाबमा संक्रमण हुने, योनी सुख्खा हुने जस्ता लक्षणहरु देखिन थाल्छ । २८ दिनको महिनावारी चक्रमा परवर्तन आई यो लम्बिदै जान पनि सक्छ ।

कतिपय अवस्थामा महिलाहरु महिनाबारी गडबड हुँदा, रत्तश्राव हुँदा, पेट दुख्ने शारीरिक परिवर्त देखिने जस्ता समस्याहरु भएमा पनि प्रि–मेनोपज, पेरिमेनोपज वा मेनोपज भन्दै बस्ने गरेका पाइन्छ । तर त्यो प्रिमेनोपज, पेरिमेनोपज वा मेनोपजका लक्षणहरु जस्तै  लागेपनि त्यस्तो समस्या अरु नै कारणले पनि देखापरेको हुन सक्छ । मेनोपज र अन्य समस्याबारे जानकारी नराख्दा समस्याले गालिसकेको अवस्थामा महिलाहरु अस्पताल पुग्ने गरेको उदाहरण धेरै छन् नेपालमा । महिलाहरु मेनोपजको सुरुवात भनेर बस्दा गम्भीर प्रकारका समस्याले उच्च रुप लिने गरेको छ । यसमा महिलाहरु आफै सचेत हुन जरुरी छ ।  

पेरिमेनोपज भनेर बस्दा अन्य खतरनाक समस्या पनि हुन सक्छ

सामान्यतया पेरिमेनोपजको अवस्थामा महिलाहरुको हर्मोनमा गडबडी हुन्छ जसका कारण विभिन्न लक्षणहरु देखिन्छ । प्रजनन क्षमता राम्रो भएको उमेरमा हर्मोन सक्रिय हुने र प्रजनन क्रियाले राम्रो काम गर्ने गर्छ तर जव प्रजनन क्षमतामा ह्रास आउने समय (मेनोपजको समय)मा हर्मोनमा गडबडी आउन थाल्छ ।

जव हर्मोनमा गडबडी आउँछ तव महिलाहरुमा विभिन्न समस्या जस्तोः रक्तश्राव हुने, तल्लो पेट दुख्ने, मानसिक रुपमा महिला अस्वस्थ हुने जस्ता लक्षण देखिन्छ ।

तर रक्तश्रावलाई मेनोपज हो भनेर मात्रै बस्न भने हुँदैन । कहिलेकाही अरु नै कारणले गर्दा भएको यो गर्भाशयको रक्तश्राव पनि हुन सक्छ । पाठेघरको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, सर्भाइकल क्यान्सर,

ट्यूमर जस्ता समस्या भएमा पनि अस्वभाविक रुपमा रक्तश्राव हुने गर्छ । कहिले काँही गर्भाशयको भित्री तहमा मासु पलाएर पनि रक्तश्राव हुन सक्छ । 

सामान्यत हामी महिनावारी सुक्नलाई होला भनेर हेलचेक्र्याई गरिन्छ । घर परिवार आफन्तले पनि खासै चासो नदिएको पाइन्छ । तर यही रक्तश्राव कुनै खतरनाक रोगको कारण पनि हुन सक्छ भन्ने कमैले मात्र ख्याल गर्ने गर्दछन् । 

हुन त धेरैजसो यस्तो समस्या महिनावारी सुक्नलाई नै हुने भएपनि अरु समस्याका कारण पनि हुने भएकाले विशेष ध्यान दिनुपर्छ ।

कतिपय अवस्थामा क्यान्सरको कारणले पनि रक्तश्राव हुनेभएकाले विशेष ध्यान दिन पर्छ ।

४० वर्ष नाघिसकेपछि महिनावारीमा गडवडी भयो, रक्तश्राव वढी भयो भने जचाउन ढिला गर्नु हुँदैन । हरेक महिलाले ख्याल गर्नुपर्ने अवस्था हो यो ।

रक्तश्रावको कारण विभिन्न भएपनि धेरै रक्तश्राव भएमा शरीरमा रगतको कमी हुने रोग रक्तअल्पता अर्थात् एनिमिया हुन सक्ने सम्भावना धेरै हुने भएकाले समयमै उपचार गराउनुपर्छ ।

गर्भाशयमा रक्तश्राव हुन सक्ने कारण र खतरा
सामान्य अवस्थाका महिलाहरुमा यस्तो समस्या कमै हुन्छ । कहिलेकाहीँ वंशाणुगत रुपमा पनि यो समस्या आउन सक्छ । कसैलाई उच्च रक्तचाप, सुगर, मोटोपना, प्लेटलेटको कमी हुने (रगत जम्न नसक्ने समस्या), हर्मोन खानुपर्नेहरुलाई गर्भाशयमा रक्तश्राव हुन सक्छ । 

त्यसैगरी, महिनावारी पर सार्न औषधीको सेवन गर्ने महिलाहरुमा रक्तश्रावको खतरा बढी हुन्छ । महिनावारी भनेको प्राकृतिक प्रकृया हो र यस्तो प्रकृयामा बाधा पुर्याउँदा अवश्य पनि समस्या आउँछ । यसमा सवैले ख्याल गर्नुपर्ने हुन्छ । 

अर्को पक्ष आपतकालीन गर्भनिरोधक चक्कीको सेवन गर्ने गर्दा पनि गर्भाशयको रक्तश्राव हुने तथा महिनावारीमा गडबडी हुने खतरा बढ्छ ।

कतिमा ४० वर्ष पछि पनि गर्भ रहन्छ भने कतिमा यो सम्भावना कम हुन्छ । कहिलेकाँही ४० नाघेका महिलाहरुले गर्भधारण गर्दा अस्वभाविक रुपमा रक्तश्राव हुने, पेट दुख्ने लगायतका समस्या आउन पनि सक्छ । ४० नाघेपछिको उमेरमा गर्भाधान जोखिमयुक्त हुने भएकाले महिलाहरुले विशेष ध्यान दिन जरुरी छ ।

नेपाल मेडिसिटी अस्पतालमा हरेक दिन जसो १२–१३ जना महिलाहरु गर्भाशयको रत्तश्रावको समस्या लिएर आउने गरेका छन् । यो संख्या अन्य अस्पतालमा पनि उत्तिकै हुन्छ । यसबाट पनि भन्न सकिन्छ कि गर्भाशयको रक्तश्रावको समस्या धेरै नै छ । 

महिलाहरु रक्तश्राव भयो भन्दै अस्पतालसम्म पुग्दा पाठेघरमा ट्यूमरको समस्या धेरैमा देखिने गरेको छ । पाठेघरमा ट्यूमर भएका महिलाहरुलाई भने महिनावारीको समयमा धेरै रक्तश्राव हुने गर्दछ । सुरुको अवस्था भएमा औषधीकै प्रयोगले ठिक हुन्छ भने कतिमा भने ट्यूमरले क्यान्सरको रुप लिईसकेको हुन्छ । यस्तोमा पनि उपचार केही जटिल अवश्य हुन्छ ।

कति महिलालाई पाठेघरमा इन्फेक्सन हुँदा पनि रक्तश्राव बढी हुने गर्छ । कतिलाई रक्तश्राव भएको छ तर पाठेघरमा केही समस्या छैन भने त्यो हर्मोनको गडबडीले हुन्छ । यस्तोमा हर्मोनको उपचार गरिन्छ ।

रोकथाम
रक्तश्राव भएको छ भने पहिलो उपाय भनेको डाक्टरको सल्लाह लिनु नै हो । त्यसपछि समस्याको पहिचान गरी उपचार थाल्नु पर्छ ।

त्यो बाहेर हरेक महिलाले स्वस्थ्यकर जीवनयापनमा विशेष ध्यान दिनुपर्छ । विशेष गरेर महिलाहरु घर, परिवार, बालबच्चा, काम भन्दा भन्दै आफ्नो स्वास्थ्यमा खासै चासो नदिने गर्दछन् वास्तवमा यो निकै खतरनाक हुन्छ । महिलाले झन धेरै स्वास्थ्यप्रति चासो राख्नुपर्ने हुन्छ । 

खानपान, जीवनशैली, रेगुलर स्वास्थ्य परिक्षण लगायतमा महिलाले ध्यान पुर्याउने हो भने भोली आउन सक्ने खतराबाट बेलैमा बच्न सकिन्छ ।

(नेपाल मेडिसिटी अस्पतालकी स्त्री रोग विशेषज्ञ श्रेष्ठसँगको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप