बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माणमा लापरबाही : अस्तव्यस्त सडकले पर्यटक सङ्ख्या घट्यो

शनिबार, ११ असोज २०७६, ११ : ०१
शनिबार, ११ असोज २०७६

लुम्बिनी प्रदेशको नाकैमा पर्ने भैरहवा–लुम्बिनी–तौलिहवा सडक धुलाम्य र हिलाम्य छ । सडकको यो हालत भएपछि लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकमा नकारात्मक असर परेको छ । 

ठेकेदारले लुम्बिनी प्रवेश गर्ने नाकामा अस्तव्यस्त ढङ्गले सडक भत्काउने र समयमै काम नसक्ने गर्दा जसोतसो लुम्बिनी पुग्ने पर्यटकहरू पनि दिक्क मान्ने गरेका छन् । 

सडक राम्रो नभएपछि लुम्बिनी आउने पर्यटकलाई नकारात्मक असर पर्दा पर्यटक सङ्ख्यासमेत घटेको लुम्बिनी विकास कोषका सूचना अधिकारी हरि राईले बताए । 

उनले लुम्बिनी आउने पर्यटक घट्नुको प्रमुख कारण सडक नै भएको दाबीसमेत गरे ।

भ्रमण वर्ष सुरु भएदेखि नै सडक समस्या समाधान गर्न सरोकारवाला निकायहरूले ठेकेदारलाई झकझक्याए पनि उनीहरूले बेवास्ता गरिरहेका छन् ।

लुम्बिनी विकास कोष नजिकै रहेको पर्साचोक र लोकरी चोकसम्म पिच गरे पनि अन्य स्थानका सडक अलपत्र रहेको राईको भनाइ छ ।

निर्माणमा  लापरबाही पनि उस्तै 
भैरहवा–लुम्बिनी–तौलिहवा सडकले लुम्बिनी आउनेजाने पर्यटकलाई जति सास्ती दिएको छ त्योभन्दा बढी निर्माण गरिएको सडकको  गुणस्तरमा लापरबाही भएको छ । आयोजना र परामर्शदाताले फितलो अनुगमन गर्दा भारतीय निर्माण कम्पनी गाँवर कन्ट्रक्सन लिमिटेडले गुणस्तरहीन सामग्री प्रयोग गरेर सडक निर्माण गरिरहेको छ । ठेकेदार पक्षले सडकको बीच भागमा डिभाइडर छुट्याउन प्रयोग गरिने मिडियन कर्ब निर्माणमा लापरबाही गरी गुणस्तरहीन बनाइरहेको छ  ।

निर्माण गरिएको मिडियन कर्ब फुटेर धुजाधुजा भइसकेको छ । ‘मिडियन कर्बका ठाउँमा २५ सेमि लामो र १० सेमि मोटो सिङ्गल पिस कर्बस्टोन राखिनुपर्ने हो तर मेसिनको प्रयोग गरेर सिधै सडकमा मिडियन कर्ब बनाइरहेकोे छ । क्युरिन नगरी बनाइँदा मिडियन कर्ब फुटेर धुजाधुजा भएको छ’, स्थानीय अशोक गुरुङले भने, ‘यस्तो गुणस्तरहीन काम हुँदा पनि जिम्मेवार निकाय मौन छन् ।’

ठेकेदारले केमा दिएनन् ध्यान ? 
आयोजना र परामर्शदाताले फितलो अनुगमन गर्दा भैरहवा–लुम्बिनी–तौलिहवा सडकमा एकपछि अर्को लापरबाही हुने गरेको पाइएको छ । 

सामान्यतः डिभाइडर छुट्याउन कर्बस्टोन प्रयोग गरिने भए पनि यो सडकमा ठेकदारले टीएम मिक्स्चर मेसिन प्रयोग गरेर मिडियन कर्ब बनाइरहेको छ । 

प्रिकास्ट गरेको मेट्रियल प्रयोग गर्नुको सट्टा रोडमा कास्टिङ गरेर क्युरिन गरेको छैन । प्रिकास्ट गर्दा उद्योगमा ३०–१३० टनको मेसिनले च्यापेर तीन हप्ता बढी क्युरिन गरेर कर्बस्टोन बनाइन्छ । तर यहाँ कुनै प्रेसर

(चाप) विनै सिधै मेसिनबाट मिडियन कर्ब बनाइएको छ भने क्युरिन नै गरिएको छैन । सपोर्टका लागि डण्डी प्रयोग पनि गरिएकको छैन । जसले करिब ७ किलोमिटर सडकमा दुवैतर्फ बनाइएको १४ किलोमिटर मिडियन कर्ब फुटेर धुजाधुजा भएको हो ।

‘पाइलैपिच्छे मिडियन कर्ब फुटेको छ, चर्किएको छ । ठेकेदारले धमाधम टालटुल गरिरहेको छ’, स्थानीय विष्णु मसरासिनी आक्रोश पोख्छन्, ‘यस्तो हँुदा अनुगमन गर्ने निकाय कहाँ छ के गर्दैछ ?’ 
२५ सेमि लामो र १० सेमि मोटो कर्बस्टोनका पिस बनाएर राख्दा कारणबस भत्किए, जुन पिस भत्किएको हो, त्यसलाई तुरुन्छ बनाउन सकिन्छ ।

यो सडकमा भने कम्तीमा १५, २० मिटर लामो मिडियन कर्ब बनाइएको छ । यसले गर्दा भत्किइहाले पनि पुनर्निर्माण गर्दा सबै भत्काउनुपर्ने हुन्छ । नेपालमा उक्त मिडियन कर्ब बनाउने मेसिन नभएकाले पछि पुनर्निर्माण गर्दा समस्या निम्तिने इन्जिनियरहरू बताउँछन् ।

सडक सुधार आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाका सूचना अधिकारी इन्जिनियर सागर पोखरेलले निर्माणमा ठेकेदारले गरेका कमीकमजोरी सुधार्दै लैजाने बताए । ‘हामीले गुणस्तर परीक्षण गरिरहेका छौँ । गुणस्तर हेर्ने काम परामर्शदाताको हो । मिडियन कर्ब क्र्याक भएको ठाउँमा परामर्शदाता र ठेकेदारलाई भनेर पुनः बनाउन लगाउँछौँ’, उनले भने । 

उनले गुणस्तर परीक्षणका लागि प्रत्येक १०, २० घनमिटर क्षेत्रफलबाट नमुना लिएर जाँच गरिरहेका दाबी गरे । स्थानीयले भने आयोजनाको दाबी झुट भएको र प्रत्येक १, २ फिटमा मिडियन कर्ब फुटेको बताउँछन् । 
यो सडकमा दुवैतर्फ गरी ३६ किलोमिटर मिडियन कर्ब निर्माण गरिँदै छ । सुरुमा डिभाइडर ५ मिटर बनाउने भनिए पनि अहिले सडक साँगुरो भएको भन्दै तीन मिटर मात्रै बनाइएको छ ।

परामर्शदाताको काम गरिरहेको कोरियन इन्जिनियरिङ कन्सल्टेन्टका गुणस्तर कन्ट्रोल प्रमुख ई. नारायणप्रसाद ढकालले आफूहरूले गुणस्तरमा कमी आउन नदिएको दाबी गरे । उनले भने, ‘केही–केही ठाउँमा मिडियन कर्ब चर्किएको छ । यसलाई तुरुन्त सुधार्छौं । तर गुणस्तरमा कमी आउन दिँदैनौँ’, उनले भने । 

१६ करोड लागत वृद्धि 
सुरुमा भैरहवा–लुम्बिनी–तौलिहवा सडकको ४१ किलोमिटर १३० मिटर लामो सडक आयोजना १ अर्ब ९३ करोडमा सुरुमा ठेक्का सम्झौता गरिएको थियो । अहिले पुनर्मूल्याङ्कन गरी २ अर्ब ९ करोड ८ लाख पुर्याइएको छ । ‘निर्माण सामग्रीको मूल्य बढ्यो । प्राविधिक कुरा पनि केही सुधार गर्नुपर्ने भएकाले पुनर्मूल्याङ्कन गरिएको हो’, सूचना अधिकारी ई. पोखरेलले भने । एडीबीको ऋण लगानीमा बनिरहेको सडक २०७४ असार ३० मा ठेक्का सम्झौता गरी २०७६ पुस मसान्तसम्म सक्नुपर्ने हो ।

तर अहिलेसम्म ५० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ । तौलिहवातर्फ केही किलोमिटर कालोपत्रे गरिए पनि बाँकी सडकमा निर्माण जारी छ । आयोजनाका अनुसार यो सडक भैरहवाको बुद्धचोकदेखि एअरपोर्टसम्म ६ लेन, एअरपोर्टदेखि लुम्बिनी पर्सा चौराहसम्म ४ लेन र त्यहाँबाट तौहिवासम्म २ लेनको बनाइँदैछ । 

प्रदेश सभामा कुरा उठ्छ, काम हुँदैन
भैरहवा–लुम्बिनी सडक निर्माणमा भएको लापरबाहीप्रति प्रदेश सरकार र प्रदेश सभासमेत जानकार छ । प्रदेश सभा बैठकमै सदस्यहरूले यो सडकको अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले बुद्ध जन्मस्थल जोड्ने सो सडक निर्माणमा गम्भीर त्रुटि रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए पनि  सरकारले अहिलेसम्म चासो देखाएको छैन । 

प्रदेशसभा सदस्य फकरुद्धिन खानले भैरहवा–लुम्बिनी सडकको गुणस्तरमा भएको लापरवाहीप्रति विशेष ध्यान दिनुपर्ने बताए । प्रदेश मातहतका आयोजना नभए पनि प्रदेशमा भएका विकास निर्माणमा सरकारको चासो हुनुपर्ने उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप