शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत रुपन्देहीमा १६ वटा योजना छनौट

शुक्रबार, १० असोज २०७६, १४ : ५१
शुक्रबार, १० असोज २०७६

बुटवल– रुपन्देही जिल्लामा शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, कृषि र सिंचाईलाई प्राथमिकतामा राख्दै तराई मधेस समृद्धि कार्यक्रममार्फत १६ वटा योजना छनोट भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत लागू भएको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत रुपन्देहीका ११ वटा स्थानीय तहमा १६ वटा योजना छनोट भएका हुन् ।

सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेसका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्ने उद्देश्यसहित सुरु भएको तराई–मधेस समृद्धि कार्यक्रममा रुपन्देहीमा ६ करोड बढिका योजना छनोट भएका हुन् ।

जिल्लाको बुटवल उपमहानगरपालिकासँगै ५ वटा नगरपालिका र ५ वटा गाउँपालिका गरी ११ पालिकामा १६ वटा योजना छनोट भएका हुन् । छनोट भएका प्रत्येक योजनामा सम्बन्धित स्थानीय तहले पनि कम्तीमा १० प्रतिशत थप लागत सहभागिता जनाउनु पर्नेछ ।

विपन्न, गरिब तथा सिमान्तकृत समुदायको जिवनस्तर माथी उठाउने खालका योजनालाई विशेष प्राथमिकता दिएर छनोट गरिएको छ, तर मंशिर मसान्तसम्म योजना कार्यान्वयको कुनै प्रकृया शुरु नभए उक्त योजना खारेज हुने बताइएको छ । पालिकाहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्य प्रचलित कानुनको परिधिभित्र रही उपभोक्ता समिति वा ठेक्का प्रकृयामार्फत पनि योजनाको काम गर्न सक्नेछन् ।

कुन स्थानीय तहमा कस्ता योजना र कति बजेट ?

तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाको मुक्तिनाथ बाबा धामका लागि ४५ लाख बजेट छुट्टयाइएको छ । त्यसैगरी पद्यम चैत्यविहार धम्म भवन निर्माणको लागि ४५ लाख, ढोडहवा अधुरो बाँध निर्माणका लागि ३० लाख, तिलोत्तमा नगरपालिका वडा नं. ३ स्थित सिमानगर सामुहिक आवास बस्ती विकास कार्यक्रमलाई ५० लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी वडा नम्बर १३ मा रहेको जनता मावि भवन निर्माणका लागि ३५ लाख र वडा नं १ स्थित शंकरनगर वनविहार लाइब्रेरी भवन निर्माणका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं. १, ३,९,१० र ११ मा सिँचाईको बोरिङ जडान गर्न २५ लाख, सियारी गाउँपालिका वडा नं. ३ स्थित बहुउद्देश्यीय हल निर्माणको लागि ३५ लाख, कप्टी सिंचाईको लागि ३० लाख, मैनहिया मावि भवन निर्माणको लाग ३० लाख छुट्याइएको छ ।छनोट भएका अरु योजनाहरुमा गैंडहवा गाउंपालिकामा मुसहरलाई सामुहिक आवासको लागि ५० लाख, मायादेवी गाउँपालिका वडा नं. १ श्रीजन जागृति आधारभूत विद्यालय भवन निर्माण ४० लाख, देवदह नगरपालिका कृषि उपज संकलन केन्द्रको लागि ४० लाख र सम्मरीमाई गाउँपालिका बर्थिङ सेन्टरको लागि २५ लाख रुपैयाँ छुट्याइएको छ । यसैगरी कञ्चन गाउँपालिका मुसहर समुदायको सामुहिक आवास भवन निर्माण ५० लाख छुटाइएको छ । यी सबै आयोजनामा गरी रुपन्देहीमा ६ करोड ३५ लाखका योजना छनौट भएका हुन् ।

तराई मधेस समृद्धि कार्यक्रमका निर्देशक रामहरि शर्माले देशका २२ जिल्लाका २ सय ७७ स्थानीय तह यो कार्यक्रमको कार्यक्षेत्र रहेको जानकारी दिए ।

उनले २२ जिल्लाबाट माग भएर आएका योजनाहरुमध्ये प्राथमिकताको आधारमा ४ सय १९ वटा योजना छनोट गरिएको जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत यो कार्यक्रमको लागि १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको शर्माले बताए । छनोट भएका योजना कार्यान्वयनको लागि सम्बन्धित पालिकाले मंसिर मसान्तभित्रै प्रकृया शुरु गर्नुपर्ने छ । मंसिर मसान्तभित्र योजना कार्यान्वयनको कुनैपनि प्रकृया शुरु नभएको योजना खारेज गरिने कार्यक्रमको कार्यविधिमै उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप