शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जमाल खग्गोसीको हत्याको जिम्मेवारी लिन्छुः साउदी युवराज मोहम्मद बिन सलमान

शुक्रबार, १० असोज २०७६, १३ : १५
शुक्रबार, १० असोज २०७६

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले सार्वजनिक रुपमा पत्रकार जमाल खग्गोसीको हत्याको जिम्मेवारी लिएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मोहम्मद बिन सलमानले गत वर्ष साउदी एजेन्टद्वारा गरिएको खग्गोसीको हत्या आफू हुँदा नै गरिएको हुँदा हत्याको जिम्मेवारी आफैंले लिने बताएका हुन् ।

युवराजले अर्को हप्ता प्रशारण हुन लागेको पिबिएसको एक डकुमेन्ट्रीमा यो कुरा गरेका छन् ।

युवराज सलमानले सार्वजनिक रुपमा आफू इस्तान्बुलस्थित साउदी वाणिज्य दूतावासभित्र भएको पत्रकार जमाल खग्गोसीको हत्याको जिम्मेवारी लिएको यो पहिलो घटना हो ।

सिआइए र पश्चिमी देशको सरकारले साउदी युवराजले नै खग्गोसीको हत्याको आदेश दिएको बताएका थिए तर साउदीका अधिकारीले यो कुरा अस्विकार गर्दै यसमा उनको केही भूमिका नभएको बताउँदै आएका थिए ।

संसारभरी यो हत्याको खबर चर्चामा रहेको थियो र यसका लागि साउदी सरकारको कडा आलोचना पनि भएको थियो ।

Photo: Getty Image

खग्गोसीको हत्यापछि युवराजको छविमा पनि धक्का लागेको थियो । यो हत्याकाण्डपछि संसारका सबैभन्दा ठूलो तेल निर्यातक देश साउदीका युवराजले अमेरिका वा युरोपको भ्रमण पनि गरेका छैनन् ।

युवराजले यो कुरा खग्गोसीको हत्या भएको एक वर्ष पुरा हुनुअघि एक अक्टोबरमा प्रशारण हुन लागेको डकुमेन्ट्रीमा भनेका छन् ।

उनले पिबिएसका मार्टिन स्मिथसँग भने, ‘यो घटना म भएकै बेला घटित भयो । म यसको पूर्ण जिम्मेवारी लिन्छु किनभने यो मेरै पालामा भयो ।’

यो डकुमेन्ट्रीको नाम ‘द क्राउन प्रिन्स अफ साउदी अरेबिया’ हो ।

Photo: Reuters

डकुमेन्ट्रीमा स्मिथले जब मोहम्मद बिन सलमानलाई उनको जानकारी बिना नै कसरी हत्या भयो भनेर प्रश्न सोधियो यसको जवाफमा युवराजले भने, ‘हामी दुई करोड जनता छौं । हाम्रा ३० लाख सरकारी कर्मचारी छन् ।’

स्मिथले युवराजलाई के हत्याराले सरकारको निजी जेट प्रयोग गरेका थिए भनेर प्रश्न सोधे । जवाफमा उनले भने, ‘हामीसँग अधिकारी र मन्त्री छन् जो सबै कामकारवाही हेर्छन् र उनीहरु जिम्मेवार व्यक्ति हुन् । उनीहरुसँग यस्तो गर्ने अधिकार छ ।’

यसअघि साउदीका अधिकारीले जमाल खग्गोसीको हत्याका लागि अरुलाई जिम्मेवार देखाएका थिए ।

सरकारी वकिलका अनुसार तत्कालीन डेप्युटी इन्टेलिजेन्स चीफले खग्गोसीलाई स्वदेश फिर्ता गर्न आदेश दिएका थिए तर उनलाई फिर्ता गर्न सफल नभएपछि मुख्य वार्ताकारले उनको हत्याको आदेश दिए ।

सुरुमा खग्गोसीको साउदी अरबको शाही घरानासँग राम्रो सम्बन्ध थियो तर पछि उनी राजपरिवारको आलोचना गर्न थाले ।

उता, अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले जूनमा रोयटर्ससँगको कुराकानीमा ट्रम्प प्रशासन हत्यामा जिम्मेवार मानिसहरुलाई न्यायको दायरामा ल्याउनका लागि स्पष्ट रुपमा रियादमाथि दबाब बनाइरहेको बताएका थिए ।

साउदी अरबका ११ संदिग्धविरुद्ध गोप्य सुनुवाई भइरहेको छ जसको गती निकै सुस्त छ । संयुक्त राष्ट्रको एक रिपोर्टमा राजकुमार मोहम्मद र अन्य वरिष्ठ साउदी अधिकारीमाथि पनि अनुसन्धान हुनुपर्ने बताएको थियो ।

को थिए खग्गोसी ?

खग्गोसी अमेरिकी अखबार वासिङ्टन पोष्टका पत्रकार थिए र अन्तिम पटक उनलाई २ अक्टोबर २०१८ मा इस्तानबुलमा साउदी दूतावासमा देखिएको थियो ।

रिपोर्टका अनुसार उनको शवलाई टुक्रा पारेर भवन बाहिर पठाइएको थियो ।

हत्याको केही हप्तापछि रियादमा एक लगानी सम्मेलनमा युवराजले यसलाई एक जघन्य अपराध र दुःखद घटना बताउँदै जिम्मेवार व्यक्तिलाई न्यायको दायरामा ल्याउने बचन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप