शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पदावधी थपसँगै प्रधानसेनापति बन्ने रोलक्रममा प्रभुराम शर्मा

शुक्रबार, १० असोज २०७६, ११ : ०३
शुक्रबार, १० असोज २०७६

काठमाडौँ । नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप भएको छ । यससँगै सेनाको भावी नेतृत्वको दौडमा शर्मा अगाडि आएका छन् ।

सैनिक मुख्यालयको सिफारिसमा सेनाका युद्धकार्य महानिर्देशक समेत रहेका शर्माको पदावधि १ वर्ष २ महिना १५ दिनका लागि थप भएको हो ।

शर्माको पदावधि थपको फाइल मन्त्रिपरिषदमा निर्णयका लागि पुगेको थियो । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाली सेनाका उपरथी शर्माको पदावधी थप भएको पुष्टि गरे ।

शर्माको उपरथीमा पदावधी थपसँगै सेनाको भावी प्रधानसेनापति बन्ने बाटो समेत खुला भएको छ ।

उनको उपरथीको तिन वर्षे नियमित पदावधी आगामी कात्तिकमा सकिँदैछ । उपरथीमा पदावधि थपिएसँगै शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीको रुपमा हेरिएको छ ।

उपरथी शर्मा हालका बलाध्यक्षरथी गौरव तण्डुलले रथीबाट आगामी वैशाख १९ मा अवकास पाएसँगै रथीमा बढुवा हुनेछन् । त्यसलगत्तै अर्का रथी शरद गिरीले समेत असार ०६ गते अनिवार्य अवकास पाउनेछन् । 

रथीद्धय गिरी र तण्डुलको अवकाससँगै शर्मा सेनामा प्रधानसेनापति पूर्णचन्द्र थापापछि बरियतामा दोस्रो नम्बरका जर्नेल बन्नेछन् । सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले नेशनल डिफेन्स कोर्स (एनडिसी) भारतबाट गरेका छन् ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसँगै शर्मा उनको ठाउँमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् । उपरथीमा पदावधी थप गरेपछि शर्माको हकमा रथीमा पदावधी थप गर्नुपर्ने अवस्था रहने छैन् । किनभने शर्मा रथी बनिसकेपछि उनको रथीको दुई वर्षे पदावधी २०७८ पुससम्म कायम रहनेछ ।

प्रधानसेनापति थापाले समेत आफ्नो उत्तराधिकारीका रुपमा शर्मालाई नै अघि सारेको सेनाभित्र चर्चा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप