बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दशैंका लागि आइपुग्यो मुस्ताङका च्याङग्रा (फोटोफिचर)

बिहीबार, ०९ असोज २०७६, १८ : ४३
बिहीबार, ०९ असोज २०७६

पोखरा– दशैंमा च्याङ्ग्राको मासु बढी बिक्री हुन्छ । खसीको मासु त ग्राहकले त्यति खोज्दैनन् । पोखराका मासु व्यवसायी कहाँ गयो भने आजकाल यसै भन्छन् ।  च्याङ्ग्रा किन्न व्यापारीहरु कोही मुस्ताङ पुगिसके । कोही उक्लिदै छन् । अरुबेला पनि च्याङग्रा पोखरा नभित्रिने भने होइन । भित्रिए पनि दशैंमा बढी बिक्री हुन्छ । खसिबोका व्यवसायी समितिका निवर्तमान अध्यक्ष तथा मासु व्यवसायी गंगाबहादुर भण्डारीका अनुसार दशैंको छेकोमा खसी, बोकाको बजार त शून्य नै हुन्छ । ‘दशैंमा खसी, बोका त नल्याए पनि हुन्छ,’ उनले भने, ‘सबैले च्याङग्रा नै खोज्छन् ।’

भण्डारीका अनुसार अहिलेसम्म ४ लट च्याङ्ग्रा मुस्ताङबाट पोखरा भित्रिसकेका छन् । यो दशैंमा करिब ३० हजार गोटा च्याङ्ग्रा पोखरा भित्रिन्छन् ।  मुस्ताङबाट बेनीसम्म च्याङ्ग्रा हिडाएरै ल्याइन्छ । बेनीबाट मात्रै च्याङग्रालाई गाडीमा पोखरा ल्याइन्छ । ‘यसो गर्दा च्याङग्रा मर्दैनन्,’ उनले भने, ‘मुस्ताङबाटै गाडीमा ल्याइयो भने च्याङग्राहरु निसासिएरै मर्छन् । त्यसैले बेनीसम्म हिँडाएर, चराउँदै ल्याइन्छ ।’

राम्रो खालको च्याङ्ग्रा त्यस्तै २० देखि २५ किलोग्रामसम्मको हुने उनले सुनाए । ‘स्पेशल च्याङ्ग्रा पर्यो भने २० देखि २५ किलोको हाराहारीमा मासु हुन्छ,’ उनले भने । एउटा च्याङ्ग्राको मूल्य बिक्री गर्दा ३० हजारसम्म पर्छ । महंगै भएपनि दशैंमा च्याङ्ग्रा बढी बिक्री हुने गरेको उनको अनुभव छ ।  

च्याङ्ग्राको मासुमा त्यस्तो के हुन्छ ? हामीले सोध्यौ । किन सबैले च्याङ्ग्राको मासु नै खोज्छन् दशैंमा ? ‘त्यस्तो केही त हुन्न् । हामीले पुस्तौंदेखि खाइरहेको हुनाले पनि वर्षमा एक दिन मिठो हुने हो,’ उनले भने । च्याङ्ग्रा धनीले मात्र खाने चीज हो भन्ने सोच्नु गलत बुझाइरहेको उनको बुझाई छ । 

स्पेशल दिन भनेर पनि दशैंमा च्याङ्ग्रा बढी खोजिने उनको भनाई छ । हिमालबाट ल्याइने हुनाले पनि च्याङ्ग्रालाई फरक रुपमा लिइने उनले सुनाए । ‘अरु केही पनि होइन । हिमालबाट ल्याइने भएकाले फरक रुपमा लिइएको हो । च्याङ्ग्रा पनि हिमालमा पाइने बाख्रा नै हो ।’

भण्डारी २५ वर्षयता पोखरामा मासुको कारोबार गर्छन् । अरु समयमा १० देखि १५ वटा मासिक खसीको कारोबार भए पनि दशैंको समय एउटा पनि खसी बिक्री नभएको अनुभव उनीसँग छ । दशैंमा च्याङ्ग्रा पाएसम्म खसी नखाने उनले सुनाए । 

‘यो त हाम्रो पहिलेदेखि चलेको चलन हो,’ उनले भने, ‘पाएसम्म च्याङ्ग्रा नै बढी खोजिन्छ दशैंमा । च्याङ्ग्राको विकल्पमा खसि आउँछ । नत्र भने च्याङग्रा नै बढी खोजिन्छ ।’ पहिलेको तुलनामा अहिलेको च्याङ्ग्राको मासुको गुणस्तर खस्किएको उनको बुझाई छ । ‘पहिले पो मुस्ताङबाट व्यापारीहरुले १० दिन लगाएर च्याङ्ग्रा पोखरा झार्थे । १ घण्टा हिडाएर ४ घण्टा चराउँथे,’ उनले भने, ‘अहिले त हामीजस्तै पोखरा, काठमाडौंका व्यापारी गएर ४ दिनमै पोखरा झार्नुपर्छ ।’ यसो गर्दा च्याङग्रा बिरामी हुनसक्ने सम्भावना रहन्छ । बीच बाटोमा घाँसपात नखुवाउनाले पनि च्याङग्रा बिरामी पर्ने उनले सुनाए । 

कास्कीपछि कास्की आसपासका जिल्लामा पनि च्याङग्राको लोकप्रियता बढ्न थालेको उनले सुनाए । मुस्ताङबाट पोखरा झरेका च्याङग्रा स्याङजा, तनहूँ, चितवन हुँदै बुटवलसम्म पुग्ने उनले जानकारी दिए । काठमाडौंमा पनि आजकाल च्याङ्ग्राको माग बढ्न थालेको उनले सुनाए । काठमाडौंमा पनि पोखराबाटै च्याङग्रा लैजाने गरिन्छ । खाद्य संस्थानले राजधानीसम्म च्याङ्ग्रा पु¥याउन थालेको छ । 

०७२ साल को भूकम्पपछि संस्थानले राजधानीमा च्याङ्ग्रा पु¥याउन थालेको हो । मुस्ताङबाट बाहिरिएका च्याङ्ग्रा पोखरा आइपुग्दा खान लायक हुन्छन् कि हुँदैनन् । यसबारेमा भूमि व्यवस्था तथा कृषि मन्त्रालय गण्डकी प्रदेशले आइतबारदेखि मात्रै पोखरा भित्रिने च्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्न सुरु गर्ने जनाएको छ ।  मुस्ताङबाट पोखरा झर्ने ३० हजार च्याङ्ग्रामध्ये केही मात्रमा भेडा पनि मिसिने गरेको व्यवसायीहरुले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप