शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडमा नयाँ प्रकारका हिरोको उदय

बिहीबार, ०९ असोज २०७६, १४ : ११
बिहीबार, ०९ असोज २०७६

शोभा डे

ताईं न तुईंका बलिउडका चलचित्रहरुले पनि हामीलाई केही न केही जानकारी दिइरहेका नै हुन्छन् । त्यसैले, समयले भ्याएसम्म र सकेसम्म म नयाँ रिलिज भएका सबै चलचित्रहरु हेर्ने कसरतमा हुन्छु । हो, सबै ।

मल्टिप्लेक्सका टिकट अत्यधिक महँगा हुन्छन् । त्यहाँ एउटा पपकर्नको टबको छिमेकको ढाबामा पाइने अतिप्रिय खानाको भन्दा पनि उच्च मूल्य पर्छ । त्यसकारण त्यति पैसा खर्च गरेपछि त चलचित्र हेर्दा कम्तिमा पनि ‘पैसा वसुल’ होस् भन्ने मेरो चाहना हुन्छ । र, साँच्ची भन्नुपर्दा मैले आफ्नो निर्णयमा कहिले पनि पछुतो मान्नु परेको छैन ।

भाग्यवश, मैलै हालै दुईवटा नयाँ फिल्म हेर्ने मौका पाएँ । दुबैमा आयुष्मान खुराना मुख्य भूमिकामा थिए । एउटा फिल्म इस्टोनियाबाट फर्किरहेका बेला हेरेँ भने अर्को हाम्र्रै छिमेकमा भएको निकै राम्रो मल्टिप्लेक्समा । मैले ‘अन्धाधुन’ फिल्म रिलिज भएपछि हेर्न छुटाएको थिएँ । लुफ्थान्सा इन्फ्लाइट इन्टरटेन्मेन्ट मेन्युमा यो फिल्म फिचर भएको देख्दा कम्ता खुसी लागेन ।

अर्को फिल्म ‘ड्रिम गर्ल’ प्रति म आकर्षित हुनुको पहिलो कारण फिल्मको पोष्टर थियो जसमा आयुष्मानले लजाउँदै सारी लगाएको देखाइएको थियो । ‘ओ हो... यो फिल्ममा उनले नायकको रुपमा अर्को जोखिम मोलिरहेका  छन्,’ मैले आफैसँग कुरा गरेँ । र त्यसमा मैले आत्मविश्वास र बुद्धिमत्ता देखेँ । अन्धाधुनमा उनले एक दृष्टिविहीन पियानिष्टको भूमिका निर्वाह गरेका छन् जो एक अस्पष्ट हत्यामा संलग्न हुन्छन् जुन उनले गरे नगरेको स्पष्ट छैन ।

*****

पारम्परिक हिरोले अब आफ्नो करियरबारे पुनर्विचार गर्नुपर्छ, त्यो पनि जतिसक्दो छिटो ।

*****

ड्रिम गर्लमा उनले एक क्रस ड्रेसरको भूमिका निभाएका छन्– निकै रुचाइएका ‘रामलिला’ कलाकारको । सीता र द्रौपदीको भूमिका निभाएर सबैको मनमस्तिष्कमा बस्न सफल कलाकार । यससँगै उनको अर्को गिग भनेको पूजा नामको युवती बन्नु हो । पूजा एक कल सेन्टर ‘युवती’  हुन् जसले अबेर राती एक्ला पुरुष (एक महिला) लाई फोन यौनसेवा प्रदान गर्छिन् ।

तीमध्ये कति उनका नियमित ग्राहक उनलाई प्रेमसमेत गर्न थाल्छन् । यहाँ आयुष्मानले आफूभित्रको महिलालाई नक्कली स्वरमार्फत् उजागर गर्छन् र श्रोतालाई झुक्याउँछन् । दर्शकलाई प्रभावित गर्नका लागि यी दुई पात्रसँग ‘एक्स फ्याक्टर’ हुनै पर्छ । ३० करोडको लगानीमा बनेको ड्रिम गर्ल सय करोड बेन्चमार्कमा अघि बढ्यो जसले बलिउडमा नायकको ब्राण्डको महत्त्व निर्धारण गरेको छ । यो फिल्मअघि आयुष्मानका अन्य पाँच फिल्म लगातार हिट भए ।

मेरो विचारमा आजकालका फिल्मको सबल पक्ष भनेको विषयवस्तु नै हो । यौनिकताका विभिन्न प्रकार आजकाल पछुतोको विषय होइन भन्ने कुरा चलचित्रमा प्रस्तुत गर्न थालिएको छ । मुलधारका सिनेमामा यौन आचरणका विभिन्न अभिव्यक्ति विस्तारै प्रवेश हुँदैछन् । यी विषय यस्तो समयमा प्रवेश भइरहेका छन् जब कसैले पनि यी विषयलाई वास्ता गरिरहेका थिएनन् ।  ‘ड्रिम गर्ल’ ले समलिङ्गीप्रति भय पैदा गरेको भन्दै अत्यधिक आलोचना खेप्नुपर्‍यो । तर, नायकले क्रस ड्रेसर र पूजा नाममार्फत् महिला बन्न खोज्नु नै नयाँ विषय जन्माउनु हो । यसको अर्थ यो पनि हो कि पारम्परिक हिरोले अब आफ्नो करियरबारे पुनर्विचार गर्नुपर्छ, त्यो पनि जतिसक्दो छिटो ।

*****

खानहरुले बक्स अफिसमा राज गर्ने युगको अन्त्य भएको छ, जुन राम्रो हो । आजकालका फिल्म हेर्ने दर्शकलाई फिल्ममा खान छन् कि छैनन्, त्यो मतलब छैन जबसम्म फिल्मको विषयवस्तु रोचक र आकर्षक छ । फिल्ममा आइटम गीत राखेर दर्शक तान्ने दिन पनि सकिए । फिल्मको लोकेशन विलासी शहरबाट पोखिएर भारतका साना गल्लीमा आइपुगेका छन् । मुम्बईका गगनचुम्बी भवनभित्र के हुन्छ, त्यसबारे कसैलाई चासो छैन ।

*****

आयुष्मान र विक्की कौशल जबरजस्ती बलिउड फिल्मको मुलधारमा प्रवेश गरे (यस्ता घटना एक दशकमा एक पटक हुन्छ), भिन्न विषयवस्तु रोजे, एकपछि अर्को हिट दिए, नयाँ जनरा (genre) को उत्पत्ति गरे । ‘आउटसाइडर’ ले यत्तिको सफलता पाउनु भनेको दर्शकको रुची परिवर्तन भइरहेको छ भनेर बुझ्नुपर्छ । आशा गरौँ, चल्तीका सुपरस्टारमाथि  मोटो रकम खर्च नगर्ने यो नयाँ ट्रेन्डबारे थाहा पाउन बलिउड पनि बाध्य हुनेछ ।

यद्यपि, बलिउडमा अत्यधिक खर्च गर्ने सञ्जय लिला भंसालीहरुका लागि सधैँ स्थान रहिरहनेछ, तर फ्यान्टेसी फ्याक्टरले खानहरु मात्र ताक्ने ओल्ड–स्कूल फर्मुलाबारे पुनर्विचार गर्नैपर्छ । मलाई लाग्छ, खानहरुले बक्स अफिसमा राज गर्ने युगको अन्त्य भएको छ, जुन राम्रो हो । आजकालका फिल्म हेर्ने दर्शकलाई फिल्ममा खान छन् कि छैनन्, त्यो मतलब छैन जबसम्म फिल्मको विषयवस्तु रोचक र आकर्षक छ । फिल्ममा आइटम गीत राखेर दर्शक तान्ने दिन पनि सकिए । फिल्मको लोकेशन विलासी शहरबाट पोखिएर भारतका साना गल्लीमा आइपुगेका छन् । मुम्बईका गगनचुम्बी भवनभित्र के हुन्छ, त्यसबारे कसैलाई चासो छैन । मेट्रोको जीवन, ग्वालिवर अथवा वारानासी अथवा इन्दोरका जीवनले दर्शक तानिरहेका छन् । फिल्मका स्टारभन्दा स्क्रिप्टले मानिसहरुको ध्यान खिचिरहेको छ । एउटा यस्तो स्क्रिप्ट जसले नयाँ भारतको मुड पक्रेको छ, जसले पुराना परम्परालाई हल्लाएको छ, जसले परिवर्तन आत्मसाथ गरेको छ । हाम्रो देशमा घटित यस्ता वास्तविकता हामी हेर्न चाहन्छौं । यदि ठूला बजेटका फिल्म निर्माताले यी विषय उठान गर्ने आँट गरेनन् भने यहाँ असाधारण विषयवस्तुमा जुवा खेल्ने थुप्रै अाँटिला जवानहरु छन्, र अब उनीहरुले जित्छन् पनि ।

‘हिरो’ लाई अहिलेसम्म जसरी चित्रित गरिएको छ, त्यसमा अत्यधिक परिवर्तन आइसकेको छ । हो, एक्सन हिरोले सधैँ बफादार प्रशंसकलाई आकर्षित गर्नेछ तर पुराना रोमान्टिक हिरो जसले हिरोइन पाउँछन्, बीचमा गुमाउँछन् र ग्रान्ड फिनालेमा पुनः हिरोइन पाउँछन्– उनीहरुले अब दर्शकलाई आकिर्षत गर्दैनन् । अहिले, लामो लेहेङ्गा, सुन्तला रंगको लिपिस्टिक र लामो विग लगाएका क्रस ड्रेसर, जसले आफ्नो लुगालाई भन्दा स्क्रिनमा अभिनय गरिरहेको आफ्नो पात्रसँग सम्बन्ध स्थापित गर्न खोज्छन्, उनीहरुले थुप्रै प्रशंसक बटुलिरहेका छन् ।

आफ्ना सबै समकालीन साथीभन्दा उत्कृष्ट तरिकाले आयुष्मानले आफूलाई (विक्की डोनर) को पात्रमा पूर्ण रुपमा भिजाएका छन् र दर्शकले उनीप्रति निकै सहानुभूती देखाएका छन् । उनी पूजाजस्ता देखिँदैनन् र अचम्मका सुनिँदैनन् पनि । उनले निकै सरल तरिकाले अभिनय गरेका छन् – ठ्याक्कै त्यसरी जसरी एक जागिर नभएका व्यक्तिले आफ्नो बिल भुक्तानी गरिदिने र ऋणको हेरबिचार गरिदिने व्यक्तिका लागि अह्राएको काम गर्छन् । यत्ति न हो । जब तपाईं यसका लागि जरैदेखि लागी पर्नुहुन्छ, यसलाई नै उत्कृष्ट अभिनय भनिन्छ ।

हामीले फिल्ममा जे जति परिवर्तन देखिरहेका छौँ त्यसले हाम्रो देशको स्थितिलाई पनि प्रतिबिम्बित गर्छ । यो कहिले र कसरी भयो, मलाई  ठ्याक्कै याद छैन तर बलिउडमा यौनप्रतिको दृष्टिकोणमा भारी परिवर्तन देख्न पाइएको छ । यो प्रयास कहिलेकाँही भद्दा देखिन्छ । तर कम्तिमा यस्ता परिवर्तन देख्न त पाइएको छ । र, चक्लेटी हिरोको अवधारणामा परिवर्तन भइरहेको छ जसमा नवाजुद्दिन सिद्दीकीलाई पहिलो पटक देखाउँदा चुरोट तानिरहेको र राता राता आँखा पारेको देखाइन्छ । यस्ता व्यक्तिहरु ‘एन्टी हिरो’ को श्रेणीमा पर्दैनन् । उनीहरु पूर्ण रुपमा हिरो हुन् जो पूरा फिल्मलाई आफ्नो काँधमा बोक्न सक्षम छन् ।

अब ‘तपाईंहरुको समय सिद्धियो...’

यहाँबाट हिँड्ने बेला आएको छ ब्रो.... नयाँ प्रतिभाहरुका लागि मार्ग प्रशस्त गरिदिनुहोस् ।

यो आलेख द एसियन एजबाट अनुवाद गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप