मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

बिहीबार, ०९ असोज २०७६, १२ : १७
बिहीबार, ०९ असोज २०७६

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके ।

तर, मुस्ताङ वारागुङ गाउँपालिका १ लुप्राले भने बोन धर्म मान्न अझै छाडेको छैन । सिंगो मुस्ताङमा लुप्राले मात्रै बोन धर्म मान्छ । बोन धर्म, संस्कृतिलाई जोगाउँन स्थानीयले २ वर्ष अघि घरबास(होमस्टे) सुरु गरेका थिए । बोन सामुदायिक होमस्टे । अहिले सोही होमस्टेमा बोन धर्म संस्कृतिबारे चासो राख्ने अनुसन्धानकर्ताको चासो बढ्दै गएको छ । 

विभिन्न देशबाट आएका विदेशी नागरिक लुुप्रामा अनुसन्धानका लागि पुग्ने गरेको स्थानीय बताउँछन् । बोन धर्म संस्कृतिलाई जोगाउँने उद्देश्यले बोन सामुदायिक होमस्टे सुरु गरेको उनी बताउँछन् । ‘८ घरबाट दुई वर्ष अघि सुरु गरेका थियौं,’ उनले भने, ‘सुविधाहरु पु¥याउन सकिन्न कि भनेर ८ घरबाट सुरु गरेका थियौं ।’ होमस्टेमा पाहुनाहरु बढ्दै गएपछि घर पनि बढाउँदै लैजाने सोच लिएर होमस्टे सुरु गरेका उनले बताए ।

स्थानीयका अनुसार बोन धर्म बुद्ध धर्म जस्तै हो । बोन धर्म सुरुमा तिब्बतबाट सुरु भएको मानिन्छ । बोन धर्म बौद्ध धर्मभन्दा पुरानो धर्म रहेको स्थानीय बताउँछन् । ‘बोन धर्म प्राकृतिक पुजासंग जोडिन्छ,’ स्थानीय युङद्रुङ छेवाङले भने, ‘बौद्ध धर्मभन्दा बोन धर्म पहिलेदेखि मान्दै आएको पनि भनिन्छ ।’ 

बोन धर्म १२ औं शताब्दिताका उत्पति भएको अनुमान रहेको उनले सुनाए । बोन धर्मको रीतिरिवाज, भेषभुष, परम्परा तिब्बतीहरुसंग मिल्ने स्थानीय बताउँछन् । ‘अहिले पनि हाम्रोे भेषभुषा तिब्बतियनसंग मिल्छ,’ उनले भने । लुप्रामा जम्माजम्मी १४ घर छन् । त्यसमध्ये ८ घरमा घरबास(होमस्टे) चलाइएको छ । 

बोन धर्मको मुख्य विशेषता तिजी हो । तिजी हिंसा हटेर शान्ति शुव्यवस्था आएको खुसियालीमा मनाइने उनले जानकारी दिए । तिजी ५ दिनसम्म चल्छ । खेतिपाती सकिएको खुसियालीमा पनि बनाइन्छ तिजी । आ – आफ्नो आर्थिक हैसियत अनुसार खानपान र नाँचगान गरेर तिजी मनाउँने उनले सुनाए । तिजी बिहान पुँजापाठ र बेलुका लामा नाँच नाँचेर मनाइन्छ ।  

होमस्टे थप्ने स्थानीयको चाहना हुँदा हुँदै पनि थप गर्न नसकिएको उनले सुनाए । होमस्टेबारे जानकारी नहुँदा लुप्राबासि अन्यौलमा रहेको उनी बताउँछन् । ‘होमस्टे चलाउँने मन भए पनि त्यसको लागि हामीसंग पर्याप्त जानकारी छैन,’ उनले भने, ‘हामीसंग अनुभव निकै कम छ । कसरी चलाउँने भनेर हामी यसै अलमलिएका छौं ।’ 

होमस्टे चलाउँन ठाउँ ठाउँका होमस्टेमा पुगेर जानकारी लिन पाए सहज तरिकाले होमस्टे सञ्चालन गर्न सकिने उनको बुझाई छ । ‘होमस्टे चलेका ठाउँमा पुगेर कसरी चलाइन्छ बुझ्न पाए अलि सहज तरिकाले चलाउँन सकिन्थ्यो कि भन्ने लागेको छ,’ उनले भने । 

होमस्टे चल्नको लागि अर्को कमि प्रचार प्रसार पनि रहेको उनको ठम्याईं छ । बोन सामुदायिक होमस्टेको बारे मुस्ताङ आउँने धेरै जसो पर्यटक अनभिज्ञ रहेको उनले सुनाए । ‘एक त प्रचार प्रसार पनि कम छ, अर्को अनुभव छैन,’ उनले भने । मिडिया, पर्यटन बोर्ड लगायतका संघ संस्थाले प्रचार प्रसारमा ल्याइ दिएमा होमस्टेमा पाहुनाहरु बढ्दै जाने उनको आशा छ ।   

सदुरमुकाम जोमसोमदेखि र मुक्तिनाथको बिचमा पर्छ लुप्रा । लुप्रा पुग्ने मोटर बाटो पनि बनेको छ । होमस्टेमा वार्षिक १ सय देखि १ सय १० को हाराहारीमा पाहुना पुग्ने गरेको उनले सुनाए । लुप्रामा गुरुङ र ठकुरी जातिको बाहुल्यता छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप