शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सत्तारुढ नेकपालाई जहाँत्यहीँ ‘हारैहार’– कहाँ चुक्यो नेकपा ?

बुधबार, ०८ असोज २०७६, १३ : ३०
बुधबार, ०८ असोज २०७६

काठमाडौँ– तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भई बनेको पार्टी हो– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । २०७४ को तीनै तहको चुनावी अङ्कगणित र देशव्यापी कार्यकर्ता र सङ्गठनको संरचना हेर्दा नेकपा देशको सबैभन्दा ठूलो राजनीतिक दल हो ।

त्यति मात्र होइन, केन्द्रमा झन्डै दुई तिहाइ नेतृत्वको सरकार, ६ वटा प्रदेशमा सरकारको नेतृत्व र स्थानीय तहमा पनि आधाभन्दा धेरै ठाउँमा नेतृत्व, यो नेकपाको शक्ति हो । जहाँत्यहीँ सरकारको नेतृत्व हुँदा साधनस्रोतले सम्पन्न पार्टी हो नेकपा ।

सरकारमाथि विपक्षी र जनस्तरबाट समेत प्रश्नैप्रश्न उठे पनि केपी ओली नेतृत्वको सरकारले धेरै जनपक्षीय काम गरेको दाबी गर्दै आएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा, पछि परेको नेपाली समाजलाई रूपान्तरण गर्ने सपना पूरा हुँदै गएको प्रधानमन्त्रीको दावी छ । 

पछिल्लो पटक प्रधानमन्त्रीले संविधान दिवसमा गरेको सम्बोधनमा पनि भनेका थिए, ‘म बिनम्रताका साथस्वीकार्छु– हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ– निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौँ ।’

सङ्गठनात्मक बल र सरकारले राम्रो काम गरेको दाबी गरिरहेको नेकपा १४ मङ्सिरमा सङ्घीय, प्रदेश र स्थानीय तहका ५० सिटमा उपचुनाव लड्दैछ । यी चुनाव आफ्नो अनुकुल हुने नेकपाका नेताहरूको दाबी छ । तर त्यही नेकपाले विभिन्न सङ्घसंस्थाका चुनावमा चाहिँ लगातार हार व्यहोरिरहेको छ । नेकपाले यस्तो हारको सामना प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्लामा पनि खानुपरेको छ । लगातारको हारले नेकपा नेतृत्व टाउको चाहिँ दुखाएको छ ।

नेकपालाई मिलेको सबैभन्दा पछिल्लो हार हो– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचन । मङ्गलबार भएको निर्वाचनमा लोकतान्त्रिक समूहले जित हाँसिल गर्यो । काँग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ नै विजयी भयो । सङ्घको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित भए । उनले  कूल ३३० मत प्राप्त गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सङ्घीय समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट अध्यक्षमा लडेका प्रगतिशील समूहका उम्मेदवार सरोजकुमार पोखरेलले २८३ मत प्राप्त गरे ।

सङ्घको निर्वाचनमा कूल ६२१ प्रतिनिधिले मतदान गरेका थिए । निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका थिए । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनी निर्वाचन प्रक्रियामा नै सहभागी भएका थिएनन् ।

नेकपाले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा आफ्नो पक्षमा पार्नका लागि केन्द्रीयहरू सदस्य श्रीप्रसाद साह र लक्ष्मण पन्तलाई जिम्मा दिएको थियो । दुवै नेता चुनावभर कस्सिएर लागे पनि । तर नतिजा आफ्नो पार्टीको पक्षमा ल्याउन सकेनन् ।

वैदेशिक रोजगार व्यवसायी सङ्घमा भएको हारबारे ती नेताहरूले पार्टी नेतृत्वलाई ब्रिफिङ गरेका छन्, ‘सरकार विरोधी माहौल देखियो । अन्तर्घात पनि भयो । हाम्रो प्यानलका उम्मेदवारमा दुई तिहाइको घमण्ड देखियो । फ्री भिसा फ्री टिकटमा श्रम मन्त्रीले कामदारको पक्षमा काम गरे । यसबाट व्यवसायी असन्तुष्ट देखिए । यिनै कारणले हामीले चुनाव हार्यौँ ।’

यस्तै अन्तर्घात हुन्छ भन्दै सचिवालय सदस्य वामदेव गौतमले कास्की–२ बाट उपचुनाव लड्न अस्वीकार नै गरेका छन् । वैदेशिक रोजगार व्यवसायी सङ्घको चुनावमा भएको अन्तर्घातले गौतमको दाबीलाई सही बनाइदिएको छ । नेकपामा कतिपय बेला शीर्ष नेताहरूले नै ‘हामी धमण्डी भयो, यो कुरा जनताले मन पराएका छैनन्’ भनेर बोल्दै पनि आएका छन् । प्रचण्डले त यस्तो अभिव्यक्ति बारम्बार दिएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचन हारेको नेकपाका लागि यो पहिलो घटना होइन । यसअघि पनि नेकपाले केही महत्त्वपूर्ण संस्था र जिल्लामा चुनावी हार खानुपरेको छ । जुन नजिरले मङ्सिर १४ को उपचुनाव नेकपाका लागि कठिन बन्दैछ भन्ने प्रस्ष्टै सङ्केत दिएको छ ।

नेकपा लगातार पराजित 
उदाहरण १–
७ भदौ २०७६ मा काठमाडौँमा भएको वैदेशिक रोजगार व्यावसायी सङ्घको चुनावमा नेकपाले पराजय व्यहोर्‍यो । नेकपा निकट संयुक्त व्यावसायी समूहका सरोजकुमार पोखरेललाई ४७ मत अन्तरले हराउँदै अध्यक्षमा काँग्रेस निकट विष्णुप्रसाद गैरे विजयी भएका छन् । यसअघि नेकपा निकटको नेतृत्वले जितेको थियो । 

६१९ मत खसेकोमा अध्यक्षमा विजयी गैरेले ३३० मत ल्याएर प्राप्त गरे । पराजित पोखरेलले २८३ मत प्राप्त गरे । गैरे नेपाली काँग्रेस निकट संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्षसमेत हुन् ।

निर्वाचनमा वैदेशिक रोजगार व्यवसायी सङ्घको प्रथम उपाध्यक्षमा लोकतान्त्रिक समूहकै कमल तामाङ, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएका छन् । 

सदस्यहरूमा काँग्रेस निकटकै कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, दिनेशकुमार राय, बाबुलाल मगर,  हर्कबहादुर लिम्बु, विजय लामा, केशवराज न्यौपाने, लक्ष्मण पौडेल र छविलाल भट्टराई विजयी भएका छन् ।

उदाहरण २– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा (२२ भदौ २०७६) सम्पन्न उद्योग वाणिज्य सङ्घ, दमकको निर्वाचनमा नेकपा निकट व्यवसायी प्यानल पराजित भयो । काँग्रेस नेतृत्वको समूहले नेकपा नेतृत्वको व्यवसायीलाई पराजित गरेको थियो । 

काँग्रेस निकट लोकतान्त्रिक प्यानल उम्मेदवार गोकुल श्रेष्ठले प्रगतिशील प्यानलका विमल खतिवडालाई पराजित गरे । निर्वाचित श्रेष्ठले ९१६ मत पाएका थिए भने पराजित खतिवडाले ४११ मत प्राप्त गरेका थिए । जब कि खतिवडा यसअघिको उद्योग वाणिज्य सङ्घको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर वरिष्ठ उपाध्यक्ष बनेका थिए । 

उदाहरण ३– २१ भदौ २०७६ मा भएको ट्रेकिङ एजेन्सि एसोसिएसन अफ नेपाल (टान) को ४१औँ वार्षिक साधारणसभामा तथा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नेकपा निकट प्यानल पराजित भयो । काँग्रेस निकट लोकतान्त्रिक प्यानलले नेकपा निकट प्यानलाई पराजित गरेको थियो । निर्वाचित खुमबहादुर सुवेदीले ५२१ मत ल्याएका थिए । पराजित थापाले ४३८ मत प्राप्त गरेका थिए । पराजित थापा प्यानलका सरिता लामा भने महासचिवमा विजयी भएकी थिइन् ।

उनले लोकतान्त्रिक प्यानलका कर्मा शेर्पालाई १३ मतले पराजित गरेकी थिइन् । यसअघिको निर्वाचनमा नेकपा निकट प्यानल निर्वाचित भएको थियो । अहिले तत्कालीन दुई पार्टी (एमाले र माओवादी केन्द्र) बीच पार्टी एकतापछि मत पनि बढेको थियो ।

उदाहरण ४– नेकपाका अर्का अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा केही समयअघि भएको नेपाल निर्माण व्यवसायी सङ्घको निर्वाचनमा नेकपा पराजित भयो । अध्यक्षमा काँग्रेस निकट उमानन्द कँडेल (बाबुराम) ले नेकपा निकट छवि गौतमलाई पराजित गरे । २६औँ साधारणसभा तथा अधिवेशनमा कँडेलले २०४ मत ल्याउँदा गौतमले ६८ मत प्राप्त गरेका थिए ।

अरू पदमा भने बहुसङ्ख्यक नेकपा निकट विजयी भएका छन् । सङ्घको प्रथम उपाध्यक्षमा केशव लामिछाने, महासचिवमा पुस्तकप्रसाद गौत्तम, कोषाध्यक्षमा उत्सव भट्टराई, महिला सदस्य रोजिना भट्टराई अधिकारी चयन भएका थिए । यस्तै द्वितीय उपाध्यक्षमा नेकपा निकट दिनेशचन्द्र न्यौपाने निर्वाचित भएका थिए । सचिवमा काँग्रेस निकट पुस्कर अधिकारी विजयी भएका थिए । २८४ सदस्य भएको सङ्घमा नेकपा निकट व्यवसायीको सङ्ख्या बढी थियो । 

उदाहरण ५– ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा पनि नेकपाको गठबन्धन पराजित भयो । २६ जेठ २०७६ मा भएको निर्वाचनमा काँग्रेसका उम्मेदवार प्रकाशनरसिंह राणाले नेकपाका उम्मेदवार अर्जुनलाल प्रधानलाई पराजित गरेका थिए । अध्यक्ष राणाले ३३३ मत प्राप्त गर्दा प्रधानले २१३ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भविश्वर शर्मा र गीता गुरुङ निर्वाचित भएका थिए । 

महासचिवमा पनि राणा समूहकै ध्रुव अधिकारी निर्वाचित भएका थिए । सचिव र कोषाध्यक्षमा भने नेकपा निकट प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु निर्वाचित भएका भएका थिए । यस्तै सदस्यमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रूपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका थिए । 

पार्टीमा गम्भीर समीक्षा हुन्छ– प्रवक्ता श्रेष्ठ
नेकपाले एकपछि अर्को निर्वाचनमा पराजित भएको छ । किन यस्तो भएको होला ? यसलाई सरकार विरोधी माहोल भन्दा हुन्छ ? भनेर हामीले नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई सोधेका छौँ । यसबारे श्रेष्ठ भन्छन्, ‘हामीले यसबारे पार्टीमा औपचारिक समीक्षा गरेका छैनौँ । हामी गम्भीर समीक्षा गर्छौं । आत्मसमीक्षा गर्छौं, किन यस्तो भयो भनेर ।’ 

पछिल्ला दिनमा विभिन्न सङ्घसंस्थाको निर्वाचनमा नेकपाको हारले १४ मङ्सिरमा हुने उपनिर्वाचनलाई असर गर्छ कि गर्दैन भन्ने अर्को प्रश्नमा प्रवक्ता श्रेष्ठ भन्छन्, ‘पछिल्ला निर्वाचनको समीक्षासहित आगामि निर्वाचन जित्ने ढङ्गले नै जान्छौँ । जनतालाई ठीक ढङ्गले कुरा बुझाउन नसक्दा र हाम्रा केही कमिकमजोरी छन् भने त्यसलाई सच्चाएर चुनाव जित्छौँ । यसकारण उपनिर्वाचन हार्छौं भन्ने हामीलाई लाग्दैन ।’

यो पनि पढ्नुहोस्ः 

स्थानीय ‘सत्ता’ गुमाउँदै नेकपा !​


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप