बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नयाँ नोट छपाइमै बाहिरिन्छ वार्षिक ४ अर्ब

राष्ट्र बैङ्क भन्छ – अब नोट फोहोर गर्नेलाई कारबाही, तर कति सम्भव ?
मङ्गलबार, ०७ असोज २०७६, १० : २२
मङ्गलबार, ०७ असोज २०७६

नोटको प्रयोग हरेक समय हुन्छ । विशेष गरेर दसैँमा सर्वसाधारणका लागि नेपाल राष्ट्र बैङ्कले नयाँ नोट उपलब्ध गराउँदै आएको छ । यस वर्ष पनि यही असोज १० देखि १७ गतेसम्म नोट सटहीको सुविधा राष्ट्र बैङ्कले दिएको छ । यसअघि नयाँ नोट मात्र सटही गर्ने केन्द्रीय बैङ्कले यस पटक नयाँ तथा सुकिला नोटको सटही गर्दैछ ।

उसो त नेपाल राष्ट्र बैङ्कले दसैँमा मात्र नभएर अन्य राष्ट्रिय चाडमा नोट सटहीको सुविधा दिने घोषणा यसअघि नै गरिसकेको छ । दसैँमा प्रयोग हुने अघिकांश नोटमा अबिर लगाउने, भिजाउने, आकार बिगार्ने गरेको पाइएको छ । नोट छापाइमै बर्सेनि अर्बांै रुपैयाँ बाहिरिन्छ । देशको पैसा बचाउनका लागि पनि तपाईं हामीले नोटको जतन गरी नोटको आयु लम्ब्याउनुपर्ने हुन्छ ।  नोटमा फोहोर गर्नेविरुद्ध राष्ट्रबैङ्कले कडाइ गर्ने नीति लिएको मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौला बताउँछन् । हामीले दसैँमा नोटको जतन कसरी गर्ने र फोहोर गर्नेलाई के कारबाही हुन्छ भनेर निरौलालाई सोधेका छौँ ।

नोटको जतन गरेर देशको लागत घटाऔँ  : निरौला

नोटमा रङ लगाउने, भिजाउने, अक्षर लेख्ने, आकार बिगार्ने काम भएको छ । यो तत्काल बन्द गर्नुपर्छ । सफा नोट सभ्य समाजको प्रतीक हो । कुनै पनि विदेशी नागरिक नेपाल आउँदा पहिला अध्यागमन र दोस्रोमा नेपाली नोट देख्छ । त्यही दुई कुराबाट उसले समग्र देशको सभ्यताको विषयमा धारणा बनाउँछ । नोट सफा भयो भने नेपालीहरू पनि सफा छन भन्ने बुझाउँछ ।

नोट छपाइमा लागत संलग्न भएको  हुन्छ । यदि नोटलाई हिफाजत गरिदिएर अपनत्व गर्यौँ र सोहीअनुसार व्यवहार गरिदियौँ भने यसको जीवन बढ्छ । यसको आयु बढ्नु भनेको नोट छपाइको खर्च घट्नु हो । यसकारण नोटलाई इज्जत गर्न सकियो भने यसले हाम्रो इज्जत बढाउँछ ।

नयाँ नोट छाप्नका लागि बर्सेनि चार अर्बसम्म खर्च हुन्छ । भर्खरै सय दरको ४० करोड थान नोट छापिएर आएको छ यसमा १ अर्ब २० करोड खर्च भएको छ ।  ती नोटको लागत एउटाको २.९९ रुपैयाँ पर्ने अवस्था छ । ठूलो विदेशी मुद्रा खर्चेर छापिएर ल्याएका नोटलाई राम्ररी प्रयोग गर्नु जरुरी छ । मुलुकको पैसा जोगाउन नोटको जतन गरौँ । नोटको औसत आयुको विषयमा अहिलेसम्म पनि राष्ट्र बैङ्कबाट अध्ययन भएको छैन । तर पनि ५ देखि सय रुपैयाँसम्मको नोटको आयु २ वर्षमाथि र ५ सय र हजार दरका नोटको आयु तीन वर्ष प्लस छ भन्ने अनुमान हो । राष्ट्र बैङ्कको प्रयास ५ देखि सयसम्मको नोटको आयु तीन वर्ष बढी बनाउनु हो । अथवा जतिसक्दो यसको आयु बढाउनु राष्ट्र बैङ्कको उद्देश्य हो । सर्वसाधारणले नोटलाई सही तरिकाले प्रयोग गरे  नोटको आयु बढाउन सम्भव छ ।

यदि कसैले नयाँ नोट फोहोर बनाइदियो भने त्यो नोट नयाँ नै भए पनि तुरुन्तै चलन चल्तीबाट हटाउनुपर्ने हुन्छ । नोटलाई मनी वालेटमा सुरक्षित किसिमले राखेर प्रयोग गरे भने नोटको आयु नसोचेको भन्दा बढी हुन्छ ।

नोट फोहोर गर्नेमाथि कडा रूपले प्रस्तुत हुने

मुलुकी अपराध संहितामा पनि यस्ता क्रियाकलाप गर्नेलाई न्यूनतम तीन महिना जेल र न्यूनतम ५ हजार जरिवाना हुने कुरा उल्लेख छ । अब हामी कोही सर्वसाधारण जनताले नोट फोहोर गरेको  भेट्यौँ भने कारबाही प्रक्रिया सुरु गर्छौं  । नोट फोहोर गर्ने काम काम दण्डनीय हो ।

नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७५/०७६ मा ५ दरका नोट ४ करोड १८ थान विनाश गरेको अवस्था छ ।  १० दरको ४ करोड ६५ लाख थान, २० दरको ४ करोड २४ लाख थान, ५० दरको ४ करोड ५० लाख थान, १०० दरको ४ करोड १४ लाख थान, ५०० दरको ३ करोड १६ लाख थान र हजार दरको ५ करोड ३२ लाख थान गरेर ३० करोड थान झुत्रा नोट विनास गरेको छ । यो २०७४/०७५ को तुलनामा सुधार भए पनि सन्तोषजनक देखिएन । हाल बजारमा ४ सय ९२ अर्ब नोट चलनचल्तीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप