बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डले गरे चिनियाँ राष्ट्रपति सी जिनपिङको खुलेर प्रशंसा

सोमबार, ०६ असोज २०७६, १९ : ३१
सोमबार, ०६ असोज २०७६

काठमाडौं–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ शैलीको समाजवादबाट नेपालले पनि सिक्न सक्ने बताएका छन् । आज राजधानीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टील संयुक्त  रुपमा आयोजना गरेको छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले अघि सार्नुभएको चिनियाँ विशेषतासहितको समाजवादको प्रशंसा गर्दै अध्यक्ष प्रचण्डले नेपाल लगायत विश्वले समेत त्यसबाट सिक्नुपर्नेमा जोड दिए । चिनियाँ विशेषतासहितको समाजवादको  अहिले विश्वव्यापी रुपमा बहस चलिरहेको बताउँदै अध्यक्ष प्रचण्डले चीनले सोही विचारधाराको आडमा आर्थिक विकासको उचाई हासिल गरेको दाबी गरे ।

चिनियाँ विशेषतासहितको समाजवादको मौलिक मार्गमा आर्थिक विकासको नयाँ उचाई हासिल गरेको चीनबाट मानव जातिले नै शान्ति र स्थिरताको समुचित अपेक्षा गरेको समेत उनले बताए । प्रचण्डले संसारको कुनै शासन प्रणालीले जनतालाई दिन नसकेको आत्मसम्मान र गौरव चिनियाँ कम्युनिष्ट पार्टीले दिएको बताउँदै त्यसले तिव्र आर्थिक विकासको मोडल समेत तयार पारेको बताए ।  

९ करोड सदस्य रहेको चिनियाँ कम्युनिष्ट पार्टीभित्र अनुशासनको पालना गरेर नै त्यो सफलताको उचाई हासिल गरेको बताउँदै कम्युनिष्ट पार्टीका सदस्यहरुमा अनुशासनको पालना भएन भने त्यो खालको सफलता हासिल गर्न नसक्ने उनले बताए । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सीको नेतृत्वमा चीनले हासिल गरेको विकासको आधार यसैमा निहित रहेको अध्यक्ष प्रचण्डको दाबी थियो ।

चिनियाँ शैलीको समाजवादबाट नेपालीहरुले सिक्नुपर्ने बताउँदै प्रचण्डले भने, ‘राष्ट्रपति सीले कनेक्टिभिटी, साझा प्रयत्न, साझा लगानी, उपलव्धीमा साझा स्वामित्वबाट साझा समृद्धि हासिल गर्न सकिन्छ र हाम्रो भविष्य अन्तरनिर्भर छ भन्ने दृष्टिकोण अगाडि ल्याउनुभएको छ । चिनियाँ शैलीको समाजवादबाट समुन्नत चीन निर्माण गर्ने लक्ष्य हासिल गर्न चीनको विकास चुनौती ठान्नेहरुले विकासको चाहना गरेको तर साधन र क्षमता नभएका विकाशोन्मुख मुलुकहरुलाई सँगै लिएर हिँड्ने बाटो प्रस्ट देखिन्छ ।’ कम्युनिष्टहरुले सत्तामा बस्दा जनताको मन जित्नुपर्नेमा जोड दिँदै प्रचण्डले त्यसका लागि पार्टीभित्र अनुशासन हुनुपर्नेमा जोड दिए ।

उनले नेपालमा चलेको शसस्त्र र शान्तिपूर्ण आन्दोलनका माध्यामबाट यस अवस्थासम्म आइपुगेको बताउँदै दुई कम्युनिष्ट पार्टीको एकताले नेपाली जनतामा स्थिरता र समृद्धिको नयाँ आशा र भरोसाको सन्देश दिएको बताए । नेपालले पनि सामाजिक न्यायसहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्ने रणनीति अघि सारिरहेको स्पष्ट पार्दै नेपाल र चीनका दुई कम्युनिष्ट पार्टीबीचको यो सहकार्यले एक अर्काबीच अनुभवको आदानप्रदान गर्दै समाजवाद निर्माणको बाटोमा अघि बढ्ने प्रेरणा प्राप्त भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप