शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणीमा हामफाल्नु अघि २ घण्टा प्रेमिकासँग कुरा गरेका थिए उदारले

सोमबार, ०६ असोज २०७६, १४ : ०२
सोमबार, ०६ असोज २०७६

चितवन– असोज १ गते बुधबार । जब चितवनको भरतपुर–११, कैलाशटोलका २५ वर्षीय उदार पौड्यालले नारायणी पुलबाट हामफाले । त्यो दृश्य नियाल्दै थिइन् उदारकै प्रेमिका । ‘हे मेरो उदार... यो के गर्यौ तिमीले... मेरो उदार... यो के गर्यौ तिमीले...’ भन्दै ठूलो स्वरमा डाको छाडेको दृश्य नियाल्नेहरु पनि आँशु थाम्न सकिरहेका थिएनन् ।

नारायणी नदीमा बेपत्ता भएका उदार अझैसम्म फेला पर्न सकेका छैनन् । उनकी आमा अहिलेसम्म बेलाबेला अचेत हुन्छिन् । उदारकी प्रेमिकाको अवस्था पनि फरक छैन । 

प्रेमी बचाउने प्रेमिकाको प्रयास असफल

उदारका छिमेकी तथा नयाँ किरण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेके पाण्डेका अनुसार उदार नारायणघाटको एक प्रतिष्ठित  एटुजेट नामक मोबाइल सेन्टरमा काम गर्दै आएका थिए । उनी घटनाको तीन दिनअघि काठमाडौँमा एक साता बसेर फर्किएका थिए  । काठमाडौँबाट फर्किएका उनी घरमा नगई दलदलेस्थित  साथीको घरमा बस्न पुगे । घटनाको दिन बिहान उनले आफ्नी प्रेमीकालाई फोन गरेर अन्तिम भेटका लागि आउन आग्रहसमेत गरेका थिए । 

भरतपुरका  हरेक  सामाजिक क्षेत्रमा क्रियाशील पाण्डे भन्छन्, ‘मैले ती युवतीलाई भेटेँ ।  उनीसँग बुझ्दा उनीहरुबीचको सम्बन्ध बिग्रेर हामफालेको बुझिएन । घटनाको दुई घण्टा प्रेमीले  बोलाएपछि प्रेमिका भेट्न पुग्छिन् ।’

पाण्डेका अनुसार करिब २ घण्टासम्म देवदहमा उनीहरुसँगै बसेका थिए । त्यहाँ उदारले निरासाका कुरा गर्दै नारायणीमा हाम्फालेर ज्यान फाल्ने कुरा गरेपछि प्रेमिकाले आफन्त र उदारका  साथीहरुलाई फोन गरेर सम्झाउनका लागि बोलाउँछिन् । उनको आग्रह अनुसार एटुजेट मोइल सेन्टरमा काम गर्ने साथीहरु घटनास्थल आइपुग्छन् ।

उनीहरुले नारायणी पुलमा उदारलाई भेटेर निकै सम्झाउँछन् । तर दुर्भाग्य ! उदारले घुर्की मात्रै देखाउन खोजेको होला भन्ने साथीहरु र प्रेमिकाको सोचाइ गलत ठहरिन्छ ।  उदार जब नारायणीमा हाम्फाल्न खोजे तब साथीहरुले तानेर जोगाउन पनि खोजे । आफ्नो निर्णयबाट पछि नहटेका उदार अन्ततः जोगाउने प्रयास हुँदाहुँदै पनि हामफालेरै छाडे ।

उदारकी आमा जसले एक्लै हुर्काएकी थिइन्

हामीसँगको भेटमा पाण्डेले उदार परिवारको विगत स्मरण गरे । ‘उदार र एक दिदीसहित उनका बाबु आमाका दुई सन्तान हुन् । उदार त्यस्तै ४, ५ वर्षको छँदा उनका बाबुले  दोस्रो विवाह गरेर विदेशतिर गएर बस्न थाले । त्यसबेला उनको आमाको उमेर २०, २२ वर्षभन्दा थिएन । अहिले त्यस्तै ४०  वर्ष उमेरकी आमाले दुई छोराछोरी हुर्काएर बस्नुभएको थियो’, पाण्डे सम्झन्छन् ।

आर्थिक रूपले निम्न परिवार भए पनि अत्यन्तै प्रतिष्ठित परिवारका रूपमा सबैले लिन्छन् उदारको परिवारलाई । उदारको हाईफाई अलि बढी नै थियो । बुलेट बाइक चढ्थे उनी । परिवारसँग अफिसले  दिएको भने पनि आफैले किनेका थिए । पछिल्लो चरण होटल खोल्ने तयारीमा रहेको रहेका थिए उदार ।

‘उदार.. उदार...पुकार्दै चिच्चाएको मैले देखेँ’

भरतपुर महानगरपालिका वडानम्बर–११ स्थित कैलाश टोल विकास क्लबका अध्यक्ष तथा अगुवा समाजसेवी रवीन्द्र बरालले पछिल्लो चरण युवा युवतीहरुलाई इन्टरनेटले एकात्मक सोचको विकास गरेकै कारण आत्महत्याको क्रम बढेको बताउँछन् ।

बराल भन्छन्, ‘यो खबर दुखद् छ । पछिल्लो पुस्तामा एकात्मक  खालको सोच बढेको छ । इलेक्ट्रोनिक मिडियामा हराउन, परिवारलाई खुलस्त नभन्ने र आफूले जे सोच राख्यो त्यसै गर्ने, यो राष्ट्रकै चिन्ताको विषय बनेको छ । यसमा समाजका सबै पक्ष सचेत हुनुपर्ने देखिन्छ ।’ हाम्रो जिज्ञासामा उनले थपे, ‘मैले ती युवतीले उदार..उदार.. तिमीले यो के गर्यौँ भन्दै पटक पटक रुँदै चिच्चाएको देखेको हुँ । पछि प्रहरी कार्यालयमा पनि रुँदै विक्षिप्त भएकी थिइन् ।  मिल्ने साथी हामफाल्दा पीडा हुनु स्वाभाविक हो ।’

उदार पौड्यालको फेसबुकमा आमा र बहिनीबाहेक अन्य युवतीसँगै तस्बिर देखिँदैन । होली खेल्दा त्यस एटुजेट मोबाइल सेन्टरका केही केटी साथी र केटा साथीबीच सामूहिक तस्बिर खिचाएको बाहेक ती प्रेमिका भनिएकी युवतीसँग समेत सँगै तस्बिर खिचाएको देखिएन । उनी घुम्नमा शौखिन रहेको उनका तस्बिरहरुले पनि देखाउँछ ।

उनले विभिन्न खेलबाट मेडलहरु पाएको पनि देखिन्छ भने दिदीको विवाहमा भावुक हुँदै तस्बिर खिचेका छन् । छोरीको विवाहपछि एक मात्र छोरा उदारको विवाहको पर्खाइमा रहेकी आमा भने अहिले आँशुको पोखरीमा डुब्न बाध्य छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी एकनारायण कोइरालाले घटनाबारे अनुसन्धान भइरहेको र बेपत्ताको खोजी कार्य पनि जारी रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप