शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के–के हुँदैछ नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरक्रियात्मक कार्यक्रममा ?

सोमबार, ०६ असोज २०७६, १२ : ११
सोमबार, ०६ असोज २०७६

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा नेताहरुबीच अन्तरक्रियात्मक कार्यक्रम हुने भएको छ । कम्युनिस्ट अनुशासन, समाज रुपान्तरण र विकास तथा समृृद्धिका एजेण्डामा सोमबार र मंगलबार काठमाडौँमा अन्तरक्रिया हुन लागेको हो । कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ ।

नेकपाको स्कूल विभागले संयोजन गरेको सो कार्यक्रमका सहभागी पनि विभागले छनौट गरेको छ । कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका प्रमुख एवम् चीनका वरिष्ठ कुटनीतिज्ञ समेत रहेका सङ ताओको नेतृत्वको उच्चस्तरीय टोली सोमबार काठमाडौँ आइपुग्दै छ ।

अन्तरक्रिया गोष्ठीमा चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट विदेश विभाग, संगठन विभाग र स्कुल विभाग र विज्ञहरुले प्रशिक्षण दिनेछन् । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट करिव ४० जना सहभागि हुने छन् । नेपालको तर्फबाट करिब दुई सय नेता सहभागि हुनेछन् । नेकपाको तर्फबाट सचिवालय, स्थायी कमिटीका सबै सदस्य र नेकपाका सबै मन्त्रीसहित केही केन्द्रीय कमिटी सदस्य र केही बुद्धिजिविहरु कार्यक्रका सहभागी छन् ।

दुई दिने गोष्ठीमा चिनियाँ कम्युनिस्ट नेता तथा विज्ञहरुले चार शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

कार्यक्रमको अध्यक्षता स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले गर्ने छन् भने कार्यक्रमको सञ्चालन सोही विभागका उपप्रमुख देवेन्द्र पौडेलले गर्ने छन् । अर्का उपप्रमुख बेदुराम भुसालले चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख ताओको टोलीलाई एरपोर्टमा स्वागत गर्ने छन् ।

अन्तरक्रिया कार्यक्रममा उद्घाटन मन्तव्य प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राख्नेछन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको तर्फबाट ‘कि नोट स्पीच’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख ताओले पनि ‘कि नोट स्पीच’ राख्ने छन् ।

उद्घाटन सत्रपछि पहिलो सेसनमा ‘कम्प्लिटिङ द बिल्डिङ अफ मोडरेट्ली कम्फर्टेबल सोसाइटी’ शीर्षकमा चिनियाँ कम्युनिस्ट पार्टी स्कूलका काओ लीले आफ्नो प्रस्तुति राखेसँगै सोमबारको कार्यक्रम समापन हुने छ ।

मंगलबार स्पेसल थेम्याटिक सेसनमा सबैभन्दा पहिले सु नान पेङले ‘कम्प्रिहेन्सीभ इफोर्समेन्ट अफ पार्टी डिसिप्लिन’, क्वीन गाङले ‘कम्प्रिहेन्सीभ डिपनिङ अफ रिफर्म’ र सी यु लङले ‘जोइन्ट विड फर विल्डिङ वेल्ट एण्ड रोड इनिसिएटिभ एण्ड कम्युनिटी फ्युचर फर म्यानकाइन्ड’ शीर्षकमा प्रशिक्षण दिनेछन् ।

साँझ छ बजे कार्यक्रम समापन हुने स्कुल विभाग उपप्रमुख देवेन्द्र पौडेलले बताए ।

यस्तै भोलिनै नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख तोओले दुई कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्धका लागि ‘समझदारी’ पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप