शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेवको ‘एक्जिट’ पछि कास्की–२ नेकपाका लागि थप पेचिलो

आइतबार, ०५ असोज २०७६, १६ : ०८
आइतबार, ०५ असोज २०७६

काठमाडौँ । सचिवालय सदस्य एवम् संगठन विभाग प्रमुख वामदेव गौतमले अन्तर्घातको सम्भावना रहेको भन्दै चुनाव लड्न नमानेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का लागि कास्की २ को उपनिर्वाचन थप पेचिलो भएको छ ।

नेता गौतमले चुनाव अगाडि नै ‘हार’ स्वीकार गरेपछि सरकारमाथि लगातार हमला गरिरहेको विपक्षी काँग्रेसको आत्मवल बढेको छ । र, नेता गौतमले अन्तर्घातको खतरा सार्वजनिक रुपमै राखेर नेकपाका नेताहरुका लागि चिन्ता थपिदिएका छन् । कास्की–२ मा मंसिर १४ गते उपचुनाव हुँदैछ ।

शनिवार साँझ पार्टी सचिवालय बैठकमा पार्टीभित्रको अन्तरकलह र त्यसले चुनावमा पार्न सक्ने प्रभावबारे नेता गौतमले ब्रिफिङ् गरे । र, त्यही बैठकमा उनले कास्की–२ बाट चुनाव नलड्ने जानकारी दिएका थिए ।

बैठक पछि सामाजिक सञ्जालमा नेता गौतमले ‘अन्तर्घात’ शब्दको प्रयोग नगरेपनि प्रष्ट लेखेका छन्, ‘यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया–१ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।’ बर्दियाको चुनाव हारमा उनले अन्तर्घात भएको भन्दै पार्टीमा निवदेन दिएका थिए ।


पार्टी अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेता गौतमलाई कास्कीबाट चुनाव लड्न सुझाव दिएका थिए । जसका लागि गौतमले अध्यक्षद्वयलाई धन्यवाद दिएका छन् । ‘पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु,’ गौतमले भनेका छन् ।

नेता गौतमले आफु बाहिरिएपछि सुझाव दिएका छन्, ‘म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्न सक्नुहुनेछ । कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।’

कास्की–२ मा हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको पत्नी विद्यालाई चुनाव लडाउन पनि सुझाव दिएका थिए । गौतमले उपनिर्वाचन नलड्ने बताएपछि नेकपाले भट्टाराईलाई उठाउने करिब–करिब निश्चित छ ।

यद्यपि यसबारे पार्टीले औपचारिक निर्णय भने गरेको छैन । भट्टराईलाई उठाउँदा सहानुभूतिका मतले पनि निर्वाचन जित्न सहज हुने ठम्याई स्थानीय नेताहरुको छ ।

नेता गौतमलाई कोसँग थियो डर ?

पछिल्लो पटक उनी ओली निकट देखिएका छन् । गौतमनिकट स्रोतका अनुसार यसबाट असन्तुष्ट सचिवालय सदस्य ईश्वर पोखरेल समूहले असहयोग गर्न सक्ने आंशका गौतमलाई भयो । कास्कीमा ठूलो प्रभाव नभएपनि वरिष्ठ नेता माधवुकमार नेपाल समूहको पनि डर गौतमलाई भयो ।

शुरुदेखि नै गौतमलाई चुनाव उठाउन नहुने पक्षमा देखिएका पोखरेल समुहबाट गौतमलाई अहिलेपनि झस्कायो । किनकि ०७४ को निर्वाचमा बर्दियामा सोही समुहबाट अन्तरघात भएको ठम्याइ गौतमको छ । यस्तै पूर्व माओवादीभित्रको समस्याबारे पनि अध्ययन टोलीले गौतमलाई व्रिफिङ गरेको थियो ।

‘पूर्व एमालेमा धेरै गुट उपगुट छन् । केपी ओली गुटबाट डर थिएन । तर, त्यहाँभित्रपनि उपगुट छन् । त्यो समुहबाट असहयोग हुने सम्भावना अहिले पनि देखियो,’ गौतम निकट एक नेताले रातोपाटीसँग भने, ‘पूर्व माओवादीभित्र पनि समस्या छ । ०७४ को निर्वाचनमा राजकाजी गुरुङलाई हराउन लाग्ने समुहको असहयोग अहिले पनि हुनसक्ने देखियो । मुख्यत यी दुई कारण नै वामदेव कमरेडका लागि चुनाव लड्न सहज देखिएन ।’

गौतम आफैले पनि बुझेका थिए ‘माहोल’

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारको लागि पहिलो पटक सिंगापुर जानु अघि गौतमलाई कास्कीबाट चुनाव लड्न प्रस्ताव गरेका थिए । तर, उनले त्यतिबेला ओलीसँग चुनाव लड्ने वा नलड्ने निर्णय गर्न एक महिनाको समय मागेका थिए । त्यहिअनुसार गौतमले एउटा टिम कास्की पठाए । र, त्यहाँको चुनावी माहोल बुझेका थिए । त्यहाँ बसेर लामो अध्ययन गरेपछि सो टिमले पार्टीभित्रका उपगुट र सरकारको अलोकप्रियताले त्यहाँ परिस्थिति अनुकूल नभएको ब्रिफिङ गरेको थियो । त्यसपछि पनि विभिन्न तहबाट माहोल बुझ्ने काम गौतमले गरेका थिए । र, त्यहाँबाट पनि परिस्थिति अनुकुल नभएको जानकारी आएपछि गौतम पछि हटेको बताइएको छ ।

सरकारमाथि प्रश्नैप्रश्न छन्

सरकारले धुमधामका साथ काम गरेको छ दावी प्रधानमन्त्री ओलीको छ । तर दुई तिहाइ शक्तिसहित बनेको सरकारले काम नगरेको जनगुनासो धेरै छ । यति मात्र होइन, प्रमुख प्रतिपक्षी दल काँग्रेससहित विपक्षी र आलोचकहरूले सरकारमाथि प्रश्नैप्रश्न उठाएका छन् । काँग्रेसको त निष्कर्ष छ– ‘सरकारले आफ्नो कार्यकाल डेढ वर्ष पूरा गरिसक्दा नेपाली जनतालाई पूरै निराश बनाएको छ ।’

यसबाहेक सरकारमाथि संस्थागत भ्रष्टाचार, राज्य संरचनाहरूको दुरुपयोग र राजनीतिकरण गरेको आरोप छ । महँगी, हत्या, हिंसा, बलात्कार, असुरक्षा र अशान्ति व्यापक बन्दै गएको भनेर पनि सरकारमाथि प्रश्न उठेका छन् । वाइडबडी तथा न्यारोबडी जहाज प्रकरण, ३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, विराटनगर जुटमिलको सेयरखरिद बिक्रीमा अनियमिता, मेलम्ची खानेपानी ल्याउन किन ढिला ? यावत प्रश्न उठे पनि सरकारले चित्तबुझ्दो जवाफ दिएको छैन ।

यसैगरी नेकपा नेतृत्वका प्रदेश सरकारको काम र स्थानीय तहका सरकारको काममाथि पनि जनताका प्रश्न छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता कि सङ्घर्ष ? अनि संविधान संशोधनमा सरकार ठ्याक्कै के चाहन्छ ? शान्ति प्रक्रिया टुङ्ग्याउन किन ढिला भएको छ ? यी प्रश्नको पनि सरकारसँग सिधासिधा जवाफ छैन । कम्युनिस्ट सरकारका पदासिनहरुमा संवैधानिक व्यवस्था, लोकतान्त्रिक मूल्य र मान्यतालाई अवमूल्यन गर्ने प्रवृत्ति बढ्दो छ भन्ने विपक्षीको सुरुदेखिको आरोपलाई सरकार र नेकपाले चिर्न सकेको छैन । र, चुनावी घोषणापत्रका धेरै वाचा नेकपाले पुरा नगरेको मतदाताले महसुस गरेका छन् । यो प्याक्टरले पनि नेकपालाई चुनौति थपेको छ ।

कास्कीको उपनिर्वाचन पार्टीको प्रतिष्ठासँग जोडिएको छ– कास्की काँग्रेस सभापति कृष्ण केसी

नेता गौतम पछाडि हटेपछि काँग्रेसको आत्मबल बढेको छ । र, त्यहाँको निर्वाचनलाई पार्टीको प्रतिष्ठासँग काँग्रेसले जोडेको छ । उनी भन्छन्, ‘‘कास्कीको उपनिर्वाचन व्यक्तिमा केन्द्रीत हुँदैन । यहाँ प्रतिपक्ष र सत्ता पक्षको प्रतिस्पर्धा हुन्छ । यो प्रतिष्ठासँग जोडिएको छ । त्यही ढङ्गले गृहकार्य गरेको छौँ ।’ सभापति केसीले गौतमको वक्तव्यबारे भनेका छन्, ‘वामदेव गौतमको वक्तव्यबाट प्रष्ट हुन्छ कि उहाँलाई आफ्नै पार्टीबाट डर भयो । र, सरकार जनताको नजरमा गिर्दै गएको अवस्थाको मध्यनजर गर्दै उहाँले उम्मेद्वारी नदिने घोषणा गरेको हामीले बुझेका छौँ ।’

गौतमको वक्तव्यले नेकपाको मनोबललाई असर पुर्यायो–विश्लेषक सुवेदी

नेता गौतमको वक्तव्यपछि नेकपाका लागि उपनिर्वाचन थप पेचिलो बनेको हो भनेर हामीले त्यहाँको चुनावी अन्तरविरोधलाई नजिकबाट नियालेका र स्थानीय समेत रहेका राजनीतिक विश्लेषक झलक सुवेदीलाई सोधेका थियौँ । विश्लेषक सुवेदीले गौतमको वक्तव्यले पार्टीको मनोबललाई असर पुर्याउन सक्ने बताए ।

‘वामदेव गौतमले त्यस्तो किन भन्नुभयो थाहा भएन । उहाँल जे भन्नुभएको छ, त्यो वाइयात कुरा हो,’ विश्लेषक सुवेदीले भने, ‘तर, उहाँको वक्तव्यले पार्टीको मनोबललाई असर त पार्यो । त्यो भन्दा बढि केही सत्य होइन ।’

र, कास्कीको चुनावी अंकगणित यस्तो थियो

उपनिर्वाचन हुने क्षेत्रमा ११ वडा छन् । गएको स्थानीय चुनावमा तीमध्ये अधिकांश वडामा नेकपाले जितेको छ । त्यसबाहेक अहिले नयाँ मतदाता पनि थपिएका छन् । दिवङ्गत मन्त्री अधिकारीले लोकप्रिय मतसहित लगातार तीन पटक सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । ०७४ निर्वाचनमा दिवङ्गत अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । अर्थात् त्यसबेला अधिकारीले ८ हजार ५ सय ४६ मत बढी ल्याएर विजयी भएका थिए ।

त्यतिबेला जम्मा ४९ हजार ९ सय १४ मत खसेको थियो । खसेका मतमध्ये १ हजार ४ सय ६४ मत बदर भएका थियो । १ स्वतन्त्रसहित १३ जना उम्मेदवार भए पनि ११ जनाको जमानत जफत भएको थियो । तेस्रो बनेको विवेकशील साझाले ८ सय ४३ मत ल्याएको थियो । नेकपा मालेले ५ सय ४९, सङ्घीय समाजवादी फोरमले ३ सय ४१, नयाँ शक्तिले २ सय ४१, स्वतन्त्र उम्मेदवार निर्मल खत्रीले १ सय १९ मत प्राप्त गरेका थिए ।

तर समानुपातिक मतमा भने काँग्रेसले प्रत्यक्षमा भन्दा २ हजार बढी मत प्राप्त गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप