केन्द्रीय संस्करण

आलो लासमा विश्व शान्तिको आभा

person explore access_timeअसोज ५, २०७६ chat_bubble_outline0

अकारण मृत्युवरण गरेका आला लासहरूका आत्मा तड्पिरहेका हुन्छन् । हतियारमा साँध लगाएका युद्धपिपासुले शान्तिको गीतमा कान थुन्ने गरेका छन् । त्रासदीको अन्तरपीडामा बाँच्नेले मुख खोल्न नसकेर निशानाको जलनसँग तड्पिनुपरेका भयावह दृश्य हेर्न मानिस अभ्यस्त भइरहेका छन् ।

मानवता बङ्गालको खाडीमा जाकिरहँदा विश्वले साम्यवादको असम्भव स्वप्ना देखेर युद्ध गर्छ । रक्त भेलमा पौडिरहेका बेला आधार चुँडाइएकी नारीको रोदनलाई काखको बालकले कलिलो क्रन्दनसँग स्वतन्त्रता खोज्दै पछ्याइरहेको छ । मान्छे अचेल वेदना देखेर छट्पटाउन छोड्यो, अरूका दर्द र शोकका जटिल संवेदनालाई चुट्किला बनाउन थालेको छ । बुद्ध वाणीहरूको लेपन लगाएर महत्त्वाकाङ्क्षाका जोसिला भाषणले शान्तिप्रेमीलाई युद्धमा लघारिँदै छ; विध्वंशको अग्नि ज्वालाभित्र । विलासिता, सत्तामोह, स्वार्थ–चुक्लीको रापले समाजको संरचना विकृत बनिरहेको छ, आदर्शका अमर भनिएका वाणी मिथ्या साबित गर्नुलाई विजयी ठान्न थालिएका छन्, बसुधैव कुटुम्बकम् उपहासको सूचीमा परेको छ ।

यो समाजलाई युद्ध विभीषिकाले खङ्ग्रङ्ग बनाएको छ । जवानीको जोसलाई समेत परदेशकै भूमिमा व्यतित गरेर परिवारको उन्नतिका निम्ति दुई पैसा कमाउन चाहने धेरै नेपाली युवायुवतीहरू विश्व अशान्तिको सिकार बनेका घटना ताजै छन् । नेपाल आमा भने यहाँको करुवामा पानी खुवाएर होस्टेमा हैँसे गरिरहेकी हुन्छिन् । कालो बादलले ढाकेको आकाशमा गिद्धले मुख बाइरहँदा परेवा उडाउनेहरूका हात गलिरहेका छन् । क्षेप्यास्त्रहरू परीक्षण भएर होला जीवन मरणको दोसाँधमा बाँचेका मृत संवेदनाको रोदन अश्रु बगेर गालामा बसेको खाटा स्पष्टै देखिएका छन् ।

नरसंहारका गुटबन्दीले बन्धुत्व र मानवताको चिरहरण भएसँगै रावणले सीताको आदर्श खोसिरहेको झै लाग्छ– अलिकति विश्वलाई आँखा लगाउँदा । मानव बस्तीमाथि बम, मिसाइल वा ग्रिनेटका ज्वाला खसालिँदा आमाको दूध चुसिरहेको बालकले संसारको अस्तित्वमा स्थान नै नपाएका संवेदनहीनताका पराकाष्ठा सामान्य बन्नु भयावह परिस्थितिको सङ्केत हो । तुवाँलोभैmँ बनेर धुलो र धुवाँका मुस्ला आकाशमा मडारिएका बेला निरिहका परेलीबाट आँशु वर्षिरहेका छन्– आज बलेँसीहरूमा ।

अन्तर्राष्ट्रिय शान्तिका ख्याति प्राप्त वक्ता प्रेम रावत भन्नुहुन्छ– “शान्ति शब्द होइन, शान्ति अनुभव गर्ने कुरा हो । कसैले मलाई सोध्यो– तपाईं कसरी ल्याउनुहुन्छ, यो विश्वमा शान्ति ? मानिस, हरेक मानिस एउटा एउटा बल्ब हुन् । एउटा स्टेडियम– यो पृथ्वी हो, यो संसार हो । यसमा प्रकाश चाहनुहुन्छ भने मानिसरूपी बल्बलाई बाल्नुपर्छ । जब त्यहाँबाट प्रकाश प्राप्त हन्छ, तब गएर सारा स्टेडियममा प्रकाश नै प्रकाश उत्पन्न हुनेछ ।”  
हरेक मानिस शान्तिको भोकले तड्पिन्छ तर दुनियाको व्यवस्थाले अशान्त बनाइदिन्छ । यस पृथ्वीबासी लगभग साढे सात अरब मानिस शान्तिको आशामा तड्पिरहेका छन् । मानव मात्रले गाँस टिपेर पेट भर्न, एक धरो लाउन अनि शिर लुकाउने आवश्यकतालाई पूरा गर्न मात्र नभएर अत्याधुनिकताको कारण, अभावको कारण, समाज र देशको कारण, स्वार्थ दानवीय प्रवृत्तिका कारण या त जीवनलाई चिन्न होस्– शान्ति पनि चाहन्छ । हरेक मानवका मनमा, सबै घरमा, समुदायमा, सबै देशमा अनि पूरा विश्वमा शान्तिको पुकार हुँदो रहेछ– प्राकृतिक रूपमा । प्राणी र वनस्पति वा वातावरण मानवसँगै अशान्त बन्दो रहेछ र मानवसँगै शान्त पनि बन्दो रहेछ ।

नेपाल आझै शान्तिदूत बुद्धको भूमि हो, राजर्षि जनक र सीताको आदर्श भूमि हो । हिन्दू परम्परामा मन्त्रहरूले सदियौँदेखि ‘अन्तरिक्ष शान्ति, पृथ्वी शान्ति, वनस्पति शान्ति’ भन्दै सर्वत्र शान्तिको माग गरिरहेका छन् । वेद र वेदान्त दर्शन, भागवतको ‘निष्काम कर्म’ शान्तिमै अडिएका सारभूत ज्ञानसागर हुन् । सामवेदले सङ्गीतलाई आत्मिक आनन्दको अनुभूत गराउँछ । अतः आध्यात्मिक, आत्मिक, व्यावहारिक, भौतिक वा मानसिक शान्ति प्राप्तिका युगीन विषयलाई वेदको षड्दर्शनले आज पनि समय सान्दर्भिक बनेर पुकारिरहेको छ । ब्रह्म शान्तिको बाटोमा छ, हिन्दु सनातन । बसुधैव कुटुम्बकम्को भावनामा मानव मात्रलाई दया गर्ने संस्कारबाट हामी विश्व शान्तिमा खुकुला लाग्दैनौँ ।

शान्ति र अहिंसाको जग ‘बुद्ध वाणी’ २५०० वर्ष पहिले मानव कल्याणको अनुशासनमा सार्थक बनेको छँदै छ । संसारमा दुःख छ, दुःखको कारण छ, दुःख शान्त छ अनि दुःख निवारणको उपाय छ– बुद्धत्व ज्ञानका आर्य सत्य कति शान्तिवादमा अर्पित छन् । ‘निर्वाण’ अथवा दुःख हटाउने आठ साधनाको फलतः ‘पूर्ण शान्ति प्राप्त हुने अवस्था’ नै बुद्धको सार सन्देश हो । कवि लालित्य लहरबाट प्राकृतिक हिसाबमा देवकोटाले– ‘पाइन्न शान्ति किन हो कुन ठाउँ मिल्छ, तर्किन्छ त्यो रुखमुनि जुनसाथ मिल्छ’ भनी गुन्गुनाएका छन् । जय पृथ्वीबहादुर सिंहको योगदान अनि शान्तिप्रेमी भाव र मानवता झनै अतुलनीय लाग्छ । हिमालको शीतलता, खोला वन–पाखाका मुस्कुराहटले हामीलाई शान्तिकामी बनाएकामा त गौरवान्वित छँदै छौँ । यसर्थ विश्वशान्ति र अहिंसाको छ– नेपाली संस्कृति संसार ।

७० वर्षदेखिको लामो आशा अनि विविध जटिलता र परिवर्तनसँगै जनमुखी ‘नेपालको संविधान’ निर्माणपछि कार्यान्वयनबाट नेपाली जनताले सुख, शान्तिको आशा बोकिरहेका छौँ ।  माओवादी सशस्त्र द्वन्द्व र तराई आन्दोलनबाट करिब १८ हजार मानिसले मृत्यु स्वीकार्न विवस बनेका अनि माओवादी द्वन्द्वमा ५ हजार ५ सय ६० वटा भौतिक संरचनाको नोक्सानीबाट करिब ४ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षतिका तथ्याङ्कहरूले सामाजिक सञ्जालभरि शान्तिकै अपिल गरिरहेका छन् ।

सशस्त्र द्वन्द्वको घाउलाई खाटो बसाएर दिगो शान्तिको जग बलियो बनाउन होस् या त सामाजिक, आर्थिक रूपान्तरणका लागि किन नहोस्, शान्ति महायज्ञमा नेपाल र नेपाली जनता नलागेका होइनन् । २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर नयाँ संविधान लेखन सुरुवात गरेको क्षण होस् अनि २०७२ असोज ३ गते संविधान जारी भएको अवस्था होस्– नेपाली जनताको निजी विषयभित्र नियालिइने शान्तिको मजबुतीका पल नै हुन् । सही माग राख्न अनि पूरा नहुँदा भन्न पाउने, मागको सही सुनुवाइमा जोड दिइने– आखिर सबै पक्ष दाजुभाइको ठोसाठोस् हो तर हात र साथ मिलेर नै शान्तिको सहअस्तित्वले तङ्ग्रिन पाउँछ । 

अलिकति शान्ति महायज्ञको विश्व इतिहासलाई नियाल्दा संयुक्त राष्ट्रसङ्घले अहिंसाको नीति अँगालेर शान्तिको सन्देश दिने महात्मा गान्धीको महानतालाई स्मरण गर्दै सन् २००७ अक्टुबर २ देखि अन्तर्राष्ट्रिय स्तरबाट विश्व अहिंसा दिवस मनाउने पैmसला गर्यो । युद्ध र द्वन्द्वको अन्त्य गर्न १९८२ सेप्टेम्बर २१ देखि संसारभरि ‘विश्वशान्ति  दिवस’ मनाउन गरेको घोषणाले देखाएको विश्व एकतालाई नियाल्दा विश्वका मानव मैत्रीपूर्ण सम्बन्धमा बाँधिन आतुर छन् । आज देखिएका बोको हराम, आईएस, तालेवान, अल कायदाजस्ता आतङ्कित समूहले पनि केवल अशान्तिको अग्नि ज्वालालाई ठूलो देखेको नहुन सक्ला– शान्तिप्रेमीको निःस्वार्थी मानवतावादी आँखाले हेर्दा । 

जर्ज वर्नाड साले भनेका छन्– ‘विचारहरूको युद्धमा पुस्तकहरू नै अस्त्र हुन् ।’ अब हतियारको युद्धलाई त्यागेर विचार र बौद्धिक युद्धमा समेट्नु आवश्यक छ । असमानताका, महत्त्वाकाङ्क्षाका धब्बाहरूलाई खारेज गरेर विभेदका खाडललाई अन्त्य गरिनुपर्छ । हिरोसिमा र नागासाकीमा बम खसाउनेलाई आनन्द मिलेन । शीतयुद्धमा होमिन चाहेका कुरा हुन् या असंलग्न आन्दोलनका प्रयास हुन्– विश्व अब शान्तिको महायज्ञमा संलग्न हुन चाहन्छ । पञ्चशील सिद्धान्तका कुरामा हुन् या संयुक्त राष्ट्र सङ्घको अपिल, सार्क राष्ट्रको लोगोमा अङ्कित परेवासँग शिखर सम्मेलनको साङ्गठनिक संयोजनले गरेको प्रयास; आखिर शान्तिकै पदयात्रामा छ– सारा विश्व । जापान र इटालीको टकराबले प्रथम विश्व युद्धमा मुछिएको परिणाममा बगेको रक्त होलीले मानव संहार गर्यो । हिटलरको महत्त्वाकाङ्क्षा भएको दोस्रो विश्व युद्धले परिणाममा मानवकै विनास भएको हो ।

शान्तिले शान्ति जन्माउँछ, युद्धले युद्धै मच्चाउँछ । युद्धले जित्न जान्दैन तर शान्तिले हार्नु हुँदैन । युद्ध पशुको स्वभाव हो तर शान्ति र मानवता मानिसको स्वभाव हो किनभने शान्तिको विजयमा कसैको हार हुँदैन, केवल जित मात्र हुन्छ– यही हो नेपाली आदर्श । तसर्थ हतियार बनाउने र समाउनेहरूले कलम समाऊन्, नवप्रविधिको समुन्नतिमा जागून् । ‘जसले तरबार उठाउँछ, उसको विनास तरबारबाटै हुन्छ’– जिससको भनाइ छ । 

विश्वको त्रासदी परिवेशले मानिस आक्रान्त छ । अशान्ति मानिसलाई हुन्छ र यसको सिर्जना मानिस स्वयम्ले गर्दो रहेछ । आज हत्या र हिंसाजन्य घटना नै प्रमुख समाचार बनिरहेको देख्दा मानिसमा शान्तिको अभाव स्वतः खड्केको कुरा हो । विश्वका सबै देशमा हिंसा, युद्ध, आतङ्क आदिका घटना नभएको स्थिति; विश्वमा कायम भएको शान्ति तथा अमनचैनलाई प्रयोगात्मक नेपाली शब्दकोशले विश्वशान्तिको परिभाषा दिएर प्रष्ट्याएको छ । नियालेर हेर्दा युद्धपछिको शान्तिको अपेक्षा गरेका इतिहास जति चम्किला छन्, तीभन्दा शान्तिकै बाटोका प्रयास भने तुलनात्मक हिसाबमा गौण चर्चामा देखिन्छन् । शान्तिका दूतको कर्मशीलतालाई सही निक्र्योल गरेर सहायोगी हात बढाउनु पनि विश्वशान्ति अभियानको प्रमुख सार्थकता नहुने भन्ने लाग्दैन ।   

इतिहासमा युद्धले होइन सहकार्य र प्रेमको हात पैmलाएर मानवीय शान्तिको स्थापनामा अर्पित व्यक्तित्वहरूलाई तमाम पृथ्वीबासीले स्मरण गर्नैपर्छ । धर्तीले गर्भमा राखेका बच्चालाई पुग्ने अन्न नउब्जाएको अवश्य होइन तर भोकमरीको पीडामा तड्पिएर प्राण त्याग्न विवस बनाएको मानिसले नै हो ।

पुँजी बजार व्यवस्थापनको सन्तुलनका नाममा हजारौँ टन अन्न समुद्रमा फ्याँकिन्छ । आज हातहतियार र युद्धमा जति खर्च गरिएको छ, त्यति शान्ति र मानवताका लागि खर्चिन थाल्ने हो भने विश्व शान्तिले मोहोडा फेथ्र्यो होला । अर्बौं डलर मानिस मार्नमा खर्चिएका छन्, अमूल्य समय खर्चेर अमूल्य मानवकै संहार हुन्छन् तर शान्तिका लागि कति समय र श्रम खर्चिएका होलान् त !

अतः शान्तिका निम्ति कसैको अमूल्य शरीरले अकाल मृत्युसँग पौँठेजोरी खेल्नु आवश्यक छैन । तसर्थ अहिंसावादी महात्मा गान्धीले भनेका छन्– “शान्ति तरबारको जोडले आउँदैन, प्रेमको जोडले आउँछ, प्रेमभन्दा ठूलो वस्तु यो संसारमा अरू छैन ।”
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...