बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शेहला राशिदका विरोधी उनीसँग यति धेरै किन चिढिन्छन् ?

आइतबार, ०५ असोज २०७६, ११ : ११
आइतबार, ०५ असोज २०७६

युवा जोशले भरिएकी शेहला राशिद स्मार्ट र शिक्षित छिन् । उनीसँग आफ्नो कुरा स्पष्टसँग भन्ने प्रतिभा छ । त्यस्तै उनी सार्वजनिक मुद्दामा नजर राखिरहेकी हुन्छिन् ।

भारतलाई यस्तै युवाको आवश्यकता छ । अन्य समय हुन्थ्यो भने उनको उल्लेख पत्रिकाका ‘ध्यान दिनुपर्ने युवा भारतीय’ वा ‘३० वर्षमुनिका ३०’ जस्ता सूचीमा पर्थिन् होलान् । 

तर आज उनी राजद्रोहको आरोप सामना गरिरहेकी छिन् र भारतको अनलाइन (र निश्चित रूपमा अफलाइन) जनसङ्ख्याको एउटा ठूलो हिस्सा उनलाई घृणा गर्छ र उनलाई गाली गर्ने गर्छ । 

अहिले उनलाई राजद्रोही बताएर उनको ट्रोल बनाइँदैछ र उनीसँग सम्बन्धित सयौँ अभद्र मिम सेयर गरिँदैछ । 

राजद्रोहको गम्भीर आरोपले राज्य पनि ‘उनी एक खतरनाक मानिस हुन्’ भन्ने इन्टरनेटको ट्रोलहरुसँग सहमत छ भन्ने देखाउँछ । अहिलेका लागि उनले अदालतबाट अन्तरिम राहत पाएकी छन् तर यो बदलिन सक्छ । परिवर्तित अवस्थामा उनलाई लामो समय काराबास हुनसक्छ । 

माथि हामीले उनको जुन गुणको चर्चा गर्यौं सायद त्यसैले दक्षिणपन्थी हिन्दुत्वका लठैत र सत्तालाई असन्तुष्ट बनाउँछ । उनले तिनलाई निरास मात्रै बनाएकी होइनन् तिनको संसारप्रतिको तिनको दृष्टिकोणलाई नै चुनौती दिएकी छिन् । 

उनी वामपन्थी, एक महिला, एक मुसलमान र एक कश्मीरी भएको कुरा जोड्दा उनी थप घृणास्पद बन्छिन् । 

महिलाहरु आफ्नो सीमामा बसून् भन्ने आसा गरिन्छ । मुसलमानहरुले शिर झुकाएर जीवन गुजारे भने आजको भारतमा तिनको भलाइ हुन्छ । कश्मीरीहरु हिन्दुवादीको नजरमा तबसम्म आतङ्कवादी हुन्छन् जबसम्म त्यो गलत प्रमाणित नहोस् र तिनको मुखमा ताला नलागेको होस् । 

राशिद भने ती अपेक्षाको विपरीत बलियो आवाजलाई स्पष्टता र दृढताका साथ प्रस्तुत गर्छिन् । तर उनको आवाज जति नै दृढ भए पनि त्यो सधैँ संयमित हुन्छ र उनी निक्कै सोचविचार गरेर बोल्छिन् । 

उनी ती ठूला नाम भएका मानिस जस्ती होइनन् जो आफ्नो विचारलाई लुकाउँछन् र निष्पक्षतालाई देखाउनका लागि झुटो समानताको पाखण्ड पछाडि लुक्छन् । 

सेनाले गरेको मानव अधिकार हननबारे उनले हालै ट्विटरमा गरेको टिप्पणीले राशिद ट्रोल र भाजपा समर्थकको मात्र होइन सुरक्षा बलको पनि आक्रोशको पात्र भइन् । आक्रोसपूर्ण विज्ञप्तीमार्फत सेनाले त्यसलाई अस्वीकार गर्यो । त्यसपछि उनीमाथि राजद्रोहको मुद्दा लगाइएको हो ।

हालैका वर्षमा भारत सरकारले मनलाग्दी रूपमा राजद्रोहको आरोप लगाइरहेको छ । यसको सबैभन्दा कुख्यात उदाहरण जवाहरलाल नेहरु विश्वविद्यालयका छात्रामाथिको मुद्दाको समयमा देखियो । एक विद्यार्थी भेलामा ‘भारत विरोधी’ नारा सुनिएको भन्दै विद्यार्थी नेता कन्हैया कुमार र अन्य कैयौँ माथि राजद्रोहको मामिला दर्ता गरियो । 

‘भारत विरोधी’ भनिएको भिडियो जति तीव्रताका साथ सरकार पक्षधर टीभी च्यानलसम्म पुग्यो र जति तीव्रताका साथ भाजपा नेताले यसको निन्दा गरे, त्यो निक्कै प्रभावशाली थियो । 

तथापि हाल भिडियोमा थपथाप गरिएको भन्ने प्रमाणित भएको छ तर यसले सरकारलाई कुनै फरक पारेको छैन । 

दिल्ली सरकारले हालै कन्हैया कुमार र उनका मित्र विद्यार्थीका विरुद्ध राजद्रोहको आरोप ‘कमजोर’ घोषित गरिदियो । 

राजद्रोह मुद्दामा कोही पनि दोषी साबित नभएको र देशभित्र यस कानुनविरुद्ध आवाज उठिरहेको अवस्थामा पनि सरकार यसको प्रयोग गरिरहेको छ । 

शेहला राशिदले जुन मुद्दा उठाएकी थिइन् त्यसलाई भारतको सेना र सरकारद्वारा कडा शब्दमा अस्वीकार गर्नु नै पर्याप्त हुन्थ्यो । साथमा शेहलालाई होस् वा मानव अधिकार हननको आरोप लागउने जो भए पनि उसलाई आरोप प्रमाणित गर्नु खुल्ला चुनौती दिन सकिन्थ्यो । सेनाजस्तो व्यावसायिक सङ्गठनले यस्तो आरोपको जवाफ दिन सक्षम हुनुपथ्र्यो । 

तर सुरक्षाबलको वरपर एउटा आभामण्डलको निर्माण गर्ने र यसलाई चलाखीपूर्ण रूपमा सेनाको भक्तिलाई नै देशप्रेम बताउनु र सेनासँग प्रश्न सोध्नुलाई राजद्रोह सावित गर्ने प्रयास भइरहेको छ ।  

अहिले भारत, हिन्दु धर्म, सत्ता र सरकारलाई एउटै एकाइजसरी प्रस्तुत गरिँदैछ । ती आरोप र आलोचनासँग पर हुनुपर्ने त्यस्तो प्रस्तुतिकर्ताको भनाइ छ । विरोधको आवाज उठाउनेलाई आफ्नो देशको माया नगर्ने ‘देश द्रोही’ या विदेशी एजेन्ट करार गरिन्छ । यो सन्देश वयस्क जनसङ्ख्यामा मात्र होइन विद्यालय र कलेजस्तरमा पनि प्रसारित गरिँदैछ । 

यसको अन्तर्राष्ट्रियकरणको मतलब अब अनौपचारिक कुराकानीमा पनि देशविरोधीका रूपमा बुझिन सक्ने कुरा भन्न असहज भएको छ । यही हिसाबमा अघि गए खराब कुरामा निगरानी राख्नका लागि भिजिलान्ते (रक्षक) समूह या छरछिमेक देशभक्त समितिको स्थापना हुन बेर लाग्दैन ।  

शेहला कश्मीरको विषयमा बोल्ने क्रममा एक कदम अघि गाइन् । उनले आफ्नो प्रदेशमा जे भइरहेको छ त्यसप्रति दुःख मात्र प्रकट गरिनन् बरु एक दाबी पनि गरिन् । सायद उनीसँग उक्त दाबीको समर्थनमा सबुत पनि छ । तर उनीसँग कुनै प्रमाण छैन र उनी हल्लामा मात्र निर्भर छिन् भने पनि उनलाई आफ्नो भनाइ राख्ने अनुमती स्वीकृति दिनुपर्छ । 

उनको दाबीलाई खण्डन गर्न सकिन्छ या उनीमाथि मानहानीको मुद्दा चलाइन सकिन्छ तर उनीविरुद्ध कानुन लगाउनु र उनलाई भारतको शत्रु घोषणा गर्नु सरासर गलत हो । यसले कश्मीरीहरुलाई जन्मजात भारतविरोधी हुन्छन् भन्ने धारणालाई बल प्रदान गर्छ । साथमा यसले ‘मूलधार’भन्दा फरक विचार राख्ने बाँकीलाई पनि चेतावनीको दिन्छ ।  

पछिल्लो समय मानिसहरु आफ्नो मनको कुरा भन्न पनि धक मान्ने गरेको धेरै देखिन्छन् । ती निजी संवादको दौरान पनि खुल्दैनन् । शेहलाविरुद्ध भएको जस्तो कठोर कारबाहीपछि अभिव्यक्ति झनै सङ्कुचित हुन्छ । सरकारको मनसाय आलोचनाको मुख बन्द गर्ने हुन सक्छ तर यसले भारतजस्तो लोकतन्त्रलाई फाइदा गर्दैन ।  

कश्मीरबाट टुक्राटुक्री आवाज बाहिर आइरहेको छ । अन्तर्राष्ट्रिय मिडियाले आम कश्मीरीका दुःखका साथै स्थानीय मानिसले प्रकट गरेका विरोध प्रदर्शनबारे लेखेका छन् । तर भारतमा एकदमै थोरै मिडिया संस्थानले मात्र कश्मीरको अवस्थाबारे विश्वसनीय र तथ्यपूर्ण ढङ्गले रिपोर्टिङ गरिरहेको छ । 

समाचारका लागि मूलधारका मिडियामा निर्भर मानिसहरु सायद कश्मीरमा सबै कुरा ठीक छ भन्ने सोचिरहेका होलान् । तिनलाई परेको छ, स्थानीय मानिस आफ्नै नजरबन्दमा खुसी छन् । ती भावि दिनमा भारतका ठूला उद्योगपतिले खोल्ने नयाँ होटेल र घरजग्गा कारोबारल बढाउने रोजगारीको सम्भावनामा खुसी मनाइरहेको भन्ने पारिँदैछ । 

तर यथार्थलाई सधैँ दबाउन सकिँदैन । कश्मीर घर भएकी शेहला राशिद ती कश्मीरको यथार्थलाई व्यक्त गर्ने धेरै व्यक्तिहरु मध्येमा पर्छिन् । यो आवाज सरकार र मूलधारका मिडियाले गरेको दाबीको प्रतिरोधी आवाज हो । आज होस् या भोलि थप मानिसले आवाज उठाउनेछन् र जब त्यहाँ सञ्चार माध्यम पुनस्र्थापित हुनेछ, त्यहाँका मानिसको व्यक्तिगत अनुभव बाहिर आउन थाल्नेछ । के त्यस्तोमा हरेक कश्मीरीविरुद्ध

राजद्रोहको आरोप लगाइनेछ ?

राशिदविरुद्ध लागेको राजद्रोहको मुद्दाविरुद्ध कतै विरोधको आवाज सुनिएको छैन । यो प्रकरणको सबैभन्दा दुःखद् पक्ष यही हो । संस्थागत सहयोगलाई बिर्सिनुस्– भारतीय मानव अधिकार सङ्गठनलाई प्रभावकारी रूपमा चुप लगाइएको छ । समाजका लब्ध–प्रतिष्ठित मानिसहरुको मौनता पनि चर्को छ । यो निक्कै निराशाजनक कुरा हो । 

राशिद स्वयंले स्वभावअनुसार साहसी र मुखर रूपमा प्रतिवाद गरिरहेकी छिन् । उनी आफूविरुद्ध लाइएको आरोपलाई ‘घृणित, राजनीतिक रूपमा प्रेरित र उनलाई मौन गराउने प्रयास’ भनिरहेकी छिन् । यही स्वभावले उनलाई अरूभन्दा फरक देखाउँछ र सायद यही कारण ती राशिदलाई घृणा गर्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सिद्धार्थ भाटिया
सिद्धार्थ भाटिया

द वायरका सह–संस्थापक हुन् । 

लेखकबाट थप